विचार

खान्कीको खुसी

‘द ग्लोबल बर्डेन अफ् डिजिज’ अध्ययनले सन् २०१५ मा संसारको कुल मृत्युको  ७१ प्रतिशत मरण जीवनशैलीसँग सम्बन्धित पायो।  खान्कीको ढाँचा परिवर्तन गर्ने हो भने मृत्यु पछि धकेल्न सकिन्छ भन्ने उक्त अध्ययनको निचोड थियो। स्वस्थ्य भोजनमार्फत स्वस्थ जीवन व्यतीत गर्न सकिने तथ्य लामो समयदेखि जगजाहेर भए पनि असल खान्कीले मानिसलाई खुसी पनि बनाउँछ भन्ने धेरै पछिसम्म थाहा थिएन। पछिल्लो समय प्रकाशित दर्जनौँ अन्वेषणले भोजनको सन्तुलनले व्यक्तिलाई बुढेसकालसम्म खुसी साथ बाँच्न सकिने मात्र बताएन बरु त्यसको जैविक कारणका रूपमा चित्रण गरेको छ।

प्रांगारिक (अग्र्यानिक) मल मात्र प्रयोग गरी उत्पादित खान्कीले सबै जनसंख्याको पेट भर्न सकिन्न। त्यस्तै कीटनाशक ओखती नहाल्ने हो भने कीरा फट्यांग्राले अन्नबाली सखाप पार्छ, जनता भोकै पर्छन्। तर विषादीको जथाभावी प्रयोगले विभिन्न रोग भित्रने भएकाले कीटनाशक प्रयोगको नियोजन आवश्यक पर्छ नै।

रासायनिक मल र विषादीको प्रयोग नगरे संसारका धेरै मानिस भोकै मर्ने भएकाले त्यसको विकल्पको चर्चा सान्दर्भिक भएन। बढ्दो जनसंख्याको पेट भर्न अनि प्रचलित खान्कीलाई सबलीकरण गरी थप पोषणयुक्त बनाउन वैज्ञानिकहरूले जेनेटिकल्ली मोडिफाइड वनस्पति तथा प्राणी उत्पादन गरेका छन्। त्यसको पनि लाभ/हानिको लेखाजोखा हुँदैछ।

कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ तीन अत्यावश्यक पोषण पदार्थ हुन्। तर शरीरलाई चाहिने मात्रा भने उल्लिखित सबै तत्वबीच समानता छैन। तीमध्ये एकै पोषण मात्र सेवन गरे शारीरिक समस्या ल्याउँछ, रोग लाग्छ। स्वस्थ जीवन जिउन भिटामिन तथा मिनरलको महत्वपूर्ण भूमिका हुन्छ।

अत्यधिक चिल्लो सेवनले धेरै शारीरिक समस्या ल्याउँछ। फ्याट पचाउन पाचन इन्जाइम, पित्त अनि अम्लको मात्रा बढी चाहिन्छ। सजिलै नपच्ने भएकाले पाचन प्रणालीले अत्यधिक काम गर्नुपर्छ। सधैँको ओभर टाइमले कारिन्दा शिथिल भएझैं दैनिक अतिरिक्त फ्याट खाँदा पाचन प्रणाली लखतरान हुन्छ, पेटको रोग लाग्न सक्छ।

सबैभन्दा महत्वपूर्ण कुरा फ्याटको अत्यधिक सेवनले हामीलाई शारीरिक तथा मानसिकरूपले स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने ठानिएको पाचन ब्याक्टेरियाको सन्तुलनलाई बिगार्छ।

सन् २०१४ मा अमेरिकाको हार्वर्ड विश्वविद्यालयको पब्लिक हेल्थ डिपार्टमेन्टले एक लाख महिला र पुरुषलाई सहभागी गराई चिल्लो सेवन र रोगबीच सम्बन्ध स्थापना गरी एक अध्ययन प्रकाशित ग¥यो।

