विचार

आरामदायी बुढेसकालको व्यवस्था

नेपाल विश्वमा कुल गार्हस्थ्य उत्पादनमा एक सय ६३औँ स्थानमा रहे तापनि समावेशिताको आधारमा ज्येष्ठ नागरिक भत्ता वितरण गर्ने जस्तो सामाजिक सुरक्षा सेवामा कतिपय विकासोन्मुख मुलुकभन्दा अग्रणी स्थानमा छ।

तथापि, हाल भएका विकासक्रममा तीन पुस्ता एकै घरधुरीमा रहने परम्परागत प्रणाली लगभग भङ्ग भइसकेको छ। यसले गर्दा खासगरी नाजुक शारीरिक तथा मानसिक अवस्थामा रहेका वृद्धहरूको हेरचाह र जीवनको अन्त्यतिर आवश्यक पर्ने आरामदायी हेरचाहमा कमी आएको छ। यसका मुख्य कारण हुन्–विगत केही दशकदेखि व्यापकरूपमा ग्रामीण क्षेत्रबाट शहरतर्फको बसाइँ–सराइ र नेपालको अर्थतन्त्रमा रेमिटान्सको महत्त्वपूर्ण योगदान भए तापनि त्यसको आधार मानिएका युवाहरूको  विदेश पलायन।

वृद्धहरूको हेरचाह र आरामदायी हेरचाह दुवै स्वास्थ्य सरोकारका विषय हुन् जसले विभिन्न जनसमुदायबीच हुने स्वास्थ्य असमानतासँग निकट निर्भरता राख्छन्। अब नेपालमा वृद्धहरूको हेरचाह र आरामदायी हेरचाह क्षेत्रहरूमा आधुनिक स्वास्थ्य विज्ञानमा आधारित व्यावसायिक सेवाको विकास गरी राष्ट्रिय कार्यक्रमका रूपमा यसको उपलब्धता समावेशिताको आधारमा हुनु आवश्यक भएको छ।

संघीयताको संरचनामा संघीयस्तरमा राष्ट्रिय शिक्षा एवं स्वास्थ्य नीति र मानक निर्माण गरी लागु गर्न सकिन्छ भने प्रान्तीय स्तरमा कार्यक्रम तर्जुमा तथा स्रोत परिचालन गरी लागु  गर्न सकिन्छ।

स्थानीय स्तरमा भने सामुदायिक आवश्यकता निर्धारण गरी हेरचाह गृह स्थापना तथा व्यवस्थापनको नियमन गर्नुपर्ने हुन्छ। निजी क्षेत्रमा, हालसम्म पहल गरिएको ललितपुरस्थित १३ बिछ्यौनाको हस्पिस नेपाल नामक अस्पताल आधुनिक आरामदायी हेरचाहसम्बन्धी मुलुककै पहिलो सह्रानीय प्रयास हो।

उक्त अस्पताललाई विस्तार गर्न हाल एक आधुनिक हस्पिस अस्पताल निर्माण सुरु भएको छ, जसका लागि बेलायत, अस्ट्रेलिया, अमेरिका क्यानडा र न्युजिल्यान्डका दाताबाट भैरहेको आर्थिक सहयोग खासगरी नेपाली समुदायबीच विस्तार गरी यथेष्ठ योगदान जुटाउनु अत्यन्त आवश्यक छ।

छिमेकी भारतमा अहिले एउटा हृदयविदारक वास्तविकता बाहिर आएको छ– परिवारमा आफ्ना वृद्धवृद्धाको सम्मान गर्ने परम्परा भए तापनि अहिले बढ्दो संख्यामा आफ्नै परिवारले नै उनीहरूलाई परित्याग गरिरहेका छन् भने यी वृद्धवृद्धा अक्सर बाँच्नका लागि भिख माग्न वा आश्रयस्थलमा शरण लिन सडकमा निस्कन बाध्य हुँदैछन्।

वृद्ध आमाबाबुको हेरचाह गर्नु बच्चाको कर्तव्य हो भन्ने विश्वास लामो समयदेखि भारतीय संस्कृतिमा जरा गाडेको छ तर विस्तारित आयु, सहरीकरण र पश्चिमी प्रभाव जस्ता कारकहरूले यस परम्परालाई तनावपूर्ण बनाएको छ। फलस्वरूप, अदालतहरूमा आमाबाबुले आफ्ना छोराछोरीबाट पाउने मद्दतका लागि न्याय माग्ने घटना बढेका छन् र फुटपाथ र गल्लीहरूमा वृद्ध व्यक्तिहरूको भिड लागेको छ जसलाई उनीहरू आफ्नो बासस्थान मान्न बाध्य छन्।

भारतको वृद्ध जनसंख्याले सामना गर्नुपरेका यो चुनौती यो एक जटिल मुद्दा हुँदै गएको छ जसले एउटा यथोचित टेवा प्रणालीको आवश्यकतालाई उजागर गर्छ जो नेपालका लागि पनि सान्दर्भिक छ।

अर्कोतर्फ दक्षिण भारतको तेलङ्गना प्रदेशको हैदरावादमा भने एक राम्रो सामुदायिक आरामदायी प्रणालीको विकास भइरहेको छ, जसको सिकाइबाट नेपालको मकवानपुर जिल्लामा पनि सो प्रणाली परीक्षण भैरहेको सन्दर्भमा समयमै वृद्ध हेरचाह तथा आरामदायी हेरचाहको देशव्यापीरूपमा कार्ययोजना सञ्चालन गर्न आवश्यक छ।

यसका लागि वृद्ध सेवा र आरामदायी सेवाको विकास सामुदायिक वा संस्थागत दुवै मोडलमा ग्रामीण तथा सहरी क्षेत्र दुवैमा सम्भाव्यताका आधारमा गर्न सकिन्छ। जसले गर्दा नेपालका ग्रामीण, दुर्गम तथा सीमान्तकृत समुदायसम्म ती सेवा उपलब्ध गराउन सकिन्छ।

वृद्ध हेरचाहको परिस्थिति सिर्जनामा विदेशमा बसोबास गर्ने नेपालीको ठूलो योगदान छ। त्यसैले समाधान खोज्न पनि डायस्पोराका नेपाली जिम्मेवार हुनुपर्छ। अझै, विकसित मुलुकमा बस्ने र विशेषगरी उत्तर अमेरिकाका नेपाली डायस्पोरा समुदायको अहम् भूमिका छ। यसको पहलकदमी गर्नमा नेपाली डायस्पोरा समुदायको संलग्नता र योगदान अपरिहार्य छ। विशेषगरी, अस्ट्रेलिया, युरोप, क्यानडा र अमेरिका जस्ता पश्चिमी देशहरूमा वृद्ध हेरचाहको राम्रो विकसित प्रणाली छ। डायस्पोरा समुदायले ती देशका उत्कृष्ट अभ्यासहरू र आवश्यक लगानी नेपालमा भित्र्याउन ल्याउन सक्छन्।

- रसाली क्यानडास्थित युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाको जनसंख्या तथा जनस्वास्थ्य स्कुलमा ज्येष्ठ नागरिक लगायतका स्वास्थ्य असमानताबारे अनुसन्धान गर्छन्।

प्रकाशित: २१ श्रावण २०८१ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App