विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत वर्ष सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले नेपाललगायत विश्वका नागरिकको उमेर सालिन्दा बढ्दै गएको अनि उक्त गति आउँदो वर्षमा समेत कायमै रहने बताएको छ।सन् २०३० सम्ममा पृथ्वीमा बस्ने प्रत्येक ६ जनामा एक व्यक्ति ६० वर्ष काटेको हुन्छ भन्छ डब्लुएचओ। प्रजनन दर घट्ने अनि आयु बढ्दा हजुर पुस्ताको आकार ठूलो हुन्छ नै। डब्लुएचओका अनुसार ७ वर्षपछि नै ३ बीस नाघेका जनसंख्या १ अर्बबाट बढेर १ अरब ४० करोड पुग्ने अनि सन् २०५० सम्ममा उक्त संख्या २ अर्ब १० करोड नाघ्ने देखिन्छ।
प्रतिवेदनअनुसार अबको ३ दशकभित्र ८० वर्ष कटेका समूह ३ गुणाले बढ्नेछ। यस्तै अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयले हालै सार्वजनिक गरेको अध्ययनले अहिले भर्खर ५ वर्ष उमेर पुगेका २ अमेरिकीमध्ये १ जना सय वर्षसम्म बाँच्ने छन्। औसत आयुमा आएको सुधारको क्रम तत्कालै नरोकिने बरु ३ दशकपछि जन्मने झण्डै झण्डै सबै नवजात शिशुहरू शताब्दी नागरिक बन्ने देखिन्छ। बाइसौँ शताब्दीमा संसारको सालाखाला आयु सय वर्षभन्दा अधिक हुने देखिन्छ। पछिल्लो पुस्ताको आयु उकासिने प्रक्षेपण गर्दा अन्वेषणकर्ताहरूले जनस्वास्थ्यको थप प्रभावकारिता, सन्तुलित खान्की र स्वास्थ्यमा सबैको पहँुच, कोरोना नियन्त्रणमा वैज्ञानिकहरूले गरेका प्रगति अनि आयुर्विज्ञानको क्षेत्रमा भएका केही उल्लेखनीय अनुसन्धानले आउँदा दिनमा थप सार्थकता पाउने विश्वासलाई आधार मानेको देखिन्छ।
सबै हजुरपुस्ताका सदस्य समान हुँदैनन्। केही मानिस ८ दशक काट्दासमेत शारीरिक तथा मानसिकरूपले ३० वर्षीयसँग तुलना गर्न मिल्ने हुन्छन् भने कोही भने ६० पनि नपुग्दै रोग नै नभए पनि अरूको सहयोगबिना चल्न चट्पटाउनै नसक्ने देखिन्छन्। सबै पाका पुस्ता समान नदेखिनुमा शारीरिक सक्रियता, आनुवंशिक बनोट, सामाजिक परिवेश र उपलब्ध अवसरले मुख्य भूमिका खेलेको देखिन्छ। आफूलाई शारीरिकरूपले सक्रिय राख्ने अनि स्वास्थ्यका आयाम बुझेको समाजमा हुर्किएको पुस्ता अर्को पक्षभन्दा समष्टिगतरूपमा स्वस्थ देखिएको छ।
भूमण्डलीकरण र सञ्चारको क्षेत्रमा आएको परिवर्तनले समाजलाई सकारात्मक र नकारात्मक दुवै परिणाम दिएको छ। विगतमा अवसरको अभावमा गरिब परिवारसँग सीमित विकल्प थिए। गाउँमा खान नपुगे पनि त्यसबेला बसाइँसराइ सहज थिएन। अनि स्थानान्तरणले सकारात्मक परिणाम दिने आधार थिएन। गाउँका महाजनको काममा भर पर्नुपर्ने अवस्था फेरिएर संसारभर रोजगारीका अवसर खुले। कामसँग माम पनि आएपछि भोकभोकै बस्नुपर्ने अनि नांगो आङमा बाँच्नुपर्ने अवस्था छैन। अरबको पसिनाको कमाइ दुर्गम गाउँ पुगेको छ।
दुःख गरी विदेशमा कमाएको पैसा विज्ञापनको बहकाउ र सामाजिक भड्काउमा परी चाउचाउ र कोक जस्ता अस्वस्थकर खानामा खर्च गर्ने बानी पर्यो। गाउँमा उत्पादित कोदो र फापर खानको बदला सहरबाट बेसाएर ल्याएको चलानी खान्की लोकप्रिय बन्यो। जंकफुडले अल्पकालीन पेटका समस्या मात्र ल्याउँदैन बरु चिनी रोग, उच्च रक्तचाप, क्यान्सर जस्ता दीर्घकालीन रोगसमेत निम्त्याउँछ।
धूमपान र मद्यपान मात्र निर्मूल गर्न सक्ने हो भने क्यान्सरका रोगीको संख्या आधा घट्ने कुरा धेरै तप्काबाट गरिएका अध्ययनले पुष्टि गरेको छ। प्याकेटको खाना र चुरोट रक्सीभन्दा भान्सामा पाक्ने खान्की गुनिलो भएको खबर घर–घरमा पुर्याउन सके दीर्घलाभ हुने भएकाले उक्त दायित्व सबै सरोकारवालाको काँधमा आएको छ।
