विचार

प्रचण्डपथमा रास्वपा

असार २८ गते विश्वासको मत लिने सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा दिएको करिब डेढ घन्टा लामो वक्तव्य आक्रोशले भरिपूर्ण थियो। नेपाली कांग्रेस र नेकपा एमालेको तुलनामा धेरै सानो र तेस्रो दलको नेता भएर पनि ती दुई ठूला दलको सदाकालको आपसी प्रतिस्पर्धामा खेल्दै, पालैपालो एउटासँग मिल्दै अर्कोलाई जिल्याउँदै निरन्तर प्रधानमन्त्री भैरहेका उनलाई त्यही सौभाग्य सधैँ मिलिरहने कुरै थिएन। त्यसैले मेरो भोग सकिएछ अब भनेर चित्त बुझाउँदै खुरुक्क प्रधानमन्त्री पदबाट राजीनामा गरेको भए भैहाल्थ्यो।

त्यसो गर्दा उनको कद बढ्थ्यो। तर त्यो शालीनता उनले देखाउन सकेनन्। र, विश्वासको मत नपाइने निश्चित भएको सदनको रोस्ट्रमलाई मुखको तीतो पोख्ने थलो बनाए। तैपनि एक त सत्ता परिवर्तनको यो खेलमा उनी नै मुख्य तारो थिए।

अर्को, एकै छिनपछि खाइपाइ आएको प्रधानमन्त्री पद गुमाइने निश्चित थियो। जसको पीडा उनको भाषणमा झल्किनुलाई एकैछिनका लागि स्वाभाविकै मानौँ। तर त्यो दिन रोस्ट्रममा उनीभन्दा पनि धेरै बढी कुन्ठा, आक्रोश र उत्तेजनाले भरिएका देखिने, सुनिने चाहिँ उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने थिए। जुन कुरा अनावश्यक मात्र होइन, अराजनीतिक, अपरिपक्व र आत्मघाती पनि थियो। जसको चर्चामा यो आलेख केन्द्रित रहनेछ।

अस्वाभाविक आक्रोश र असत्य आक्षेप

नयाँ गठबन्धन सत्तामा आएसँगै रवि र उनको दल (रास्वपा) पनि प्रचण्ड सँगसँगै सत्ताबाट बाहिरिनुपरेकाले उनी त्यसरी क्रोधित भएका हुन् भने त्यो विकल्प त उनीहरू आफैँले रोजेका हुन्।

नयाँ सत्ता गठबन्धनले त हामीसँगै सत्ता साझेदारी गर भनेर भनिरहेकै थियो, अझै छ। हो, अहिलेको गठबन्धनमा आउँदा पहिले जस्तो उपप्रधानमन्त्रीसहितको गृहमन्त्रालयलगायतका धेरै मन्त्रालय उनीहरूलाई पक्कै पनि मिल्ने छैन। जुन स्वाभाविक हो। त्यसो किनकि, पहिलेको गठबन्धनलाई उनीहरूको समर्थन नभएको भए सरकार ढल्थ्यो। त्यसैले नचाहेर पनि सत्तामा उनीहरूको न्यायोचित हैसियतभन्दा बढी हिस्सेदारी दिन सत्ताका अरू घटक बाध्य भएका थिए। अहिले त्यस्तो मोलमोलाइ  गर्ने हैसियतमा रवि/रास्वपा छैनन्। उनीहरूको समर्थनबिना पनि सरकार मज्जाले बन्छ, चल्छ।

यस्तोमा सत्तामा जाने हो भने एउटा समन्यायिक बाँडफाँटको फर्मुलामा त उनीहरू मन्जुर हुनैपर्छ। बदलिएको परिस्थितिलाई आत्मसात गर्नैपर्छ। अहं... गर्दिन, आफ्नो समर्थन आवश्यकै नपर्ने मिलीजुली सरकारमा पनि मलाई गृह मन्त्रालय र उपप्रधानमन्त्रीसहितको यो यो मन्त्रालय चाहिन्छ भनेर त पाइँदैन।

भन्न खोजेको के भने वर्तमान गठबन्धन रवि/रास्वपाविरुद्ध लक्षित छैन, थिएन। यो गठबन्धनको लक्ष्य र उद्देश्य पनि मात्र आफू सत्तामा जाने थियो तर उनीहरू कोहीसँग वाक्कदिक्क भएका थिए भने मात्र प्रचण्डदेखि भएका थिए, अरूसँग होइन।

अनि यस्तोमा विश्वासको मत माग्दा नयाँ गठबन्धनप्रति प्रचण्डले भन्दा पनि  बढ्ता क्रोध देखाउनु र गाली गर्नु के राजनीतिक बुद्धिमानी हो? प्रचण्डले हिजो संसद्मा आफ्नो बहुमत पुर्‍याउनकै लागि आफूलाई सत्तामा सामेल गराए भन्दैमा उनीसँग सती जानु राजनीतिक सुझबुझ हो? अथवा देशमा राजनीतिक वैचारिक आधारमा दलहरू ध्रुवीकृत नै हुने भएछन् भने पनि के रास्वपा माओवादीको कित्तामा ध्रुवीकृत हुन जाने दल हो? के रवि/रास्वपाहरू माधव नेपाल र नेकपा एस जस्ता पात्र, दल हुन्? जसलाई आफ्नो अस्तित्वका लागि नै माओवादीसँग मिल्नै पर्ने बाध्यता छ, अहिले माओवादीलाई विश्वासको मत दिनुपर्ने वा सम्भावित समाजवादी मोर्चामा एकबद्ध हुनुपर्ने स्थिति छ? आफ्नै कारणबाट आजभन्दा भोलि, भोलिभन्दा पर्सि खिइँदै गएको माओवादी नेता प्रचण्डका खातिर देशका दुई सबभन्दा ठूला दललाई अनावश्यकरूपले शत्रु बनाउनु के राजनीतिक परिपक्वता हो?यी सबै प्रश्नको उत्तर एउटै छ-होइन।

