विचार

हिजो कम्युनिस्ट, आज पुँजीपति

शाब्दिक रूपमा सामन्तवाद बेलायत र युरोपमा भएको मध्यकालीन समाजमा त्यहाँका राजा र राजालाई देखाएर राजा नजिकका आसेपासेहरूले नागरिकहरूलाई शासन लदाएको व्यवस्थाको परिपाटीलाई व्याख्या गरिएको शब्द हो। त्यसताका कायम व्यवस्थाको सर्वोपरि राजा हुन्थे।

राजाभन्दा तल उनका आसेपासेहरू, उनलाई देखाएर जनतालाई शासन गर्ने समाजका ठूलाठालु एवम् टाठाबाठाहरू हुने गर्थे। जनताबाट कर संकलन गर्ने, जनतालाई न्याय निरूपणका नाममा आफ्ना निर्णय थोपर्ने कामहरू यिनीहरूले गर्थे। उनीहरूको आनीबानी, चालचलन, बोली व्यवहार औषत नागरिकलाई हेलाहोचो गर्ने, विभेद गर्ने प्रकृतिको हुन्थ्यो।

औषत जनताले गर्ने खानपिनभन्दा उच्च कोटीको खानपिन र लवाइ हुने गर्थ्याे। उनीहरूको हिँडडुल औषत नागरिकको भन्दा भिन्न हुन्थ्यो। यसले आमजनता र शासकका बीचमा चर्को विभेद सिर्जना गर्दै लग्यो। यो अन्तरले आमजनता र शासक वर्गको बीचमा विशाल अन्तरविरोध सिर्जना गथ्र्यो। यसै परिवेशलाई विश्लेषण गरेर नै कार्ल माक्र्सले वर्ग संघर्षको व्याख्या गरे। सामन्तवादको विरुद्ध कसरी जनता संगठित हुने र जनताको शासन कसरी स्थापना हुन सक्छ भनेर सिंगै विश्वलाई निर्देशित गर्ने गरी माक्र्सवादको सिर्जना भयो।

यसरी राजालाई देखाएर सीमित स्वार्थ समूहले आफूहरूले लुट्ने सामन्तवादी व्यवस्थालाई जोगाउन विभिन्न तिकडमहरू गरिए। नागरिकहरूलाई धर्म, संस्कृति, प्रथाहरूको रक्षक, विधाताका रूपमा राजालाई नै देखाइँदै शोषण गर्ने क्रम सामन्तवादी व्यवस्थामा हुन्थ्यो।

एउटा व्यक्तिको रहर, लहड वा सोचको आधारमा हुने बल प्रयोगको विधिबाट शासनहरू हुने क्रमले समाज विकासको लामो कालखण्ड संसारभर नै शासन गर्‍यो। विश्वका विभिन्न देशहरू जस्तै नेपालले पनि लामो समय सामन्तवादी व्यवस्था झेल्यो। आधुनिक नेपालको निर्माण भएयता पनि राजाहरूले आलंकारिक र सक्रिय शासकका स्वरूपमा निकै लामो समय शासन गरे।

समाज विकासका क्रम र नागरिक सचेतनाका कारण भएको संगठित जनक्रान्तिमार्फत  २०६३ सालबाट नेपालमा राजतन्त्रात्मक सामन्त व्यवस्थाको उन्मूलन भयो। यो व्यवस्था उन्मूलनका लागि जनतालाई जगदेखि नै जागरणद्वारा संगठित गराएर सिंगै देशमा आमूल परिवर्तनको शंखघोष गरिएको थियो।

परिणामस्वरूप राजतन्त्रात्मक शासन व्यवस्था उन्मूलन भएको थियो। सामन्ती व्यवस्थामा राजा र रैती, मालिक वर्ग र नोकर वर्ग, शासक वर्ग र शासित वर्गको रूपमा जुन किसिमको वर्ग सिर्जना थियो।

कमसेकम नागरिक तथा राजनीतिक अधिकारका हिसाबले र सामाजिक तथा सांस्कृतिक परिवेशका हिसावले सबै नागरिकका बीचमा कुनै पनि किसिमको विभेद सिर्जना नहुने व्यवस्थाका रूपमा गणतन्त्रात्मक व्यवस्था आएको हो।

तर गणतन्त्र आए पनि सामन्तवादी शैली विभिन्न ढंगले पुनर्जागृत भइरहेको आलोचना हुने गरेको पाइन्छ। राज्यसत्ताका विभिन्न अंगहरूमा, निकायका नेतृत्वमा र समाजमा नै सामन्तवादी सोच र शैली विभिन्न हिसाबले रहेको आलोचनासँगै गणतन्त्रकै विरोधमा समेत आवाज उठ्न थालिसकेको देखिन्छ।

गणतन्त्र आएपछिको यो अवधिमा गणतन्त्रको विरोधमा आवाज निस्कनुपर्ने अवस्थाका पछाडिका कारण के रहेछन् ? कतै गणतन्त्रवादीहरूकै गतिविधि पनि कारक छन् कि ? समीक्षा गर्नुपर्ने बेला आएको छ।

गणतन्त्र प्राप्तिका लागि नागरिकलाई जागृत गराउँदै गर्दा सामन्ती व्यवस्थाविरुद्धमा शंखघोष गर्दै गर्दा नागरिकका बीचमा गरिएको सामन्तवादको परिभाषालाई एकपटक सम्झन पर्ने कि नपर्ने?

