विचार

श्रीलंका निर्वाचनको नेपाल साइनाे

आगामी असोज ५ मा राज धर्म बौद्ध धर्म घोषित दक्षिण एसियाली मुलुक श्रीलंकामा राष्ट्रपति निर्वाचन हुँदैछ। दक्षिण एसियामा अवस्थित अत्यन्त रणनीतिक महŒवको हिन्द महासागरको टापु राष्ट्र श्रीलंकासँग १९५७ जुलाइ १ मा नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको हो।

नेपाल जस्तै श्रीलंका पनि सांस्कृतिकरूपले सम्पन्न र लामो इतिहास बोकेको राष्ट्र हो र हालैका दिनमा सांस्कृतिक, धार्मिक समानता र अपनत्वका कारण नेपाली र श्रीलंकाली नागरिकबीच वैवाहिक सम्बन्ध पनि झाँगिदो छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र श्रीलंका हातेमालो गरेर अघि बढिरहेका छन्।

श्रीलंकाले चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाअन्तर्गत हम्बनटोटा बन्दरगाह निर्माण गरेको छ। यसले श्रीलंकाको रणनीतिक महत्त्वलाई झनै उजागर गरेको छ भने अर्कोतिर श्रीलंकामा भारत र चीन आमनेसामनेको स्थितिमा पुगेका छन्।

श्रीलंकामा बौद्ध धर्मावलम्बीको जनसंख्या ७२ प्रतिशतभन्दा बढी छ। यो नै नेपाल–श्रीलंका सम्बन्धको मुख्य आधार हो। श्रीलंकाली जनता भगवान् बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध श्रद्धा राख्छन्। उनीहरू आफ्नो जीवनमा एकपल्ट लुम्बिनी पुग्ने धोको राख्छन्। नेपाल भ्रमण गर्ने पर्यटकमा शीर्षस्थानमा भारतीय र चिनियाँपछि श्रीलंकाली नागरिक छन्।

६४ वर्षपहिले विश्वलाई पहिलो महिला प्रधानमन्त्री दिएको श्रीलंकाको यस राष्ट्रपति चुनावका लागि ३९ उम्मेदवारले नामांकन भरेका थिए। ती उम्मेदवारमध्ये मोहम्मद इलियासको निधन भएपछि ३८ उम्मेदवार मैदानमा छन्।

श्रीलंकाली जनताले १९६० मा  विश्वको  पहिलो  प्रधानमन्त्रीका  रूपमा  सिरिमावो  बन्दरानायकेलाई चुनेका थिए। तर यसपालिको राष्ट्रपतिको चुनावमा एकजना पनि महिला उम्मेदवार नहुनुले श्रीलंकाली राजनीतिमा महिला सहभागीताको अभाव देखिन्छ।

मुख्य प्रतिद्वन्द्विता वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघे, विपक्षी नेता सजिथ प्रेमदासा र जनता विमुक्ति पेरामुना (जेविपी) नेतृत्वको नेसनल पिपुल्स पावर (एनपिपी) गठबन्धनलाई प्रतिनिधित्व गर्ने माक्र्सवादी नेता अनुराकुमारा दिसानायकेबीच हुनेछ।

चुनाव मैदानका अन्य नामी हस्तीहरूमा फिल्ड मार्शल सरथ फोन्सेका (निर्दलीय) र एसएलपिपीका अनुभवी राजनेता विजयदासा राजपक्षे सामेल छन्। उनले तमिल टाइगर्सविरुद्धको युद्धमा जित हासिल गरेका थिए । राष्ट्रपति रनिल विक्रमसिंघेले आफ्नो चुनावी घोषणापत्र जारी गर्दै भनेका छन्–आइएमएफ र द्विपक्षीय करदाताहरूसँग गरिएको सम्झौता बदल्न सकिँदैन। विपक्षी उम्मेदवारतर्फ इंगित गर्दै उनले भने– केही उम्मेदवारलाई लाग्छ कि उनीहरू यस्तो गर्न सक्छन् तर यो खाली समयको बर्बादी मात्रै हो।

