विचार

सन्तानलाई सास्ती

विदेशीको लहलहैमा हिँड्दा आफ्ना सन्तानले कति सास्ती पाउने रहेछन् भनेर शायद हाम्रा आजका नेताले विचार गरेका छैनन् । आफ्नो देशप्रति गद्धारी गर्नेलाई नेपालमा लेन्दुप दोर्जेको उदाहरण दिने गर्छन् । उनले सिक्किमलाई भारतमा मिसाउन सबभन्दा अहं भूमिका खेलेका थिए । यो यही पिँढीको घटना हो । त्यसरी नै देशद्रोह गरेका एक भारतीय अठारौं शताब्दीमा देखा परे । उनको नाम थियो मिरजाफर । मिरजाफर नाम सुन्नेबित्तिकै भारतीयहरू घृणा गर्न थाल्छन् । किनभने उनलाई आफ्नो धर्मप्रति कलंक, देशप्रति कलंक र राष्ट्रप्रति कलंकका रूपमा लिने गर्छन् । यो घृणाका कारण भारतमा अंग्रेजहरूको प्रभुत्व हुनुमा मिरजाफरलाई मुख्य दोषी मान्छन् । 

यो सन् १७५७ को कुरा हो जुन साल बंगालमा प्लासीको युद्ध भएको थियो । त्यस बखत बंगालको नवाव सिराजुद्दौला थिए । मिरजाफर उनकै सेनापति थिए । प्लासीको युद्धमा अंग्रेजको जीत भयो र सिराजुद्दौलाको हार । त्यो हारको मुख्य कारण उनका सेनापति मिरजाफरको धोका थियो । किनभने उनी पहिले नै अंग्रेजसित मिलिसकेका थिए । उनले आफ्ना नवाव सिराजुद्दौलाको हार हुने किसिमले चाल खेले । सिराजुद्दौला युद्ध मैदानबाट भागे तर बाटैमा समातिए र मारिए । त्यसपछि मिरजाफर बंगालको नयाँ नवाव भए । यो सबै अंग्रेजहरूसितको मिलेमतोमा भएको थियो । प्लासीको युद्धको सर्वाधिक महत्त्व यसकारणले छ कि त्यस युद्धपछि भारतलाई आफ्नो अधिनमा ल्याउन अंग्रेजहरू सफल मानिए । 

आफू त प्रधानमन्त्री, मन्त्री र अनेकथरीका अधिकारी भएर बाँच्लान् तर उनीहरूका सन्तानको के हविगत हुने हो त्यसबारे कहिले उनीहरूले सोचेका छन् ?

मिरजाफरले आफूलाई बंगालको नवाव बनाइदिएबापत अंग्रेजलाई ठूलो क्षतिपूर्ति दिए । कलकत्ता र यसका व्यापारीहरूमाथि धावा बोलेकामा उनले १ करोड ७७ लाख रुपियाँ अंग्रेज इस्ट इन्डिया कम्पनीलाई दिए । यस अतिरिक्त उनले कम्पनीका अधिकारीहरूलाई मोटो रकम घुस खुवाए । कम्पनीका प्रमुख क्लाइभले मात्र २० लाख रुपियाँ पाए । वाट्स भत्रे अधिकारीले १० लाख पाए । तर मिरजाफरले छिटै महसुस गरे कि अंग्रेजलाई चित्त बुझाउनु गाह«ो छ । उनले अंग्रेजको आदेश मात्र छाडे । उनले डचहरूसित साँठगाँठ गरेर अंग्रेजलाई पन्छाउन खोजे । यसै क्रममा सन् १७५९ मा चिनसुरामा युद्ध भयो । त्यस युद्धमा अंग्रेज सेनाबाट मिरजाफर हारे । उनलाई पदमुक्त गरियो र उनकै ज्वाइँ मिरकासिमलाई बंगालको नवाव बनाइयो । यो पनि अंग्रेजकै योजनाअनुसार गरिएको थियो । मिरकासिम मिरजाफरका सेनापति थिए । तर उनलाई पनि अंग्रेजले आफ्नो हातमा लिएका थिए । मिरकासिम मिरजाफर भन्दा जल्दाबल्दा शासक निस्के । मिरकासिमले पनि नवाव भएलगत्तै अंग्रेजलाई ठूलो उपहार चढाए । अंग्रेजलाई खुसी पार्न उनले जनताको शोषण गरे, जथाभावी जमिन खोसे, मिरजाफरको धन लुटे र राज्यकोष खाली गरे। 

