विचार

इमानका धरोहर इमानसिंह

इमानसिंह चेम्जोङ । जो किरात भाषाका विज्ञ र किरात इतिहासकार हुन् । आज पठनपाठनमा आएको किरात भाषा र लिपिको विकास एवं विस्तारमा उनको अतुलनीय योगदान रहेको छ । १ जनवरी १९०४ मा भारतको पश्चिम बंगाल, कालिम्पोङको रिन्केबुङ बस्तीमा जन्म भएको थियो । नेपालको पाँचथर आङसराङबाट भारतको कालिम्पोङमा गएका लिम्बू मेघवरसिंहका पाँचौँ सन्तान अन्तरे हुन् इमानसिंह । उनले धार्मिक ज्ञान र दर्शन जान्ने अवसर आमाबाट पाएका हुन् । इमानसिंहले कालिम्पोङमा हाइस्कुलसम्मको अध्ययन पूरा गरेका थिए । विद्यार्थीकालमै बाबु–बाजेबाट किरात भाषा बोल्न र जान्न पाए । उनैबाट याक्थुङ्वा लिम्बूहरूको सुनौलो इतिहासको दिन सुरु भयो ।
२६ जुलाई १९५२ मा उनले कालिम्पोङ निवासी सर्दार मैतसिंह थेगिमको घरमा सभा बोलाएको प्रथम ऐतिहासिक सभा थियो । स्थानीय समाजलाई किरात अक्षर र भाषा पढाउने उद्देश्यले सो सभा प्रेरित थियो । सो छलफलमा सुबेदार मेजर हर्कदल माखिम, दरङ्गा धनवाज फेन्दुवा, मण्डल जीतबहादुर थेगिम, मण्डल हङसराज थेगिम, कुलहाङ चेम्जोङ र निर्मल सदेम्बाहरूको उपस्थिति थियो । जसमा इमानसिंहले पुराना प्राचीन हस्तलिपि किरात अक्षरको पुस्तक निकालेर देखाए । आफ्नो भाषाको पुस्तक र लिपि पहिलोपटक हेर्न र सुन्न पाउँदा अरू पनि खुसी भए । सो सभा वास्तविक ऐतिहासिक बन्यो । उपस्थित व्यक्तिहरूले उनलाई त्यो पुस्तक वाचन गरी सुनाउन अनुरोध गरे । इमानसिंहले सफलतापूर्वक वाचन गरे ।
‘सावायेत्हाङ किरात मेन्छाम्गेन नाम्याप्मीसाहारे तागेरा निङ्वाभूमाङ्ल्ये कुलाङदेम सेवा चोकमा पोङ, मनासारे हिङ्मुई, सिममुई केरेक निङ्वाभूमाङ्ल्ये, कुहुक्को वारो, खेन्ल्ये मुन्धुमहा हिङमाल्ये, हिङममुन्धुम, सिमाल्ये सिमा मुन्धुम, शशी मुन्धुमहा निप्मा, साप्मापोङ ।’
जसलाई उनले नेपालीमा यसरी अथ्र्याए, ‘किरात सन्ततिहरूको एकमात्र परमात्मा परमेश्वर तागेरानिङ्वाभूमाङ्को पाउमा सेवा भक्ति आराधना अर्चना गर्नुपर्छ । मर्नु, बाँच्नु, सबैको खटनकारी उनै ईश्वरमाङको देन हो, मानिस मात्रले बाँच्नुपर्दा बाँच्ने विधि, मर्दा मृत्यु विधि आदि दर्शनशास्त्र अध्ययन लेखपढ गर्नुपर्छ’ भनी मुन्धुम ज्ञानले सम्बोधन गर्नुभयो ।
पुस्तकको यो अंश वाचनसँगै सबैले जुरुक्क उठी एकै स्वरमा भने, ‘यो भाषा हाम्रा हो, हामीले हाम्रो प्राण बुझ्यौँ, यो किरातीहरूको भाषा र लिपि रहेछ, हाम्रो भाषा हाम्रो भेष, प्राणभन्दा प्यारो छ, किराती भाषा र अक्षर पढ्नुपर्छ यो सबै तागेरा निङ्वाभूमाङ्को देववाणी, माइङघङ रहेछ, हाम्रा लागि गौरवको कुरा हो ।’
