विचार

ल्याब-मुटुको भविष्य

अन्तरिक्ष अन्वेषणका क्रममा तत्कालीन शक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघले धेरै क्षति बेहोरे, दर्जनौँ यान ध्वस्त भए। वर्षौँको असफलता र हन्डरपछि अन्तरिक्ष यान बने, ब्रह्माण्डको खोजी सुरु भयो। क्लिष्ट काममा हुने दर्जनौँ असफलतापछिको सार्थकताका कारण अहिले पनि जटिल कामलाई रकेट साइन्सको उपनाम दिने चलन छ।

जीवन र मरणको दोसाँधमा चल्ने मेडिकल साइन्सका अन्वेषणहरू कुनै पनि हिसाबमा रकेट साइन्सको आविष्कारभन्दा फरक हुन्न। खराब ओखती र अपरिपक्व सर्जरीले स्वस्थ व्यक्ति कति सजिलै कालको मुखमा पुग्छ भन्ने तथ्यसँग को परिचित नहोला र?

रोगीको इलाजका लागि ओखतीको प्रयोग र चिकित्सकीय चिरफारभन्दा तेस्रो विकल्प देखिँदैन। बायोलोजिकल प्रक्रियामा सामान्य कैफियत आउँदा ओखतीको प्रयोगपछि रोगी सन्चो हुन्छ, सामान्य दिनचर्यामा फर्कन्छ। तर, शरीरका कुनै भाइटल अर्गेन निकम्बा हँुदा केबल दबाइ सेवनबाट बिमार सन्चो पार्न हम्मे पर्छ बरु तन्तु नै परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ।

शरीरमा दुई मिर्गाैला हुने भएकाले एउटा किड्नी अशक्त भए अर्कोको भरमा व्यक्ति बाँच्न सक्छ। अनि केही अंगमा खराबी आउँदा व्यक्तिको जीवन धर्मराएर लम्बिन सक्छ भने मुटु जस्ता संवेदनशील भागमा कैफियत देखिए अविलम्ब उपचार चाल्नुपर्ने हुन्छ।

जन्मदेखि मृत्युसम्म अनवरतरूपले खटिनुपर्ने अनि शरीरका सबै अंग/प्रत्यंगले अक्सिजन तथा खान्की पुर्‍याउने कामको चालकको रूपमा रहेको मुटुमा शिथिलता आउँदा व्यक्ति बिरामी पर्छ। ओखतीले नछुने अवस्थामा सर्जरीको विकल्प हुँदैन। सामान्य भंगटीमार्फत समाधान गर्न नसक्ने अवस्थामा मुटुको जटिल चिरफार आवश्यक पर्छ। अनि जटिल हार्ट फेलिएरको अवस्थामा ट्रान्सप्लान्ट निर्विकल्प बन्न पुग्छ। एक मात्र मुटु हुने भएकाले अर्को व्यक्तिको हार्ट ट्रान्सप्लान्ट गरेर रोगी सन्चो बनाउन सकिन्न नै।

विश्व स्वास्थ संगठनको आकडाअनुसार वार्षिक झण्डै दुई करोड मृत्युको कारक हो मुटुसम्बन्धी रोगहरू। केही दशकअघिसम्म उमेर ढल्किएकालाई मात्र लाग्ने मुटु रोगले पछिल्ला समय सबै उमेर समूहमा आफ्नो पन्जा फैल्यायो। अस्वस्थकर खान्की, परिश्रमको कमी अनि अल्कोहल र धूमपानको व्यापकताले मुटु रोग बढेको देखियो। अम्मलप्रतिको बढ्दो लगाव अनि परिवर्तित जीवनशैलीका कारण पछिल्लो समय मुटु रोगीको संख्या झन उकासिने देखियो।

