विचार

मनुवादी माओवादी

दलित समुदायप्रति होच्याएर बोल्ने प्रवृत्ति जिउँदै छ। दलितलाई कुजात भन्नेलगायतका निम्छरा शब्द प्रयोग गरी गालीगलोज गर्ने मनुवादी चेतको अन्त्य कहिले हुन्छ ? धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेसबुकमा चमार भनेर कसैलाई गाली गरे। चमारे जस्तो, कामी जस्तो, दमाई जस्तो, सार्की जस्तो भनेर तुलना गरेर गाली गर्ने परम्परा अझै कायम छ।

कसैले कुनै कुरामा रिस उठायो भने के कामीको जस्तो व्यवहार देखाएको भन्दै गाली गर्ने समाज यही हो। यसरी समाजमा दलितप्रति होच्याएर गाली गर्ने, अपमान गर्ने प्रवृत्ति जीवितै छ। यसरी दलितलाई होच्याउने, अपमान गर्ने मनुवादी भिडमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पनि मिसिएका छन्। प्रचण्डले कांग्रेस र एमालेलाई लक्ष्य गर्दै भनेका छन्– त्यो कुजातसँग संसर्ग गर्दा हामीलाई पनि त्यो रोग स¥यो, हामी पनि थोरै–धेरै मैलाधैला बिग्र्या बिग्र्या जस्ता भयौँ।

प्रचण्डले विपक्षीहरूलाई संगतै गर्न नहुने जात पनि भन्न भ्याए। परिवर्तनका निम्ति लामो समय राजनीतिक संघर्ष गरेर स्थापित भएका नेता हुन् प्रचण्ड। दलितमाथि हुँदै आएको जातीय विभेद कुनै एउटा वर्गले थोपरिदिएको सामन्ती अभ्यास हो। यसलाई जरैदेखि उखेल्नुपर्छ समाजमा कुनै जात हुँदैन भन्ने पार्टीका कमान्डर अध्यक्षले आज दलितलाई लक्षित गरी दलित समुदायमाथि अपमान हुने अभिव्यक्ति दिन मिल्छ ? प्रचण्डले जात भन्ने शब्दलाई जसरी प्रयोग गरेका छन् त्यसले सिंगो दलित समुदायको मनमा चोट दिएको छ। समाजमा कथित उपल्ला जातिले दलित समुदायका मानिसलाई होलोहोचो गर्दा, तिरस्कार गर्दा, बहिस्करण गर्दा जात शब्द प्रयोग गर्ने गर्छन् जुन व्यवहार समाजमा यत्रतत्र छँदैछ।

अन्य दलप्रति आक्रामक भइ उनीहरूमाथि रिस थुपार्दा प्रचण्डले कुजात, मैलाधैला जस्ता शब्द प्रयोग गर्नु चरम मनुवादी चेतको परकाष्ठा हो। किनकि प्रधानमन्त्री भइसकेका नेताले यस्तो निम्छरो भएर अभिव्यक्ति दिने कल्पना गरिएको हुँदैन। तर प्रचण्डले ६० लाखभन्दा धेरै दलितको मन दुखाएर जात व्यवस्थाप्रतिको मनुवादी सोच अझै हटेको छैन भन्ने गतिलो प्रमाण दिएका छन्।

गाली गर्न पाइन्छ तर दलित समुदायको अपमान गरेर कुजात भन्न पाइन्न। सत्ता फुत्किएको छटपटाहट लुकाउन नसक्नु स्वभाविक हो तर त्यसरी मैलाधैला संसर्ग गरेर बिग्रियो भन्ने जस्ता शब्दावली प्रयोग गर्न पाइन्न। यी शब्द कमरेड प्रचण्डलाई सुहाउने भाषा होइनन्। यो अभिव्यक्ति हेर्ने हो भने प्रचण्ड पनि जातीय विभेद गर्दारहेछन्, उनको चेतबाट पनि दलित समुदायप्रतिको व्यवहार परिवर्तन भएको रहेनछ भन्न सकिन्छ। त्यसैले आमदलित समुदायसँग प्रचण्डले माफी माग्न जरुरी छ मैले गलत भाषा प्रयोग गरेँ भनेर।

दलित समुदायमाथि हुने गरेका हेलाहोचो स्थानीय स्तरमा झन धेरै छ। कतिपय स्थानीय तहहरूमा दलित वडा सदस्यहरू हेपिएका, अपमानित भएका समाचार बाहिरिइरहेकै छन्। चमार जस्तो, डुमजस्तो भन्ने चलन समाजबाट हटेकै छैन। जात व्यवस्थाप्रतिको मनुवादी चेतको पर्दा च्यात्ने हिम्मत नगरेसम्म आमदलित समुदायमाथि हुने अपमान र तिरस्कारयुक्त व्यवहार रोकिन्न।