जतिबेला राजतन्त्र र सामन्तवादको विरोध गर्दै गर्दा आफ्नो कूलधर्म र संस्कृतिका नाममा किरिया बस्ने सप्ताह लगाउनेहरू बेकसुर काटिए सामन्तको नाममा। गाउँमा सफा दौरा सुरूवाल लगाएर हिँड्ने पुरुषहरू काटिए, मारिए, कुटिए, सामन्तको नाममा। जन्ती लिएर जाने र भोज खुवाएर विवाह गर्नेहरूले विवाहमा लगाए बराबरकै खर्च क्रान्तिकारीहरूलाई चन्दा जरिवाना तिर्नुपर्‍यो सामन्ती शैली देखाइएकोबापत।

यी कामहरू मूलतः गणतन्त्रको नारा बोक्ने असली हकदार आफूलाई ठान्ने कम्युनिस्टहरूले गरेका हुन्।

अस्तित्वमा रहेका कम्युनिस्ट पार्टीहरूले आफ्नै हैसियत, शैली, स्कुलिङअनुसार उनीहरूले यो कामको अगुवाइ गरे। धर्म, संस्कृति, संस्कार र चलनका नाममा हुने क्रियाकलापहरू वैज्ञानिक तर्कबाट पुष्टि नहुने अवस्थामा सामन्तवादका अवशेष कहलिए।

 व्यक्तिगत रुचि, चाहना र क्षमताका आधारमा गरिने क्रियाकलापहरूमा बन्देज लगाइए। आमजनताका हैसियतभन्दा भिन्न हुने र वर्गीय अनमेलता सिर्जना हुने क्रियाकलापहरू जनस्तरमा पनि बन्द गरिए र सरकारको नेतृत्व वा शासकहरूले गरिएकामा पनि आन्दोलनका अजेन्डा भए। कतिपयमा हिंसात्मक रूप पनि देखियो।

गणतन्त्रको वकालत गर्दै जनताका आँगन पिँढीमा जाँदा निर्माण गरेको यो धारणा, गतिविधि र ज्ञान आज कहाँ छ? जनताले नै सोध्नुपर्ने दिन आएको कि आत्मसमीक्षा गर्नुपर्ने अवस्था भएको हो? यतिबेलाको ज्वलन्त प्रश्नका रूपमा देखिएको छ।

गणतन्त्रको स्थापनापछि शासकीय नेतृत्वमा रहेकाहरूले संस्थागत र व्यक्तिगतरूपमा देखाएका व्यवहारबाट जनतामा परेको छापलाई नजरअन्दाज गर्न नमिल्ने अवस्था भने जन्मिएकै छ।

आज सामन्ती व्यवस्थाको अन्त्य गरेर स्थापना भएको संघीय गणतन्त्रात्मक व्यवस्थामा भएका ७ सय ६१ सरकारहरूले नागरिकका लागि आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, सञ्चारभन्दा हरेक धर्म र जातका आधारमा मन्दिर, पूजा र जात्राहरूका लागि लगानी गर्ने अवस्था कसरी वैज्ञानिक बन्यो? शक्तिमा हुनेहरूका थरका कुल पूजाका मन्दिरहरूमा सरकारी लगानी कसरी ओइरियो?

सरकारी बजेटमा धर्मका नाममा जुन क्रियाकलाप भइरहेको छ, धर्मलाई जसरी भए पनि आफ्नो वर्चस्व निर्माण गर्ने साधनका रूपमा प्रयोग गरिएको छ त्यो हिजोको सामन्ती व्यवस्थामा लादिएको भन्दा खतरनाक कृत्य हो।

घातक रोगको उपचारका लागि न्यूनतम सहयोगको याचना गर्दै ढोकाढोकामा धाउने एउटा सर्वसाधारणले हजार, पाँच सय रुपियाँ नपाइने अवस्थामा सेटिङ मिलाएर करोडौँ भ्रष्टाचार दिनकै भइरहने अवस्थाले सबै सरकार टाट पल्टने स्थितिको नजिक पुग्ने अवस्था कसरी सिर्जना भयो?

समाज वा देशको प्रबुद्ध वर्ग, विशिष्ट स्थानमा रहेका व्यक्तिहरू वा नेतृत्वगणले गर्ने हरेक क्रियाकलापहरूले सर्वव्यापी सन्देश दिइरहेको हुन्छ। त्यसकै आधारमा समाजमा संस्कृतिको संक्रमण, नयाँ संस्कृतिको निर्माण, हस्तान्तरण हुने गर्छ। यो स्वाभाविक प्रक्रिया हो।

गणतन्त्र स्थापनापछि समाजवादको रटान लगाउने नेपाली काँग्रेस र कम्युनिस्ट पार्टीहरूले निर्माण गरेको संस्कृतिले समाजलाई के सिकाइरहेको छ भन्ने गहन समीक्षाको विषय हो।

जनमतका हिसाबले हेर्ने हो भने यो अवधिमा सबैभन्दा बढी जनताले आशा, भरोसा र विश्वास गरेको राजनीतिक शक्ति कम्युनिस्ट पार्टी हो। कम्युनिस्ट पार्टीले वर्ग संस्कृति कायम गर्दै नागरिकहरूमा समानता कायम गर्ने वकालत गरेर गणतन्त्र स्थापनाको सबैभन्दा बलियो जनाधार र जग निर्माण भएको हो। तर कम्युनिस्ट पार्टीभित्र देखिएको वर्ग संस्कृतिको विचलन र सांस्कृतिक अधपतनको अवस्था दरिद्र, र घिनलाग्दो छ। पार्टीको प्रतिबद्ध कित्ताको अधिकांश नववर्गमा छन्। उनीहरूसँग इतिहास श्रमजीवी वर्गको छ तर वर्तमान भने पुँजीपति वर्गको।  

प्रकाशित: १ पुस २०८० ००:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App