विचार

इजरायल-हमास युद्धको असर

गएको असोज २० गते बिहानै एक्कासि इजरायलको किबुच क्षेत्रमा आक्रमण गरेपछि त्यसयता प्यालेस्टाइनको अतिवादी समूह हमास मात्र चर्चामा छैन, सिङ्गो विश्व नै यसको बाछिटाबाट पुग्ने हानिका कारण त्रसित छ। हमास आक्रमणबाट इजरायलमा १४ सयभन्दा बढी मारिएका थिए भने साढे २ सयभन्दा बढी अपहरणमा परेका थिए। जवाफी हमलामा इजरायलद्वारा मारिनेको  सङ्ख्या ९ हजार नाघिसकेको छ। यसरी मारिनेमा ४० प्रतिशतभन्दा बढी त बालबालिका नै हुनुले यसको भयाबहता आकलन गर्न सकिन्छ। यो सङ्ख्या प्रत्येक दिन बढ्दो छ।

यही घटनालाई लिएर विश्व २ ध्रुवमा बाँडिएको छ। अमेरिका, बेलायत, जर्मनी जस्ता शक्तिशाली मुलुकहरू खुलेयाम इजरायलको पक्षमा देखिएका छन्। हमासलाई आतङ्ककारी सङ्गठन मान्दै आएका उनीहरू इजरायलको जवाफी हमलालाई ‘प्रतिरक्षा अधिकार’ का रूपमा व्याख्या गरिरहेका छन्। अर्कोतर्फ मुस्लिम राष्ट्रहरू हमास आक्रमणको जवाफ गाजाका जनताको नरसंहार हुन नसक्ने बताएर इजरायललाई यसबाट पछि हट्न सुझाइरहेका छन्। तर पनि इजरायली सुरक्षाकर्मीले झिङ्गा जति पनि दया नराखी प्रत्येक दिन सयौँ प्यालेस्टाइनी मारिरहेका छन्। र, इजरायलका गोत्रियाहरू यसमा गर्व गरिरहेका छन्।

के हो हमास?

विगत हेर्दा प्यालेस्टाइनले इजरायल र इजरायलले प्यालेस्टाइनमाथि आक्रमण गर्नु कुनै नौलो घटना लाग्दैन। तर हताहती सङ्ख्या, अत्याधुनिक सुरक्षा संयन्त्रहरू निस्तेज गर्ने शैली, शक्तिशाली गुप्तचरी प्रणालीलाई समेत छक्याउने कला, थुप्रैलाई अपहरणसमेत गर्न सफल जस्ता कारण असोज २० को आक्रमण विशेषगरी इजरायलका लागि ‘भयानक’ सावित भयो। शक्ति राष्ट्रहरूको छत्रछायाँमा आफूलाई हतियार, शक्ति र प्रविधिलगायत सबै कुराले सज्जित तुल्याउँदै आएको इजरायलका लागि ‘जाबो हमास’ को यस्तो आक्रमण सह्य नहुनु स्वाभाविक थियो।

वेस्ट ब्याङ्क र गाजा दुई मुटु हुन् प्यालेस्टाइनका। जसमध्ये वेस्ट ब्याङ्कमा महमुद अब्बासको शासन छ। उनी आफूलाई वैधानिक शासक दाबी गर्छन्। उनलाई इजरायलको समर्थन पनि छ। इजरायलकै समर्थन भएपछि इजरायल पक्षधर राष्ट्रहरूको पनि हुने नै भयो। त्यसैले शासन प्यालेस्टाइनका महमुदको भए पनि त्यहाँ सबै चल्नेचाहिँ इजरायलकै हो। त्यसैले इजरायल पक्षधर वा यहुदीहरूको बस्ती प्रत्येक दिन बढ्दै गएको छ वेस्ट ब्याङ्कमा।

यसको ठीक उल्टो गाजामा भने विद्रोही समूह हमासको शासन छ। ऊ १६ वर्षअघिको निर्वाचनमा विजयी भएरै यहाँको शासक बनेको हो। हमास छापामार युद्धका लागि विश्वमै नाम कहलिएको समूह हो।

