विचार

पुनर्निर्माण हो सम्बन्धविच्छेद

जिल्ला अदालत काठमाडौँले स्वतन्त्रतापूर्वक जिउने इच्छा भयो भन्दैमा सम्बन्धविच्छेद गर्न नपाइने भनेर गरेको एउटा फैसलाबारे विभिन्न दृष्टिकोणबाट चर्चा भयो। केहीले सम्बन्धविच्छेदलाई व्यक्तिगत स्वतन्त्रताका रूपमा स्वाभाविक भन्ने गरेका छन् भने केहीले परिवार र सन्तानप्रतिको जिम्मेवारी तथा दायित्वसँग जोडेर हेर्ने गरेका छन्। समग्रमा सम्बन्धविच्छेदलाई नेपाली समाजको सामाजिक मूल्य र मान्यता, कानुन, धर्म र संस्कार, आर्थिक तथा सामाजिक हैसियत र लैंगिक संरचनाको दृष्टिकोणबाट हेर्नु आवश्यक छ।

समाजशास्त्रअनुसार विवाह सामाजिक संस्था हो। त्यसैले विवाह सामाजिक सम्बन्ध र कार्यहरूको एक सञ्जाल वा संगठित ढाँचा भएकाले सामाजिक आधारभूत मानवीय तथा सामाजिक आवश्यकताहरू पूरा गर्न अस्तित्वमा रहन्छ भन्ने गरिन्छ। अर्थात् विवाह भनेको समाजमा आधारभूत मानवीय आवश्यकता पूरा गर्ने निश्चित स्थिति, भूमिका, जिम्मेवारी, मूल्य र मान्यता र विश्वासहरूको विशिष्ट रूप हो।

सामान्य बुझाइमा विवाहको औपचारिक अन्त्य नै सम्बन्धविच्छेद हो। विवाहित व्यक्तिहरू वैवाहिक सम्बन्धको आधारमा सँगै बस्न नसक्ने अवस्थाको कानुनी मान्यतालाई सम्बन्धविच्छेद भनिए तापनि यसको कारण र असर मानवीय तथा समग्र सामाजिक आवश्यकतासँग सम्बन्धित हुन्छ। त्यसैले वैवाहिक सम्बन्ध तथा सम्बन्धविच्छेदको फैसला गर्दा न्यायालयले समाज तथा परिवारप्रति व्यक्तिको दायित्व तथा विवाहबारे समाजशास्त्रीय धारणाअनुसारको बृहत् पक्षलाई समेत दृष्टिगत गर्नु स्वाभाविक हो।

तर, अदालती प्रक्रिया वा सामाजिक आवश्यकता पूरा गर्ने माध्यमकै रूपमा व्यक्तिले आफूलाई समर्पित गर्नुपर्ने हो वा व्यक्तिगत छनोट रव्यक्तिगत स्वतन्त्रताको पनि महत्त्व हुने हो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। व्यक्तिले विवाहको सुरुवात व्यक्तिगत आवश्यकता पूरा गर्नकै लागि गरेको हुन्छ न कि सामाजिक आवश्यकता पूरा गर्न । 

अझ विवाहमा आवश्यकताभन्दा पनि आकर्षणले भूमिका खेलेको हुन्छ। जैविक शारीरिक तथा सामाजिक आवश्यकता पूरा गर्न जोसँग सम्बन्ध बनाए पनि हुन्छ तर कुनै पनि व्यक्तिको किन खास मान्छेप्रति आकर्षण हुन्छ, एउटै व्यक्ति एउटालाई मन पर्ने अर्कोलाई मन नपर्ने किन हुन्छ भन्ने हो। तर विवाह अघि जुन प्रकारको आकर्षण हुन्छ त्यही स्तरमा आकर्षित भएर मात्र परिवार चल्दैन।

नायक राजेश हमालले एउटा अन्तर्वार्तामा भनेका छन्– ‘कुनै महिला या पुरुष एकअर्काप्रति जिन्दगीभर आकर्षित वा समर्पित भएर रहनै सक्दैन। यसरी समर्पित रहनुपर्छ भन्ने हो भने परिवार चल्दैन। त्यसैले विवाह यतिले मात्र टिकाउँदैन। विवाह टिकाउने भनेको एकअर्काप्रतिको विश्वास, परिवारप्रतिको जिम्मेवारी, समाजको मूल्य र मान्यता, रीतिरिवाज आदिले टिकाउँछ।’ यो दृष्टिकोणबाट हेर्दा विवाह तथा सम्बन्धविच्छेदमा व्यक्तिका आवश्यकता रसम्बन्ध नै प्राथमिक हुन्छन्।

त्यसैले विवाह आकर्षण र आवश्यकतासँग सम्बन्धित भएकाले विवाह गर्ने धेरै हुन्छन्। तर सम्बन्धविच्छेद बाध्यता र विकर्षणसँग सम्बन्धित भएकाले थोरैले गर्ने गर्छन्। तसर्थ सम्बन्धविच्छेदलाई सहज बनाउँदा सामाजिक आवश्यकता वा सामाजिक संगठन नै भत्कन्छ, सृष्टि नै चल्दैन भन्नु उति धेरै तर्कसंगत देखिँदैन।

