विचार

जहाजले युवायुवती लग्दै छ कि देश ?

०८१ भाद्र २ गतेको दिन । सुन्दै मिठो संगीत लाग्ने तोते बोली बोल्ने दुई वर्ष पुग्न लागेकी नातिनी, पाँच वर्षको चुलबुले अनि अलिअलि अंग्रेजी पनि मिसाएर बोल्ने नाति र छोराबुहारीलाई एक महिनाको घर बसाइपछि अस्ट्रेलिया फर्किँदा बिदा गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ । विमानस्थलमा विदेश जाने र बिदाइ गर्नेहरूको यति ठुलो भिड थियो कि त्यसको कुनै लेखाजोखा नै थिएन । बिदाइमा फोटो खिच्ने र एक छिन उभिएर अङ्गालो मारेर रुने ठाउँ समेत थिएन ।

मैले यस्तो भिड नयाँ दिल्लीको राजीव गान्धी मेट्रो स्टेसनमा देखेको थिएँ । त्यहाँ मेट्रोबाट झरेर हिँड्नु पर्दैन, भिडले पछाडिबाट घचेट्दै गेटसम्म पुर्‍याइदिथ्यो । नेपाली विमानस्थलको त्यो दृश्यमा मैले दिल्लीकै अनुभव गरेँ । मैले त्यो भिडमा मेरो परिवारसँग सामूहिक फोटो खिच्न सकिनँ । कहीँ उभिएर खिच्ने ठाउँ पाए पो ! छोराबुहारी र नातिनातिना भित्र जाँदा लाइनमा बसेको मौका छोपेर टाढाबाट तस्बिर लिएँ । उनीहरू भित्र जाँदै गर्दा आँखाले देखेसम्म नियाली रहेँ । अदृश्य भएपछि भारी मन लिएर त्यहाँबाट फर्किएँ । 

विमानस्थल छिर्दै गरेका यात्रु र बिदाबारीमा आएका आफन्त बिच बिदाइ गर्दाका थरी थरी कारुणिक दृश्यहरू नियालेँ। एक जोडी वृद्ध वृद्धा (आमाबाबु) बिदेसिँदै गरेको छोरालाई भन्दै थिए, ‘बाबु जहाँ गए पनि हामीलाई नबिर्सनु ।’ आमा गहभरि आँसु पार्दै भन्दै थिइन,‘आफ्नो शरीरको ख्याल गर्नु । बेलामा खानु । कोठामा राखी दिएको फलफूल खाँदैनथिस्, गाली गरेर खुवाउनुपर्थ्यो । अब तँलाई कराउने पनि कोही हुन्न ।  आफै खाएस् है ।’ छोरो छुट्टिएर टाढासम्म पुग्दा ती वृद्धाका आँखा छचल्किरहे । 

त्यहीँ भिडमा भर्खर बिहे गरेको जस्तो लाग्ने एक दम्पती देखिए । युवती उसै गरी बह पोखिरहेकी सुनिइन् । ‘हिजो मात्रै दुर्गन फर्काएको, आजै हजुर जान लाग्नुभयो । कहिले फर्किनुहुन्छ थाहा छैन । म एक्लै कसरी बसौँ?’ युवासँग नवविवाहितता पत्नीको प्रश्नको प्रस्ट उत्तर नै थिएन । ‘बिहे गरेको ऋण तिर्ने गरी कमाउन मात्र देऊ, आइहाल्छु,’ उनी भन्दै थिए । 

एउटा किशोर वयको तन्नेरी(सम्भवतः विद्यार्थी भिसामा जान लागेका हुनुपर्छ) त्यही भिडमा बुबासँगै देखिए । ती बुबा छोरासँग उसलाई विदेश पठाउँदा लागेको ऋणको भारीको बोझ सम्झाउँदै थिए । ‘यो ४० लाख कहिले कमाउँछस् ? मलाई त डर लागेको छ’, ती बुबाको चिन्ता सुनियो,‘बेलैमा ब्याज तिर्न सकेन भने सबै सम्पत्ति बैंकले लिलाम गर्छ । यो कुरा ख्याल गरेस्।’ कलिलो उमेरका ती छोरा अधवैसे बुबालाई सान्त्वना दिँदै त्यहाँबाट निस्किए । बुबा केही बेर टोलाएर टाढा पुग्दासम्म एकोहोरो हेरिरहे ।

