विचार

विचारको इतिहास र वर्तमानको नेपाल

थोमस हब्सको ‘लेभियथन’ विश्वप्रसिद्ध कृति हो । पुस्तकमार्फत हब्स राज्य के हो ? यसको उत्पत्ति कहाँ र कसरी भयो ? नागरिक राज्यद्वारा बनाइएका नियम÷कानुन किन पालना गर्छन् र कतिसम्म राज्यको नियम कानुन मान्ने भन्ने प्रश्नको उत्तर हब्सले पुस्तकमार्फत खोजेका छन् ।

भनिरहनुपर्दैन, लोकतन्त्रलाई खतरा कहीँबाट छ भने त्यो नेपाली जनतासामु विकरालरूपले रहेको गरिबी, अभाव, वञ्चना, अपमान र राज्यको नपुंशकताबाट मात्र छ ।

थोमस हब्स पहिले पनि राज्यवारे सोक्रेटस, एरिस्टोटल, प्लेटो, मैकेबेलीलगायत कैयन् पश्चिमा विचारक र दार्शनिकले लेखेका छन् । इशापूर्व नै भारतमा कौटिल्य नाम गरेका चाणक्यले र पछि पनि अनेकन् विद्वान्ले राजा, राजतन्त्र र राज्यबारे विचार प्रस्तुत गरेका छन् । नेपालको सन्दर्भमा बिपी कोइरालाले राज्यबारे धारणा प्रस्तुत गरेका छन्– ‘नेपाल एउटा प्रशासनिक एकाइमात्र हो ।’ बिपीको राज्यबारे यस्तो धारणा थियो निरंकुश राजतन्त्रकालीन नेपालमा । माथिका विचार भन्दा पृथक राज्यबारे नयाँ धारणा र सोच अठारौँ शताब्दीमा कार्ल माक्र्सले प्रस्तुत गरे । ईश्वरवादबाट मुक्त भएर लोकतान्त्रिक विचारबाट अगाडि बढिरहँदा युरोपमा औद्योगिक क्रान्तिले सिर्जित वर्गीय द्वन्द्वलाई वैचारिक आधारभूमि बनाएर माक्र्सले समाज विज्ञानको नयाँ दर्शन विश्वसामु राखे ।
पश्चिमा विद्वान्हरूबाट सिर्जित राजनीतिक सिद्धान्तलाई लिएर राज्य निर्माणको आधार तय भयो । यस क्रममा पक्ष र विपक्षमा विश्व जनमत बाँडियो र बीसौँ शताब्दीको सुरुबाटै विचारको महासंग्राम नै भयो । करोडौँ मानिस यो महासंग्राममा मारिए । तीन दशकअगाडि बर्लिनको पर्खाल ढलेर र सोभियत संघ विघटन भएर कम्युनिस्ट एकदलीय राज्य निर्माणको अवस्थाबाट युरोप मुक्त भयो । एसियामा भने चीन, उत्तर कोरिया, भियतनाम, लाओस र कम्बोडियामा भने अझै पनि एकदलीय तानाशाही बाँकी छ ।
जापानी मूलका अमेरिकी नागरिक फ्रान्सिस फुकुआमाले सन् १९९२ मा ‘द इन्ड अफ दि हिस्ट्री एन्ड लास्ट म्यान’ भन्ने बहुचर्चित पुस्तक लेखेर विश्वमा लोकतान्त्रिक पुँजीवादको विजय भएको सन्देश दिए । ‘लोकतन्त्र नै फ्रान्सको राज्यक्रान्तिदेखि अहिलेसम्म वैकल्पिक राजनीतिमा पनि निर्विकल्प भएर पटक पटक फर्केर आउन सक्ने क्षमता र प्रणाली हो’ भनी उनले हुँकार गरे । तर फ्रान्सिस फुकाआमाले भनेजस्तो न विश्व रूपान्तरित भएको थियो न लोकतान्त्रिक पुँजीवादले विश्व जितेको थियो ।  