यो कागज कहाँबाट पाइयो । त्यहाँ उपस्थित सभाको प्रश्नमा मेरो घरमै थियो भन्ने जवाफ उनले दिए । धन्य ‘माङसा हाङसा’ तागेरसिङवायूमाङसाः देवपुत्र राजपुत्र ईश्वरपुत्र हौँ भनी उनलाई धन्यवाद दिए । हामीलाई सिकाउनुपर्छ भन्ने सभाको आग्रहलाई स्वीकार गरी उनले किरात अक्षर लेखपढ गर्न पहिलोपटक सबैलाई सिकाए ।
यस सभाको सर्वसम्मतबाट ‘याक्थुङहाङचम्लुङ’ भन्ने नाम राखी इमानसिंहले किरात आन्दोलन भारतको कालिम्पोङबाट सभा सम्मेलन र पढाइद्वारा शंखनाद गरेको सम्झना गर्नुपर्छ ।
यो समय कालिम्पोङ हाइस्कुलमा कक्षा ९ मा अध्ययनगरी रहेका बेलाको अवस्था देखिन्छ । लगत्तै १९२६ मा २२ वर्षको उमेरमा प्रवेशिका म्याट्रिक्स पास गरी उच्च शिक्षा हासिल गर्न कोलकत्ताको सेन्टजेभियर महाविद्यालय अध्ययन गरी सन् १९२८ मा आइए पास गरी बिए अध्ययन गरिरहेका बेला बुबाको मृत्यु भएकाले अपर्झट घर फर्के । उच्च शिक्षाको बाधक अध्ययन यही कारण बन्यो । बुबाको अन्त्येष्टिपछि व्यवहार सम्हाल्दै आफूले खोलेको याक्थुहाङ् चुम्लुङ्को गतिविधिमा लागे । यस क्रममा सिक्किम, भुटान, आसाम, कोइटा, देहरादुन, पञ्जाव, धर्मशाला, कलकत्ता र बर्मा सिंगापुरमा पत्राचार गरी व्यापक हलचल ल्याए ।
सिक्किमको बाजवीर थलङ, गेजिङ, ससिङ, नाम्ची, हिगाउ, कालुकमा खोलिएका स्कुलमा पढाउँदै गर्दा सन् १९४२ मा गेजिङ स्कुलबाट गान्तोकको उच्च विद्यालयमा इमानसिंहलाई बढुवा गरी लगेका थिए । तिनताक मनबहादुर, शन्तवीर खाम्दाक, पदमसिंह नुगोहरूलाई पनि सिकाए । यही बेला सिक्किम सरकारले रेभेन्यू इन्स्पेक्टर पदमा रही काम गर्ने क्रममा सिक्किमका पश्चिम किरात गाउँ÷घर घरमा भ्रमण गरी प्रचारप्रसार गरे । यसको राम्रो सन्देश नेपालको पल्लो किरात लिम्बूवानमा परेकाले ठूलाबडा सुब्बा खड्गबहादुर, नरबहादुर नेम्बाङ काजीमान तुम्वाहाङफे, शेरबहादुर लाओती, महागुरु फाल्गुनन्द लगायतको अनुरोधमा सिक्किम छाडी लिम्बूवान प्रदेशमा सन् १९५२ मा आए र नेपालमै सेवा गरे ।
नेपालका गाउँघर घुमेर प्रचारप्रसार गर्दै, पल्लो किरात लिम्बूवानको सभापति बने । यसको प्रतिनिधित्व गर्दै सन् १९५३ मा राजा श्री ५ त्रिभुवनसँग भेट गर्न काठमाडौँ आएका थिए । यस क्रमलाई लगातार २०१३÷२०१४ सालमा पटकपटक लिम्बूवानको माग ९÷१० बुँदे र १६ बुँदाको माग राखी तत्कालीन श्री ५ को सरकारलाई घचघच्याउने महत्वपूर्ण भूमिका निर्वाहका संवाहक थिए ।