तैपनि उनले अंग्रेजलाई सन्तोष पार्न सकेनन् । उनले पनि अंग्रेजविरुद्ध वगावत गरे । किनभने अंग्रेजले नै उनलाई नवाव बनाएका भए पनि आफ्नो देशको स्वार्थविरुद्ध जान चाहेनन् । उनी अंग्रेजको आफ्नो राजकाजमा बढ्दै गएको हस्तक्षेपबाट चिढिए । कसैगरी अंग्रेजको चंगुलबाट उनी उम्कन चाहन्थे । यसै सिलसिलामा उनले आफ्नो राजधानी मुर्सिदावादबाट मुङघेरमा सारे । त्यहाँ उनले नयाँ सेना तयार गरे । उनले अंग्रेजसित जुध्न तयारी गर्न थाले । उनको सरहदभित्र अंग्रेजहरूले व्यापार गर्दा ४० प्रतिशत कर तिर्नुपथ्र्यो तर सो तिर्न अस्वीकार गरे । उनले कर प्रणाली नै हटाइदिए ताकि अरु व्यापारीले अंग्रेजसित प्रतिस्पर्धा गर्न सकून् । यसबाट अंग्रेजहरू रिसाए । यसैबीचमा तनाव बढ्यो । मिरकासिमले पटनास्थित अंग्रेजी कम्पनी कार्यालयमा हमला गरे र त्यहाँस्थित अधिकारीलाई मारिदिए । मिरकासिमले अरु नवावसित मिलेर अंग्रेजविरुद्ध बुक्सरमा सन् १७६४ मा लडाइँ गरे तर हार खाए । त्यसपछि उनलाई सत्ताबाट हटाइयो । यसबाट अंग्रेजहरू झन् बलियो हुन पुगे र केही वर्षमै भारतका अरु राज्य कब्जा गर्न सफल भए। 

यो पढ्दा र लेख्दै गर्दा मलाई हाम्रा लम्पसारवादी नेताहरूको झल्झली सम्झना आइरह्यो । मिरजाफर र मिरकासिमले सत्ताका लागि विदेशी अर्थात् अंग्रेजको सहयोग लिए पनि कालान्तरमा त्यसको प्रतिकार गरे । उनीहरू देशद्रोही कहलिए पनि सधैंँ आफ्नो देशको हित त्यागेर अंग्रेजको आदेश मानेर बस्न सकेनन् । विदेशीसित टक्कर लिने हिम्मत गरे । तर हाम्रा नेताहरूले भने देशको हितविपरित एकपछि अर्को, अर्कोपछि अर्को देशको स्वार्थ छाड्दै गएका छन् । नदीनालाको हालत हे¥यो भने पहिला कोशी, त्यसपछि गण्डकी र त्यसपछि महाकाली विदेशीलाई सुम्पिदिए । त्यसै क्रममा माथिल्लो कर्णाली, अरुण, बूढी गण्डकी पनि अरुलाई सुम्पिए । प्रधानमन्त्री हुनका लागि मिरजाफर र मिरकासिमले नवाव बत्रका लागि खेलेको भूमिका दोहोर्‍याए। 