जतिखेर फुकुआमाको विचारले विश्वमा चर्चा बटुलिरहेको थियो त्यतिखेर नेपालमा निरंकुश राजतन्त्र  अन्त भएर लोकतन्त्रको पुनस्र्थापना भएको अवस्था थियो । लोकतन्त्रलाई संस्थागत गर्ने तरखर चल्दै थियो । नेपालमा एकातिर निरंकुश राजतन्त्रलाई लोकतन्त्रले विस्थापित गर्दै थियो भने अर्कोतिर त्यही लोकतन्त्रको भावधारामा देशको सबैभन्दा प्रभावशाली र युवाहरूको आकर्षक राजनीतिक दल माक्र्सवादी लेनिनवादी अर्थात माले पनि वैचारिक रूपान्तरणमा लागेको थियो । नेपाली कांग्रेससामु त्यतिखेर ईश्वरवादबाट अलौकिक शक्तिले अभिभूत राजसंस्थालाई ठेगानमा राख्ने चुनौतीमात्र थिएन, अर्कोतिर ‘वर्गशत्रु सफाया’ अभियानबाट राजनीति सुरु गरेको तत्कालीन मालेको लोकतान्त्रिक रूपान्तरणमा सहयोग गर्नुपर्ने जिम्मेवारी पनि थियो । नेपालमा पनि लामो समयदेखि चलेका वादहरूको महासंग्रामको अन्त तत्कालीन माले एमाले भएपछि सम्पन्न भएको विश्वास राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमै गरियो ।
इतिहासको अन्त र प्रारम्भ हुँदैन ।  यो अनन्त र  निरन्तर चलिरहन्छ भन्ने पूर्वीय दर्शन फेरि एकपटक विश्व रंगमञ्चमा उदाउन खासै समय लागेन । फ्रान्सिस फुकुआमा नै यसका प्रवद्र्धक भए र उनी विगतको विचारबाट ‘यु टर्न’ लिए । हिजोआज उनी विगतका कम्युनिस्ट पृष्ठभूमि भएका देश र नेपाल जस्तो अल्पविकसित राष्ट्रमा लोकतन्त्रले जनताको इच्छा र आकांक्षा सम्बोधन गर्न नसकेर अस्थिरता र अराजकताबीच फेरि यी देश अलोकतान्त्रिक बाटोतर्फ आकर्षित भए भन्दैछन् । त्यतिमात्र होइन, लोकतान्त्रिक पुँजीवादले विश्व जितेको भ्रमबाट पनि उनी धेरै पहिले मुक्त भए । यतिखेर उनी चीन र रुसको वर्तमान राजनीतिक मोडलबाट भएको आर्थिक विकासले विश्व जनमत आकर्षित भएकामा चिन्ता व्यक्त गर्दै प्रवचन दिँदै हिँडेका छन् । उदार लोकतान्त्रिक पुँजीवादी व्यवस्थामा नयाँ ढंगको राजवंशहरू उदाए जसले गर्दा लोकतन्त्र सर्वत्र असफल भइरहेको छ भन्ने फुुकुआमाले निष्कर्ष निकाल्दा भारतको शिक्षा र स्वास्थ्य अवस्थालाई उनले उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।  
नेपालमा अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वाम गठबन्धनले जितेमा चिनियाँ मोडलको राजनीतिक व्यवस्था अर्थात एक दलीय अधिनायकवाद आउँछ भनी नेपाली कांग्रेसले चिन्ता प्रकट गर्नुपरेको कारण यही नै होला । तर कांग्रेसले बुझ्न नसकेको के हो भने अवसर पाउँदा लोकतन्त्रलाई ठीक ढंगले जनहितमा प्रयोग गर्न नसक्दा लोकतान्त्रिक विचारको चिच्याहटबाट मात्र लोकतन्त्र टिकाउन सकिन्न । यति कुरा कांग्रेसजनले बुझ्न हब्स, माक्र्स, रुसो र गान्धी पढ्नै पर्दैन, बिपी कोइरालाले नै लेखेर जानुभएको छ ।
