विचार

विदेशीका लागि स्वदेशी मानव पुँजी

निःसन्देह मानव पुँजीले कुनै पनि मुलुकको आर्थिक समृद्धिमा आधारशीलाको भूमिका निर्वाह गर्दछ। यसैले सिप, दक्षता, ज्ञान र सिर्जनशीलतायुक्त मानव पुँजी कुनै पनि मुलुकको तरक्कीको रक्तकणिका कहलाउँछ। अर्थात् कुनै पनि मुलुकको भौतिक पुँजी निर्माण मूलतः मानव पुँजीको गुणवत्तामा निर्भर गर्छ। यसो त उपलब्ध जनताजनार्दनको ज्ञान, कुशलता र खुबीको विकासविना मानव पुँजी गुणवत्ता बन्न सक्दैन। यसैकारण जुनसुकै मुलुकको समृद्धिका लागि मानव पुँजी विकासको जीवन्त हतियार मानिन्छ।

दुर्भाग्य नै मान्नुपर्छ कि सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्त्तरोन्नति गर्ने सपना बुनिरहेको हाम्रो मुलुक मानव कुञ्जी उपयोग तथा परिचालनमा चुकिरहेको छ ।

तीन दशकयता गाउँका युवा तप्का सहरमा र सहरका युवा तप्का बिदेशमा पलायन हुने गतिले निकै तीव्रता पाएको छ। सहरमा छिरेका युवा तप्का गाउँमा फर्कन र विदेशमा पाइला टेकेको युवा तप्का स्वदेशमा फर्कन तयार छैनन्।

अझ पछिल्लो एक दशकयता १२ कक्षा पूरा गरेका नयाँ पुस्ता उच्च शिक्षाका नाममा विदेशिएका मात्र छैनन् बल्की देश छाडिरहेका छन। गुणस्तरीय उच्च शिक्षा र रोजगारी अवसर अभावका कारण युवा तप्का विदेशिएका हुन्।

नेपालको शैक्षिक प्रणाली अब्यावहारिक, अवैज्ञानिक र परम्परागत छ भन्नेमा कुनै विमति छैन। त्यसैले नेपालका शैक्षिक संस्थाहरू गुणस्तरहीन मानव साधन उत्पादन गर्ने कारखाना वन्न पुगेका हुन्। गुणस्तरहीन मानव साधन बजारमा बिक्न नसक्दा मुलुकभर शैक्षिक बेरोजारको डंगुर लागेको हो।

अहिले, प्रत्येक वर्ष करिव पाँच लाख विद्यार्थी एसइइ परीक्षामा सामेल हुन्छन् र सरदर ४५ प्रतिशत जाँचमा सफल हुन्छन्। सफलता प्राप्त गर्नेमध्ये मुस्किलले २० प्रतिशतले स्नातक र १० प्रतिशतले स्नातकोत्तर उपाधि हासिल गर्दछन्। परन्तु, स्नातक वा स्नाकोत्तर पूरा गर्नेमध्ये पाँच–सात प्रतिशतले मात्र सार्बजनिक तहमा रोजगारी प्राप्त गर्न सक्छन्।

अर्कोतर्फ शैक्षिक पथ नरोजेको अर्को तप्का पनि सँगसँगै कोरा श्रमशक्तिका रूपमा विकास भइरहेको हुन्छ। यसरी करिव पाँच लाख नयाँ श्रमशक्ति श्रम बजारमा बर्सेनि आगमन हुँदै गर्दा २०७९/८० मा पूर्ण बेराजगारीको दर ११.१२ प्रतिशत रहेको हो।

अवैज्ञानिक शिक्षा र कार्यगत दक्षता अभावमा हाम्रा मानव पुँजी विदेशी पलायन स्वीकार गर्न एवं न्यून ज्याला दरमा उच्च जोखिमयुक्त कार्य गर्न विवश भएका हुन्। यो नै हाम्रो शैक्षिक प्रणालीको तीतो यथार्थ हो।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेकामा २०७९ फागुनसम्ममा ५५ लाख २६ हजार श्रमशक्ति देशबाहिर छन्। जुन कुल जनसंख्याको १८.९८ प्रतिशत हो। राष्ट्रिय जनगणना २०७८ ले १५ देखि ५९ को उमेर समूहलाई उत्पादनशील श्रमशक्तिको संज्ञा दिएकामा कुल जनंख्यामा उत्पादनशील जनशक्तिको हिस्सा  ६२ प्रतिशत रहेको छ।

उक्त उत्पादनशील श्रमशक्तिमध्ये दुईतिहाइ देशबाहिर पुगेका छन्। श्रम मन्त्रालयको आँकडाअनुसार मूलतः १८ देखि ४४ बर्ष उमेर समूहका युवा तप्का वाहिरिएका हुन्। कोरा श्रमशक्तिदेखि लिएर चिकित्सक, इन्जिनियर, कृषि वैज्ञानिक, आइटी विज्ञ जस्ता दक्ष जनशक्तिसमेत विदेशमा हेलिएका छन्। बाहिरिनेमा आधाभन्दा बढी २५ देखि ३४ उमेर समूहका तप्का छन्।

जबकि उक्त प्राविधिक ज्ञानयुक्त जनशक्ति आर्थिक समृद्धिका रक्तकणिका समान हुन्। यसरी प्रति चार नेपालीमध्ये एक जनाले विदेशी भूमि सिँचित गर्नु आफैँमा कम्ती कहालीलाग्दो कुरा होइन।

यहाँनेर भुल्ने नहुने कुरा के पनि हो भने जुन परिमाणमा श्रमशक्ति बहिर्गमन भएको छ, सोही अनुपातमा विप्रेषण भित्रन नसकेको अवस्था छ। कारण–अदक्ष तथा अर्धदक्ष कामदारको बाहुल्य हुनु हो।

नेपालको मानव संशाधन उपयोग गर्न विकसित मुलुक अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडादेखि लिएर दक्षिण कोरियासम्म उद्यत् छन्। अमेरिकाले डाइभर्सिटी भिसाको नाममा, जापान, क्यानडा तथा अस्ट्रेलियाले उच्च शिक्षा अध्ययन तथा रोजगारीका नाममा र दक्षिण कोरियाले इपिएसको नाममा नेपालको मानव संशाधन ओसारिरहेका छन्।

सीमान्तवर्गको जीवनस्तर उठाउन, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र मानव संसाधनको समुचित उपयोग गर्ने हेतुका साथ सञ्चालित गरिबी निवारण, एक परिवार एक रोजगार, युवा स्वरोजार र प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसक्दा नजिता प्राप्त हुन सकिरहको छैन। यस्ता कारण पनि मानव पुँजी बाहिरिन बाध्य भएको छ। 

प्रकाशित: ४ चैत्र २०८० ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App