बिपी कोइरालाको सानिध्य, स्नेह र प्रेरणा नपाएको भए सायद समकालीन साथीहरू राम, लक्ष्मण र केशव कोइरालाझैँ सहिद बनिसक्थेँ वा अरू केही हुने थिएँ। त्यो सम्भावना थियो पनि तर पत्रकारचाहिँ हुने थिइँन होला।
पत्रकारले नेतालाई गल्ती गर्नबाट जोगाउन, देश र जनताको पक्षमा काम गर्न प्रेरित गर्ने र मनोबल बढाउने काम गर्नुपर्छ भन्ने मान्यता थियो। त्यसैले उहाँले तत्कालीन जल्दाबल्दा पत्रकार मदनमणि दीक्षितलाई आफँैले पैसा दिएर आफ्नै त्रुटि तथा कमजोरी औल्याउन र आलोचना गर्ने सर्तमा समीक्षा साप्ताहिक निकाल्न लगाउनुभएको थियो। पत्रिका आत्मनिर्भर नभएमा सम्झौता गर्न विवश हुनेछन्, स्वतन्त्र ढंगले काम गर्न सक्दैनन् भनेर आफू प्रधानमन्त्री भएका बेलामा सबै पत्रिकालाई उसको प्राथमिक आवश्यकता पूरा हुनेगरी सरकारले नियमित सहयोगबापत विज्ञापन दिने नीति बनाउनुभयो। उक्त नीति अहिले पनि लोककल्याणकारी विज्ञापनका नाममा जारी छ।
कुनै पत्रिकाले लेखेको कुरा चित्त नबुझे उहाँ बाहिर आलोचना गर्नुको साटो सम्बन्धित पत्रकारलाई नै आफ्नो धारणा बताउनुहुन्थ्यो। भारतमा इन्डियन एक्सप्रेसले लिएको अन्तर्वार्तामा बिपीले नेपालमा लोकतन्त्र बहालीका लागि कठोर आन्दोलन आवश्यक भएको विचार व्यक्त गर्नुभएको थियो। जसलाई पत्रिकाले महत्वपूर्ण स्थान दिएको थियो। अन्तर्वार्ताको शीर्षक थियो–बिपी कोइरालाको धम्की। त्यो पढ्नासाथ बिपीले सम्पादक कुलदीप नैयरलाई पत्र लेखेर अन्तर्वार्ता छापेकामा धन्यवाद दिँदै लेख्नुभयो–तर मलाई त्यसको शीर्षक चित्त बुझेन। मैले धम्की दिएको होइन, चेतावनी हो। उक्त पत्रिकाले बिपीको प्रतिक्रिया पनि प्रकाशित गरेको थियो।
बिपीका विचार, व्यक्तित्व र संघर्षका कथा, व्यथा सुनेर, पढेर राजनीतिप्रति आकर्षित भएको म १७ वर्षको उमेरमा जनकपुरको जानकी मन्दिर परिसरमा रहेको राजा महेन्द्रको सालिकमा मोसो दलेर संघर्षको मैदानमा हाम्फालेँ। महोत्तरी, सर्लाही, काठमाडौँका सेन्टर र भद्रगोल जेलहरूमा तीन वर्ष थुनामा बसेपछि मलाई लाग्यो– यस्तो संघर्षबाट वा जेल बसेर मात्र प्रजातन्त्र आउन गाह्रो छ। त्यसैले अब अलि कडा आन्दोलन गर्नुपर्छ। त्यसैबेला बिपीले सशस्त्र क्रान्ति आह्वान गर्नुभएको थियो। म त्यो आन्दोलनमा भाग लिन बम र बन्दूक माग्न बनारस पुगँे । तर बिपीले मलाई केही दिन त्यहीँ रोक्नुभयो, बम वा बन्दूकको साटो कलम थमाइदिनुभयो। उहाँले यहीँ बसेर पार्टीको प्रचारप्रसारको काममा लाग्न भन्दै कांग्रेसको मुखपत्र तरुणको सम्पादकमण्डलमा संलग्न गराउनुभयो। तरुणको सम्पादक शैलजा आचार्य हुनुहुन्थ्यो तर पत्रिकाको सम्पूर्ण सामग्रीहरू तयार भएपछि अन्तिम सम्पादन बिपी आफैँ गर्नुहुन्थ्यो। त्यो पत्रिका नेपालमा कसैसँग फेला पर्यो भने दुई वर्ष कैद र तीन हजार जरिवाना हुन्थ्यो। तैपनि थुप्रै युवाले गोप्यरूपमा उताबाट लिएर आउँथे र लुकीलुकी पढ्थे।
