नेपाल बार एसोसिएसनको चुनाव नजिकिँदै गर्दा यो संस्थाको नेतृत्वको सवालको प्रश्न उठिरहेको छ। तसर्थ, एसोसिएसनको उद्देश्यअनुरूप आगामी चुनावले कस्तो रणनीति अख्तियार गरेको नेतृत्व रोज्नुपर्छ भन्ने विषयको यहाँ चर्चा गरिएको छ।
समानता र समावेशिता
समानता र समावेशिता कानुनी पेसामा मात्र नभई हरेक लोकतान्त्रिक प्रक्रियाको आधारशीला हो। विविध पृष्ठभूमिका कानुन व्यवसायीहरूको प्रतिनिधित्व, उनीहरूको आवाज र आवश्यकतालाई आत्मसात गर्दै समानता र समावेशिताको सुनिश्चितता आवश्यक छ। बार एसोसिएसनको चुनावमा सबै क्षेत्र, वर्ग, लिंग र पृष्ठभूमिका कानुन व्यवसायीहरूको प्रतिनिधित्व सुनिश्चित गर्नु लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरणका लागि अनिवार्य छ।
विशेषगरी, युवा कानुन व्यवसायी, महिला कानुन व्यवसायी र ग्रामीण क्षेत्रमा पेसा व्यवसाय सञ्चालन गरी बसेकाहरूको आवाजलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ। उनीहरूको प्रतिनिधित्वले कानुनी क्षेत्रको समग्र विकासलाई थप उचाइमा पुर्याउनेछ। योग्यताका आधारमा सबैलाई समान अवसर प्रदान गरिनुपर्छ, ताकि समावेशिताको वातावरण सिर्जना गर्न सकियोस्। समानता र समावेशिताको मार्गमा अघि बढ्दा मात्र कानुनी पेसा सबल, सुदृढ र सबैका लागि उपलब्ध हुनेछ।
न्यायिक स्वतन्त्रता
नेपालको न्यायिक प्रणालीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन न्यायिक स्वतन्त्रताको उचित अभ्यास र कानुनी सुधार अत्यन्त आवश्यक छ। हाल न्यायपालिकामा बढ्दै गएको राजनीतिक दबाब र हस्तक्षेपलाई पूर्ण रूपमा निर्मूल गर्नुपर्ने आवश्यकता टड्कारो छ। न्यायपालिकामा भएको राजनीतिक हस्तक्षेपले न्याय प्रणालीको विश्वसनीयता र निष्पक्षतामा गम्भीर आँच पुर्याएको छ, जसको परिणाम दीर्घकालीन रूपमा समाजका लागि नकारात्मक हुन सक्छ।
न्यायपालिकाले आफ्नो विश्वसनीयता जोगाउँदै प्रतिष्ठा कायम राख्नुपर्ने चुनौतीलाई आममानिसले प्रत्यक्ष अनुभूत गरेका छन्। मुद्दामा परेका पक्षहरूले विवाद समाधानका लागि बिचौलिया खोज्नुपर्ने अवस्था वा न्यायाधीशसम्म पहुँच नभए कानुन व्यवसायीलाई विश्वास नगर्ने प्रवृत्तिले न्याय प्रणालीप्रतिको जनविश्वास कमजोर रहेको संकेत गर्छ।
यो अवस्था सुधार्न न्यायपालिकाको आन्तरिक प्रणालीलाई सुदृढ बनाउँदै न्यायसम्पादन प्रक्रियालाई थप पारदर्शी र पहुँचयोग्य बनाउन आवश्यक छ। न्यायसम्बन्धी प्रक्रिया र निर्णयहरू निष्पक्ष, छिटो र प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्छ। न्यायालयमा जनविश्वास बढाउनका लागि न्यायिक सुधारका प्रयासहरूलाई प्राथमिकता दिइनुका साथै राजनीतिक प्रभावलाई पूर्णतः रोक्न कडा नीति अवलम्बन गर्नुपर्ने देखिन्छ।
दक्षता, आचारसंहिता र अनुशासन
