विचार

बिस्केट जात्राको रौनक

इतिहासकार एवम् संस्कृतिविद् जगदीशशम्शेर राणाको ‘नाचगानको राजधानी : भक्तपुर’ यतिबेला रसरङ्गमा आल्हादित छ। युग फेरियो, तर सयौँ वर्षदेखि मनाइँदै आएको पर्वको सार फेरिएको छैन, महत्व घटेको छैन। किनभने बिस्केट जनताको जीवनसँग जोडिएको सांस्कृतिक पर्व हो, जनताले नै विकास गरेको पर्व हो। आफ्नै भूगोल, हावापानी र समाजमा हुर्किएको पर्वले जीवन्तता पाउनु स्वाभाविकै हो।
भक्तपुरको बिस्केट जात्राले विश्वलाई तानेको छ। विश्वलाई हामी शानका साथ भन्दैछौँ, पाँच शताब्दी अगाडि हाम्रा पुर्खाले एक नमुना संस्कृतिको धरोहर खडा गरेका थिए। नेपाली संस्कृतिका पारखीहरू नेपाल आउँछन्, नेपालीको ज्ञान र विज्ञान चेतको परख गर्छन्, नेपालीको शिर उँचो बन्छ। पुर्खाको योगदानको जगमा टेकेर समृद्धिको फराकिलो बाटो बनाउने आधार नेपाली संस्कृति बन्न सक्छ। नेपाली मौलिक संस्कृतिले आय गर्न सिकाएको छ, खर्च गर्न सिकाएको छ। त्यसैले चिनियाँ नेता माओ त्सेतुङको उक्तिले सार्थकता पाएको छ, पुरानो पुस्ताले नयाँ पुस्ताको सेवा गर्दैछ।
 
बिस्केट सौर्यमासअनुसार मनाइने पर्व। भक्तपुरमा चैत मसान्तको चार दिन अगाडिबाट सुरु बिस्केट जात्राले नयाँ वर्षकै स्वागत गर्छ। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गर्ने सेतु चाड बिस्केट जात्रा बनेको छ। वर्षको अन्तमा उठाइने र वर्षआरम्भमा ढालिने लिङ्गो र त्यसमा फहरिने ध्वजाले विजय उत्सवको सङ्केत गर्छ। परिवर्तनको आह्वान बन्छ बिस्केट। समाजको परिवर्तनशील भावनाको शङ्खघोष बन्छ बिस्केट।

प्रकृतिसापेक्ष चाड
न उच्चाट गर्मी, न जाडो। वसन्त नाचेको वातावरण। बयँसको रूखमा लटरम्म पात पलाएको बेला। बकैनाको फूल झ्याम्मै फूलेको समय। कोइलीले वनपाखामा कुहू कुहू गरेको मौसम। भ्यागुतोले नयाँ पुस्तामा वंशाणु सार्ने मास। खेतीपातीको चटारो सुरु हुन हुन लागेको काल। यति नै बेला भक्तपुरका बासिन्दा रसरङ्गमा मगनमस्त हुन्छन्। प्रकृति वा हावापानीको सामञ्जस्य मिलेको पर्व हो बिस्केट। बिस्केट प्रकृतिको पूजा हो।

बिस्केट जात्राको सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वबारे धेरैले गाथा गाएका छन्। अन्धविश्वास, दैवी शक्तिको भक्ति, देवी देवताको नाममा दिइने बलि आदिलाई छुट्याउने हो र जाँड–रक्सीको अत्यधिक सेवन, जुवा–तास, तडकभडक आदिलाई कम गर्दै लगेर अन्त्य नै गर्ने हो भने नयाँ वर्षको अवसर पारेर अथवा सूर्यमासअन्तर्गत चैत मसान्तमा मनाइने बिस्केट जात्राजस्तो रमाइलो अरू पर्व नहोला। बिस्केट जात्रा विश्वकै निम्ति नमुना जात्राभन्दा फरक पर्दैन।
 
बिस्केटको दर्शन
बिस्केटको ‘हस्से–हैँसे’ले सिकाउने सामाजिक एकताको पाठ अनुपम छ। बिस्केटकै क्रममा तानिने भैरवको रथको गतिका निम्ति पनि मानिसको बल/क्षमताको समन्वय उत्तिकै आवश्यक हुन्छ। एक–दुईको बलले ७०–८० फिटको लिंगो उठाउनसम्भव हुँदैन। हजारौँ मानिसको उपस्थितिमा सयौँ मानिसको प्रत्यक्ष बलको सामञ्जस्यमा लिंगो उभ्याइन्छ, रथ तानिन्छ। लिंगो वा रथमा बाँधिएको डोरी तान्दा तालमेल मिलेन भने न लिंगो उभ्याउन सकिन्छ, न रथले निश्चित गति लिन्छ। यसरी जात्रा आफैँमा सामूहिक भावना एवम् कार्यको यो एक उत्कृष्ट नमुना बन्छ।  यस मानेमा एकता नै बल भन्ने जीवन दर्शन बिस्केटले सिकाएको छ। भैरव रथकोे तानातानीले जीवनमा हुने द्वन्द्वको प्रतीकात्मक अर्थबोध गराएको भन्दा पनि फरक पर्दैन।

