विचार

कसरी पढाउने दृष्टिविहीनलाई ?

समावेशी शिक्षा भन्नाले बालबालिकाहरूका लागि विभेदरहित वातावरणमा बहुसांस्कृतिक भिन्नतालाई सम्मान गर्दै आफ्नै समुदायमा शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने पद्धति हो।

यही पद्धतिलाई दृष्टि अपाङ्गता भएका बालबालिकाहरूको हकमा साकार पार्नका निम्ति हाल नेपालमा ८० वटा विद्यालयमा दृष्टिविहीन स्रोत कक्षा सञ्चालित छन्। यस स्रोत कक्षाहरूमा दृष्टिविहीन बालबालिकाहरूलाई अध्यापन गराउनका लागि तालिमप्राप्त स्रोत शिक्षकको पनि व्यवस्था शिक्षा मन्त्रालयले गरेको छ। स्रोत शिक्षकले ती बालबालिकालाई ब्रेल लिपि एवं जीवन उपयोगी तालिम दिई उक्त सिकाइ उपलब्धिको मूल्याङ्कन गरेपश्चात् मात्रै ती बालबालिकालाई उपयुक्त हुने कक्षा चढाइ साङ्ग बालबालिकाहरू सँगै कक्षामा अध्यापनको ढोका खोलिने गरिएको छ। यद्यपि दृष्टि अपाङ्गता सम्बन्धी पर्याप्त मात्रामा ती स्कुलमा अध्ययनरत बालबालिकामा ज्ञान नभएको हुनाले चेतना अभिवृद्धि गर्नु नै हालको समयको सबैभन्दा महत्वपूर्ण कार्य हो किनभने यसले दृष्टिविहीनदौतरीप्रति सबलाङ्ग सहपाठीहरूको कक्षा कोठामा पठनपाठनको क्रममा सकारात्मक बुझाइ, स्वीकारोक्तिएवं सम्मान जागृत हुन्छ ।

दृष्टिविहीनव्यक्तिहरूको बारेमा दृष्टियुक्त दौतरीहरूका बीचमा दृष्टिविहीनता सम्बन्धी सकारात्मक प्रस्तुतीकरण गर्नाले दृष्टिविहीनएवं दृष्टियुक्त बालबालिकाहरूबीच घनिष्ठता बढीदृष्टिविहीन बालबालिकाको जीवनशैली बुझ्न सहज हुन्छ। उदाहरणका निम्ति दृष्टिविहीन दौतरीलाई  कक्षाको सबैभन्दा अगाडिको टेबलमा बस्ने वातावरण मिलाएमा उनीहरूले कक्षामा शिक्षकले अध्ययन गराइरहेको पाठ्यवस्तु बुझ्नमा सहज हुन्छ। त्यस्तै दृष्टिविहीन बालबालिकाहरूलाई दृष्टियुक्त बालबालिकाहरूले बोलिचाली एवं अन्य व्यवहार साङ्ग सहपाठीलाई गर्ने जस्तै गरेमा एवं अन्य संवेदनशील विषयवस्तु पनि बुझ्न सकेमा दृष्टियुक्त बालबालिकाले दृष्टिविहीन दौतरीहरूलाई हरेक क्रियाकलापमा सामेल गर्न सक्छन्।

यस्ता प्रस्तुतिले विद्यार्थीहरूमा के महसुस गराउँछ भने उनीहरूका दृष्टिविहीन सहपाठीहरू पनि उनीहरू जस्तै पठनपाठनका लागि आएका हुन्, उनीहरूले जस्तै कक्षाकार्यर गृहकार्य गर्छन् तर पृथक् ढंगले। दृष्टि अपाङ्गता सम्बन्धी कक्षा कोठामा चेतना अभिवृद्धि गर्नका निम्ति शिक्षकले, समाजमा स्थापित दृष्टिविहीनव्यक्तिले, दृष्टिविहीन बालबालिकाका अभिभावकले एवंदृष्टिविहीनव्यक्तिहरूका अधिकारका निम्ति समर्पित संघ संस्थाहरूले दृष्टिविहीन सफल व्यक्तिहरूका प्रेरणादायी कथासहितका प्रस्तुति पस्किएमा उक्त कक्षामा अध्ययनरत साङ्ग सहपाठीहरूमा सकारात्मक सोचको बढोत्तरी हुने थियो। 

स्रोत शिक्षकहरूले दृष्टिविहीनता सम्बन्धी जागरण दृष्टियुक्त सहपाठीहरूका बीचमा अभिवृद्धि गराउनका लागि दृष्टिविहीनव्यक्तिको अभिनय गराउने वा अर्को शब्दमा भन्दा दृष्टिविहीनभएर बाँच्नुको अनुभूति सहपाठीबीच गराउने चलन पनि देखिएको छ। यस्ता प्रकृतिका अभ्यास गराउँदा सबलाङ्ग सहपाठीलाई आँखामा कालोपट्टी लगाउन लगाई विद्यालय हाताभित्र हिँडडुल गर्न लगाई, विभिन्न कार्य गर्न प्रेरित गरिन्छ। शिक्षकहरूका अनुसार यस्ता क्रियाकलापले सबै क्षमताका बालबालिकाहरूबीच एकअर्कामा विश्वास बढ्छ।