हप्ताको चार देखि पाँच पल्ट तारेको भुजिया खाने मानिसमा अर्को समूहको तुलनामा चिनी रोग ३९ प्रतिशत उकासिएको देखियो भने मुटुको रोग २३ प्रतिशत बढेको पाइयो। उक्त रिपोर्टले जति धेरै चिल्लो खायो मधुमेह र मुटुरोगको संभाव्यता त्यही अनुपातमा बढ्ने उल्लेख गरेको थियो। एक फरक अध्ययनले ऊर्जाका लागि फ्याटमा धेरै भर पर्ने मानिस अर्को पक्षको दाँजोमा कम खुसी हुन्छ भन्ने देखियो। तसर्थ, शारीरिक स्वास्थ्य र मानसिक प्रसन्नताका लागि तेल घिउको सेवन घटाउन आवश्यक देखियो।

बोडी, सिमी, रहर, बदाम जस्ता खाद्यान्न प्रोटिनको मात्र स्रोत होइन बरु यी दलहनले शरीरलाई चाहिने म्याग्नेसियम पनि प्रदान गर्छ। तीन सयभन्दा बढी जैविक प्रतिक्रियाका लागि म्याग्नेसियम आवश्यक पर्छ। तर खानेबित्तिकै म्याग्नेसियम शरीरको सबै भागमा पुग्दैन बरु त्यसका लागि शारीरिक कसरत आवश्यक पर्छ।

कसरतपछि मात्र म्याग्नेसियम आवश्यक अंगमा पुग्छ भन्छन् अमेरिकाको कृषि विभागका वैज्ञानिक फरेस्ट नेल्सन। कसरत नगर्ने मानिसको शरीरमा म्याग्नेसियमको न्यायोचित वितरण हुन नसक्ने भएकाले धेरै रासायनिक परिवर्तन प्रभावित हुने ठान्छन् उनी।

फलामको अल्पताले धेरै किसिमको समस्या ल्याउँछ। आइरन डिफिसेन्सी महिलामा देखिने समस्या समाधानका खातिर पालुंगो अनि फलामको भाँडामा पकाएको भोजन हितकर देखियो। तर खानामा पाइने आइरनलाई शरीरले सहजै लिन सक्दैन। कागती, सुन्तला जस्ता अमिला पदार्थले भोजनको आइरन शरीरमा पठाउन मद्दत गर्ने भएकाले ध्यान दिन आवश्यक देखियो।

अचार तथा तरकारीका रूपमा खान मिल्ने टमाटरमा पाइने लाइसोपिनले धेरै किसिमका शारीरिक समस्या समाधान गर्न मद्दत गर्छ। लाइसोपिनले फोक्सोलगायत विभिन्न अंगका थकित कोस (सेल)लाई ऊर्जावान बनाउन सहयोग गर्ने भएकाले गोलभेडाको सेवनले प्रसन्नता दिने ठान्छिन् अस्टे«लियाको युनिभर्सिटी अफ् न्युकासलकी डा. लिसा उड।

जन्मेदेखि केही महिनासम्म बच्चा केवल दूधको भरमा हुर्कन्छ। मल्टिभिटामिनका रूपमा रहेको दूघ सबै उमेर समूहका लागि लाभप्रद् छ भन्ने कुरा बताइरहनु परेन। त्यस्तै स्याउमा पाइने क्येरसेटिन भन्ने रासायनिक पदार्थले एन्टिएलर्जिक मेडिसिनका रूपमा मात्र काम गर्दैन बरु दिमागलाई प्रसन्न पनि राख्छ भन्छ जर्नल अफ बायोलोजिकल रेगुलेसन एन्ड होमियो स्टाटिक एजेन्टमा प्रकाशित एक आलेखले।

त्यस्तै ओखर तथा हाडेबदाम खाँदा फिल गुड पनि भनिने सेरोटोनिनको मात्रा उकासिने भएकाले मानिस प्रफुल्ल हुन्छ। युनिभर्सल ब्रेकफास्टका रूपमा चिनिने अण्डाको पहेँलो भागमा पाइने कोलिनले दिमागलाई सकारात्मक ऊर्जा दिई व्यक्तिको स्मरण क्षमता बढाउने भन्छन् बोस्टन विश्वविद्यालयका स्नायु विज्ञानका प्राध्यापक रोडा अउ।