विमानस्थलको प्रवेशद्वारमा यस्तै यस्तै खाले कारुणिक रोदन, वेदना र बिदाइका हृदय विदारक दृश्य छरपस्ट थिए । केही बेर ती दृश्यहरू मनभित्र कैद गर्दै रातिको ११ बजे म विमानस्थलबाट बाहिरिए । आफ्ना सन्तानको बिदाइलाई विस्मृत गराउन ती दृश्य काफी थिए । भारी मन बोकेर नरमाइलो मान्दै डेरामा पुगे । 

मानव जातिको विकास क्रमसँगै एउटा ठाउँबाट अर्को ठाउँमा बसाइ सर्ने क्रम नौलो होइन। संसार भरी अनवरत हुँदै आएको छ, यो हुन्छ र भइरहन्छ पनि । तर, अहिले जे नेपाली विमानस्थलमा देखिन थालेको छ, के सबै देशमा अहिले यस्तै छ त? युवा जमात नै रित्तिने गरी आफ्नो देशबाट अन्यत्र बाहिरिने क्रम के अन्यत्र पनि हुन्छ वा भइरहेको छ त ? यी प्रश्न अहिले नेपालसामु गम्भीर रूपमा उठेका छन् । पक्कै यस्तो भयानक बाह्य बसाइसराइ सम्भवतः अन्यत्र छैन होला । 

नेपालबाट बाहिरिने क्रम सन् १३०० ताका रहेको ऐतिहासिक तथ्य प्रमाणले देखाउँछन् । त्यो समय आसपास अरनिकोसँग केही नेपाली व्यापारी तिब्बत गएका थिए। जंगबहादुर राणाका पालामा ब्रिटिसले नेपाली युवालाई सेनामा भर्ती गरेर लगेका थिए  । यस्तै  दार्जिलिङ, आसाम, मेघालयतर्फका पूर्वी क्षेत्रमा रेल परियोजना र चिया बगानमा कामदारका रूपमा नेपालबाट ठुलो संख्यामा कामदार गएका कुरा इतिहासमा भेटिन्छ । 

२००७ देखि २०३६ सम्म देश बाहिर जानेमा भारत जाने नेपालीको संख्या बढी हुन्थ्यो । अन्यत्र केही एकाध व्यक्तिहरू जाने गर्दथे। त्यतीबेला नेपाली राहदानी  सर्वसाधारणका लागि सहज पहुँचमा पनि थिएन । ०४६ को परिवर्तनपछि राहदानी सबै नेपालीका लागि खुला गरियो । जसले देशबाहिर जानेको संख्या ह्वात्तै बढायो । 

त्यो परिवर्तनपछि उदारीकरण र निजीकरणका नाममा भएका उद्योगहरू बेचिने क्रम सुरु भयो । बिक्री नभएका सरकारी उद्योग व्यवस्थापकीय कमजोरी र अति राजनीतिकरणले घाटामा जाँदै बन्द गरिए । यसरी भएका उद्योग बन्द भए, नयाँ खुलेनन् । जसले बेरोजगारी बढिरह्यो । यही बेला ०५२ सालको माओवादी सशस्त्र विद्रोह सुरु भयो । युवायुवती जबरजस्ती वा रहरमा माओवादी सेनामा भर्ना भए÷गरिए । युद्धको त्रासदीपूर्ण अवस्थामा थप उद्योग खुल्ने र रोजगारी सिर्जना हुने अवस्था भएन ।  युद्ध र आन्दोलनका बिचमा शैक्षिक अवस्था पनि डामाडोल बन्न पुग्यो ।