नेपालमा लोकतन्त्र कति सफल कति असफल ? यो लामो विवादको विषय हुन सक्छ । विगत तीन दशकमा भएका सामाजिक र आर्थिक पूर्वाधारहरू लोकतन्त्र नभएको भए के सम्भव थियो ? प्रश्न गर्न सकिन्छ । अनि त्यस्तै देश र समाज अझै पनि अल्पविकसित, अभाव र वञ्चनाको अवस्थामा रहनुलाई लोकतन्त्रको असफलताको उदाहरणका रूपमा अगाडि सार्न सकिन्छ । वास्तवमा लोकतन्त्र र आर्थिक समृद्धिबीचको सम्बन्धबारे जुन संशय नेपालीमाझ छ, त्यो संशय र बहस विश्वव्यापीरूपमा धेरै पहिलेदेखि नै छ । फेरि नेपाली इलिटहरूको लोकतन्त्रको मापदण्डमा भारतको गरिबी, पछौटेपन र अराजक समाजमात्र आँखाअगाडि आउँछ ।
नेपालको कम्युनिस्ट अभ्युदयमा नेपाली कांग्रेसको निकम्मापनमात्र जिम्मेवार छैन । ठीकै भनेका छन् बिपीपुत्र डा. शशांक कोइरालाले ‘बिपी भएका भए खड्ग ओली पनि कम्युनिस्ट हुन्नथे’ भनेर । यो महावाणी कांग्रेसका निर्वाचित महामन्त्रीको आफ्नै अक्षमताप्रतिको आत्मस्वीकृति हो । तर नेपालमा कम्युनिस्ट बढ्नुमा भारतको नेपालसँगको व्यवहार, भारतीय ठालु समाज, भारतको आपराधिक राजनीतिक प्रणाली र आर्थिक दूरावस्थाले काम गरेको छैन भन्न सकिन्न । यिनै र यस्तै अनेकन् कारण छन् नेपालको निरन्तरको राजनीतिक अस्थिरताका लागि पनि । माओवादी विध्वंश र द्वन्द्व नभएको भए नेपाल अहिलेको अवस्थाबाट समृद्धिको बाटोमा धेरै अगाडि बढ्ने थियो भनी विश्वास गर्नेहरूको पनि कमी छैन । तर माओवादी द्वन्द्व र मधेस आन्दोलन कुन गर्भगृहबाट निस्केर नेपाली समाजलाई तरंगित गर्छ भनी सोच्ने जिम्मेवारी कसको ? के यस्ता आन्दोलनको आयाम देशबाहिरको उक्साहटबाट मात्र हुन्छ कि नेपाली समाजभित्र त्यस्ता ज्वालामुखी केन्द्र बनाएर जम्मा भएका हुन्छन् । यी सबै पक्षलाई मिहिनरूपमा देशका नेताले सोच्छन् र त्यहीअनुरूपको नीति निर्माण गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि लग्छन् भनी बुझ्ने कहिले ? के सधैँ बिपीले अवतार लिन सक्छन् ?  
लोकतान्त्रिक नेपालको प्रारम्भिक अवस्थामा नै फुकुआमा जस्ता विद्वान्लाई चुनौती दिएर ‘शक्ति बन्दूकको नालबाट निस्कन्छ’ भनी माओवादीले लोकतान्त्रिक राज्यलाई चुनौतीमात्र दिएनन्, घुँडा नै टेकाए नेपालमा । तर शक्ति बन्दूकको नालबाट होइन जनताको अभिमत मतपत्रबाट मात्र सम्भव हुँदो रहेछ भनी एकपटक फेरि नेपाली कांग्रेसले माओवादीलाई सिकायो, रूपान्तरण गर्न सहयोगी भूमिका खेल्यो । निसन्देह यसको श्रेय बिपी कोइराला जान्छ जसले सात दशकअगाडि नै नेपाली समाजको समृद्धिको बाटो लोकतान्त्रिक पद्धतिबाट मात्र हुन्छ भन्ने ठाने । बिपीले नेपालको विविधताबीच विकासको बाटो खोज्दा लोकतन्त्रबाट मात्र सम्भव छ भनी सात दशकअगाडि चिन्तन गर्नु भनेको सामान्य र चानचुने कुरा थिएन । यो त्यस्तो समय थियो जब लोकतन्त्र शिक्षित समुदायबीच फल्ने फुल्ने व्यवस्था हो भन्ने तिनताका बुझिन्थ्यो । तर बिपी विपरित थिए र उनले लोकतन्त्रको जुन जरा रोपे त्यो अहिले समावेशी भएर नेपाली समाजबीच फल्न फुल्न थालेको छ ।
