विचार

सत्ता समीकरण मनोविज्ञान र मिसन ८४

नेपाली समाजले धेरै लामो समयदेखि अस्थिरता बेहोरेको छ।  राजनीतिमा सत्ता परिवर्तनले गर्दा नेपाली समाजमा अस्थिरता भोगेको छ। विभिन्न विद्वान्को भनाइमा राजनीतिक अस्थिरताले आर्थिक समृद्धिमा ठुलो असर गर्छ। देशको आर्थिक विकास र समृद्धि कहिले हुने होला भन्ने सामाजिक मनोविज्ञान व्याप्त छ। अवस्था हेर्दा देश झन् अस्थिरतातिर देश लम्किएको छ। एमाले र माओवादी गठबन्धनलाई पनि बहुमत दिएर हेरिसकेका छन्। अहिलेको चुनावी सरकारमा पनि पाँच दलीय गठबन्धनलाई पनि भोट दिएर हेरे। यसले पनि राजनीतिक स्थायित्व दिन सकेन। यो संघीय चुनावी परिणामबाट झन् अस्थिरता बढ्दै गयो।

जनता चाहन्छन्, उचित सामाजिक न्यायको फलस्वरूप मनोविज्ञानका आधारमा नै संविधानमा सामाजिक न्याय राखिएको हो। समाजमा विभिन्न खालका विभेद विद्यमान भएकैले यो शब्दको निर्माण भएको हो। बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र र सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको परिकल्पना गरिएको हो।

अहिलेको समीकरणसँग दुईतिहाइ छैन। दुईतिहाइ पु¥याउन कुनै पार्टीको सर्मथनको आवश्यकता छ। अन्य कुनै पार्टीको समीकरणले केही संविधान संशोधन गर्ने भने पनि अस्थिरता झन् बढ्ने देखिन्छ।

सत्ता समीकरण

राष्ट्रिय राजनीतिमा रातारात समीकरण बदलिएको छ। कांग्रेस–एमालेको नयाँ समीकरणले संविधान संशोधनको हल्ला व्यापक गरेको छ। यसले के गर्ने हो कसैलाई थाहा छैन। सानो अभीष्टका साथ सत्तासमीकरण बदलिएको होइन। संविधान संशोधन गर्ने ठुलो अभीष्ट लिएर समीकरण बनेको छ। यस समीकरणमा कुनै नैतिक मूल्य–मान्यता र वैचारिक धरातल भने देखिँदैन। झिनो आशाका साथ गठबन्धनबिच केही सहमति भएका छन्। केही हुन्छ कि भन्ने समाजको मनोविज्ञान छ।

नेपाली कांग्रेसले त विज्ञप्ति नै जारी गरेको छ कि नेपाली कांग्रेसले र नेपाल कम्युनिस्ट पार्टी  (एमाले) बीच २०८१ असार १७ गते राष्ट्रिय हितको रक्षा गर्न, भष्ट्राचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीलाई सुदृढ गर्ने गरी सविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन भनी यो दुई पार्टीबीच गठबन्धन भएको छ।

समय परिवर्तनशील छ। समयानुसार नेपाली समाजको सामाजिक मनोविज्ञान फरक बन्छ। यो सामाजिक परिघटनाले सृजना गर्ने हो। तदनुरूप पनि विगतका पटक पटक समीकरणले जनमतको अपमान गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई–दुईपटक असंवैधानिक रूपमा संसद् विघटन गरेपछि संविधानवादको नाममा कांग्रेस–माओवादीसहितको पाँच दलीय गठबन्धन बनेको थियो। त्यसकै आधारमा जनता विभिन्न आस्थामा राख्ने भए तापनि गठबन्धन सरकारलाई मत दिएका थिए।

