विचार

नेपालको मध्यस्थकता

नेपालीले नेपालको महत्व नबुझे पनि संसारले बुझेको छ । त्यो तथ्य हालै पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीको नेपाल भ्रमणमा देखापर्‍यो।

उनले आफ्नो नेपाल बसाइँमा नागरिकका सम्पादक गुणराज लुइँटेल र रिपब्लिकाका सम्पादक सुवास घिमिरेलाई एक विशेष अन्तर्वार्तामा बताए । उनले स्पष्टरूपमा बताए, ‘नेपालले भारत—पाकिस्तान वार्तामा समन्वय गर्न सक्छ ।’ के नेपालले भारत र पाकिस्तानबीच मध्यस्थता गर्न सक्छ भन्ने प्रश्नमा उनले भने, ‘नेपालको आफ्नै अद्वितीय किसिमको इतिहास भएका कारण यस्ता पहलमा मध्यस्थता गर्न सक्ने स्थिति छ।

’ अडकिएको सार्क शिखर सम्मेलन गराउनु तात्कालिक मुद्दा हो । तर भारतीय उपमहाद्वीपको सबभन्दा ठूलो समस्या कस्मिर हो र यसैमा नेपालको मध्यस्थता खोजेका हुन् । नेपाल आफ्नै समस्यामा रुमलिएकाले नेपालले बाहिर कस्तो भूमिका खेल्न सक्छ भन्ने हेक्का पाउँदैन । तर बाहिरबाट हेर्दा नेपालले अनेक देन दिन सक्ने देख्छन् । अब्बासीको कथनले यो पुष्टि गर्छ।

यो तथ्य नेपालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि खुलेको थियो । काठमाडाँैमा सम्पर्क भएको विगत सार्क सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच जुन तनाव र दूरी देखिएको थियो त्यसलाई सुशील कोइरालाले हटाइदिएका थिए । सम्मेलनको पहिलो दिन भारत र पाकिस्तानका शीर्ष नेताहरू बीच औपचारिक बोलिचाली भएन । त्यो समाचार संसारभर फैलियो।

दोस्रो दिन उनीहरूले आपसमा हात मिलाए र दुई चार कुरा पनि गरे । त्यो पनि अन्तर्राष्ट्रिय समाचार बन्यो । तनावमा रहेका अतिथिहरू प्रसन्न भएको देख्दा नेपालका जनताले पनि सन्तोषको सास फेरे । यो सुखद दृश्य देखिनुमा सुशील कोइरालाको मुख्य भूमिका रहेको थियो र यसको श्रेय उनले पाए ।

घटना सानै थियो । तर यसको महत्व विशाल थियो । यसबाट के छर्लंग भयो भने भारत र पाकिस्तानबीच जन्मेदेखि जुन वैमनस्यता विद्यमान छ त्यसलाई निराकरण गर्न नेपालले सक्दो रहेछ । नेपालप्रतिको मित्रता र सद्भावनाको कारणले नै मोदी र सरिफले एकछिनका लागि भए पनि आफ्नो व्यवहारमा परिवर्तन ल्याए।

काठमाडौँमा हात मिलाउनेबित्तिकै उनीहरू बीचको मनमुटाव कम भएको अथवा हट्न खोजेको थिएन । तर यो घटनाले दिएको संकेत र सन्देशले क्षेत्रीय शान्ति, सुरक्षा र विकासमा नेपालले आजसम्म नचिताएको भूमिका निभाउन सक्ने रहेछ भन्ने प्रस्ट पारेको थियो । यो तथ्य पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भनाइबाट पुष्टि भएको छ ।

जहाँसम्म कस्मिर र आतंकवादको कुरा छ, सो बहुचर्चित विषय हो । यसैको पृष्ठभूमिमा भारत र पाकिस्तानबीचको सम्बन्ध कटुतापूर्ण रहेको छ । २०७१ सालको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको एक आपसको रुखोपन र तनावपूर्ण व्यवहारले यो प्रस्ट्याइदियो । नेपालीहरूको अतिथि सत्कारको सम्मान गर्दै उनीहरूले सार्वजनिक रूपमा हात मिलाए।

फलस्वरूप सार्क सदस्य देशहरूमा विद्युत् आदानप्रदानको सम्झौता पनि हुन सक्यो । प्रधानमन्त्री सुशील कोइरालाले खेलेको यो भूमिकाको व्यापक सराहना पनि भयो । सार्क अध्यक्षको हैसियतले पनि नेपालले दक्षिण एसियाको मूल समस्याकारूपमा रहिआएको कस्मिर विवादलाई सुल्झाउन पहल गर्न सक्छ र गर्नुपर्छ । ३० वर्षको दौरानमा सार्कले प्रगति गर्न नपाएको मूल कारण यही हो ।

कस्मिरको विवाद सुल्झाउन नेपालका केही विशेषता छन् । भारत र पाकिस्तानले यो समस्यालाई दुई पक्षीय भनेका छन् र उनीहरूले तेस्रो देशको मध्यस्थता स्वीकार्दैनन् । अमेरिकाले विगत ६० वर्षमा कैँयन्पटक मध्यस्थता गर्ने कुरा निकाल्दा भारत र पाकिस्तानले ठाडै नकार्ने गरेका छन् । यो मुद्दा संयुक्त राष्ट्र संघमा पेस भएको र बेलाबखत यो विषयमा चर्चा हुँदा पनि सो संस्थाले केही गर्न सकेको छैन ।