सम्बन्धविच्छेद भनेको परिवार तथा त्यो अवस्थासम्म स्थापित गरेका सबै पारिवारिक उपलब्धि ध्वस्त गर्नु हो। यसो गर्न कसैलाई रहर हुँदैन। कसैले यसलाई पेसा वा कुनै अवसरको माध्यम बनाउँछ भने त्यो ठगी तथा अपराध हो, त्यसलाई अपराध कानुनअनुसार कानुनी उपचार गर्ने उपायहरू छन्।

अध्ययनहरू अनुसार विश्वमा सबैभन्दा बढी सम्बन्धविच्छेद हुने देश माल्दिभ्स हो भने कम हुने भारत हो। जहाँ धार्मिक मान्यता र विश्वास कठोर तथा बलियो छ त्यहाँ सामाजिक तथा पारिवारिक संस्थाहरू स्थिर हुन्छन् भन्ने गरिन्छ। त्यस्तो समाज र परिवारमा सम्बन्धविच्छेद कम छ। 

जहाँ धार्मिक विश्वास कम छ त्यहाँ सम्बन्धविच्छेद बढी हुन्छ भन्ने गरिएको पनि पाइन्छ। भारतमा सम्बन्धविच्छेदका घटना कम हुनुमा हिन्दु धर्मप्रतिको कठोर आस्थाका कारण हो भन्ने विश्वास गर्न सकिन्छ भने अर्को तर्फ महिलामाथि हुने विभेद र उत्पीडनलाई स्वाभाविक ठान्ने सामाजिक सोच पनि अर्को महत्त्वपूर्ण कारण हुन सक्छ। युरोपका देशमध्ये आयरल्यान्ड र इटालीमा तुलनात्मक रूपमा सम्बन्धविच्छेद कम हुनुको कारण रुढिवादी रोमन क्याथोलिक धर्ममा विश्वास राख्नेहरू बढी भएर हो भनेर केही अध्ययनमा उल्लेख भएको पाइन्छ।

नेपालमा हालैका वर्षहरूमा सम्बन्धविच्छेदका घटना बढेको तथ्याङ्कहरूले देखाएका छन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको हालसालैको तथ्याङ्कअनुसार नेपालमा सम्बन्धविच्छेद गरेर प्रमाणपत्र लिनेहरूको संख्या बैसठ्ठी हजारभन्दा बढी छ। नेपाल जनगणना २०७८ ले सम्बन्धविच्छेद गरेर बस्नेहरूको जनसंख्या ०.२ रहेको देखाएको छ। केही अध्ययन तथा प्रतिवेदनले नेपालमा पछिल्लो समयमा सम्बन्धविच्छेद गर्नेहरूको संख्या बढेको देखाएका छन् । 

केहीले अबको परिवार र समाजको संरचना तथा सामाजिक संस्कार कस्तो होला भनेर चिन्ता व्यक्त गर्ने गरेका छन्। केही धार्मिक अभियन्ताले यसलाई सामाजिक विचलनको संज्ञा पनि दिने गरेका छन्। यद्यपि नेपालमा सम्बन्धविच्छेदको अवस्थालाई नेपाली समाजको संरचना र समय क्रमसँगै सामाजिक सम्बन्ध, लैंगिक संरचना रआर्थिक अवस्थामा आएको परिवर्तनअनुसार स्वाभाविक रूपमा लिनुपर्ने अवस्था पनि छ।

सम्बन्धविच्छेद बढ्नुका पछाडि विभिन्न व्यक्तिगत कारण हुन सक्छ तर समग्रमा समाजमा आएको परिवर्तन नै यसको जिम्मेवार कारण हो। अहिले महिला सशक्तीकरणमा अभिवृद्धि भएको छ। 

सबै महिलाले परिवारभित्र पुरुषमा नै परनिर्भिर बन्नुपर्ने अवस्था छैन। सम्पत्तिमाथिको स्वामित्व, आर्थिक उपार्जन, श्रम तथा रोजगारीका क्षेत्रमा महिला सहभागिता बढ्दो क्रममा छ । त्यसैले मन नमिले तापनि वा अनेक दबाबका बाबजुद महिलाले पुरुषकै अधीनमा बस्नुपर्ने बाध्यात्मक अवस्था छैन। अर्को पक्ष व्यक्तिगत स्वतन्त्रता रअधिकारप्रति व्यक्ति सचेत बन्दै गएको अवस्था पनि छ।

