विचार

त्रिविको अनौठो दीक्षान्त सभा

यसो हिसाब गर्दा जिन्दगीमा म अहिलेसम्म सातवटा जति विभिन्न युनिभर्सिटी कन्भोकेसन याने ग्राज्युएसन सेरेमोनीमा गएको रहेछु। धेरैमा त कसैको अतिथि नै भएर। एकपटकचाहिँ १९ वर्षे उमेरमा कुनै अमेरिकी विश्वविद्यालयको ग्राज्युएसन सेरेमोनीको तयारीका लागि हायर गरिएको एउटा समूहमा म पनि एउटा सानो स्टुडेन्ट क्रु मेम्बर भएर केही दिन काम पनि गरेको थिएँ।

तर, केही दिनअघि रंगशालामा त्रिभुवन विश्वविद्यालयको कन्भोकेसन मलाई धेरै अर्थमा अनौठो लाग्यो। धेरै विद्यार्थीले त्यो दिन पाउने प्रमाणपत्र हारालुछ तालले, कुनै कुनै ठाउँमा त पुलिसै लगाएर, वितरण गर्ने गरिँदो रहेछ। धेरैलाई त आफ्नै प्रमाणपत्र लिन पनि सकस रहेछ। फेरि त्यो प्रमाणपत्र डिनहरूले या आआफ्ना कलेजका सिनियर पदाधिकारीहरूले दिने पनि हैन रहेछ। गाउँगाउँबाट हजारौँ अभिभावक आएका थिए। तिनलाई स्वागत गर्ने, राम्ररी सिटमा बसाउन/बसाल्ने कोही थिएनन्। ठेलमठेल गरेर रंगशाला छिरेपछि नेपाली पाराले जसले जुन सिट भेट्टाउने हो, त्यसैमा बस्ने चलन रहेछ।

ती गर्विला अभिभावकले आआफ्ना सन्तानको शिक्षाका लागि गरेका खर्च र पारिवारिक योगदानको कुनै पनि वक्ताले, चाहे शिक्षा मन्त्री वा प्रधानमन्त्री या चाहे चिफ गेस्ट आदिले चर्चा गरेनन्। न त तिनलाई कसैले धन्यवादै दिए। शायद यस्तो गर्ने चलन हामीकहाँ छैन।

रंगशालामा व्यवस्थापनको जिम्मा जसले लिएको हो, उसले खासै जिम्मेवारी पूरा गरेको मैले पाइन। सिटहरू फोहोर थिए। ट्वाइलेट खत्तम थिए। हो, नेपाली पाराले हेर्ने हो भने त ‘यस्तै चल्छ’ भनेर चूपचाप सबै सहन सकिन्छ तर रंगशाला व्यवस्थापनले आफ्नो सम्पत्तिको जुनखालको प्रभाव देखाउन देखाउन सक्थ्यो, त्यो खासै देखिएन। आखिर टियुले पैसै तिरेर त्यो दिन रंगशाला भाडामा लिएको होला।

विभिन्न संकायका विद्यार्थी आआफ्ना कलेज या संकायका झण्डा बोकेर ओलम्पिक्स खेलको पहिलो दिनमा हुने जस्तै लाइन लागेर जुलुस बनाउँदै रंगशालाको मैदानमा छिर्लान्, अनि त्यो सबै हेर्न रोमाञ्चकारी होला भन्ठानेको थिएँ तर त्यस्तो केही पनि पटक्कै थिएन त्यहाँ। विद्यार्थी कताकता, अभिभावक यताउता, अस्तब्यस्त नै थियो। जे हुनुपर्ने, थिएन/भएन। तर पनि हामी सबैले गर्ने त त्यही हो– व्यवस्थाअनुसार अनुकूलन हुने। सबैले गरे।

साउन्ड सिस्टम खत्तम थियो। उद्घोषक वा अन्य वक्ताले बोलेको केही नबुझिने। तर नेपाली पाराले चाहिँ चल्ने नै यस्तै नै सिस्टम हो। बोलेको बुझ्न अगाडि मञ्चसम्म नै पुग्नुपर्ने थियो। चिफ गेस्ट रामप्रकाश यादवले जानेर हो या नजानेर आफ्नै मात्रै बखान गर्दै बसे।

सत्तरीको दशकमा कर्नेलबाट कृषिमा पिएचडी गरेका उनले (क्लाइमेट चेन्ज, चाँडो बदलिँदो प्रविधि, युद्ध, जागिरको अभाव आदि झेल्दै गरेको) अहिलेको पुस्तालाई चाहिने शिक्षा केही पनि दिएनन्। उनी मान्छे पक्कै राम्रा होलान् तर कसैले पनि उनलाइ ‘कमेन्समेन्ट स्पिच’ भनेको आफ्नै ‘महान्’ बायोग्राफी लम्बेतान तालले भन्ने कुरा हैन भनेर कुनै सुझाएको पाइएन।

शिक्षामन्त्री विद्या भट्टराईको भाषण नेपाली मूल दलका सबै नेताको जस्तै कपि–पेस्ट गरेर जुनबेला, जतिबेला, अनि जुनसुकै वर्ष जसको अगाडि जसले दिए पनि सारमा खासै फरक नआउने खालकै थियो। सुनेपछि मैले मनमनै ‘हरे !’ भनेँ। प्रधानमन्त्रीको भाषण सुन्ने बेलासम्ममा त धेरैजना खाजा खान र कतिपयचाहिँ घरै जान भनेर रंगशालाबाटै उठेर हिँडिसकेका थिए।

हुन त हाम्रो प्यारो नेपाली पाराले हेर्दा यी सबै कुरा ठीकै थिए होलान् तर समग्रमा व्यवस्थापन, अनुभव, आदर आदि क्षेत्रमा जति उत्कृष्टता प्रदान गर्न सकिन्थ्यो, त्यसमा चाहिँ चुक्यौँ भन्ने लाग्छ। अर्को वर्ष राम्रो होस् भन्ने कामना छ।

- संस्थागत व्यवस्थापनविद् तिवारीले त्रिविको  ५०औं दीक्षान्त समारोहबारे सामाजिक सञ्जालमा राखेको यो पोस्ट् सबैका लागि रुचिकर हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ।

प्रकाशित: १८ पुस २०८१ ०७:४४ बिहीबार

# Tribhuvan University # A strange convocation # Tribhuvan University