विचार

समृद्ध नेपालको लक्ष्यमा बेलायती साथको अपेक्षा

नेपाल र संयुक्त अधिराज्यबिचको ऐतिहासिक र गतिशील सम्बन्धको चर्चा गर्न उपस्थित हुन पाउँदा गौरवान्वित महसुस गरिरहेको छु। आजको यहाँहरूको यो कार्यक्रमको उपस्थिति हाम्रो बलियो मित्रताको जग भएको मेरो विश्वास छ। दुई शताब्दीभन्दा लामो हाम्रो सम्बन्धकाबारे चर्चा गर्न यहाँ आउँदा पाएको न्यानो आतिथ्यताका कारण म अत्यन्त हर्षित भएको छु।

दुई शताब्दीअगाडि बेलायती प्रधानमन्त्री लर्ड पामस्टर्नले भनेझैँ ‘संसारमा कोही कसैको स्थायी मित्र वा शत्रु हुँदैनन्, केवल पारस्परिक हित हुन्छन्।’ त्यही पारस्परिक हितका कारण नेपाल र संयुक्त अधिराज्यलाई आज यहाँसम्म ल्याएको छ। हामी यो अत्यन्त सुमधुर सम्बन्धको उच्च सम्मान गर्दछौँ। यही सम्बन्धका कारण विगतदेखि नै हाम्रा पूर्वज कैयन् नेपालीले बेलायतको तर्फबाट युद्धमा भाग लिए। कैयन्ले ज्यानसमेत गुमाए। आज पनि हामी हाम्रा पारस्परिक हितका क्षेत्रमा सँगै काम गर्न दृढ छौँ।

हाम्रा दुई देशबीचका ऐतिहासिक सम्बन्धलाई आजका दिनमा जनस्तरको सहकार्यले बढाउँदै लगेको छ। यही सम्बन्धको आधारमा, नेपाली जनता र नेपालको सार्वभौम संसद्को तर्फबाट निरन्तर सहयोगका लागि म बेलायती सरकारप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।

नेपालीहरूले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टीकृत सेवा नै हाम्रा दुई देशबीचको दुई शताब्दी लामो मित्रताको आधार हो। दुवै देशमा जे÷जस्ता परिवर्तन भए पनि हाम्रो दुई देशबीचको सम्बन्धमा त्यसले कहिल्यै कुनै असर गरेन, बरु अझ प्रगाढ बन्दै गयो। दुई लाखभन्दा बढी गोर्खा सैनिकले दुई विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्नो अमूल्य जीवन पनि गुमाए। बेलायती सरकारले उनीहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेकोमा म खुसी छु।

सन् १९२३ मा नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धिले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विधिवत् विश्वसामु चिनायो। नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको यस कदमको हामी आभार प्रकट गर्दछौँ। आज संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रमध्ये १८२ राष्ट्रसँग हाम्रो कूटनीतिक सम्बन्ध छ।

समयसँगै हामीले हाम्रो सम्बन्धलाई हार्दिकता, विश्वास र सम्मानका साथ बहुआयामिक र पारस्परिक हितमा बदल्यौँ। बेलायत नेपालको आर्थिक–सामाजिक रूपान्तरणको अभियानमा महत्वपूर्ण सहयोगी रहेको छ। म आफैँ पूर्वी नेपालको बासिन्दा हुँ,जहाँ सुरु सुरुका बेलायती सहयोगमा बनेका पूर्वाधारले धेरै सहयोग गरेको छ।

नेपालमा सङ्कट परेको बेलामा बेलायतले गरेका निरन्तर सहयोगले हाम्रा दुई देशको सम्बन्धलाई असल मित्रका रूपमा अझ प्रगाढ बनाएको छ। म आफैँ एक चिकित्सक र राजनीतिकर्मी भएकाले बेलायत सरकारले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिडको बेलामा गरेको सुरुका सहयोग देखेको छु। त्यो बेलामा बेलायती विशेषज्ञहरूले गरेको सेवा र प्रदान गरेका उपकरणहरू हाम्रा लागि अत्यन्त उपयोगी रहे। यस्ता व्यवहारका कारण हाम्रो बेलायतीहरूप्रतिको श्रद्धा अझ बढेको छ।

नेपालको जलविद्युत्, पर्यटन, कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना अनि हाम्रा इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीका लागि अत्यन्त सम्भावना भएको क्षेत्रमा पर्दछ। नेपाल सरकारले वैदेशिक लगानीमैत्री वातावरण बनाएको छ। नेपालमा बेलायती लगानी राम्रो भए पनि अझ यसमा धेरै वृद्धि गर्न सकिन्छ।