आँखामा कालोपट्टी लगाई गरिने अभिनयले दृष्टियुक्त बालबालिकालाई क्रियाकलापहरू गर्न कठिन हुनेछ। शिक्षकहरूको उद्देश्य पनि दृष्टिविहीन बालबालिकाहरूको जीवन कठिन छ भनी सबलाङ्ग सहपाठीलाई बुझाउने पक्कै होइन। दृष्टियुक्त बालबालिकाहरूलाई यस्ता अभिनय गरिरहँदा उनीहरू अतालिने गर्छन् किनभने उनीहरूलाई डोहो¥याइरहेका सहयोगीलाई हिँडडुलको क्रममा  पूर्ण विश्वास गर्दैनन्। यहाँ शिक्षकले के बुझ्न जरुरी छ भने उनीहरूको उद्देश्य दृष्टिविहीनबालबालिकाहरू असहाय, आश्रित एवं सदैव हिँडडुल गर्नका निम्ति असल मनहरूकै भर पर्नु हो भन्ने विषय साबित गर्नु होइन।

तसर्थ यस्ता क्रियाकलाप गर्नुभन्दा अगाडि हामी सबैले के स्मरण गर्नुपर्छ भने सबलाङ्ग बाल–बालिकाहरूलाई कस्ता क्रियाकलापमा संलग्न गराउँदा दृष्टिविहीन र साङ्ग विद्यार्थीहरूबीच रहेको अज्ञानताको खाडल पुर्न सहज होस्। केही समयका लागि कालोपट्टी नेत्रमा लगाउनुको अनुभूति बटुल्नु भनेको अकस्मात् आँखाको ज्योति गुमाउनु जस्तै हो। त्यस प्रकारको अनुभूति एक दृष्टिविहीनले बोक्ने अनुभवसँग मेल खाँदैन। वास्तवमा दृष्टि अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न तालिमहरू सिकी आत्मनिर्भर हुन जानेका हुन्छन्। उनीहरूले गमनशीलताको तालिम प्राप्त गरी आफूलाई विश्वास गर्दै चाहेको गन्तव्यमा हिँडडुल गर्न सक्छन्। 

यदि साङ्ग बाल–बालिकाहरूलाई कालोपट्टी लगाइदिई तर दृष्टिविहीनव्यक्तिले हिँडडुुल गर्दा प्रयोग गर्ने सीप कला नसिकाउने हो भने त्यो गम्भीर गल्ती हुन जान्छ र साङ्ग सहपाठीहरूमा के भ्रम पर्न सक्छ भने दृष्टिविहीनता हुनु भनेको कठिन, निराश एवं डरलाग्दो जीवन व्यतीत गर्नु हो।

यस्ता गतिविधिले साङ्ग बाल–बालिकाले आफ्ना दृष्टिविहीनसहपाठीहरूबीच सकारात्मक बुझाइ, स्वीकारोक्ति एवं सम्मान जागृत नभई निराशा, डर एवं दया पैदा गर्छ। साङ्ग सहपाठीले आफ्ना दृष्टिविहीनसहपाठीलाई मित्रवत भावनाले हेर्नेभन्दा पनि दूरी कायम गरी उनीहरूको जीवनशैलीप्रति खिन्नता प्रकट गर्न सक्छन्। 

त्यसैले गर्दा समावेशीविद्यालयका कक्षा कोठाहरूलाई समावेशीकरण गर्दै लानका निम्ति सबै सरोकारवाला पक्षहरूले जिम्मेवार ढंगले भूमिका निभाउन जरुरी छ। यस सन्दर्भमा राम्रोसँग सबै क्षमताका बाल–बालिकाहरूबीच विश्वास र भाइचाराको अटुट बन्धन बाँध्नका निम्ति यस्तो प्रस्तुति कक्षा कोठामा पस्किन जरुरी छ जसले दृष्टि अपाङ्गता भएका समुदायप्रति सम्मान अभिवृद्धि होस् एवंदृष्टिविहीनव्यक्तिहरूले प्रयोग गर्ने सीप र क्षमता पनि साङ्ग व्यक्तिहरूले बुझ्न सकून् र हाम्रा समावेशी स्कुलहरूदृष्टिविहीनमैत्री होऊन्।

(स्वयं दृष्टिविहीन आचार्य उच्च अध्ययन पूरा गरी हाल दृष्टिविहीनकै लागि अध्यापन गर्छन्)

प्रकाशित: ७ चैत्र २०७४ ०३:५७ बुधबार