आत्मघाती र तत्कालीन राजनीति

हो, तत्कालका सन्दर्भमा कांग्रेससँग रविको सम्बन्ध बिग्रनु, बिगार्नुका पछाडि हो त नि भन्न मिल्ने केही कारण पनि होलान् तर गठबन्धनमा पनि सँगै रहिरहेको, आफूविरुद्धको सहकारी ठगीको आरोपमा अस्तिसम्म आफ्नो बचाउ गरेका ओली, एमालेसमेत विरुद्ध खनिनु के उचित हो?

ओलीले कुनै हालतमा गठबन्धनमा नलिने र पाएसम्म अस्तित्व नै सिध्याउने भएका कारणले मात्र विश्वासको मत दिएको नेकपा एसका नेताले रोस्ट्रमबाट बरु चर्को बोलेनन्। तर रविले भने सबैभन्दा चर्को मात्र बोलेनन्, आफूले भ्रष्टाचारका फाइल खोलेर कांग्रेस/एमालेलाई कारबाही गर्न खोजेपछि उनीहरू डराएर रातारात मिलेका र पुरानो गठबन्धन तोडेका गम्भीर तर अप्रमाणित आरोप बारम्बार दोहोर्‍याए।

देशको संस्था, पद्धति र ऐन/कानुन केही होइनन्, रवि गृहमन्त्री भए भ्रष्टाचारी जेल जान्छन्, उनी गृह मन्त्रालयबाट बाहिर हुनासाथ ठूला दललगायतका साराले मिलेर भ्रष्टाचार गर्छन्, देश लुट्छन् भन्ने अत्मश्लाघा उनले त्यो दिन रोस्ट्रमबाट प्रदर्शन गरे।

हो भ्रष्टाचार, लोभ र कुशासनका मामलामा पुराना र ठूला दलचोखा छैनन् भन्ने कुरा सत्य हो। तर उनीहरूकै पालामा भ्रष्टाचारविरुद्ध कडा कानुन बनेकाले नै, त्यसबाट शक्तिशाली संस्थाहरू जन्मेकाले नै ती दलहरूकै  कतिपय ठूला नेता जेल गएको र जाने क्रममा रहेका पनि सत्य हो।

अनि यो पनि सत्य हो कि भर्खरको नयाँ, ‘भ्रष्टाचार नगर्ने’ र भ्रष्टाचारको ‘फाइल खोल्ने’ भनेर आएको र मुस्किलले जम्माजम्मी ६–७ महिना सत्तामा बसेको दल रास्वपाका अध्यक्षलगायतका कतिपय नेता, सांसदको त बहुचर्चित सहकारी ठगीलगायतका गम्भीर फौजदारी अभियोग छानबीनका क्रममा छन्।अतः भ्रष्टाचारको विषयमा आफू चोखो बनेर अरूलाई धम्क्याउने रविको रवैया आफू सिसाको घरमा बसेर अरूलाई ढुंगा हान्दिउंँ भनेर धम्क्याए जस्तै हो।

भनिन्छ, राजनीति सोझो रेखाबाट हिँड्दैन, बक्ररेखाबाट हिँड्छ। सबै दल बक्ररेखाको यात्रा गरेरै आजको स्थितिसम्म आइपुगेका हुन्। यस्तोमा सोझो रेखाबाट हिँड्छु भनी आएको नयाँ दल रास्वपाले धेरैमा एउटा आशाको सञ्चार गराएको थियो। तर आमजनतालाई निराश र आक्रोशित पार्नेगरी बिग्रन कांग्रेस कम्युनिस्टलगायतका पुराना दलहरूलाई जहाँ तीन दशक लाग्यो, रास्वपालाई त्यो स्थानमा पुग्न डेढ वर्ष नै पर्याप्त हुने स्थिति देखिँदैछ।

काम कम र अरूलाई गाली ज्यादा गर्ने, सधैँ ‘पपुलिस्ट’ कुरा र स्टन्टबाजी मात्र गरिरहने, पार्टीका सर्वशक्तिमान अध्यक्ष एकपछि अर्को सहकारी ठगीमा मुछिइरहने तर कारबाहीबाट बच्न गृहमन्त्रीको पदीय हैसियतको हाकाहाकी दुरूपयोग गर्ने, आलोचना गर्ने मिडिया हाउसका मालिकलाई जेल हाल्दिने, आफ्नो आलोचना गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई आफ्ना साइबर सेना लगाइ गालीगलौज गर्न लगाउने जस्ता कार्य गर्ने हो र पार्टीभन्दा पनि अध्यक्ष रवि लामिछानेको ‘फ्यान क्लब’ मा सीमित हुने हो भने उनीहरूले बारम्बार भन्ने गरेका मिसन ८४ अर्थात् २०८४ सालको आमचुनावमा दयनीय नतिजा आउने निश्चित छ।

बेलैमा चेतना भया!

प्रकाशित: १ श्रावण २०८१ ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App