विचार

अब ‘पर्यटन क्रान्ति’

नेपालका लागि पर्यटन एकदमै महत्त्वपूर्ण आर्थिक योगदान दिने क्षेत्र हो भन्ने सबैसामु जगजाहेर छ। तथापि यो क्षेत्रबाट लाभ लिने समय भने बिस्तारै छोटिँदै गइरहेको छ। नेपाल चिनिने भनेकै हिमाल र पहाडहरूका लागि हो। नेपालको यो विशिष्ट भूगोल, जलवायु परिवर्तनका कारण निकट भविष्यमा रहिनरहने निश्चितप्रायः छ। 

नेपालको हिमाली जिल्लाहरूमा भइरहेको अतिवृष्टि, खेतापातीमा आइरहेको समस्याका कारण हिमाली भेगका प्राकृतिक छटाहरू भने क्रमानुसार मेटिँदै गइरहेका छन्। तसर्थ पर्यटकीय लाभ लिनलाई अत्यन्तै कम समय रहेको यथार्थ संयुक्त महासंघका महासचिवको नेपाल भ्रमणबाट पनि थाहा भएको छ। यो तथ्य जबर्जस्तरूपमा अन्तर्राष्ट्रियकरणसमेत भएको छ। 

त्यसैले, हिमाली जिल्ला लक्षित पर्यटन विकास कार्यक्रमहरू तत्काल गरिहाल्नुपर्ने देखिन्छ। त्यसका लागि त्यतैका स्थानीयलाई संलग्न गराई त्यहाँबाट माग भएबमोजिमका कार्यक्रम तथा आयोजनालाई पर्यटनसँग जोडेरसमेत अगाडि बढाइहाल्नुपर्ने अवस्था छ। तत्काल नै जलवायुलाई असर पार्नेखालका पर्यटकीय गतिविधिलाई सीमित गर्दै लैजानुपर्ने पनि देखिन्छ।

जस्तो– हेलिकप्टर टुर, हेली–टुर प्याकेजहरूको पुनरावलोकन गर्ने र क्रमानुसार यात्रा संख्या सीमित गर्दै घटाउँदै लैजाने र सकेसम्म शून्यमै झार्ने। हिमाली क्षेत्रहरूमा बनिसकेका होटल तथा रिसोर्टहरूमा कार्बन–उत्सर्जन गर्न रोक लगाउनका लागि मापदण्ड तोकेर मात्र सञ्चालनमा ल्याउने र नयाँ होटलहरूमा समेत मार्गननिर्देशित मापदण्डअनुसार मात्र खोल्न दिने।

त्यसैगरी नेपालमा घोषित हिमाली जिल्लाहरूमा विदेशी पर्यटकलाई दिनगन्ती गरेर मात्र बस्न दिने र बसाइका दिन लम्ब्याउनका लागि ट्रेकिङ्गलाई प्राथमिकता दिने गर्नुपर्छ। यसबाहेक मुक्तिनाथ र पाथिभरा जस्ता हिमाली जिल्लाका धार्मिक गन्तव्यमा संख्या तोकेर मात्र जाने अनुमति दिएर मात्र या टाइम कार्ड लागु गरेर मात्र जान दिने तथा सुक्खा पहिरो गइरहने पर्यटकीय स्थलहरूमा टाइम कार्ड लागु गरेर मात्र यात्रा अनुमति दिने व्यवस्था गर्नुपर्छ।  

धनाढ्य पर्यटकलाई नेपालमा भइरहेको जलवायु परिवर्तन अवगत गराएर चाँडोभन्दा चाँडो नेपाल भ्रमण गरिहाल्नुपर्ने र पर्यटक संख्यामा कडाइ गर्दै लैजाने भएकाले हराउने डर हुने जस्ता भाष्य सिर्जना गरी व्यापक बजारीकरण गरिहाल्नुपर्छ। जसका लागि ‘हिमाल पग्लिरहेको छ, हिमाल तपाईँहरूको पर्खाइमा छ’, ‘हिमालय नाङ्गिँदैछन्, हिमशिखरहरू हेर्ने यही नै हो अन्तिम मौका’ जस्ता नारा जोडतोडले फैलाउन सकिन्छ। माल्दिभ्सले यस्तै मार्केटिङ्ग प्रणालीलाई अख्तियार गरी विश्वभरका धनाढ्यहरूलाई आफ्नो देशमा आकर्षण र आकर्षित गर्दै आइरहेको छ।  

पर्यटनको अर्को महत्त्वपूर्ण विधा माइस (बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी) हो जसमा नेपालले भने यसको मौका चुकाईराखेको छ, छुटाइराखेको छ। व्यापार पर्यटनसँग जोडिएको यस महत्त्वपूर्ण विधा विदेशी आय प्राप्त गर्ने ठूलो स्रोतका रूपमा स्थापित हुन सक्छ। नेपालका लागि यो त्यसैले अत्यन्तै मूल्यवान छ।

