विचार

दिमागलाई सञ्चै त छ?

कृषिको आधुनिकीकरणपछि संसारका अधिकांश मानिस पेटभरि खान पाउने हैसियतमा पुगे भने आयुर्विज्ञानको क्षेत्रमा भएका आविष्कारले रोगको निदान सहज बन्यो। भोजन र इलाजमा धेरैको पहुच भएपछि मानिसको आयु बढ्यो। अन्य मुलुकमा झैँ नेपालीको पनि औसत उमेर उकालो लाग्यो, ग्राफको रफ्तार कायमै छ। पाकाको आयतन उकासिएपछि हजुरपुस्तामा बिर्सने रोगको प्रकोप बढेको देखिन्छ। आयु बढ्दै जाँदा आखिर किन स्मरण शक्ति क्षीण हुन्छ त ? भन्ने सबैको चासो हो।

उमेरको बढोत्तरिपछि प्रोटिन तथा हर्मोनको मात्रा घट्छ, मस्तिष्कमा रक्तसञ्चार कम हुन्छ। दिमागलाई चाहिने तत्त्व कमि हुँदा ब्रेन शिथिल हुन्छ। अनि मस्तिष्कको ‘हिप्पोक्याम्पस’ भन्ने भाग कमजोर बन्छ। स्मरण बन्ने र अनुभवलाई प्रशोधन गर्ने ‘हिप्पोक्याम्पस’ लाचार भएपछि विगतको सम्झनालाई दिमागमा ल्याउने काम चुनौतीपूर्ण बन्छ।

चेतना तागत कमजोर भएपछि स्मृतिमा नकारात्मक असर पर्छ। तसर्थ बुढेसकालमा स्मरण शक्ति केही कमजोर हुनु अस्वाभाविक होइन तर भर्खर अवकाश उमेर पुगेकाको सम्झना शून्यमा झर्नु भने चिन्ताको विषय बनेको छ ।

प्रत्येक व्यक्तिको आनुवंशिक र शारीरिक बनावट फरक भएकाले यति नै वर्षको भएपछि याद गुम्न थाल्छ भन्न कठिन छ।  तथापि वैज्ञानिक अनुसन्धानले मानिसको दिमाग एक सय वर्षको उमेरसम्म बेदाग काम गर्ने क्षमता रहेको देख्यो। मानिसको उमेरसीमा सयको हाराहारीमा रहेकाले प्रकृतिले दिमागको स्मरण क्षमतालाई पनि तदनुरूप सन्तुलन गर्नुलाई अस्वाभाविक मान्दैनन् विकासवादी जीववैज्ञानिकहरू पनि।

न्युरोलोजिक अनुसन्धान र जीव विकासको सिद्धान्तलाई आधार लिँदा एक सय वर्ष बाँच्ने जीवको दिमाग शताब्दी कटेपछि कमजोर बन्नु अस्वाभाविक भएन। तर, तथ्याङ्क प्रशोधन गर्दा मानवीय मस्तिष्क सात दशक पुग्दा नै कमजोर भएको देखिन्छ, बिर्सने रोगले सताएको पाइन्छ। आखिर त्यस्तो किन हुन्छ त?

पछिल्लो समय मानिसको खान्की र दैनिकी दुवै फेरिएको छ। स्वस्थ्यवर्धक ताजा भोजनलाई चलानी खान्कीले प्रतिस्थापन गर्दै छ। एकै व्यक्तिले विभिन्न चरित्रको काम गर्नुपर्ने बाध्यता फेरिएर मानवीय दैनिकी एकाङ्की बनेको छ। एक व्यक्तिले एउटै मात्र काम गर्दा थप पारङ्गत हुने भएकाले धन्दाको प्रकृति फेरियो।

दिमागले चौतर्फी सोच्नुको बदला एकै कुरामा जान्दा हुने भयो। अब प्रश्न उठ्छ के विशेषज्ञताले दिमागी शक्तिलाई असर पार्छ त ? आर्जित ज्ञान दीक्षाका चरित्रका आधारमा दिमागको विभिन्न भागमा गएर बस्छ। जति धेरै प्रकारका शिक्षा आर्जन गर्‍यो, मस्तिष्कका भिन्न खण्ड त्यही अनुपातमा क्रियाशील हुन्छन्। दिमागको धेरै भाग सक्रिय हुनु भनेको स्मरणको मजबुतीकरण हो। तसर्थ भिन्न अनुभव भएका मानिसको दिमागका एउटै प्रकृतिको धन्दा गर्ने व्यक्तिको भन्दा क्षमतावान हुन्छ।

