विचार

कसरी सुधार्ने नयाँसडकका सडकपेटी ?

राजधानीको मुख्य व्यावसायिक केन्द्र नयाँसडक (न्युरोड)मा काठमाडौँ महानगरपालिकाले अहिले सडकपेटी निर्माण गरिरहेको छ। तर, सडकपेटी निर्माण कार्यले स्थानीय व्यवसायी र सर्वसाधारण भने मारमा परेका छन्। उनीहरूले सडकपेटी निर्माणका क्रममा समन्वय नभएको र सुरक्षात्मक उपाय नअपनाएको बताएका छन्।

गत शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण न्युरोड क्षेत्रको अवस्थाले सडकपेटी निर्माणमा कैफियत देखिएको हो। वर्षा मौसममा पानीको उचित निकास नहुँदा सडकपेटी छेउछाउका पसलहरूमा पानी पसेर ठूलो आर्थिक क्षति पुगेको छ। यसबारेमा स्थानीय व्यापारी समुदायले पटक–पटक महानगरमा गुनासोसमेत गरेको छ। तर सरोकारवाला निकायले यस समस्यामा ध्यान दिएको छैन।

भएन समन्वय

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहमाथि अहिले लाग्ने आरोप हो–उनी समन्वय गर्दैनन्। न्युरोडमा पनि त्यही दृश्य देखिएको छ। न्युरोडका अधिकांश घर पुराना छन्। घरहरूको उचाइ पनि धेरै छैन। अहिले फुटपाथ निर्माणका क्रममा घरभन्दा माथिसम्म फुटपाथ बनाइएको छ। घर र पसलमा सजिलै पानी पस्ने गरी फुटपाथ बनाइएको छ। जसको सिधा असर स्थानीय र व्यवसायीलाई परेको छ। पुरानो नगर क्षेत्रमा स्थानीयसँग समन्वय गरेर कस्तो संरचना निर्माण गर्दा राम्रो हुन्छ भन्नेबारेमा महानगरले प्रयास गरेको देखिँदैन।

यस्तै, न्युरोडमा भइरहेका पेटी निर्माणमा गुणस्तर कायम राखिएको छैन। जसका कारण दैनिक हिँडडुल गर्ने सर्वसाधारण र व्यापारीहरूलाई समस्या परेको छ। ठाउँ–ठाउँमा निर्माण सामग्री थुपारिएका छन्। बिजुलीका पोल र बक्सहरू सडकपेटीको बीचमा नै छ। जसले कुनै दिन दुर्घटना निम्त्याउन सक्छ। यसमा पनि महानगरले समन्वय गरेको देखिएन। ‘निर्माण भएका ठाउँमा बीचमै पेटी चर्किन थालेको छ जसले गर्दा यो परियोजनामा भएको लापरबाही प्रष्ट देखिन्छ’, एक व्यवसायी भन्छन्।

उचाइ नै समस्या

अहिले सबभन्दा गम्भीर समस्या सडकपेटीको उचाइ नै देखिएको छ। यस्तै, निर्माण गरिएको क्षेत्रमा पानी निकास पनि दिइएको छ। वर्साद्को पानीलाई निकास दिने कुनै उपयुक्त प्रणालीको निर्माण गरेको देखिँदैन। यसकारण सामान्य वर्षाले पनि सडकमा पानी थुप्रिने र पुराना पसलहरूमा पसेर व्यापारमा ठूलो असर पर्ने गरेको छ।

पसलहरूको भुइँ सतहभन्दा नयाँ बनाइरहेको सडकपेटीको सतह बढी उचाइमा बनाइएको छ जसले गर्दा वर्षा हुँदा पानी पसलभित्र छिर्ने गर्छ। यसले गर्दा व्यवसायीहरूलाई ठूलो चिन्ता परेको छ। एक व्यापारीले भने, ‘पहिला सामान्य वर्षा हुँदा पनि पानीको निकास राम्रैसँग हुन्थ्यो। तर अहिले त साना पानीका भेलले पनि पसल डुब्छन्। यो समस्या लामो समयसम्म रहिरह्यो भने हाम्रो व्यापार नै ध्वस्त हुने सम्भावना छ।’

