विचार

पिरामिड मर्मतमा पुरातत्वविद्को विरोध

यस्तो पनि !

इजिप्टमा रहेको संसारका आश्चर्यहरूमध्ये रहेको पिरामिड साढे चार हजार वर्षदेखि उभिइरहेको छ। यी पिरामिड मानिसको आफ्नो अस्तित्व र क्षमताको प्रतीकका रूपमा उभिएको छ तर यी पिरामिडहरू पहिलेजस्तो अहिले छैनन्।

पछिल्ला केही शताब्दीमा यिनमा विभिन्न किसिमको क्षति भएको मान्दै इजिप्टको पुरातत्व विभागले यसलाई मर्मत तथा जीर्णाद्धार गर्ने घोषणा गरेको छ। तर घोषणालगत्तै पुरातत्वविद्हरूले यसको घोर विरोध गरेका छन्।

पुरातत्वविद्हरूले भने हालै घोषणा गरिएको जीर्णाेद्धारको योजना पुरातात्विक संरक्षणको नियम र सिद्धान्तअनुसार नभएको भन्दै आलोचना गरिरहेका छन्।

बेलायतको ब्रिस्टल विश्वविद्यालयमा इजिप्टोलजीका प्राध्यापक एडन डडसन भन्छन्, ‘मिश्रको पिरामिड भनेको राजा महाराजाका चिहान हुन्। यी विशेष किसिमका चिहान हुन्। यसका तीन पाटा छन् र तीमध्ये महत्वपूर्ण चाहिँ चुच्चो भाग हो।’

यस्तो चिहानमा एउटा कोठा हुन्छ र त्यो कोठाभित्र मृत व्यक्तिको मम्मी राखिएको हुन्छ। इजिप्टबासीका अनुसार ती चिहान उनीहरूको अनन्तकालीन शयनकक्ष पनि हो।

विश्वासअनुसार यहाँ भएका मृतकले यो संसार र अर्को संसारका बीच सम्पर्क राख्न सक्छन्। त्यसैले त्यहाँ एउटा सानो मन्दिर वा प्रार्थनास्थल पनि हुन्छ। त्यहाँ मानिसहरू प्रार्थना गर्छन्। मृतकसँग भेट्छन्। मृतकको आत्माले कतिपयसँग सम्पर्क गर्छन्। पिरामिडको समय ईशापूर्वक २६०० र ईपू १५५० सम्म यहाँ चिहान त हुन्थ्यो नै सँगैमा प्रार्थना पनि गरिन्थ्यो।

इजिप्टमा मध्यकालीन एक राजाले यी पिरामिडलाई फोड्ने प्रयास गरेका थिए। सबैभन्दा सानो मेनकौरे नामक पिरामिड ज्यादै सुन्दर भएकाले यसलाई ध्वस्त बनाउन खोजिएको थियो। त्यसपछि यसको सुन्दरता धूमिल हुन थाल्यो भने त्यसमा लगाइएको ग्रेनाइट भत्कन थाल्यो।

अहिले त्यहाँ पुनः भत्किएका ग्रेनाइटलाई राख्न थालिएको छ र त्यसैको विरोध भइरहेको छ। अबका दिनमा नयाँ ग्रेनाइट र पुराना ग्रेनाइटको सन्तुलन नमिल्दा यो कुरूप देखिन थाल्नेछ भन्ने विरोधीहरूको राय छ। यसपछि इजिप्ट सरकारले यो मर्मत कार्य रोक्दै थप सल्लाहका लागि एउटा परिषद् बनाएको बिबिसीले जनाएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १५ चैत्र २०८० ०६:५२ बिहीबार

इजिप्टको आश्चर्य पिरामिड पुरातत्व विभाग इजिप्ट जीर्णाद्धार ब्रिस्टल विश्वविद्यालय बेलायत