माथि नेपालको वैचारिक इतिहासको संक्षिप्त झाँकीमात्र राखियो । विचारहरू स्थिर हुँदैनन्, केही मूलभूत मान्यता स्थिर भए पनि । नेपालमा त मूलभूत मान्यता पनि अस्थिर र अराजक भएर सत्तास्वार्थमा लम्पसार परेको छ । यसैक्रममा नेपालको  वैचारिक इतिहासमा कम्युनिस्ट आन्दोलनको क्रमभंग भएको धेरै उदाहरण माथि आए । नेपाली कांग्रेस यस अर्थमा कैयन् कमी÷कमजोरीका वावजुद पनि अनेकन् सत्संगबाट गुज्रे पनि नेपालको लोकतन्त्रका लागि सनातन धर्मझैँ अविचलित र अटल छ नेपालमा । जसरी सनातन हिन्दु सभ्यतामाथि मुस्लिम, अरब र क्रिस्चियनले आक्रमणमात्र गरेनन्, भारतीय आर्यावर्तमा एक हजार वर्षसम्म शासन पनि गरे तर पनि सनातन धर्म र हिन्दु सभ्यता अटल र अजेय रह्यो ।
लोकतन्त्र कि त्यसको विकल्प ? यतिखेर विश्वव्यापी बहस छ । नेपालमा पनि यो बहस आयो तसर्थ अन्यथा यसलाई लिनुहुन्न । अहिले अनेकन् शंका चिर्दै नेपाल निर्वाचनमय भएको छ, नेपालको संविधान कार्यान्वयन प्रक्रियामा छ । निर्वाचन यसरी निर्विघ्न अगाडि बढिरहँदा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निश्चय नै गर्व महसुस गर्दा हुन् । सबै नेपाली प्रमझैँ भारतले स्वागत नगरेको संविधानबाट नयाँ नेपाल नयाँ ढंगको राज्य निर्माणतर्फ लागेकामा गौरवान्वित भएको हुनुपर्छ । तर पनि नेपालीहरू फेरि पश्चिमका दुई विचारबीच धु्रवीकृत भएका छन् । चिन्ता वैचारिक द्वन्द्व निर्वाचनको अगाडि सुरु भयो भन्नेमात्र होइन, पछिसम्म पनि रहेर पिरोल्ने हो कि भन्नेमात्र हो ।
के वाम गठबन्धनले जितेमा कम्युनिस्ट अधिनायकवाद आउँछ नेपालमा ? म जस्ता व्यक्ति जसलाई ‘व्यक्तिको स्वतन्त्रता’ भन्दा ठूलो केही लाग्दैन अनि कांग्रेसले देशभित्रका कम्युनिस्टहरूको लोकतान्त्रिकीकरण गर्न सक्यो भनी गर्व अनुभव हुन्छ, विश्वास गर्न सहज छैन । फेरि कम्युनिस्ट अधिनायकवाद नेपालमा आउँछ भन्दा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद र सुशील कोइरालाको योगदान र नेतृत्वमाथि नै अविश्वास गरेझैँ लाग्छ ।
नेपाली कांग्रेसले विगत तीन दशकमा के ग¥यो नेपालमा भन्दा यहाँका कम्युनिस्टलाई लोकतान्त्रिक आचरण, सिद्धान्त र दर्शनमा अभ्यस्त रहन केही भए पनि सिकायो भनी यसका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकले गर्व गर्न सक्छन्, गर्नुपर्छ । भारतमा जुन काम अझै पनि सम्भव भइरहेको छैन त्यो नेपालमा सम्भव भएको इतिहास छ । तसर्थ वर्तमान नेपालमा के समस्या छ र त्यसलाई कसरी समाधान गर्ने भन्ने चुनौती लोकतन्त्रसामु छ । भनिरहनुपर्दैन, लोकतन्त्रलाई खतरा कहीँबाट छ भने त्यो नेपाली जनतासामु विकरालरूपले रहेको गरिबी, अभाव, वञ्चना, अपमान र राज्यको नपुंशकताबाट मात्र छ ।