विद्यमान दलहरूका नेतालाई सत्ताको भर्‍याङ चढाउनमा धेरै उत्पीडित समुदायले रगत–पसिना बगाएका दृश्य ताजै छन्। अझ विशेषगरी माओवादीप्रति अझै पनि दलित समुदायको आसा र भरोसा कायमै छ। किनकि समाजमा जातीय विभेद, छुवाछूत गर्ने व्यक्तिलाई ‘भाटे कारबाही’ समेत गरेर उदाएको पार्टी भएर। तर त्यही पार्टीका कमान्डरको अभिव्यक्तिले जात व्यवस्थाको मनुवादी अभ्यास बिउँताउने भ्रामक कुचेष्टा हुनु निकै दुःखद पक्ष बनेको छ।

अन्य दललाई बदनाम गराउने प्रयत्नमा प्रत्यक्ष वा परोक्षरूपमा जात व्यवस्थालाई मलजल गर्ने शब्द प्रयोग गर्नु किमार्थ राम्रो होइन। यसतवरबाट जातीय घृणा फैलाउने, दलितको आत्मसम्मान गिराउने शब्दावली प्रयोग गर्नु घोर आपत्तिजनक र अव्यावहारिक छ। शासक वर्गको दिमाग नै यति उग्र जातिवादी भएपछि देशमा नागरिक स्वतन्त्रता, जातीय समानता र सामाजिक न्यायको कल्पना गर्न सक्ने ठाउँ रहँदैन।

दलित समुदाय पनि यो परिवर्तित व्यवस्थाका हिस्सेदार हुन। परिवर्तनका लागि दलितहरूको पनि आँसु बगेको छ। ज्यान बलिदान भएको छ। तर आज यही व्यवस्थाभित्र सल्बलाइरहेको उग्र जातिवादी अभ्यासको सिकार यही दलित समुदाय भइरहेको छ। कानुन छ, कार्यान्वयन छैन। कानुनले कसैलाई हेलाहोचो गर्न, तिरस्कार गर्न पाइँदैन भन्छ।

अझ जातका आधारमा, धर्मका आधारमा कसैलाई विभेद गर्न पाइन्न भनेर प्रष्ट पारेको छ तर कानुन कार्यान्वयनको तहमा बसेकाहरूलाई नै जातिवादको धङधङीले छाडेको छैन। उग्र जातिवादी लपेटिँदै गएको समाजमा दलितमैत्री समाजको परिकल्पना कसरी गर्न सकिन्छ ?

माथिल्लो तहबाट नै जातिवाद अभ्यासलाई बल दिने व्यवहार छाताछुल्ल भएपछि दलित भनेका मैलाधैला हुन्छन् भन्ने भाष्य समाजबाट कसरी हटाउन सकिन्छ ? दलित समुदायमाथि हेलाहोचो गर्ने, तिरस्कार गर्ने, अपमान हुने किसिमका अभिव्यक्ति दिन र त्यस किसिमका व्यवहार देखाउने कसैलाई पनि क्षम्य हुँदैन।

दलित समुदायमाथि हुने जातिवादी व्यवहार र अभिव्यक्तिमाथि राज्यले अंकुश लगाउनुपर्छ। कोही कसैले पनि जातलाई आधार बनाएर बोल्न पाउने, जातलाई आधार बनाएर व्यवहार गर्ने कुनै पनि जातिलाई संकेत गरी आफ्ना कुण्ठा पोख्ने परिपाटीलाई राज्यले पूर्णरूपमा निषेध गर्नुपर्छ।

जातीवादी अभ्यासलाई बल पुग्नेखालका व्यवहार र प्रवृत्तिले अग्रगमन समाजको रफ्तारलाई जहिल्यै बाधा दिने कुरामा राज्य चनाखो हुनु जरुरी छ। दलित भनेका फोहोरी हुन्छन्, कुजात हो जस्ता तिरस्कारयुक्त भाष्यलाई जरैदेखि उखेल्नका निम्ति राज्यले कठोररूपमा प्रस्तुत भइ आमदलित समुदायको भावनालाई कदर गर्दै दलितमैत्री राज्यव्यवस्थाको प्रत्याभूत गर्नुपर्छ। 

प्रकाशित: ३ मंसिर २०८१ ०५:२२ सोमबार

#Dalit community #Humanist Maoist