अझ विशेषगरी सहरी युद्धका लागि। करिब ४१ किलोमिटर लम्बाइ र मात्र १० किलोमिटर चौडाइयुक्त गाजा नै हमास शासित क्षेत्र हो। क्षेत्रफल सानो भए पनि गाजा विशेष स्थान हो किनकि यति थोरै ठाउँमा करिब २२ लाख मानिस बस्छन्। यीमध्ये धेरै इजरायलका कारण आफ्नै भूमिमा शरणार्थी बन्न बाध्यहरू छन्। जो विश्वका दानी राष्ट्र वा धनी व्यक्तिहरूले दया गरेर दिए खान पाउँछन् नत्र भोकै पर्छन् र मर्छन् पनि।

गाजामा प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने मुख्य ३ वटा नाकामध्ये २ वटा इजरायलको र एउटा इजिप्टको कब्जामा छ। यी दुवै देशले हमासको रिसले गाजा क्षेत्रमा लामो समयदेखि (करिब १६ वर्षदेखि) नाकाबन्दी लगाएका छन्। त्यसैले गाजाका बासिन्दाको जीवन कष्टकर छ। आफूहरू आफ्नै जन्मभूमिबाट कतै जान र भित्रन समेत विदेशीको स्वीकृति लिनुपर्ने बाध्यताबाट सताइएका छन्। अर्थात ‘ठूलो कारागार’ भित्र उकुसमुकुस जीवन बिताउन बाध्य छन्।

गाजाको यति सानो क्षेत्रभित्र बनाइएका ३६५ वर्गकिलोमिटर सुरुङ र बङ्कर आफैँमा एकादेशको कथा जस्तै लाग्छन्। तर अझै अचम्मको कुराचाहिँ यो हो कि हमासका सबै संरचना स्थानीय सर्वसाधारणसँग एकापसमा अन्तरघुलित छन्।

विश्वमै सबैभन्दा बढी जनघनत्वले पनि हमासलाई आफ्ना हिंसात्मक गतिविधि सर्वसाधारणसँग जोडजाड पार्न साथ दिएको छ। इजरायल र उसका समर्थकसँग भएका अत्याधुनिक उपकरणले नचिन्नेखालका मौलिक र परम्परागत सञ्चार, प्रकाश आदि उपकरण हमासका सबल पक्ष हुन भने इजरायल र उसका मित्रहरूका लागि सबैभन्दा टाउको दुखाइको विषय।

युद्धको खास कारण

प्यालेस्टाइनीहरू यहुदीहरूले आफ्नो भूमि जबर्जस्ती लिएर इजरायल बनाएको दाबी गर्छन्। त्यसैले उनीहरू इजरायलको अस्तित्व नै स्वीकार गर्दैनन्। अर्कोतर्फ इजरायलीहरू पनि प्यालेस्टाइनीको अस्तित्व स्वीकार गर्दैनन्। प्यालेस्टाइनीमध्ये पनि लडाकु समूह हमासमा सङ्गठितहरू यस मामलामा बढी कट्टर छन्। एकले अर्काको अस्तित्व स्वीकार नगर्नु नै यी दुईबीच बारम्बार दोहोरिइरहने ‘युद्ध’ को मुख्य कारण हो।

इजरायल र प्यालेस्टाइनको विवाद जरोदेखि नै खोतल्ने हो भने निकै लामो छ। त्यसैले यहाँ सन् १९४७ को प्रसङ्ग सान्दर्भिक होला जतिखेर यी दुवै पक्षबीच भड्किरहेको पटकपटकको युद्ध अन्त्य गर्न संयुक्त राष्ट्र सङ्घमा मतदान भयो र प्यालेस्टाइनलाई विभाजन गरी यहुदी र अरबका दुई राज्य बनाउने पक्ष पारित भयो। जसलाई अरब पक्षले मानेन। तर पनि यहुदीहरूले पेलेरै आफ्नो राज्यका रूपमा इजरायल घोषणा गरे।