दलीय गठबन्धन छिनछिनमा बदलेर सत्तामा गए । तर देशको सिमाना मिचिँदा चूप लागेर बसे । सिमानापारि बनाइएका निर्माणहरूले नेपालीको भौतिक क्षति र मानवीय कष्ट हुँदा पनि उनीहरूको मुखबाट एक शब्द निस्केन । एकजना प्रधानमन्त्रीले भारतमा गएर आफ्नो देशमा चलिरहेको योजनाहरूमा हस्तक्षेप निम्त्याए । अर्को प्रधानमन्त्री जाँदा सुरक्षा र वैदेशिक मामिलामा विदेशी प्रभुत्व निम्त्याए । झन् अर्को प्रधानमन्त्रीले नेपालमा ५ करोडसम्म पैसा बाँड्ने अधिकार नै सुम्पिए । एकजना प्रधानमन्त्रीले अलिकति विदेशीको प्रतिकार के गरेका थिए केही महिनामै सत्ताबाट फालिदिए । के अंग्रेजले अठारौं शताब्दीमा भारतमा खेलेको खेल हाल नेपालमा भारतले खेलेको खेल मिल्दोजुल्दो छैन ? त्यसैप्रकार मिरजाफर र मिरकासिमका सन्ततिले पाएको दुःख के नेपालका नेताका सन्ततिले नपाउलान् भत्र सकिन्छ ?

मिरजाफरलाई भारतमा नमक हराम भनेर चिनिन्छ । उनले गरेको देशद्रोह आजभन्दा करिब २५० वर्षभन्दा बढी भइसक्यो । तर आजसम्म उनका आठौं पुस्ताका सन्तानले यसबाट पीडा भोगिरहेका छन् । भारत स्वतन्त्र भएलगत्तै मिरजाफरका सन्तानको सबै जमिन भारत सरकारले खोसिदियो । मिरजाफरका सन्तान यति गए÷गुज्रेको अवस्थामा पुगे कि कतिपय भिखमंगा भए, कतिपयले रिक्सा चलाएर गुजारा गरे र हेयको जीवन बाँचे । त्यसमध्ये एकजना मात्रले शिक्षा पाए र अध्यापकसम्म बने । उनको नाम हो सैयद मोहम्मद रेजा अलि खान । उनी ४८ वर्षका भए र मिरजाफरको आठौँ पुस्ताका हुन् । उनले आफ्ना बराजु मिरजाफरमाथि लागेको कलंक हटाउन भरमगदुर कोसिस गरिरहेका छन् । तर एक पटक लागेको दाग हटाउन उनी सफल भएका छैनन् । अहिले पनि मुर्सिदावादस्थित मिरजाफरको चिहानमा मानिस थुक्ने गर्छन् । त्यो देखेर उनका सन्तानलाई मरणतुल्य हुन्छ। 

त्यसैगरी मिरकासिमको मृत्यु दयनीय अवस्थामा भएको थियो । उनको चिहान खन्न उनकै दुईवटा खास्टो बेचेर पैसा उठाउनुपरेको थियो । के यस्तो गति कुनै दिन हाम्रा नेताका सन्तानले बेहोर्नुपर्ने हुँदैन ? त्यो सोचेर विदेशीको दलाल र लम्पसारवादी हुन छाड्लान् ? आखिर इतिहासले आफ्नो निर्णय त सुनाउने नै रहेछ । आफू त प्रधानमन्त्री, मन्त्री र अनेकथरीका अधिकारी भएर बाँच्लान् तर उनीहरूका सन्तानको के हविगत हुने हो त्यसबारे कहिले उनीहरूले सोचेका छन् ? कि सन्तानको गति जे भए होस् आफ्नो जीवन सुखमय भए पुगिहाल्यो नि भत्रे गरेका छन् ? पशुपतिनाथले अलिकति भए पनि बुद्धि देउन्।  

प्रकाशित: २५ मंसिर २०७४ ०४:०० सोमबार

सन्तानलाई सास्ती