चुनावी परिणामपश्चात् जनमानसमा ठुला दलका पार्टी एमाले र कांग्रेस मिलेर सरकार चलाए देश अस्थिरतामा नजाने र समृद्ध सरकारको परिकल्पना पनि गरेका थिए। त्यो सम्भव भएन। सत्ता लोभले गर्दा नै अस्थिरता अघि बढ्दै गयो। केवल कुर्सीका लागि सत्ता समीकरण बदल्नतिर माओवादी अध्यक्ष दाहाल लागे। सत्ता समीकरणबाट नै फेरि दाहाललाई ठेगान लगाउन चाहेको देखिन्छ।

कांग्रेस र एमालेलाई यो संविधानमा सुधार ल्याउनेभन्दा पनि माओवादीका हालिमुहालीलाई अन्त गर्ने पक्षमा आएका हुन् भन्ने नेपाली समाजको मनोविज्ञान पाइन्छ। यसमा दाहालको राजनीतिक आस्था र इमानजमानमा विश्वसनीयता नदेखिएकाले नै यो गठबन्धन भएको हो। यस्ता भाष्य धेरै नै निर्माण भएका छन्।

सामाजिक मनोविज्ञान

संघीयता, लोकतन्त्र, गणतन्त्रीय संरचनाले नेपाली समाजमा आशा र भरोसाभन्दा वितृष्णा पैदा गरेको छ। संघीय संरचनामा समानुपातिक निर्वाचन प्रणालीको उपयोग नातावाद र कृपावादमा समर्पित भएको छ। यसले संघीय प्रणालीप्रति वितृष्णा जागेको छ। समानुपातिक निर्वाचन प्रणालीका कारण केही संख्यामा भए पनि उत्पीडित वर्ग तथा समुदाय आएका छन् तर अब यसले झन् त्यो वर्गमा प्रतिस्पर्धाभन्दा अन्तरद्वन्द्व बढाउन थालेको छ।  

१० वर्षे सशस्त्र युद्धबाट लामो समय देश आर्थिक सामाजिक र सदभाव गिर्दाे अवस्थामा पुग्यो। देश समृद्ध हुनका लागि महिला, दलित, जनजातिलगायत उत्पीडित वर्ग, समुदाय, लिंग आदिलाई राज्य संयन्त्रमा नसमेटीकन, उनीहरूको उत्थान नगरीकन राज्यले समृद्धिको यात्रा तय गर्न सक्दैन भन्ने राजनैतिक सामाजिक मनोविज्ञानलाई देशको कुनाकन्दरासम्म पुर्‍याइयो। फलस्वरूप त्यो आन्दोलनले धर्मनिरपेक्ष, संघीयता र समानुपातिक समावेशीजस्ता क्रान्तिकारी कदमलाई स्विकार्‍यो वा स्विर्कान बाध्य बनाइयो।

लोकतन्त्रमा सबै धर्म, लिंग, वर्ग, क्षेत्र र समुदायलाई राज्यको मूलधारमा समेट्नुपर्छ अनि मात्र सामाजिक न्याय स्थापित हुन सक्छ। समाजमा सबभन्दा पहिला यो खर्चिलो राष्ट्रपतीय प्रणाली देखिएको छ। झन् संघीयसभामा र प्रदेशसभामा राखिएका समानुपातिक प्रणाली र प्रदेशीय संरचना प्रणालीप्रति नै जनमानसमा राम्रो अवधारणा बन्न सकेको छैन। यो प्रणाली नेपालको अर्थतन्त्र र पद्धतिलाई भूगोल सुहाउँदो भएन भन्ने जनमानसको मनोविज्ञान छ।

सामाजिक मनोविज्ञान नै यो प्रावधान हटाउनुपर्छ। प्रादेशिक संरचनामा बनाएका विभिन्न आयोग पनि उपयुक्त देखिएका छैनन्। यी संरचना सम्बन्धित आवाज कुना कन्दरासम्म गुन्जिएका छन्। यो कहाँसम्म अघि बढ्छ। यसै भन्न सकिने अवस्था छैन। राज्यको भाष्य गाउँगाउँमा सिंहदरबारको परिकल्पनाको नारा अहिले आएर गाउँगाउँमा राजा भएको छ।