यसपछि अरब र यहुदीबीच युद्ध चर्किरहे। प्यालेस्टाइनीहरू लाखौँको सङ्ख्यामा भागे। प्यालेस्टाइनको थुप्रै क्षेत्रमा इजरायलले कब्जा जमायो र त्यस्ता क्षेत्रमा यहुदीहरूको बस्ती विस्तार गर्दै लग्यो जुन आजसम्म पनि जारी छ। एकातिर भाग्न बाध्य पारिएका प्यालेस्टाइनीहरू आफ्नो जन्मभूमि फर्कन पाएका छैनन् भने अर्कोतिर इजरायलले शक्ति राष्ट्रहरूको आशीर्वादका कारण उनीहरूको बस्तीमा यहुदीहरूलाई बसाउने क्रमलाई निरन्तरता दिइरहेको छ।

यसरी हेर्दा खासमा हमाससहितका प्यालेस्टाइनीहरू आफ्नो भूमि खोसिएर रन्थनिएको अवस्थामा छन्। त्यसैले उनीहरू घाइते बाघझैँ बेलाबेलामा आक्रमणमा उत्रन्छन्। अहिले इजरायलमाथि हमासले गरेको आक्रमण कुनै पनि कोणबाट सही छँदै छैन। यो आततायी हमला हो। त्यसैले यो आक्रमणलाई ‘सही उद्देश्यका लागि अपनाइएको गलत शैली’भन्दा अत्युक्ति हुने छैन।

युद्धको नेपाल साइनो

यो युद्धमा धार्मिक लेपन छ। यहुदी र इस्लामका नाममा विश्व विभाजित छ। इसाईले समेत यो विवादास्पद भूमिलाई आफ्नो पवित्र स्थल मान्दै आएका छन्। त्यसैले पनि यसको असर विश्वभर पर्ने निश्चित छ। विश्वकै एउटा सदस्य भएकाले नेपाल पनि यसबाट अछूतो हुने कुरै भएन। हमास आक्रमणमा १० जना नेपालीसमेत मारिनु, ४ जना घाइते हुनु र १ जना बेखबर हुनुले यसको असरबाट नेपाल सोझै प्रभावित भएको बुझ्न कठिन छैन।

परराष्ट्र मन्त्रीले असोज २१ गते  संसद्लाई दिएका जानकारीअनुसार इजरायलमा ४५ सय नेपाली केयरगिभरका रूपमा कार्यरत छन्। त्यसैगरी २६५ जना इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका छन्।

अहिले पनि इजरायलले गाजा क्षेत्रमा जल, जमिन र आकाश तीनै तहबाट आक्रमण जारी राखेको छ। यस्तो अवस्थामा हमासले पनि सकेसम्म प्रत्युउत्तर फर्काउने नै छ। त्यसैले त्यहाँ रहेका केही नेपाली अझै जोखिममा छन् भने नेपाल आएका पनि फर्केर जाने अर्थात अवसर गुम्ने सम्भावना उत्तिकै प्रबल छ।

अर्कोतर्फ अरब लिगका महासचिव अहमद अबुल घेइतले अरबका न्याय मन्त्रीहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा गाजामा सैन्य कारबाही अन्त्य गर्न माग गर्दै उक्त क्षेत्रको घेराबन्दीले प्यालेस्टाइनीलाई आफ्नो मानवताबाट वञ्चित गरिएको स्पष्टसँगै बताएका छन्।

 यसरी हेर्दा यो युद्ध लम्बिँदै गएमा विश्व इस्लाम र यहुदीका पक्षमा थप ध्रुवीकरण हुने र अरब लिग पनि स्वतः त्यसमा सामेल हुने सम्भावना देखिन्छ। यसो भएमा नेपालीहरू वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी जाने कतार, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, जोर्डनलगायत २२ राष्ट्र सदस्य रहेको अरब लिग कुनै न कुनै रूपमा युद्धमा जोडिनेछ जसको असर सोझै नेपालीमाथि पर्नेछ।