कानुन व्यवसायीलाई सक्षम, आदर्शवान् र पेसागत मर्यादासहित अघि बढाउनका लागि प्रशिक्षित र योग्य बनाउनका लागि प्रभावकारी कदमहरू आवश्यक छन्। यस सन्दर्भमा, ‘लयर्स एकेडेमी’ बार काउन्सिलको स्वामित्वमा भए पनि यसको विषयवस्तु र कार्यक्रमहरू प्रभावकारी सिद्ध हुँदै गएकाले यसलाई अझ प्रभावकारी बनाउन बार एसोसिएसनले आवश्यक सहयोग पुर्याउनुपर्छ।
प्रशिक्षात्मक कार्यक्रमको विविधता, विषयहरूको विस्तृतीकरण र नवीनतम ज्ञान हस्तान्तरणले मात्र कानुन व्यवसायीहरूको दक्षता अभिवृद्धिमा योगदान दिन सकिन्छ। साथै, पेसागत मर्यादा कायम गर्न कानुन व्यवसायीहरूको आचारसंहिता कडाइसाथ लागु गर्नु र अनुशासनको मापदण्डलाई उच्च प्राथमिकतामा राख्नु जरुरी छ। यसले पेसामा निष्ठा र विश्वसनीयताको विकास गर्नेछ। दक्षता अभिवृद्धिका लागि नियमित तालिम कार्यक्रम, प्रविधिको अधिकतम उपयोग र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका ज्ञान हस्तान्तरणले पेसालाई अझ उचाइमा पुर्याउनेछ।
प्रविधिको जानकारी र उपयोग
आजको युगमा प्रविधिको महत्त्व दिनानुदिन बढ्दो छ तर अधिकांश कानुन व्यवसायीहरू प्रविधिको प्रयोग र त्यसको पूर्ण फाइदा लिन पछि परिरहेका छन्। प्रविधिको प्रयोग, त्यससँग सम्बद्ध क्लिष्टता तथा यसले कानुनी पेसा र मुद्दाको स्वरूपमा पार्न सक्ने प्रभावबारे जानकारी अपरिहार्य बनिसकेको छ।
भविष्यमा प्रविधिका कारणले कानुनी प्रक्रियामा हुने सम्भावित परिवर्तनहरूको आँकलन गर्दै आजैबाट आवश्यक तयारीमा जुट्न जरुरी छ। डिजिटल प्रमाणको महत्त्व, त्यसको उपयोग र प्रमाणीकरणका विधिहरूमा सचेतना बढाउनु अत्यावश्यक छ। साथै, प्रविधिका नयाँ आयाम र प्रवृत्तिहरूको अध्यावधिकता अनिवार्य रूपमा आत्मसात् गर्नुपर्छ।
कानुन व्यवसायीको सुरक्षा
निरन्तर अध्ययन, पक्षको न्यायको पक्षपोषण र न्यायालयमा गरिने तर्क–वितर्कले कानुन व्यवसायीलाई गहिरो मानसिक दबाबमा राख्छ। यद्यपि, यस पेसामा कानुन व्यवसायीहरूले विपक्षी पक्षबाट उत्पन्न हुन सक्ने भौतिक र मानसिक असुरक्षाको सामना गर्नु परिरहेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन। स्वास्थ्य र सुरक्षाको सबालमा बार एसोसिएसनले प्रभावकारी कदम चाल्नु आवश्यक छ। कानुन व्यवसायीहरूको स्वास्थ्य सुरक्षाका लागि सहुलियतपूर्ण स्वास्थ्य र दुर्घटना बिमाको योजना ल्याउनु र त्यसलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्नु आवश्यक छ।
भौतिक असुरक्षाको सन्दर्भमा प्रहरी र अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी नयाँ नयाँ प्रविधि र व्यवस्थालाई कार्यान्वयन गर्नु जरुरी छ। यस्ता प्रविधिले आपत्कालीन अवस्थामा छिटो प्रतिक्रिया प्रदान गरी कानुन व्यवसायीहरूको सुरक्षामा सुधार ल्याउन मद्दत गर्नेछ। यसका साथै, बारले कानुन व्यवसायीका लागि मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा र तनाव व्यवस्थापन तालिमहरूको आयोजना गरी उनीहरूको समग्र कल्याणमा योगदान पुर्याउन सक्छ।