शताब्दीअगि मानिसका लागि जीवन चलाउन विभिन्न कार्यकुशलता अपरिहार्य थियो। एउटा काम गरेर गुजारा चल्दैनथ्यो। खेती गर्ने, पशुपालन, सिकार र दाउराका लागि जंगल धाउनेजस्ता पृथक् बाध्यताले मानिसको दिमागका विभिन्न भाग चलायमान थिए। मस्तिष्क शक्तिशाली थियो।

पछिल्लो समय अफिसमा गएर एकै प्रकृतिको काम गरेर तलब पाउने अवस्था बनेपछि दिमागको ठुलो हिस्सा प्रयोग नै भएन। एकै विषयको अध्ययन अनि एउटा विधामा मात्र पारङ्गत हुने अहिलेको विशेषज्ञीय युग दिमागका लागि फाइदा कारक होइन भन्ने देखियो। अहिलेका मानिसका तुलनामा एक सय वर्षअगिका समाज दिमागी हिसाबले सशक्त हुनुमा एकाङ्की कामलाई दोष दिनु अन्यथा होइन।

स्मरण शक्ति ह्रास गराउने अल्जाइमर, पार्किन्सन, डिमेन्सियाजस्ता रोगले सताएका जनसंख्याको आयतन बढेको मात्र छैन, बरू तीनबिसा नपुग्दै बिर्सने रोगका सिकार भएका पनि मनग्य देखिन्छन्। आँकडा हेर्दा दिमागी शक्ति रुग्ण बनाउने रोगको प्रतिशत संसारभर नै निकै बढेको देखिन्छ भने नेपाल कदापि अपवाद छैन। पछिल्ला अध्ययनले खान्की, विश्राम, शारीरिक कसरत र दिमागी चुनौतीको सन्तुलन मिलाउन सक्ने हो भने माधवप्रसाद घिमिरे र सत्यमोहन जोशीजस्तै शताब्दी टेक्दासमेत शारीरिक तथा मानसिक रूपले क्रियाशील बन्न सकिने देखिएकाले त्यसको चर्चा सान्दर्भिक भयो।

मस्तिष्क स्वास्थ्यका लागि उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र चिनीरोगको व्यवस्थापन जरुरी हुन्छ। उल्लिखित लक्षणले अन्ततः दिमागलाई रक्त सञ्चार गर्ने धमनीहरूलाई प्रभाव पार्छ। प्रयाप्त रक्तसञ्चार नहुँदा स्मरण शक्ति क्षीण बन्छ। हालै प्रकाशित एक अध्ययनले ४० वर्षे उमेरमा रक्तचापको समस्या हुने व्यक्तिको स्मरण शक्ति ३० वर्ष पछि सात प्रतिशतले ओरालो लाग्ने भन्यो। झन्डै त्यही परिणाममा कोलेस्ट्रोल र चिनीरोगका बिरामीको पनि बौद्धिक तागत घटेको देखे पृथक् अध्ययनहरूले। तसर्थ, क्रोनिक रोगको समयमै उपचार गर्न उचित देखियो।

अस्वस्थकर खानाको कारण विभिन्न किसिमको रोग लागेझैं दिमागी समस्या पनि भित्रिएको अन्वेषणले देखायो। अमेरिकाको एल विश्वविद्यालय मेडिकल स्कुलकी प्राध्यापक क्यारोलिन फ्रेडरिक्सका विचारमा बट्टामा प्याक भएर आएका चलानी जंक फुड नखाएर तरकारी तथा सागसब्जीको मात्रा अलि बढाएर परम्परागत नेपाली भोजन खाँदा बिर्सने रोगको रफ्तार घट्छ। हजुरपुस्ताले खाएको खानामा मौसमी फलफूल अनि बेलामौकामा माछामासु खाँदा पुग्ने  ठान्छिन् फ्रेडरिक्स।