स्मरणीय छ, गत आर्थिक वर्षमा सबैभन्दा बढी साउदी अरबमा मात्र  १ लाख २३ हजार ६ सय ५८ जना गएका थिए भने दोस्रोमा कतार जानेको सङ्ख्या ७१ हजार २ सय ८० र तेस्रोमा संयुक्त अरब इमिरेट्स जानेको सङ्ख्या ४३ हजार ६ सय ८० थियो।

अर्कोतर्फ यो युद्ध चर्कँदै गएमा इजरायल र लेबनानको सीमा क्षेत्रमा रहेका करिब ८ सय नेपाली सुरक्षाकर्मी (जो शान्ति मिसनअन्तर्गत गएका थिए) पनि प्रभावित नहोलान् भन्न सकिन्न। युद्धकै कारण विश्वभर फैलिने बाछिटाबाट त नेपाल मात्र जोगिन सक्ने कुरै भएन।

समाधान

सन्की शासकहरूलाई बेलाबेलामा शक्तिको मात चढ्ने गर्छ। जतिबेला संयुक्त राष्ट्रसङ्घले दुई राज्यको अवधारणा पारित गरेर कार्यान्वयन गर्न खोजेको थियो त्यतिबेला अरबहरूमा सनक चढ्यो। उसमाथि केही अन्याय नै भएको भए पनि यो एउटा मध्यमार्गी उपाय अवश्य थियो।

यतिबेला फेरि जवाफी हमलाका नाममा इजरायली शासकहरूले गाजामा चौतर्फी आक्रमण गरेर निहत्था मानिस मारिरहेका छन् र संयुक्त राष्ट्रसङ्घको महासभाले भर्खरै मात्र इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ। जसको पक्षमा नेपालसहित १ सय २० राष्ट्र छन् भने विपक्षमा मात्र १४ देश। तर पनि इजरायलले यसको विरोध गर्दै आक्रमण जारी राख्ने घोषणा गरेको छ। सोमबार मात्र इजरायली प्रधानमन्त्रीले ‘यो युद्धको समय हो’ भनेका छन्। यसबाट पनि पुष्टि हुन्छ कि हमास–इजरायल युद्ध चाँडै टुङ्गिने लक्षण छैन।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि आइतबार पत्रकार सम्मेलनमार्फत गाजा क्षेत्रमा इजरायलले जारी राखेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएका भन्दै आपतकालीन युद्धविराम गर्न अपिल गरे। त्यसैले निम्नलिखित ३ कारणले इजरायलले तत्काल युद्धविराम गर्नु बुद्धिमानी हुनेछ– पहिलो, गाजामा हमासले निर्माण गरेको माकुरे जालो शैलीका सुरुङहरू ध्वस्त पारेर युद्ध जित्नु कठिन छ र जितिहाले पनि गैरहमासको कत्लेआमविना यो सम्भव छैन।

दोस्रो, हमासले बन्धक बनाएका र ढालका रूपमा प्रयोग गर्न सक्ने साढे दुई सय आफ्ना नागरिकको जीवन रक्षाका लागि पनि यो कदम आवश्यक छ। र तेस्रो, १ सय २० राष्ट्रले सही ठहर्‍याएको उपाय लत्याउनु इजरायलका लागि कुनैपनि बेला प्रत्युत्पादक हुन सक्छ।

युद्धविराम यसर्थ पनि जरुरी छ कि केही आतङ्ककारीको कुकर्मको सजाय सम्पूर्ण गाजाबवसीमाथि थोपर्नु कुनै पनि हालतमा उचित हुन सक्दैन। सोझो अर्थमाभन्दा कुनै पनि बहानामा प्यालेस्टाइनीहरूको नरसंहार गर्ने अधिकार कसैलाई छैन। यसो गर्नु जघन्य अपराध हुनेछ।

प्रकाशित: १५ कार्तिक २०८० ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App