महानगरले नै सुनेन गुनासो

स्थानीय व्यवसायी र सर्वसाधारणले सडकपेटीको निर्माणलाई लिएर पटक–पटक महानगरपालिकामा गुनासो गरेका छन् तर कुनै ठोस समाधान आउन सकेको छैन। न्युरोड क्षेत्रमा भइरहेका निर्माण कार्यहरूमा देखिएको अव्यवस्था र लापरवाहीलाई लिएर जनताको आक्रोश भने बढ्दो छ। ‘सडकपेटी निर्माणले पैदलयात्रीहरूलाई केही हदसम्म सुविधा दिने अपेक्षा थियो तर यस्तो लापरबाहीपूर्ण कार्यले उनीहरूको जीवनस्तरमा झन् असुविधा थपेको छ’, एक स्थानीयले भन्छन्।

व्यापारीहरूले पानीको निकासलाई महत्वका साथ उठाएका छन्। अविरल वर्षाले पसलमा पानी पसेर सामानहरू बिग्रिएको उनीहरू बताउँछन्। ‘हरेक पटक पानी परेपछि हामीलाई हाम्रो पसलको ढोका खोलेर पानी निकाल्नुपर्छ। कतिपय अवस्थामा त सामानहरू बिग्रिएर लाखौँको क्षति भयो। यस्तो अवस्थामा हामीले नगरपालिकालाई बारम्बार जानकारी गरायौँ तर हाम्रो कुरा कसैले सुन्ने छैन भन्ने अनुभूति भयो’, अर्का व्यवसायी भन्छन्।

व्यापारमा लगातार आउने नोक्सानले उनीहरूको लगानी र मेहनतलाई संकटमा पार्नेछ। स्थानीय सरकार र सरोकारवाला निकायहरूले उनीहरूको समस्या सुनेर तत्काल समाधान निकाल्नुपर्ने देखिन्छ।

अत्यावश्यक कदम

यस्तो समस्याको समाधान गर्न तुरुन्तै केही प्रभावकारी कदम चालिनु आवश्यक छ। सबैभन्दा पहिला निर्माण कार्यमा भएको त्रुटि सुधार्न महानगरपालिकाले प्राविधिक विशेषज्ञहरूबाट पुनः परीक्षण गर्नुपर्ने माग स्थानीयको छ। यदि फुटपाथको उचाइले समस्या उत्पन्न गरेको हो भने त्यसलाई पुनः डिजाइन गरी समायोजन गर्नुपर्ने उनीहरूको माग छ। त्यसबाट पानीको उचित निकासको व्यवस्था गर्न सकिने उनीहरूको विश्वास छ। यससँगै पानी निकासका लागि पूर्वाधारमा पनि विशेष ध्यान दिनु जरुरी छ। सडक पेटीमा बनेका निकास मार्गहरू पुनः समीक्षा गरेर ती उचितरूपमा कार्यान्वयन भइरहेका छैनन् भने सुधार गर्नुपर्छ।

पानीको निकास जस्तो महत्वपूर्ण विषयलाई बेवास्ता गर्दा यो समस्याले समग्र शहर व्यवस्थापनलाई चुनौती दिने खतरा छ। स्थानीय सरकार, व्यवसायी र प्राविधिक विशेषज्ञहरूको सहकार्यले मात्र यस्तो समस्याको स्थायी समाधान निकाल्न सकिन्छ। व्यापारीहरूका लागि बर्खामा पसलमा पानी पस्न नदिन तत्काल रोकथाम उपायहरू लागु गर्नुपर्ने देखिन्छ। सम्भावित निकासका मार्गहरू बन्द भएका ठाउँमा सफाइ गरिनु जरुरी छ भने अस्थायीरूपमा पानी रोक्न साना संरचनाहरू, जस्तै– ब्यारेज वा निकास द्वारहरू बनाउनु उपयुक्त हुनेछ।

निष्कर्ष

न्युरोडको सडकपेटी निर्माणमा देखिएको लापरबाही र पानी निकासको असुविधाले स्थानीय व्यापारी र सर्वसाधारणलाई गम्भीर असर पुर्‍याएको छ। यो समस्यालाई यथाशीघ्र समाधान नगरेमा व्यापारिक गतिविधि र पैदल यात्रुको सहजता झन् खल्बलिनेछ। महानगरपालिकाले व्यापारीहरूको गुनासो सुनेर आवश्यक सुधारात्मक कदम चाले मात्र न्युरोडको वातावरण फेरि सुधार गर्न सकिन्छ।

प्रकाशित: २० आश्विन २०८१ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App