नेपाली भान्साको महत्वपूर्ण हिस्सा खोर्सानी र बेसार स्वस्थ जीवनको वरदान देखियो। अमेरिकाको पड्यु युनिभर्सिटीमा गरिएको अध्ययनले खोर्सानीले भोकलाई कम गरी जिउ घटाउन मद्दत गर्ने औषधिजन्य खान्की देख्यो।

त्यस्तै बेसारमा पाइने कक्र्युमिन भन्ने रासायनिक पदार्थले विगतको खराब स्मरण बिर्सन मद्दत गर्छ भन्छ न्युरोसाइकोफर्माकोलोजीमा प्रकाशित अनुसन्धानले। विगतको दुखद् सम्झना हराएपछि व्यक्ति खुसी बन्छ नै। त्यस्तै पृथक रिसर्चहरूले ग्रिन टि तथा कफीले पनि हर्मोन व्यवस्थापनमार्पmत व्यक्तिको दिमागलाई ताजगी बनाइ हर्षित बनाउने देख्यो।

वनस्पतिजन्य खान्कीले स्वास्थ्यमा कस्तो कसर पार्छ भन्ने कुरा ठम्याउन अमेरिकाको हार्वर्ड विश्वविद्यालय पब्लिक हेल्थका प्राध्यापक फ्र्यांक हुले सन् २०१९ मा सहभागिताको हिसाबले संसारकै सबैभन्दा ठूलो अध्ययन प्रकाशित गरे जर्नल सर्कुलेसनमा। वनस्पतिजन्य उत्पादनलाई आफ्नो खानाको मुख्य आधार बनाउने समूह र मूलतः मासु सेवन गर्ने पक्षको स्वास्थ्यलाई लामो समयसम्म नियालिएको उक्त अध्ययनले शाकाहारी भोजन गर्ने ग्रुपको हार्ट हेल्थमा मात्र सुधार पाएनन, बरु उनीहरू समष्टिगतरूपमै काबिल देखिए।

शाकाहारी भोजन मांसाहारी खान्कीको तुलनामा पाचन सहज हुने भएकाले पाचन प्रणालीले अतिरिक्त मेहनत गर्नुपरेन। शाकाहारी खान्कीले पाचन प्रणालीका लाभप्रद् सूक्ष्माणुको बनोट सुधार्ने भएकाले थप फाइदा भयो। फरक अध्ययनले शाकाहारी भोजन गर्ने समूह मासुलाई खानाको मुख्य हिस्सा बनाउने पक्षभन्दा ह्याप्पी देखिए।

के कस्तो खानाले व्यक्तिलाई शारीरिक रूपले स्वस्थ अनि मानसिकरूपले खुसी बनाउँछ त भन्ने सम्बन्धमा धेरै दिमाग खियाउन आवश्यक नरहेको देख्छिन् युनिभर्सिटी अफ् क्यालिफोर्निया सान फ्रान्सिस्को मेडिकल स्कुलकी डा. हिलरी सेलिग्मान। भेजिटेरियन खान्कीलाई प्रोत्साहन गर्न सक्ने हो भने व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार हुने ठान्छिन् उनी।

नेपालमा मासुको तुलनामा तरकारी तथा सागपात सस्तो भएकाले जनतालाई स्वस्थ बनाउन कठिन रहेन। महँगा बेमौसमी सब्जी बेसाउन आवश्यक नरहेको बरु मौसमअनुसार बजारमा पाइने सस्तो तरकारी र फलफूल खाए पुग्ने ठान्छन् हार्वर्ड मेडिकल स्कुलका डा. सेथ वर्कोबिज।

शाकाहारी नै भए पनि बिस्कुट, चकलेट, चाउचाउ, कोक जस्ता चलानी प्रशोधित खान्कीले स्वास्थ्यलाई नकारात्मक असर पार्छ। स्थानीय तहमा तरकारी र फलफूल उब्जाउने र लोकल सागपात खाने आदत बसाउन सके रोगीको संख्या कम हुने अनि नागरिक पनि प्रफुल्ल हुन्थे। स्थानीय उत्पादन र सेवनमार्फत रोग नियन्त्रणमा सबैको सहभागिता आवश्यक देखियो। 

प्रकाशित: ९ माघ २०८० ००:१७ मंगलबार

खान्कीको खुसी शाकाहारी भोजन ‘द ग्लोबल बर्डेन अफ् डिजिज’