भारतमा निर्वासित भएर नेपालमा लोकतन्त्रका लागि संघर्ष गरिरहेको अवस्थामा केही मिडियाले लेखेका कतिपय कुराबाट बिपी क्रुद्ध हुनुभएको थियो। उहाँ भन्नुहुथ्यो–हामी निरंकुशतन्त्र हटाउन सबैलाई स्वतन्त्रता दिलाउन आफ्नो जीवन हत्केलामा राखेर संघर्ष गरिरहेका छौँ, तर काठमाडौँमा बस्ने पत्रकारहरूचाहिँ हामीलाई अराष्ट्रिय तत्व भनेर भ्रम फैलाइरहेका छन्। हामीले गरेको संघर्ष कसका लागि हो ? हाम्रा लागि मात्रै हो ? प्रजातन्त्र आएपछि त्यसको फाइदा उनीहरूलाई पनि हुने होइन ? देशको र आफ्नै हित÷अहित नबुझ्ने पनि पत्रकार हुन्छ ? तर उनीहरू कुरै नबुझी वा दरबारले अराएर हामीलाई गाली गर्ने होडबाजीमा लागेका देख्छु। केही पत्रकार जेल र प्रतिबन्धको वास्ता नगरी प्रजातन्त्रको दियो बालेर बालेर बसेका छन्। तर केही बरालिएका छन्। हाम्रो संघर्षलाई विदेशका पत्रकारले जति पनि सहयोग गरिरहेका छैनन्।
बिपीको विदेशी पत्रकारसँग पनि राम्रो सम्बन्ध थियो। उहाँ बनारसबाट दिल्ली, लखनउ र पटना जाँदा त्यहाँका प्रेस क्लबहरूमा जमघट हुन्थ्यो। उहाँले कुलदीप नैयर, भोला चटर्जीलगायतका कैयौँ वरिष्ठ पत्रकारसामु मेरो पनि परिचय गराउनुभएको थियो। उहाँको सल्लाहमा म तत्कालीन जर्ज फर्नान्डिजको प्रतिपक्ष र पश्चिम बंगालका समाजवादीहरूले निकाल्ने चौरंगी वार्तामा पनि लेख्ने गर्थें।
२०३३ सालमा बिपीले दक्षिण एसिया बाह्यशक्तिको क्रिडास्थल भएकाले र साना राष्ट्रको अस्तित्व संकटमा पर्न लागेको महसुस गरेर राष्ट्रिय मेलमिलापका लागि स्वदेश फर्किने निर्णय गर्नुभयो। मैले बिपीभन्दा पहिले फर्किने अग्रिम दस्तामा नाम लेखाए र जनपुर जाने टोलीमा संलग्न भए। जनकपुर आउनासाथ सरकारले गिरफ्तार गरेर रामेछाप जेलमा १८ महिना थुन्यो। बिपीले नेपाल फर्किएको केही समयमै राज्यको सम्पूर्ण अंगको आत्मबल गिरेको, सरकार गैरजिम्मेवार ढंगले चलिरहेको, जनतामा निरासा ब्याप्त भएको, जताततै विदेशी घूसपैठ र प्रभाव बढेको तथा राजालाई देश र जनताको वास्तविक अवस्थाको जानकारी नभएको महसुस गर्नुभयो। यसनिम्ति उहाँ राजा, सरकार र पञ्चहरूसँगै प्रेसलाई पनि दोष दिनुहुन्थ्यो। भन्नुहुन्थ्यो– केहीबाहेक धेरैजसो पत्रकार कि दरबारद्वारा सञ्चालित छन् कि विदेशी दूतावासका एजेन्ट बनेका छन्। राष्ट्र र जनताको पहरेदार बन्नुपर्नेहरू नै यसरी कसैको एजेन्ट बनेर आफ्नो जिम्मेवारी बिर्सिएपछि देश कसरी जोगिन्छ ? अनि एकदिन कुरैकुरामा भन्नुभयो– के सरकारले हामीलाई पत्रिका निकाल्न देला ? मिल्छ भने हामी नै एउटा साप्ताहिक पत्रिकार निकालौँ न।
केही दिनपछि यो प्रसंग उठ्नासाथ उहाँले भन्नुभयो– ल तिमी एउटा पत्रिका दर्ता गराउने प्रक्रियामा लाग त। तिमी र पुरुषोत्तम बस्नेतमध्ये एकजना सम्पादक बस्नु, प्रकाशकमा वीरेन्द्र दाहालको नाम राख्नू। पत्रिकाको नामचाहिँ तरुण वा युगवाणी उहाँको प्राथमिकतामा थियो। तर प्रशासनले विभिन्न बहाना गरेर दर्ता दिन आलटाल गरेपछि उहाँले क्षुब्ध भएर भन्नुभयो– भो छाडिदेउ। मलाई लागेकै थियो, कानुनले दिए पनि यिनीहरूले हामीलाई केही गर्न दिँदैनन्।
यसरी राजाको पनि आँखा खोल्न, जनतालाई जागृत गर्न राष्ट्रिय एकता, राजनीतिक शक्तिहरूबीच मूल्य/मान्यतालाई सुदृढ पार्ने उद्देश्य राखेर आदर्श पत्रिकाको नमुना प्रस्तुत गर्ने बिपीको चाहना अधुरै रहन पुग्यो ।
प्रकाशित: २६ भाद्र २०८१ ०८:४० बुधबार