कानुन र न्यायको विषयमा प्रशिक्षण
आजका दिनमा अध्ययन, दक्षता र अनुसन्धानलाई आफ्नो पेसाको मूल आधार बनाउनेतर्फ ध्यान कम लागिरहेको देखिन्छ। अधिकांश कानुन व्यवसायीहरू मुद्दा आफ्नै पहुँचमा आउने सन्दर्भमा मात्र अध्ययन र तयारीमा सीमित रहने प्रवृत्तिले समस्या सिर्जना गरेको छ। यसमा बजारमुखी मानसिकता प्रमुख कारक हो भने सन्दर्भ सामग्री र अनुसन्धानात्मक सामग्रीहरूको पहुँच अभाव अर्को चुनौती बनेको छ।
कानुनको प्रयोग मात्र होइन, यसको आवश्यकता, औचित्य र न्यायिक पाटोलाई बुझ्न आवश्यक अध्ययन, अनुसन्धान, र प्रशिक्षणमा जोड दिनुपर्छ। यसका लागि बार एसोसिएसनले बार काउन्सिलसँग सहकार्य गरेर नयाँ प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड र उन्नत अनुसन्धानका साधनहरूमा आधारित प्रशिक्षण कार्यक्रमहरूको विस्तार गर्नुपर्ने आवश्यकता छ।
प्रशिक्षणका अवसरहरू देशका विभिन्न भागमा विस्तार गर्न, ग्रामीण र सहरी क्षेत्रका कानुन व्यवसायीहरूमाझ समान पहुँच सुनिश्चित गर्न र डिजिटल सामग्रीहरू उपलब्ध गराउने व्यवस्था गर्न बार एसोसिएसनले अग्रसरता लिनुपर्छ।
अन्त्यमा, यस प्रकारका प्रयासहरूले कानुन व्यवसायीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै न्यायिक प्रक्रियामा गुणस्तर र विश्वास बढाउन मद्दत गर्नेछ। कानुनको प्रयोगभन्दा गहिरो रूपमा यसको आवश्यकता र न्यायिक दृष्टिकोण बुझ्न सक्ने दक्ष कानुन व्यवसायीहरूको विकासले मात्र न्यायिक प्रणाली सुदृढ र प्रगतिशील हुनेछ।
बारको नेतृत्व भनेको देशभरिका कानुन व्यवसायीको अभिभावकत्व हो, जसले सहरी क्षेत्र मात्र नभई दूरदराजमा कार्यरत सबै कानुन व्यवसायीहरूले अपनत्व अनुभव गर्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ।
समावेशी कार्यक्रमहरूको विकास गर्दै देशभरका व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ। न्यायपालिकालाई निष्पक्ष र जनमैत्री बनाउन, कानुन व्यवसायीहरूको दक्षता अभिवृद्धि गर्न तालिम र प्रविधिमैत्री कार्यक्रम विस्तार गर्न र व्यावसायिक सुरक्षा तथा अधिकारको संरक्षण गर्न बारले ठोस पहल गर्नु आवश्यक छ। नेतृत्वले पक्षधरताभन्दा माथि उठेर सक्षमतालाई मूल मन्त्र बनाउनुपर्छ।
सक्षमताको सवालमा निम्नानुसार विषयलाई हेरिनुपर्छ: सक्षम न्यायपालिका, सक्षम कानुन व्यवसायी र सक्षम कानुनी संरक्षण। यी तीन मूल मन्त्रलाई आत्मसात् गर्न सक्ने बारको नेतृत्वले ऐतिहासिक उपलब्धि हासिल गर्नेछ र देशभरका कानुन व्यवसायीहरूका लागि सच्चा अभिभावक बन्नेछ।
प्रकाशित: १० माघ २०८१ ०६:५२ बिहीबार