सूचना प्रविधिमा आएको परिवर्तन, बसाइ सराइ, पुरानो परिवार संचरनाको पुनर्गठनका कारण पनि वैवाहिक सम्बन्धको प्रकृतिमा फरक आएको हुनुपर्छ। कारण जे भए पनि समाज तथा न्यायिक निकायले भरसक वैवाहिक सम्बन्ध भंग नहोस् भन्ने कुरामा सजग देखिन्छ। त्यसैले न्यायालयले समेत मेलमिलापलगायतका सामाजिक न्याय निरूपणका उपाय प्रयोग गरेरभए पनि मिलाउने प्रक्रियागत विधि अपनाएको देखिन्छ। 

कतिपय यो विधिका राम्रा पक्ष पनि होलान्, कतिको सम्बन्धविच्छेद टरेको पनि हुन सक्छ। तरसत्य यो पनि छ कि अदालतमा सम्बन्धविच्छेद दर्ता नभएरवा अदालतले फैसला गर्न ढिलो गरेका कारण कतिपयले हत्या जस्तो जघन्य अपराध रआत्महत्याको बाटोसमेत रोजेको केही घटनाले देखाएका छन्। अझ विवाहित जोडीमा हुने मनमुटाव रझैंझगडाले परिवारनै सखाप भएका घटना पनि हुने गरेका छन्। सम्बन्धविच्छेदमा हुने अदालती ढिलाइका कारण कतिपय विवाहित जोडीहरू वर्षौँसम्म पारिवारिक तनाव रहैरानी बेहोरेरबसेका छन्। त्यसको असरउनीहरूमा मात्र नभएर उनीहरूका सन्तानमा समेत पर्ने गरेको छ।

कुनै पनि जोडी सम्बन्धविच्छेदका लागि न्यायिक निकायसम्म आइपुग्दा कैयौँ प्रहर पार गरिसकेका हुन्छन्। अनेकन् द्वन्द्व, मनमुटाव, अविश्वास तथा झैंझगडाबाट गुज्रँदै सम्बन्ध टिकाउन कैयौँ प्रयत्न गरेका हुन्छन् र मिलेर बस्ने संभावना नदेखेपछि अदालतसम्म पुगेको अवस्था हुन सक्छ। तर अदालतले पनि सम्बन्धविच्छेद नगरिदिने वा ढिला गरिदिने रपुनः मेलमिलापमा जोड दिएर सम्बन्धलाई जबर्जस्त टाँसिदिन खोज्नु भनेको सम्बन्धमा अर्को विपत्ति निम्त्याउने माध्यम बनेका पनि उदाहरण छन्। 

सबैभन्दा सर्वोत्तम उपाय भनेको वैवाहिक सम्बन्ध सफल तथा स्थायी बनाउनु नै हो तरसम्बन्ध टिक्न नसक्ने अवस्थामा त्यसलाई लामो समयसम्म अल्झाएरराख्दा त्यसको सकारात्मकभन्दा पनि नकरात्मक असरनै बढी पर्न सक्छ। हुन त यो प्रक्रिया सन्तान भएका जोडीहरूका लागि त्यति सहज पनि छैन। सम्बन्धविच्छेदपछि बाबुआमाले सन्तानप्रति लिनुपर्ने दायित्वमा ठूलो समस्या सिर्जना हुने गर्छ। त्यति मात्र नभएर बच्चाको भविष्य अन्योल र अस्तव्यस्तसमेत हुने गर्छ। 

सम्बन्धविच्छेद पछि पनि उनीहरूलाई आफ्ना सन्तानप्रति कुनै न कुनै माध्यमबाट जिम्मेवार बनाउन सकिन्छ रराज्यले पनि विशेष नियमन रसंरक्षणका उपाय अपनाउन सक्छ। विभिन्न परिणामका बाबजुद पनि वैवाहिक जोडीमा एकअर्कामा विश्वास भएन रवैवाहिक सम्बन्ध एकअर्काप्रति असुरक्षित हुने अवस्था भयो भने सम्बन्धबाट छूटकारा दिनु जायज हुन्छ।

द्वन्द्वग्रस्त वैवाहिक सम्बन्ध पारिवारिक विपद्को अवस्था हो। जसरी बाढी, पहिरो तथा भूकम्प जस्ता विपद् आएपश्चात् उद्धार, राहत, पुर्नस्थापना र पुनर्निर्माणको कार्य गर्नुपर्छ त्यसरी सम्बन्धविच्छेदलाई पनि पारिवारिक विपद्पछिको पुननिर्माण प्रक्रियाका रूपमा लिन सकिन्छ। यसको माध्यमबाट व्यक्तिको पारिवारिक जीवन ‘बिल्डिङ ब्याक बेटर’ पनि हुन सक्छ। यस विषयमा समाज मात्र हैन, न्यायिक निकायसमेत सकारात्मक बन्नु आवश्यक छ।

प्रकाशित: ५ चैत्र २०८० ०७:०५ सोमबार

जिल्ला अदालत काठमाडौँ स्वतन्त्रतापूर्वक जिउने इच्छा सम्बन्धविच्छेद व्यक्तिगत स्वतन्त्रता सामाजिक हैसियत लैंगिक संरचना सामाजिक सम्बन्ध विवाह सामाजिक आवश्यकता