राज्य छ, कानुनी शासन छैन । ढुकुटी छ, केही इलिटको कब्जामा छ र नागरिकसम्म पुग्दै पुग्दैन ।  खेत छ, उत्पादन छैन, सबै कुरा आयातमात्र छ । युवा छन्, रोजगारी छैन, सबै विदेशिएकामात्र छन् । तिनको लास र विप्रेषण सँगै आउँछ र राज्यको ढुकुटी भरिन्छ । लास बोक्दै, रुँदै, कराउँदै तिनका परिवार र आफन्त गाउँतिर लाग्छन् तर तिनले कमाएर पठाएको पैसा काठमाडौँको ढुकुटीमा बस्छ ।   कर्मचारीतन्त्र छ तर निकम्मा छन्, काम नगरी तलव खाने अनि घूस दिएमात्र काम गर्ने बानी छ । प्राकृतिक स्रोत र साधनको अपार भण्डार छ देशमा  तिनलाई ‘सुनको अण्डा’ दिने मुर्गाझैँ सर्वनाश गरी समाप्तै गर्न लागिपरेको विकास मोडल अगाडि सारिएको छ ।
सरकारी अस्पताल र स्कुल कलेज छन्, पठनपाठनबाहेक सबै काम हुन्छ त्यहाँ । कांग्रेस, कम्युनिस्ट र राजतन्त्रका पक्षधर विद्वान् र विज्ञ छन्, देश र जनताप्रति समर्पित बिरलै भेटिन्छन् । घोषणापत्रमा निदाएको बेला लेखेको सपना बाँडेका छन्, विपनामा देशको कुनै सहर र गाउँ हिँड्दा धुलो र धुवाँबाहेक केही छैन । किन बनेन ? कसरी समयमा बनाउने र नबनाएमा राज्यले दण्ड दिने भन्ने सोच कतै छैन । उल्टै तिनलाई जनताले भोट दिएर नेता पनि बनाउनुपर्ने विडम्बनापूर्ण विकास मोडल नेपालमा छ । बाटो बन्छ तर पैदल यात्रु हिँड्ने बाटो बन्दैन । गाडी चढ्नेका लागिमात्र बन्छ । जलस्रोतको धनी देशमा खानेपानी नै अशुद्ध छ, अभावमा छन् जनता । हावा, पानी, घर, गाँस, बास कपास केही त पूर्ण छैन अझै पनि । अनि लोकतन्त्रलाई ‘नांगो आङ र भोको पेट’ ले थेग्छ ? कांग्रेसकै नारा हो हामीले युवा अवस्थामा गाउँदै हिँडेको ।       
अन्तमा, एक दशकदेखि लोकतान्त्रिक राज्य विश्वबाट घट्ने क्रममा भएको अमेरिकी संस्था फ्रिडम हाउसको चिन्ताजनक रिपोर्ट छ । नेपालमा माथि भनिएझँै पश्चिमा विचारकहरूको उदारवादी र अधिनायकवादी सबै विचारले अन्ततः लोकतान्त्रिक मूल प्रवाहमा पुग्ने अवसर पाए । कम्युनिस्टकै नाममा पनि मदन भण्डारीले प्रतिस्पर्धात्मक प्रणालीबाट राज्य निर्माण गर्ने व्यवस्था अंगालेका हुन् तीन दशकअगाडि । लोकतान्त्रिक विचार पनि कुनै एउटा देवताबाट निसृत होइन, कैयन् विचारकको मेहनत र समयको कालक्रममा आजको अवस्थामा आइपुगको हो ।
सबैभन्दा ठूलो राजनीति लोकल राजनीति हुन्छ भनिन्छ । नेपालको लोकल राजनीति भनेकै नेपाली जनताले भोगेका माथिका र यिनै जस्ता सामान्य समस्या हुन् । यो सम्बोधन गर्ने बाटो नै समृद्धिको बाटो हो । बाँकी बिरालो कालो होस् कि सेतो, मुसा मार्नुपर्छ भनेर चाइनिज नेताले भनेको कथन मननयोग्य छ । 

प्रकाशित: १२ मंसिर २०७४ ०३:२८ मंगलबार

विचारको इतिहास वर्तमानको नेपाल