अरू कुनै पनि मुलुकको बचाउ गर्ने प्रयास पनि सफल हुन सकेको छैन र सफल हुने कतै संकेत देखिँदैन । यो कुरा सबैलाई थाहा छ कि भारत र पाकिस्तानले द्विपक्षीय वार्ता धेरै पटक गरिसकेका छन् । तर सुल्झिनुको सट्टा झन्झन् उल्झिँदै गइरहेको छ । लामो समयसम्म विवाद, झगडा र युद्ध नै भइसकेकाले दुई मुलुकसँगै बसेर समस्याको समाधान निकाल्न सक्ने सम्भावना कमै छ । यस विषयलाई लिएर भारत र पाकिस्तानका जनता पनि अत्यधिक संवेदनशील बनेका छन् । 

दुवै देशका जनताले यस विवादबाट प्रष्फुटित युद्ध दुई तीन पटक झेलिसकेका छन् । बेलाबखतमा हुने बम विष्फोटनबाट सयौँ निरपराध मानिसहरूको ज्यान गइसकेको छ । त्यसको फलस्वरूप कुनै पनि भारतीय र पाकिस्तानी नेताहरूले कस्मिर समस्याबारे एउटै आधिकारिक रटान लगाउने गर्छन् । कसैले अलिकति पनि नरम अभिव्यक्ति दियो भने उसमाथि उनका विरोधीहरू खनिन्छन् । त्यसैले आफूलाई चित्त नबुझे पनि ५०, ६० वर्ष अगाडि जे कुरा भनिएको थियो, त्यही कुरा आजसम्म पनि दोहोर्‍याउने गर्छन् ।

यस परिप्रेक्ष्यमा २०७१ मंसिर १६ गते एउटा स्थानीय दैनिकमा भारत र पाकिस्तानबीच कस्मिर सम्बन्धमा हुनसक्ने मध्यस्थताबारे एउटा चर्चा गरिएको थियो । सो कार्य गोप्य रूपमा मात्र हुनुपर्ने सुझाइएको थियो । यस्तो काम खुला हँुदा सबै मुलुकका सञ्चार माध्यमले डंका बजाउने गर्छन् । सार्वजनिक रूपमा जानकारी आएपछि अनेक वादविवाद र उल्झनहरू पैदा हुने गर्छन्।

त्यसबखत नेपालले केही बोल्न पनि नमिल्ने, नबोलिकन पनि सुख नपाउने अवस्था आउँछ । त्यसकारण प्रधानमन्त्री सुशील कोइरालाले जुन गोप्य जुक्ति सार्क सम्मेलनमा लगाए सोही तरिका अपनाउनु उपयुक्त हुने पनि भनिएको थियो । नपत्याउने खोलाले बगाएर लैजान्छ भन्ने उखान नेपालमा प्रचलित छ । सार्क सम्मेलनमा प्रधानमन्त्री कोइरालाले एउटा सानो नपत्याउने काम सिद्ध गरेका थिए । अब्बासको संकेत यतैतिर भएको मान्न सकिन्छ । दुवै देशका जनता तथा सरकारहरूकस्मिर विवाद र त्यसबाट उत्पन्न भएको आतंकवादबाट वाक्क भइसकेका छन् । नेपालका लागि यो एउटा सुनौलो मौका थियो र अहिले पनि रहिरहेको छ ।

नेपालका लागि यो क्षेत्रमा एउटा विशाल अवसर लुकेको छ । सो कुरा एउटा स्थानीय अंग्रेजी अखबारमा २०६६ भदौ ९ गते प्रकाशित मेरो एउटा लेखमा पनि उजागर गरिएको थियो । त्यसमा नेपालले सहयोगका लागि देशविदेशमा हात फैलाई हिँड्नुभन्दा कसलाई कसरी हामीले सहयोग पुर्‍याउन सकिन्छ भनेर सोच्नुपर्छ भनेर उल्लेख गरिएको थियो।

छिमेकी मुलुकहरूलाई हामी के गरेर सहयोग गर्न सक्छौँ भन्ने चर्चा पनि गरिएको छ ।सुरक्षाको दृष्टिले भारतलाई भारतीय माओवादी र कस्मिर समस्याबाट उब्जिएको हिंसा नै देखिएको छ । यी दुवै समस्यामा भारतलाई मद्दत गर्न सक्ने अवस्थामा नेपाल रहेको छ । नेपाली माओवादीले भारतीय माओवादीसित विद्यमान सम्बन्धको कारण भारतीय माओवादी समस्या सुल्झाउन प्रयास र पहल गर्न सक्छ । त्यसै गरी कस्मिरको विवाद सुल्झाउन नेपाल अग्रसर हुन सक्छ।

यसै सिलसिलामा २०६६ फागुन ५ गते अर्को एउटा नेपाली अखबारमा भनिएको थियो, ‘भारतका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेपालका माओवादीले ठूलो भूमिका खेल्न सक्छन् । त्यसकाममा सफल हुनु नहुनु एउटा पक्ष हो तर त्यसका लागि सहयोग गर्नु राम्रो कूटनीति हुनेछ । यसबाट देशलाई र नेपाली माओवादी दुवैलाई फाइदा हुन्छ ।’ तर प्रश्न एउटै छ,के नेपालले साँच्चै गर्न सक्छ ?

 

 

 

प्रकाशित: २८ चैत्र २०७४ ०३:५३ बुधबार

नेपालको मध्यस्थकता