नेपाल विश्वका द्रुत गतिमा आर्थिक विकास गरिरहेका र ठूला बजार भएका दुई देशका बीचमा अवस्थित छ। ती दुवै देशले हामीलाई व्यापारमा धेरै सुविधा दिन्छन्। यस्तो अवस्थामा बेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्छौँ। तसर्थ म स्वच्छ ऊर्जा, पर्यटन, जलविद्युत्, कृषि र प्रविधिलगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीहरूमा आग्रह गर्न चाहन्छु।

बेलायत नेपालको प्रमुख व्यापारिक साझेदार हो। तथ्याङ्कले नेपाल धेरै नै व्यापार घाटामा रहेको देखाउँछ। संयुक्त अधिराज्यको ‘इन्हान्स फ्रेमवर्क स्किम’ अन्तर्गत प्राथमिकता प्राप्त बजार सुविधा हुँदा नेपाली उत्पादनहरूको उपलब्धता बेलायती बजारमा बढाउनुपर्ने देखिन्छ।

चिकित्सक, नर्स, वकिल, विमान चालक, इन्जिनियर, एकाउन्टेन्ट र आतिथ्यताका क्षेत्रलगायत सबै क्षेत्रमा काम गर्ने नेपालीहरूले यहाँको चलायमान अर्थतन्त्रलाई अझ गतिशील बनाउन मद्दत गरिरहेका छन्। बढ्दो संख्याका नेपालीमूलका साथीहरू यहाँको चुनाव र चुनावी प्रक्रियामा भाग लिइरहेको थाहा पाउँदा खुसी लागेको छ। नेपालका विभिन्न सहर र संयुक्त अधिराज्यका विभिन्न सहरबीचको भगिनी सम्बन्धले जनस्तरको मित्रता प्रगाढ बनाएको छ। प्रतिष्ठित छात्रवृत्ति कार्यक्रम र यसका पूर्वविद्यार्थी समूहले जनस्तरको संवाद बढाएका छन्।

माथिका तथ्यहरूले हाम्रो द्विपक्षीय मित्रता कति फराकिलो, सहयोगी र समृद्ध छ भन्ने दर्साउँछ। बेलाबेलाको उच्चस्तरीय राजकीय र सरकारी भ्रमणहरू, व्यावसायिक, व्यापारिक र सांस्कृतिक आवतजावत आदिले सम्बन्ध, सहयोग र विश्वास अझ बढाउन मद्दत गर्दछ। दुई देशका सांसदहरूको भ्रमणको आदान–प्रदान त हाम्रा जस्तो बहुआयामिक सम्बन्धमा अझ जरुरी हुन्छ। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो। त्यसैगरी बेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ। शान्ति र लोकतन्त्रको मान्यताले हाम्रा दुई देशको सम्बन्धलाई कसिलो बनाउँछ।

म नेपालमा लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ। हामीले सन् १९४० को दशकदेखि विभिन्न प्रकारका लोकतान्त्रिक आन्दोलन बेहोरेका छौँ। नेपालले धेरै राजनीतिक परिवर्तन देखेको छ। हाम्रो देश लामो र दुःखद आन्तरिक द्वन्द्वमा परेको छ। नेपाललाई लोकतान्त्रिक मुलुक बनाउने प्रक्रियामा नेपाली कांग्रेसले प्रमुख भूमिका निभाएको छ। अझ सशस्त्र माओवादी विद्रोहबाट शान्तिपूर्ण संवैधानिक सरकार बनाउने काम नेपाली कांग्रेसको नेतृत्वमा भएको छ। अझै धेरै काम बाँकी छन्। विभेदमा परेका र हालका आन्दोलनबाट प्रभावित भएकाहरूको आँसु पुछ्ने काम जारी छ।

नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी र सत्य निरूपण आयोग बनाउनेसम्बन्धी विधेयक पास गरेको छ। मलाई विश्वास छ, अब यसले सुशासनको माध्यमबाट राजनीतिक संक्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समृद्ध नेपाल बनाउने हाम्रो वाचा पुरा गर्नेछ। हामी हाम्रो यस प्रयासमा बेलायतको साथ र सहयोगको अपेक्षा गर्दछौँ।

– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसद्मा सोमबार गरेको सम्बोधनको सम्पादित अंश।

प्रकाशित: २ माघ २०८१ ०५:५४ बुधबार