चुनावमा आइएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) ठूलो मुद्दा बनेको छ। विक्रमसिंघेले भनेका छन्– आइएमएफको २.९ अर्ब डलरको प्याकेजमा मैले २०२३ मा सम्झौता गराएको थिएँ, त्यसका लागि केही सुधारको आवश्यकता थियो, मुलुकले कि ती सुधार लागु गर्नुपर्छ अन्यथा मुलुकलाई फेरि कठिन आर्थिक परिस्थितिमा लैजान तयार हुनुपर्छ।

विक्रमसिंघेको दुई वर्षको कार्यकालमा आर्थिक सूचकहरू लोभलाग्दोरूपमा राम्रो भएको छ। महँगाइ दर ७० प्रतिशतबाट घटेर पाँच प्रतिशतमा आएको छ भने ब्याज दर पनि घटेको छ। रुपियाँ बलियो भएको छ र राष्ट्रको विदेशी मुद्रा भण्डार पनि बढेको छ। यसका बाबजुद पनि आमजनता बढ्दो करका दरहरू र बढेको खर्चले गर्दा प्रभावित भएका छन्।

७५ वर्षीय विक्रमसिंघेको अगाडि पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे पुत्र नमन राजपाक्षे पनि चुनौतीका रूपमा उभिएका छन्। उनको पार्टी एसएलपिपी श्रीलंकाली संसद्मा अहिले पनि सबैभन्दा ठूलो पार्टीका रूपमा छ र विक्रमसिंघेको राष्ट्रपति पदका लागि उनको पार्टीले समर्थन गरेको थियो।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार दिशानायके नेतृत्वको नेसनल पिपल्स पावर गठबन्धन जनतामाझ लोकप्रिय भएको छ। यो गठबन्धनले विशेष गरी मेहनतकस मजदुरहरूको मन जित्ने कोसिस गरेको छ। श्रीलंकाले झेलेको संकटबाट निक्लिनका लागि श्रीलंकाली जनताले जुन परिवर्तनको आश गरेको थिए त्यो परिवर्तन उनीहरूले चाहेका छन्।

ज्ञातव्य छ, आर्थिक संकट आउनुअघि श्रीलंका, दक्षिण एशियामा आर्थिक दृष्टिले अत्यन्त समृद्ध र सबैभन्दा बढी शिक्षित मुलुकमा दरिन्थ्यो। दिशानायकेले भनेका छन्– ‘हाम्रो देशका जनताले परिवर्तनका लागि ठूलो आश गरेका छन् र उनीहरूलाई परिवर्तन चाहिएको छ। हामी त्यो परिवर्तन ल्याउनेवाला छौँ। बाँकी सबै उम्मेदवार त्यही पुरानो, असफल, पारम्परिक सिस्टमका एजेन्ट हुन्।’

हालै श्रीलंका सरकारले १५ असोजदेखि लागु हुनेगरी नेपाल, अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया लगायत ३५ मुलुकका नागरिकलाई भिसामुक्त ३० दिने पर्यटक प्रवेशाज्ञा दिने निर्णय गरेको छ। यस निर्णयले गर्दा निश्चय पनि नेपाल–श्रीलंका सम्बन्ध झनै कसिलो हुने कुरामा कुनै सन्देह छैन र नेपालीहरू श्रीलंका भ्रमणमा जान उत्साहित हुनेछन्।

नेपाल र श्रीलंकाको सम्बन्धबारे कुरा गर्दा के कुरामा स्पष्ट हुनु जरुरी छ भने विश्वमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भएका मुलुक धेरै छन्। जस्तै– श्रीलंका, म्यानमार, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, मंगोलिया, चीन, भारत आदि। यसमा श्रीलंका र म्यानमार दुई मात्रै यस्ता मुलुक हुन् जसलाई शाक्यमुनि भगवान् गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै द्विविधा छैन।

अन्य बौद्धधर्मावलम्बी मुलुक या स्वयं भ्रमित छन् वा उनीहरूमाझ भ्रम छर्ने काम भएको छ। नेपाल सरकारले विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगका माध्यमबाट यो भ्रम चिरेर मुलुकमा बढीभन्दा बढी बौद्ध धर्मावलम्बी पर्यटक भिœयाइ मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्छ। 

प्रकाशित: २७ भाद्र २०८१ ०८:२७ बिहीबार