विज्ञान र प्रविधिको आँखामा
काठै–काठको संयोजनमा (फलामको किलाको प्रयोग नभएको) र काठकै चुकुलको आधारमा बनेका जोर्नीबाट बनेको तीनतले भैरवको रथ सयौँ मानिसले दुईतिरबाट तान्दा पनि न त ढल्छ, न त भत्किन्छ –जबर्जस्ती हुँदा ठोक्किएर हुने क्षतिबाहेक)। दुईतिरबाट तानिएर उचालिन्छ र ढल्ला–ढल्लाजस्तो हुन्छ रथ तर साबिक नै रहन्छ। रथमा बस्नेले अनुभव गर्लान् कति महाभूकम्प बराबर हल्लिन्छ– रथ। यही प्रविधिबाट बनेकै कारण तीन सयवर्ष पहिले बनेको सबभन्दा अग्लो पैगोडा शैलीको पाँचतले मन्दिर १९९० र २०४५ सालका ठूला भूकम्पलाई पनि चुनौती दिन सफल छ। ५५ हाते लिंगो उठाउन प्रयोग गरिने अडेसा (कालाँ सिं) राख्ने तरिका, डोरी बाँध्ने प्रविधि, लिंगोको फेदबाट टुप्पोसम्म चढ्ने कला नयाँ पुस्ताको निम्ति ज्ञानको खुला पुस्तक हुनसक्छ।

बिस्केट जात्राको इतिहास करिब ५ सय वर्ष पुरानो छ। राजा भूपतीन्द्र मल्लको कालमा तीनतले भैरवको रथ बनाउने प्रचलन सुरु भएको मानिन्छ। भैरवको रथमा प्रयोग हुने काठको जातले पनि हाम्रा पुर्खाको वैज्ञानिक चिन्तन उजागर हुन्छ। भैरवको रथको पाङ्ग्रा विशेष काठको हुन्छ। परम्परादेखि रथ बनाउने जिम्मेवारी सम्हाल्दै आएका प्रेमलाल शिल्पकारका अनुसार पाङ्ग्रामा साम्दान काठ (नेवारीमा नः सिं) को प्रयोग हुन्छ। साम्दान काठ बलियोमात्र होइन, यो चर्किन्न, फुट्दैन, टुक्रिन्न र अत्यधिक घर्षणमा पनि खिइन्छ मात्र। रथ बनाउने कामको परम्परागत जिम्मा पाएका लक्ष्मीप्रसाद सिलाकारको भनाइ छ, साम्दान रूख काट्दा ‘रगत’ निस्किन्छ, यो भित्रभित्र रातो रङको हुन्छ। साम्दान रूख काट्नुअघि अघिल्लो दिन रूखमा ‘चोट’ पारी छोडिन्छ र भोलिपल्ट रातो चोप निस्किए ननिस्किएको हेरिन्छ । रातो चोप निस्किएको खण्डमा मात्र रुख काटिन्छ। अवलोकन र परीक्षणबाट विकास भएको सांस्कृतिक विज्ञानलाई मान्यता दिन भने बाँकी नै छ।

संगीत र कला
संगीत र कलाको आँखाले हेर्दा बिस्केट एक उत्कृष्ट पर्व भन्दा फरक पर्दैन। जात्रामा बजाइने विविध बाजा, गाइने गानाले ठूलो मनोरञ्जन दिएको हुन्छ। प्रत्येक टोल रसरंगले महोत्सवमय हुन्छ। दाफा–भजनमा गाइने गीतको भाव पक्षबारे छुट्टै टिप्पणी होलान् । तर दुःख भुल्ने बाटो हुन्छ संगीत। संगीतको अध्ययन–अनुसन्धानको निम्ति बिस्केट साहै्र महत्वको छ। बिस्केटका सकारात्मक पक्षबारे भने अझ धेरै उजागर गर्न बाँकी नै छ। कस्तुरी मृग आफैँ कस्तुरी खोज्न भौँतारिएझैँ हामी नेपाली ज्ञान र विज्ञानको निम्ति विश्व डुल्दैछौँ, आफूले आफैँलाई नचिन्दाको परिणाम भोग्दै छौँ।

शंका र उत्तेजना
एउटा आम धारणा छ, बिस्केटको लिंगो चैत मसान्तमा उभ्याउन सकिएन भने अपशकुन हुन्छ। त्यसो हुँदा कति मानिसमा निराशा र भय हुँदोरहेछ कतै अब अनिष्ट पो हुने हो कि भन्ने। ‘देवता’ रिसाए वा अरू कुनै कारणले लिंगो उभिएन भन्ने दुस्वप्न पनि कतिले देख्दारहेछन्। वैज्ञानिक चिन्तन समाजको तल्लो तहसम्म नपुग्दाको परिणाम मान्न सकिन्छ यसलाई। अनिकाल मानिसको असावधानी, लापरवाही वा उदासीनता कारक हो भन्ने विषयमा सचेत बन्न–बनाउन अझ बाँकी छ भन्ने कुरा दर्साउँछ, यस्ता कुराले।

पुर्खाको नासो
लिंगो उभ्याइएपछि भने मानिसहरू संसारै जितेको महसुस गर्छन्, उन्मादले उफ्रिन्छन्, ‘भाग्य’ खोज्दै लिंगो चढ्ने प्रतिस्पर्धा हुन थाल्छ। मानिसहरू खुसीले उफ्रिन्छन्, चिच्याउ“छन् र नाच्छन्। विजयको ध्वजा ‘हलिं पत’ फहरिन्छ। ‘ख्वप देश’ एकैपटक विजय उत्सवको चरम आनन्दमा लीन हुन्छ।

(उपप्राध्यापक, ख्वप कलेज)

प्रकाशित: ३० चैत्र २०७४ ०५:१६ शुक्रबार

बिस्केट जात्राको रौनक