केही वर्षअघिसम्म तराईमा मात्र सीमित छठ बिस्तारै सम्पूर्ण नेपालीको पर्व बन्दै गएको छ। अहिले के पहाड, के भित्री मधेस, के संघीय राजधानी, सबैतिर छठको रौनक छ। खासगरी पहाडे समुदायले यस पर्वलाई अपनत्व ग्रहण गरेसँगै छठको उत्सव निकै फरासिलो मात्र हैन, निकै फराकिलोसमेत बन्न पुगेको देखिन्छ।
खासमा छठ पर्व चार दिनसम्म धूमधामले मनाइन्छ तर यो पर्व निर्धक्क मनाउन बिदा भने कम भयो भन्ने गुनासो पनि सुनिँदै आएको छ। खासमा पर्व हृदयदेखि मनाउन बिदा नै धेरै चाहिन्छ भन्ने पनि हुँदैन। आफ्नो संस्कार, संस्कृति, पर्व, उत्सव हर्षोल्लाससाथ मनाउन जहाँ भए पनिर जस्तोसुकै प्रतिकूलता भए पनि फरक पर्दैन। किनकि तडकभडक, खर्चिलो र भिडभाड मात्र पर्व रमाइलो हुनुको कारण हुन सक्दैन। यो त मनदेखि मुटुदेखि मनाइने भएकाले आनन्द जहाँ बसेर भए पनि महसुस गर्न सकिन्छ। छठ निकै प्रसिद्ध हुन सक्नुमा पनि यस्तै कारणले भूमिका निर्वाह गरेका छन्।
विधिवत्रूपमा मंगलबारबाट सुरु भएको छठ चार दिनसम्म अर्थात् शुक्रबारसम्म मनाइन्छ। शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि बल्ल सम्पन्न हुनेछ। सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीका लागि साझा पर्वका रूपमा विकसित हुँदै गरेको यो पर्वप्रति यही कारण अब मिथिलाञ्चलको मात्र एकाधिकार रहेन। सबैले ग्रहण गर्न सक्नु यो पर्वको मात्र नभएर सिंगो मिथिलाञ्चलका लागि पनि गर्वको विषय हो।
छठको पहिलो दिन नुहाएर नूनको अंश नहुने खाना खाने, दोस्रो दिनभर निराहार बस्ने (खाना नखाने) र साँझपख छठी माईको पूजा गरी घरका सम्पूर्ण परिवारजनलाई प्रसाद ग्रहण गराइन्छ। तेस्रो दिनभर निराहार बसी पुरी, गैहँ पीठोमा सखर हाली ठेकुवा तथा विभिन्न प्रकारका परिकार बनाइन्छ। फलफूल तथा पूजाका लागि आवश्यक सामग्रीको जोहो दिनभर गरिन्छ। त्यसपछि साँझपख नजिकको पोखरी, नदी, ताल, तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ।
चौथो दिन भने बिहान उदाउँदो सूर्यलाई अर्घ दिई अन्तिममा समापन गरिन्छ। यस अर्थमा पनि छठ हिन्दुहरूको महान् चाड हो भन्ने प्रष्टिन्छ तर धेरैलाई भने अझै पनि यो पर्व मधेस वा तराईसँग मात्र सम्बन्धित छ कि भन्ने परेको छ। जुन सरासर गलत हो। यतिसम्म कि यो पर्व मुस्लिम समुदायले समेत उत्साहपूर्वक मनाउने गर्दै आएका छन्। छठ पर्व विशेषगरी सूर्यको आराधनाबाट चर्मरोग निको हुने, निसन्तान व्यक्तिले छठी मैयाप्रति आस्थाराखी सूर्य भगवानको पूजाअर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जस्ता विश्वासमा आधारित छ। त्यसैले पनि यो पर्वप्रति धेरैको आकर्षण बढेको मान्न सकिन्छ।
के कथित ठूला र साना जाति, के हिन्दु, के मुस्लिम, सबै समुदाय मिलेर सामूहिकरूपमा यो पर्व मनाउँछन्। कतिपय ठाउँमा हिन्दु धर्मबाहेकका अन्य धर्मावलम्बीसमेत यो पर्व रमाइलो गरेर मनाएका दृश्य अब सामान्य लाग्न थालेका छन्।राष्ट्रिय पर्व दसैँ र तिहार हिन्दुबाहेक अन्य धर्मावलम्बी मनाउँदैनन्। इदको कुरा गर्ने हो भने मुस्लिमबाहेक अन्य धर्मावलम्बीले मनाउँदैनन् तर छठमा यस्तो अनेकता पाइँदैन। यस अर्थमा छठ पर्वराष्ट्रिय एकताको मियो पनि हो भन्न सकिन्छ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक हो। सबै जनताको आआफ्नैरीतिरिवाज छ। विभिन्न किसिमको धर्म, संस्कृतिले धनीरहेको यस मुलुकमा दसैँ, तिहारलाई मात्र राष्ट्रिय पर्वको मान्यता दिइँदा छठजस्ता ठूला पर्वको महिमा छायामा परेको हो कि भन्ने लाग्छ। यसतर्फ संघीय सरकारले सोच्नु आवश्यक छ। जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर जाग्राम बस्ने यो पर्व कम्ता आकर्षक र महत्वको छैन। यो पर्वमा खासगरी महिला लगातार चार दिनसम्म व्रत बस्छन्।
निराहार बसे पनि सूर्यको आराधना गर्नेदेखि पूजाका सामान जुटाउने हुँदै स्वागत पाहुनाहरूलाई सत्कार गर्ने कर्मसम्ममा उनीहरू कुनै थकान महसुस गर्दैनन्। घरका परिवार तथा वस्तुभाउ र बालबच्चा तथा ज्येष्ठ नागरिकलाई गर्नुपर्ने स्याहार र रेखदेख त छँदैछ। तर पनि महिलामा कुनै ग्लानि देखिन्न। बरु उनीहरू झन् फुर्तिला भएर लागेका देखिन्छन्। शायद छठी माईकै आशीर्वादले हो महिलामा यस्तो उत्साहर सक्रियता पैदा भएको हो।
– पासवान सप्तरीको कञ्चनरूप नगरपालिकाका सामाजिक अभियन्ता हुन्।
प्रकाशित: २१ कार्तिक २०८१ ०६:५९ बुधबार