लामो समयसम्म दिमागले शरीरलाई चलाउँछ र सन्देशको सञ्चार ‘ब्रेन टु बडी’ एकतर्फी हुन्छ भन्ने मानिसको आम बुझाइ थियो। हालै प्रकाशित भएका अध्ययनहरूले मस्तिष्क र देहबिचको संवाद दोहोरो हुन्छ भन्ने देखाए। दिमागले शरीरलाई आदेश दिने अनि कायाले गर्ने कस्तो किसिमको सञ्चार औचित्यपूर्ण छ भन्ने कुुरा मस्तिष्कलाई बताउने गरेको अध्ययन इन्टरन्यासनल जर्नल अफ बिहेबियरल न्युट्रिसन एन्ड फिजिकल एक्टिभिटीमा प्रकाशित भयो।

 दिनको आधा घण्टा मात्र पनि शारीरिक परिश्रम गर्ने हो भने पनि मस्तिष्कलाई फाइदा पुग्ने देखियो। कसरतले स्मरण क्षमता बढ्ने ठान्छन् विज्ञहरू। यसरी कसरतले मस्तिष्कको बनोट नै परिवर्तन गर्ने भएपछि बुढेसकालमा स्मरण शक्ति दुरुस्त रहनु अस्वाभाविक भएन।

पर्याप्त निन्द्रा नलाग्नुले पछिल्लो समय स्मरण क्षमता घट्ने ठान्छन् अमेरिकाको रस विश्वविद्यालय मेडिकल स्कुलका न्युरोलोजीका प्राध्यापक अगस्टो मिराभेल। ५० वर्षको उमेरमा दैनिक ६ घण्टाभन्दा कम सुत्ने मानिसमा प्रतिदिन सात घण्टा निदाउने समूहको दाँजोमा स्मरण शक्ति गुमाउने सम्भाव्यता ३० प्रतिशत बढ्ने भन्छन् मिराभेल। मस्त निदाएको बेला दिमागले दिनभरिको अनुभवलाई प्रशोधन गर्ने भएकाले अनिँदोले मस्तिष्क रोगलाई हौस्याउने हो।

युनिभर्सिटी अफ पेन्सिलभेनिया विश्वविद्यालयका न्युरोलोजीका प्राध्यापक रे हेमिल्टनको विचारमा दिमागी खानाले नै मस्तिष्कलाई सशक्त बनाएर बुढेसकालमा बिर्सने रोगबाट पर राख्ने ठान्छन्। दिमागको खाना भने हामीले खाने भोजन होइन, बरु मस्तिष्कको कसरत नै हो भन्छन् हेमिल्टन।

विभिन्न किसिमका चुनौतीमार्फत दिमागलाई सदैव क्रियाशील राख्नुलाई नै मस्तिष्कको पोषणयुक्त खान्की ठान्छन् उनी। पत्रिकामा प्रकाशित हुने क्रस बर्ड पजल, चेस, बाघचालजस्ता क्रियाकलाप गर्न सकिन्छ। घरमै गीत, संगीतको साधनादेखि भान्सामा नवीन चरित्रको खाना बनाउने अभ्यासले पनि ब्रेनलाई नयाँ चुनौती दिन्छ।

मन्दिर पनि फरक फरक बाटोबाट गई दिमागलाई चुनौती दिँदा मस्तिष्कले विभिन्न किसिमको पोषण पाएजस्तो हुने ठान्छन् विज्ञहरू। स्याउ निकै गुनिलो फलफूल भए पनि सधैं स्याउ मात्र खाएर पोषण नपुग्ने भएझैं दिमागलाई पनि एकै प्रकृतिको चुनौती पर्याप्त नहुने बरु थरीथरीका ललकारको आवश्यकता पर्ने ठान्छन् विज्ञहरू।

बिर्सने रोग जीवनको उत्तरार्धमा मात्र लाग्ने भए पनि युवावस्थादेखि नै दिमागी स्वास्थ्यको ख्याल गरेको खण्डमा पछिल्लो समय चङ्गा मस्तिष्कका साथ जिउन सकिने देखियो। सुरुदेखि स्वास्थवर्धक खाना, कसरत, रात्रिकालीन विश्राम अनि दिमागलाई पृथक् प्रकृतिको चुनौती दिएको खण्डमा बुढेसकालमा लाग्ने मानसिक लक्षणबाट छुटकारा पाउन सकिने देखियो।

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबोरटोरिजका क्षेत्रीय निर्देशक हुन्।

प्रकाशित: ११ मंसिर २०८१ ०५:२१ मंगलबार

# Do you have enough brain? #Modernization of agriculture