लिंग, वर्ण र जातजाति फरक भएका व्यक्तिको आनुवंशिक (डिएनए) ढाँचा पृथक हुन्छ। विषम डिएनएले शारीरिक रूपमा असर पार्ने भएकाले एकै उमेरका दुई पक्षको शारीरिक क्रियाशीलता फरक हुन्छ। समान परिवेशमा हुर्किएका ब्राह्मण र लिम्बू दौतरीहरूमा सत्तरी कटेपछि देखिने पृथकतामा उनीहरूको अणुवांशिक पदार्थले भूमिका खेल्छ। अणुवांशिक पदार्थको बनोट र व्यक्तिले बिताउन सक्ने सक्रिय जीवन यापनबीच तालमेल स्थापना गर्ने दिशामा विज्ञानले धेरै सफलता हासिल ग¥यो। दुई दशकअघिसम्म पनि बाबु÷आमाबाट आएको आनुवंशिक पदार्थ खराब भए पनि त्यसको वरण गर्नुको विकल्प थिएन। तर अहिले अवस्था फेरिएको छ। पछिल्लो समय आनुवंशिक पदार्थको विश्लेषणले व्यक्तिको स्वास्थ्यवस्थाको भविष्यवाणी गर्न सक्ने बनायो। आउँदा दिनमा उक्त क्षेत्र अझ परिष्कृत हुने कुरामा वैज्ञानिक विश्वस्त छन्।
आणुवंशिक पदार्थको विश्लेषणले व्यक्तिलाई भविष्यमा क्यान्सरलगायतका के कस्ता रोगले सताउँछ भन्ने कुरा ठोकुवा गर्न सक्ने हैसियत दिन्छ। अनि हालै विकास भएको जिन टेलरिङ प्रविधिमार्फत रोगको संभाव्यता बोकेको खराब डिएनए हटाएर असल आनुवंशिक बनोट बनाउन सकिन्छ। यसरी समस्याको जरो नै उखेल्न सक्ने भएपछि मानिसलाई रोग लाग्ने संभाव्यता न्यून हुन्छ, व्यक्ति दीर्घजीवी बन्छ।
पुरानो कारलाई लामो समयसम्म सडकमा गुडाइराख्न आवधिक हेरचाह अनि आवश्यकताअनुसार इन्जिनको परिवर्तन आवश्यक परेभैmँ लामो समय स्वस्थ जीवन व्यतीत गर्न जीवनको प्रारम्भदेखि नै शरीरको उचित संहारको आवश्यकता पर्छ। तर जतिसुकै राम्रो बानी भए पनि उमेर ढल्कँदै गएपछि शारीरिक संयत्रमा खराबी आउँछ। पुराना कोष अनि तन्तु बिग्रन्छन्। सामान्य समस्या प्रारम्भिक औषधि उपचारमार्फत मर्मत गर्न सकिन्छ। तर अंगमा ठूलै समस्या आए त्यसैलाई फेर्नुपर्ने अवस्था आउँछ। मिर्गौला प्रत्यारोपण एउटा उदाहरण हो।
मुटु रोग संसारको ठूलो समस्या हो। ओखती र चिरफार विधिले मुटुको समस्या समाधान गर्न नसके व्यक्तिको मृत्यु अपरिहार्य छ। एउटा मात्र भएकाले एक व्यक्तिको मुटु अर्कोलाई दिएर रोगीलाई बचाउन सकिने अवस्था भएन। विज्ञानले उक्त जटिलताको समाधान खोज्यो। वैज्ञानिकहरूले परिष्कृत सुगुर (जेनेटिकल्लि मोडिफाइड पिग) विकास गरी त्यसको मुटु रोगी मानिसमा प्रत्यारोपण गर्ने प्रविधि विकास गरे। उक्त विधिको केही वर्षअघि परीक्षण भयो। जनावरको मुटुको सहायतामा पूर्ण जीवन जीउन नसके पनि लामै समय बिरामी बाँचे। विज्ञानका विकासहरू सदैव परिष्कृत हुँदै जाने भएकाले छिटै जनावरको मुटुको सहारामा रोगी पूर्ण सन्चो हुन्छ भन्न सकिन्छ। मुटु जस्तो जटिल अंगको विकल्प खोज्न सक्ने वैज्ञानिकहरूले खराबी आउन सक्ने सबै अंगलाई प्रत्यारोपण गर्न सक्ने विधि स्थापित गर्न धेरै वर्ष नलाग्ने ठोकुवा गर्न सकिन्छ।
स्वस्थ रहनका लागि के कस्तो आहारबिहारले मद्दत गर्छ भन्ने कुरा जनतालाई सुसूचित गर्ने, जन्मनेबित्तिकै बालकको आनुवंशिक पदार्थ जाँच गरी कुनै खराबी देखिए त्यसलाई अविलम्ब मर्मत गर्ने, अंग काम नलाग्ने भए ल्याबमा निर्माण भइ भण्डारमा रहेका अंग प्रतिस्थापन गर्न सकिने भएपछि मानिसको आयु एक शताब्दी पुग्नु नौलो भएन।
यसरी हजुर पुस्ताको आयतन बढ्दै गइ शताब्दी नागरिकको संख्या थपिँदै जाने यथार्थलाई हृदयंगम गरी तद्अनुरूपको तयारी आजको आवश्यकता भएको छ। संसारका धेरै देशमा शताब्दी नागरिकको संख्या बढ्ने तर जन्म दर भने घट्ने क्रम देखिन्छ। त्यस्तो अवस्थामा हजुर पुस्ताको हेरचाह गर्दै उत्पादनशील जनशक्तिको माग धान्न कठिन हुन सक्ने देखिन्छ।आशा गरौँ, सबै जटिलता निवारण गर्ने विज्ञानले यो समस्याको समाधान पनि खोज्ला नै
प्रकाशित: १४ कार्तिक २०८० ००:४३ मंगलबार