नेपालमा सर्वप्रथम २०१५ सालको आम निर्वाचनमा कुनै पार्टीले टिकट नदिई संसद् सदस्यमा स्वतन्त्र उम्मेद्वार वने । चुनावमा पराजित भएपछि भाइस चान्सलर रणधीर सुब्बाको पालामा सन् १९६१ देखि त्रिविमा किरात भाषा र संस्कृतिको विशेषज्ञ प्रोफेसर करार सेवामा नियुक्त भए । सो कार्यबाट प्रभावित भई तत्कालीन इन्स्टिच्युट अफ नेपाल एन्ड एसिएन स्टडिज् तथा वर्तमानको सेन्टर फर नेपाल एन्ड एसिएन स्टडिज् (सिनास) मा रहेर काम गर्दै सन् १९७५ सम्म १५ वर्षको लामो सेवाबाट करारमा नियुक्त भए ।
काठमाडौँको नरदेवी टोलमा डेरा गरेर नित्य त्रिवि धाएर निःस्वार्थ भावले सेवा गर्ने इमानसिंहले आफ्नो सम्पूर्ण जीवन देश, समाज र जनतामा उत्सर्ग गरेका थिए । यस क्रममा उनले लेखेका केही प्रमुख किताब ः किरातको वेद किरातको मुन्धुम नेपाली किराती भाषामा सन् १९३१, किरात इतिहास सन् १९४८, किरात साहित्यको इतिहास सन् १९५५, किरात दन्त्यकथा सन् १९६१, लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश सन् १९६१, किरात मुन्धुम खाहुन सन् १९६५, याक्थङ चुक्मुक साम्जिक मुन्धुम (किरात दर्शन) सन् १९६९, किरातकालीन विजयपुरको इतिहास सन् १९७४, किरात व्याकरण सन् १९७४, किरात प्रथम वर्णमाला भाग–१, भाग–२ ।
आधा शताब्दीभन्दा लामो समय तन, मन, वचनले जीवन अर्पण गरी किराती भाषा, लिपि, साहित्य, संस्कृति र इतिहास विषयमा खोज अनुसन्धान गरी पुस्तक तयार पारेका छन् ।  उनका कृतिहरूप्रति दृष्टिगत गर्दा इतिहासकार, साहित्यकार, लिपिकार, भाषावेत्ता र दर्शनविद्का रूपमा मान्नुपर्ने हुन्छ । किरातका वेद, किरातको मुन्धुम नलेखिदिएको भए सिंगो किरात धर्म दर्शनको पूर्वाधार नै बन्ने थिएन भनेर ढोकुवा गर्न सकिन्छ ।
इमानसिंहको जीवनी केशर सुब्बा र नरबहादुर योङहाङले लेखेका छन् भने लिम्बू भाषामा उनको जीवनी पढाइ हुन्छ । उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरी नेपाल सरकारले राष्ट्रिय प्रतिभाका रूपमा मान्यता दिएको छ । जनजाति स्तरबाट विविध ठाउँमा मूर्ति, बाटो, स्कुल, विभिन्न संज्ञामा इमानसिंह चेम्जोङ राखिएको छ ।  चेम्जोङ दार्जिलिङमा आरामका लागि गएकामा प्लान्टर्स अस्पतालमा स्वास्थ्य उपचार गर्दागर्दै २०३३ असोज २२ मा ७१ वर्षको उमेरमा उनको निधन भयो । आजीवन किरात भाषा, साहित्य संस्कृति, लिपि र धर्मको उत्थानमा अमर प्राप्त गर्ने इमानसिंह विभूति र युगपुरुष हुन् । आज ११५ औँ जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्छु ।

प्रकाशित: १७ पुस २०७४ ०३:५२ सोमबार

इमानका धरोहर इमानसिंह