 पहिला एक राजा थिए, अहिले हजारौं राजाको सृजना भएको छ। यस्ता सामाजिक मनोविज्ञान समाजमा व्याप्त छन्। यसलाई कसरी अबको गठबन्धनले सहजीकरण गर्न सक्छ। भ्रष्टाचारीहरूको फाइल खोल्न लागेकाले यो सत्ताको समीकरण भयो भन्ने भाष्य पनि निर्माण गरिँदैछ। यस्ता भाष्यले समाजमा समाजमा भम्र पैदा गरेका छन्।

ओली प्रवृत्तिको पुनरावृत्ति भयो भने यो गठबन्धन एक वर्ष नहुँदै फेर्ने स्थितिमा आइपुग्छ। यस्ता मनोविज्ञानलाई अहिलेको गठबन्धनले चिर्न सक्नुपर्छ। नत्र गठबन्धन सरकार धेरै नजाने संकेत देखिन्छ। समाजको सामाजिक मनोविज्ञान राष्ट्रिय सहमतिको सरकार नै हो। परिवर्तनका साझेदार दल (कांग्रेस, एमाले, माओवादी) मिलेर सरकार बनाई कम्तीमा संविधानका मौलिक हकहरूको कार्यान्वयनका भरोसा तर राजनीतिमा सत्ता लिप्साले गर्दा यो हुन सकेन।

राष्ट्रिय सहमतिको सरकार बनोस् र विकास समृद्धिको बाटो तय होस् भन्ने चाहना त छ तर पनि पार्टीहरूप्रति जनताको अझै विश्वास छैन। यो पनि सत्ता र स्वार्थको राजनीति भन्ने मनोविज्ञान छ।

मिसन ८४

अहिलेको नेतृत्ववर्गको एउटा सामाजिक मनोविज्ञानको विकास भएको छ– मिसन ८४। अझ नयाँ दलले यसलाई अभियान स्वरूप नै लगेका छन्। नयाँ दलले नेपाली सामाजिक मनोविज्ञान बुझेर नै प्रादेसिक संरचनाको खारेजी उठाएको छन्।

स्थिरताका लागि संविधान संशोधन गर्नेपर्ने अहिलेको आवश्यकता छ। यो पक्का पनि पश्चगमनका लागि होइन, देशको समृद्धिका लागि यो सोच अग्रगमन मान्नुपर्छ। अस्थिरताले राजनीति थिलोथिलो भएको छ। फलस्वरूप मिसन ८४ मा समानुपातिक प्रणाली हटाएर एकदलको बहुमत सरकार वा प्रत्यक्ष चुनावबाट आउने प्रतिनिधिबाट नै संघीय सरकार निर्माण  गराउन सक्नुपर्छ।

अबको समाजले यो बुझ्नु जरुरी छ कि मिसन ८४ मा पनि स्टन्टबाजी, ड्रामाबाजी गर्नेलाई हामीले पहिचान गर्न सक्नुपर्छ। यथार्थ नबुझीकन धरातलीय ज्ञानबाट प्रतिनिधि पहिचान गरी जिताउन सक्नुपर्छ। नत्र नेपालमा राजनीतिक अस्थिरता सधैं रहनेछ।

यो पद्धति कहिल्यै सुध्रिने छैन। विकास र समृद्धि पनि हुने छैन। देश विदेशमा बस्ने नेपाली दाजुभाइ, दिदीबहिनीहरू अबको मिसन ८४ मा आवेशमा आएर होइन, मिहिन रूपमा अध्ययन गरेर कुन व्यक्तिमा इमानदारी छ, सामाजिक, सांस्कृतिक, राजनैतिक तथा शैक्षिकसँगै उसको ऐतिहासिक पृष्ठभूमिलाई अध्ययन गरेर, विचार र विर्मश गरेर नै मिसन ८४ लाई सफल बनाउन सक्नुपर्छ ।

प्रकाशित: ४ श्रावण २०८१ ०६:०३ शुक्रबार

#Instability in Nepalese society #power equation #social Psychology