प्रायः नेपाली संस्थागतरूपमा घुम्न रुचाउँछन् र सकभर प्रायोजित भ्रमणहरू नै गरिरहेका हुन्छन्। जस्तै– अध्ययन भ्रमण, अवलोकन भ्रमण आदि इत्यादिका नाममा नेपालीहरू देशभित्र आन्तरिकरूपमा घुमघाम गरिरहेका हुन्छन्। तथापि, स्वःखर्चमा घुमघाम गर्ने प्रवृत्ति भने विस्तारै व्यापक हुँदै गइरहेको छ, त्यो पनि नयाँ पुस्ताहरूमा। र, अहिलेका नयाँ पुस्ता देश घुम्नैपर्छ भन्ने चेतनाले ओतप्रोत देखिन्छन्।

देशी–विदेशी लगानीमा बनेका ठूला ठूला होटलमा नेपालीहरू पनि ग्राहक बनेर गइरहेका छन्। तर, पाँचतारे होटलमा भने यसरी निजीरूपमा आउने पर्यटकहरूभन्दा व्यावसायिक पर्यटकबाट फाइदा र पर्याप्त व्यापार हुने गर्दछ। तर यसका निम्ति होटल स्वयम् र विशेषतः ट्राभल कम्पनीहरूको निकै नै ठूलो भूमिका हुन्छ। 

नेपालका होटलमा भएको लगानीलाई गुणात्मकरूपमा उठाउने हो र मुनाफामुखी व्यापारको वातावरण बनाउने हो भने माइस पर्यटनलाई नेपाल सरकारको नीतिमा शिरोधार्य र कानुनमा कार्यान्यवनमा देखिनु अपरिहार्य भइसकेको छ।  

उदाहरणका लागि गोदावरी सम्मेलन केन्द्रमा कुनै विदेशी कम्पनीको कार्यक्रम गर्नुपर्दा त्यहाँ भएका होटलहरूको समेत व्यापार बढ्छ। गोदावरी आफैँमा एक पर्यटकीय गन्तव्य भएकाले त्यहाँ पुगेपछि घुमघाम पनि गर्छन् र रेस्टुराँहरूमा गएर खान्छन् अनि खर्च गर्छन्। माइसको त्यसैले बहुआयामिक पक्ष हुने गर्छ। यस विशिष्ट पर्यटनको विधालाई मध्यनजर राखेर विभिन्न किसिमका प्रोत्साहनात्मक कार्यक्रम गर्नुपर्ने हुन्छ। 

प्रायः विदेशी राष्ट्रहरूमा अलग्गै संस्था खडा गरेर प्रोत्साहनका रूपमा रकम, सहुलियत अथवा सुविधा प्रदान गरेर आफ्नो देशको गन्तव्यप्रति आकर्षित बनाउँदै आएका देखिन्छ। जस्तै– ५० जनाभन्दा माथि विदेशी पर्यटकहरूलाई ल्याएमा वा १० दिने कार्यक्रम गरेमा यति रकम उपलब्ध गराउने, १०० जना विदेशी आएमा एउटा माउन्टेन फ्लाइट या दुई रातको होटल खर्च प्रायोजन गर्ने आदि। 

यस्तै प्रबन्ध मिलाएर माइसलाई प्रोत्साहन गर्नैपर्ने देखिन्छ। यस प्रकारको प्रोत्साहन मलेसिया र थाइल्यान्ड जस्ता देशले गर्दै आइरहेका छन्। नेपाल साहसी पर्यटनका लागि विश्वप्रख्यात गन्तव्य त छँदैछ तर यस विशेषतालाई क्रमानुसार फैलाउँदै र दायरा बढाउँदै लैजानुपर्ने आवश्यकता पनि उत्तिकै भइसकेको छ।  

अहिले विश्वभर अन्तर्राष्ट्रिय हवाई टिकटको शुल्कसमेत एकदमै बढिरहेको छ। कारण विभिन्न होला तर यसले नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रलाई नकारात्मक असर पुर्‍याउँछ। र नेपालमा डाइरेक्ट कनेक्टिभिटी नभएकाले हवाई भाडा अत्यन्तै महंगो हुँदै गइरहेकामा नेपालमा धेरैको संख्यामा पर्यटक भित्र्याउने नै हो भने व्यापार पर्यटनलाई अत्यन्तै महत्त्वका साथ सरकारमा विशिष्टीकृत सेवा दिने हिसावले माथि दिइएका उदाहरणमा जस्तै लगानी गरिहाल्नुपर्ने र त्यसमा ढिलाई गर्न नहुने बेला भइसकेको छ।  

नेपालमा विशेषतः काठमाडौँकेन्द्रित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तारे होटलहरूलाई लगानीमा बढावा दिन र मुनाफा दिलाउनसमेत यस व्यापार पर्यटनको अवधारणालाई गहनरूपमा छलफलमा ल्याउनुपर्ने देखिन्छ। यस क्षेत्रलाई उद्योगकै रूपमा विश्वभरि चिनिन्छ। र, एकचोटि यस प्रकारको पर्यटन नेपालमा संस्थागत हुनेबित्तिकै विभिन्न आयाम र पक्षमा समेत नेपालले फाइदा लिन सक्छ।

 

–श्रेष्ठ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयमा कार्यरत छन्।

प्रकाशित: १५ पुस २०८० ००:३६ आइतबार

नेपाल पर्यटन आर्थिक योगदान आर्थिक योगदान हिमाल पहाड भूगोल जलवायु परिवर्तन खेतापाती पर्यटकीय लाभ संयुक्त महासंघ