सन् १९६७ मा डा. क्रिस बर्नार्ड पहिलोपटक एक व्यक्तिको मुटु अर्को रोगीमा सफलतापूर्वक प्रत्यारोपण गर्ने संसारकै पहिलो सर्जन बने। प्रत्यारोपणको १८औँ दिनमा रोगी लुइस बासान्स्कीको मृत्यु भयो। उनै बर्नार्डले गरेको दोस्रो प्रत्यारोपणपछि बिरामीले १९ महिना सक्रिय जीवन व्यतित गर्न भ्याए।

बर्नार्डले हार्ट ट्रान्सप्लान्ट गरेका पाँचौँ र छैटाैं रोगीहरू क्रमशः १३ र २४ वर्ष बाँच्न सफल भए। तथ्यांकले पछिल्ला दिनमा गरिएका शल्यक्रिया अघिल्लाभन्दा परिस्कृत हुन्छ भन्छ। पछिल्लो ६ दशकमा संसारको विभिन्न भागमा दर्जनौँ दर्जन हार्ट ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न भए।

एक व्यक्तिमा एउटा मात्र मुटु हुने भएकाले मृत्युशैयामा पुगेको अथवा दुर्घटनामा परेका व्यक्तिको हार्टमा मात्र भर परेर लाखौँ संख्यामा रहेका हार्ट फेलिएरका बिरामीलाई पुनर्जीवन दिन संभव भएन। राहतका लागि प्रयोगशाला निर्मित मुटुको आवश्यकता खट्कियो। त्यसका लागि मानिसका लागि उपयुक्त हुने मुटु जनावरमा कल्चर गर्नु अथवा ल्याबमा हार्ट निर्मार्ण गर्नु मात्र दुई विकल्प देखिए।

पहिलो बाटोमार्फत उपचार खोज्ने क्रममा १९८० को दशकमा अमेरिकाको क्यालिफोर्नियामा बाँदरको मुटु बालिकामा प्रत्यारोपण भयो। तर दुर्भाग्य, प्रत्यारोपणको एक महिना नबित्दै बच्चीको मृत्यु भयो। थप उत्खननले बच्चीको इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) ले प्रत्यारोपण गरिएको बाँदरको मुटुलाई बाह्य घातक वस्तुका रूपमा पहिचान गरी क्षति पुर्‍याउँदा उपचाररत रोगीको मृत्यु भएको देखियो।

उक्त घटनापछि अमेरिकी औषधि उपचार अनुगमन निकाय एफडिएले पृथक जीवमा उत्पादित अंग मानवमा प्रत्यारोपण गर्दा अन्य परीक्षण विधिले बाह्य अंगलाई शारीरिक प्रतिरक्षा प्रणालीले प्रहार गर्न नसक्ने तथ्यांक प्रस्तुत गर्नुका अतिरिक्त बिरामीको उपचार गर्ने अन्य कुनै विधि उपलब्ध नभएको एकिन गर्ने प्रावधान थप्यो। एफडिएको उक्त संहितापछि अमेरिकामा अन्य जीवमा उत्पादित मुटु प्रत्यारोपण गर्ने क्रम भंग भयो। तर, जनावरमा उत्पादित अंगलाई कसरी थप मानवमैत्री बनाउने भन्ने अध्ययन भने अनवरत रूपले अगाडि बढ्यो।

दशकौँको थप प्रयोगशाला अन्वेषणपछि विशिष्टकृतरूपले हुर्काइएको सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गर्दा सफल हुने संभाव्यता देखियो। ल्याब परीक्षणमा संभाव्यता देखिएपछि सन् २०२२ मा अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डको स्कुल अफ मेडिसिनमा सुँगुरको मुटु  ५७ वर्षीय डेबिड बनेटमा प्रत्यारोपण भयो। तर उनको दुई महिनापछि नै मृत्यु भयो।