०४८ पछि देशमा स्थिर सरकार पनि भएन । अस्थिरताले सुशासन र सार्वजनिक सेवालाई प्रभावकारी भएन । शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था अपेक्षित सुधार हुन सकेन । जनता निराश बन्न थाले । यसकै असर ०५६ पछि नेपाली युवा खाडीमा कामदारका रूपमा जाने लहर बढेको हो । अर्कातिर पढ्न चाहनेहरू पनि स्वदेशमा राम्रो वातावरण नभएपछि अमेरिका, अस्ट्रेलिया, बेलायत जस्ता देशमा जान थाले । विद्यार्थीका रूपमा युवा विदेश जाँदा अर्बौँ रकम बाहिरिँदै गयो । 

०६२÷६३ को परिवर्तनपछि गणतन्त्र आउँदा जनतामा आशा जागेको थियो। त्यसपछि बनेका सरकारहरूले रोजगारी सिर्जना गर्ने मिठा नारा पनि तमाम सुनाए । तर त्यसपछि पनि सुधार भए । झन् भ्रष्टाचार, कुशासन थिए नै, सार्वजनिक सेवामा भोग्नुपर्ने सास्तीले जनता आजित बनेका छन् । राजनीतिमा अरूलाई होचो देखाएर आफू अग्लो बन्ने होडबाजीमा दलहरू लाग्दा देश बनाउने योजना उपेक्षामा परे । दलहरू आन्दोलन, विद्रोह र युद्धमार्फत व्यवस्था परिवर्तनमा त सिपालु देखिए, तर व्यवस्थाको  व्यवस्थापन गर्ने क्षमतामा भने निकै कमजोर देखिएका छन् । 

जसका कारण जनताका अपेक्षाभन्दा निकै टाढा देशको स्थिति पुगेको छ । भ्रष्टाचारका काण्डै काण्ड सुनिएका छन्, सांसद तथा मन्त्री पद लिलामीमा राखिएका  समाचार सुन्नुपरिरहेको छ । राजनीतिमा अपराधीकरण र अपराधभित्र राजनीति देखिएका घटनाले जनता झन् निराश छन् । 

यस्तोमा स्वघोषित अभियन्ताले ठाउँ पाएका छन् । उनीहरू हरेक भाषण र अभिव्यक्तिमा ‘देश बस्न लायक छैन’ भन्ने भाष्य दिँदै युवालाई देशबाट बाहिरिन प्रेरित गरिरहेका छन् । सामाजिक सञ्जाल नकारात्मकता र अराजकता फैलाउने गिरोहको नियन्त्रणमा छ । केही मिडिया नकारात्मक ‘कन्टेन्ट’मा समाचार बनाएर ‘ट्रोल’ बनाउन उद्धत छन् । केही थरी जमात सद्भावपूर्ण वातावरणमा बसिरहेको नेपाली समाजमा जात, धर्म, सम्प्रदाय र भूगोलका आधारमा विभाजन गरेर साम्प्रदायिकता भड्काउन लागिपरेका छन् । 

यी सबै कारण युवामा चरम असन्तुष्टि र निराशा बढेको बढ्यै छ । युवामा आफ्नो भविष्य नै देशमा नभए बाहिरिनुपर्छ भन्ने बाध्यकारी मानसिकता विकास भएको छ । जसको परिणाम विमानस्थलका दृश्यहरू हुन् । तर, राज्य भने समस्याको कारण पहिल्याएर सकारात्मक सन्देश दिने वातावरण बनाउन लगातार असफल छ । 

