विचार

कुरा वाम गठबन्धनका

इश्वी संवत् १८ सयको अन्त्यतिर संसारमा दुई सिद्धान्त प्रारम्भ भयो । एउटा साम्यवाद जसको उद्देश्य थियो– सुकुमवासीलाइ छाना, नाङ्गालाई नाना र भोकालाइ खाना । खान, लाउन र बस्न पाउनुु मानिसको नैसर्गिक अधिकार हो भन्ने कुरामा जोड दिँदै यसले हरेक मानिसलाई यसको परिपूर्ति गरिनुपर्नेमा जोड दियो । त्यसैगरी अर्काे सिद्धान्त थियो– प्रजातन्त्रवाद जसले मानिस जन्मँदै स्वतन्त्र भएर जन्मन्छ त्यही कारण उसलाई सघैँ स्वतन्त्रता चाहिन्छ भन्ने वकालत ग¥यो ।

यिनै दुई सिद्धान्तका आधारमा संसारका सबै राष्ट्रमा शासनसत्ता सञ्चालन भए । यसपछि फ्रान्समा निर्वाचन भयो । निर्वाचनबाट जितेकामध्ये बहुमत प्राप्तहरू दायाँ बेन्चमा बस्ने र थोरै सिट जित्नेहरूचाहिँ बायाँ बेन्चमा बस्ने चलन चलाइयो । त्यतिखेरदेखि नै यसरी बायाँ बेच्नमा बस्नेलाई वामपन्थी भनिन थालियो । यथार्थमा प्रजातन्त्रवादी पनि अल्पमतमा परेका बेला विपक्ष भएर बायाँ बेन्चमै बस्नुपर्छ । अनि रुसलगायत देशले १९ औँ शताब्दीमा आएर त्यही वामपन्थका आधारमा साम्यवादी बनेर यस्तो सत्ता सञ्चालन गर्न थालेका हुन् ।

यस क्रममा भियतनाम, लावसलगायतका देशले पनि त्यो सिको गरेर साम्यवादी व्यवस्था सुरु गरे तर कालान्तरमा गएर उनीहरू परिवर्तन भए । यसरी साम्यवादीलाई परिवर्तन गराउन भने अमेरिकाको पनि ठूलो हात छ । साम्यवादी देशहरू गरिब हुँदै गएकाले पनि यसप्रति त्यहाँका जनताको आकर्षण घट्न पुग्यो । रोजगारी गुम्न पुग्यो । विभिन्न अवसरहरू खुम्चिए । त्यही कारण उनीहरू परिवर्तन भए । परिवर्तन भएपछि अहिले राम्रो भएको रुसकै उदाहरणले पुस्टि गर्छ । जहाँसम्म साम्यवादी विचारधारा अपनाएर चीनले प्रगति गरेको कुरा छ, त्यो खासमा साम्यवादी विचार नअंगालेका कारण सम्भव भएको हो ।

नेपाल जस्तो कम शिक्षित भएको देशका जनताले अहिले साम्यवादी नारालाई निकै राम्रो मानेको देखिएको छ । देशमा व्याप्त गरिबीका कारण पनि यो स्थिति सिर्जना भएको हो । चेतनाको स्तर पनि कम छ ।  यही कारण पनि वाम गठबन्धनले यसपालि राम्रो मत बटुल्न सक्यो । तर जब उनीहरू सत्तामा पुग्छन् जनतालाई दिएका आश्वासन बिर्सन्छन् र आफ्नै स्वार्थमा लाग्छन् भन्ने माओवादी नै सत्तामा पुगेपछि पनि प्रमाणित भइसकेको छ । यही स्वार्थले जेलिएका कारण उनीहरू पटकपटक टुक्रिएका पनि छन् । यस सन्दर्भमा अहिले माओवादी र एमालेको मिलन पनि दिगो होला र यिनले जनतालाई दिएका आश्वासन पूरा होलान् भन्ने ठाउँ देखिन्न ।

एकातिर सत्ताकै लागि १० वर्षसम्म हिंसात्मक युद्ध सञ्चालन गरेको माओवादीका अध्यक्ष प्रचण्ड र अर्कोतर्फ झापा काण्ड मच्चाएका एमाले अध्यक्ष ओलीबीच अहिले जुनखालको गठबन्धन बनेको छ, सर्सर्ती हेर्दा उनीहरूको यो मिलन स्वार्थमा केन्द्रित देखिन्छ । त्यसैले आफू माथि पर्दा ठीक, नत्र बेठीक भन्ने धारणामा केन्द्रित भएर अघि बढ्ने भएकाले यिनीहरूले जनतालाई सुशासन दिन सक्ने देखिन्न । नत्र एउटै पार्टीमा बसेर १० वर्ष युद्ध चलाएका विप्लव, वैद्य आदि किन प्रचण्डबाट छुट्टन्थे र ? स्वार्थ मिलेन छुट्टिए । त्यसैले वाम गठबन्धनले जनताका आवश्यकता पूरा गर्न सक्दैन भन्न यो आधार पनि काफी छ ।

प्रकाशित: २३ पुस २०७४ ०२:५१ आइतबार

कुरा वाम गठबन्धनका