सुँगुरको मुटुको सहारामा रोगी दुई महिना बाँच्नुलाई सकारात्मक मान्दै युनिभर्सिटी अफ मेरिल्यान्डको त्यही चिकित्सा समूहले पहिलो सर्जरी गरेको ६ महिनापछि ५८ वर्षीय लरेन्स फसेटको शरीरमा सुँगुरको मुटु हाल्दा आएको नतिजा पहिलाको भन्दा सकारात्मक भएन। बरू रोगी ट्रान्सप्लान्ट गरेको  ६ हप्तामै मरे। विज्ञानमा असफलतालाई सामान्य मानिन्छ। तर पछिल्लो नतिजा भने अघिल्लो परिणामभन्दा अब्बल देखिनुपर्छ। तर मेरिल्यान्डको जनावरको मुटु मानिसमा प्रत्यारोपण गर्ने अन्वेषण विपरित घारमा गएकाले थप उत्खननको आवश्यकता देखियो। तथ्यांकको थप विश्लेषण नगरी थप हार्ट ट्रान्सप्लान्ट नगर्ने वैज्ञानिक निचोड आयो।

नतिजाको अग्रिम ठोकुवा गर्न नसकिने भएकाले आयुर्विज्ञानका अन्वेषणहरू विभिन्न दिशामा समानान्तररूपले चलिरहन्छन्। त्यसै क्रममा विभिन्न किसिमका रासायनिक तत्व प्रयोग गरी ल्याबमा बनेको मुटु मानिसमा प्रभावकारी हुन्छ कि भनी प्रयोगशाला परीक्षण गर्दा नतिजा सकारात्मक नै आयो।

परीक्षणबाट हौसिएको वैज्ञानिक समूहले  सन् २०२१ मा अमेरिकाको ड्युक युनिभर्सिटीमा ३९ वर्षीय म्याथ्यु मोरको शरीरमा कृत्रिम मुटु प्रत्यारोपण गरे। कुनै उपचार नभएको अवस्थामा बाँच्न असंभव देखिएको म्याथ्युको अवस्था सर्जरीपछिको लामो समयसम्म पनि सकारात्मक देखिनुलाई शल्य चिकित्सक समूहले सकारात्मक मानेको छ। कारम्याट कम्पनीले निर्माण गरेको कृत्रिम मुटु अहिलेसम्म परीक्षणकै चरणमा छ।

त्यसो त कारम्याटका अतिरिक्त एसोन र बाइभाकोरले बनाएका भिन्न चरित्रका ल्याब निर्मित मुटुहरूसमेत परीक्षणको क्रममा छन्। प्रतिमिनेट १२ लिटर रगत पम्प गर्न सक्ने अनि न्याचुरल हर्ट हटाएर सानो बच्चादेखि वयस्कसम्ममा समेत राख्न मिल्ने मुटु निर्माण गरेको दाबी गरेको बाइभाकोरले अमेरिकामा यसै वर्ष क्लिनिकल परीक्षणको अनुमत पायो। पहिलो चरणको क्लिनिकल परीक्षणमा तीन बिरामीले सहभागिता जनाएको  कम्पनीले बतायो।

परीक्षण सफल भएको खण्डमा कति वर्ष काम गर्छ भन्ने सम्बन्धमा अमेरिकाको एरिजोना राज्यको ब्यानर हेल्थमा कार्डियो थोरासिक सर्जनका रूपमा कार्यरत डा. फ्रान्सिस्को अरबियाको विचारमा कृत्रिम मुटुहरूले रोगीको आयु १० देखि २० वर्षसम्म थपिने ठान्छन्।

मान्छेकै मुटु प्रत्यारोपण गर्दासमेत रोगी सालाखाला १० वर्ष मात्र बढी बाँच्ने देखिएको परिप्रेक्ष्यमा अहिले परीक्षणमा रहेका कृत्रिम मुटुको सफलताप्रति डा. अरबिया सन्तुष्ट देखिन्छन्। समष्टिगत वैज्ञानिक प्रगति हेर्दा हर्ट फेलिएरका रोगीले छिटै नै राहत महसुस गर्ने देखियो। विज्ञानको सुस्त तर दिगो प्रगतिको प्रतिफल नेपालका मुटु रोगीले पनि पाउने देखियो।

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।  

प्रकाशित: ४ वैशाख २०८१ ०५:५८ मंगलबार

ल्याब–मुटुको भविष्य अन्तरिक्ष अन्वेषण