अध्यागमन विभागको वेबसाइटमा हेर्दा सन् २००२ मा तीन लाख २४ हजार नेपाली देश बाहिर  गएका थिए । त्यसपछिका हरेक पाँच वर्षका तथ्यांक हेर्दा २००७ मा पाँच लाख ३२ हजार, २०१२ मा आठ लाख ८१ हजार, २०१७ मा १३ लाख ३८ हजार र २०२३ मा पुग्दा १६ लाख तीन हजार नेपाली बाहिरिएका छन् ।  सन् २०२३ का १६ लाखमध्ये आठ लाख कामदार र बाँकी आठ लाख पढ्न, अस्थायी र स्थायी बसोबासका लागि गएका देखिन्छन् ।  कामदारका रूपमा गएकाहरू त कति जीवन लिएर फर्केलान्, कति बाकसमा फर्केलान्, तर अध्ययनका लागि गएकाहरू सकेसम्म फर्कन्नन् । अझ कतिपय त नेपालमा भएको सम्पत्ति समेत बेचेर हिँड्नेहरू भित्र पर्छन् ।   

२०७८ को जनगणनाकै तथ्याकलाई विश्लेषण गर्दा नेपालमा १४ वर्ष मुनिको जनसंख्या २७ प्रतिशत छ । १६ वर्ष देखि ४० वर्षसम्मको जनसंख्या ४२.५५ प्रतिशत छ । यही उमेर समूह बेरोजगार छ, अध्ययन गरिरहेको छ, भविष्य खोजिरहेको छ र असन्तुष्ट भएर विदेश जान चाहिरहेको छ ।  जसोतसो देशमै बस्न चाहने ६० वर्ष कटेकाहरूको जनसंख्या मात्र १०.२१ प्रतिशत छ । त्यो समूह पनि छोराछोरी विदेश गएपछि जहाजमा उडेर जान बाध्य छ । बाँकी रहेकाहरूमध्ये केहीले वृद्धाश्रममा जीवन व्यतीत गर्नुपरिरहेको छ । अहिले नेपालमा १४१ वटा वृद्धाश्रम पुगेका छन्, यस्तै अवस्था रहे यो संख्या अझ बढ्ने निश्चित छ । स्वदेशमै बस्ने वृद्ध वृद्धाका श्वासले होइन लासले सन्तान पर्खनुपर्ने दर्दनाक अवस्था हामीले भोग्न थालिसक्यौँ ।  

राज्यले समयमै युवाहरू किन बाहिरिइरहेका छन्? रोक्न के गर्नु पर्छ ? राज्यले सोच्न भ्याएको देखिदैन् । अनेक थरी आयोग बन्दा युवा बिदेसिने कारण पत्ता लगाउने र स्वदेशमा कसरी रोक्ने भन्ने समस्या पत्ता लगाउने आयोग बनेको छैन । बसाइसराइ रोक्न कुनै कानुन वा प्रतिबन्ध जायज कुरा होइन । त्यसका लागि देशमा बस्ने वातावरण बन्नुपर्छ । राज्य यसका लागि गम्भीर हुनुपर्छ । युवाहरूमा आँखामा आगो र पैतालामा काँडा बिझेको अवस्था छ । समाज डिप्रेसनमा छ । यस्तोमा आगोको ज्वाला भड्किन सक्छ, डिप्रेसनले पागलपन निम्त्याउन सक्छ । राज्यले सचेत हुनुपर्छ ।  

‘देश’ एक भूगोल हो, जहाँ मानिस बसोबास गर्छन् र उनीहरूले  राजनैतिक, सांस्कृतिक र आर्थिक गतिविधि जस्ता क्रियाकलाप गर्छन् । अधिकांश जनसंख्या देश बाहिर जाँदा देशमा भूगोल मात्रै रहने अवस्थाले कहाँ पुर्‍याउँला ? मानिस नै नभएको भूगोल(देश)मा आर्थिक राजनैतिक र सांस्कृतिक क्रियाकलाप कसरी होलान् ? यो तर्फ पनि सोच्ने बेला आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक लाखौँ नागरिक बाहिरिँदै छन् । जहाँबाट जहाजले दैनिक युवायुवती मात्रै बोकिरहेको छ कि देश पनि? प्रश्न जायज छैन त ?

प्रकाशित: २९ आश्विन २०८१ १९:०४ मंगलबार

Migration Abroad Migration Nepal Tension Youth Abroad Migration