गुरु पूर्णिमाको दिन कीर्तिपुरको ठूलो आयुर्वेद अस्पतालमा मलाई आधुनिक चिकित्सा विज्ञान र जडीबुटी महत्वबारे बोल्न आग्रह गरियो। त्यहाँका आयुर्वेदिक विज्ञानमा उच्चशिक्षा हासिल गरेका आयुर्वेदिक डाक्टरप्रति मेरो श्रद्धा थियो । मेरी आमालाई कीर्तिपुर अस्पतालमा लगेर पाइल्सको उपचार गरेको थिएँ, सस्तोमा क्षार सूत्र पद्धतिबाट । र, मैले त्यो बेलामा त्यहाँका कविराजहरूलाई भनेको थिएँ, ‘तपाईंहरूको यस्तो ठूलो अस्पताल छ । विशेषज्ञहरू हुनुहुन्छ तर किन यहाँ बिरामीहरू आउँदैनन्, किन यत्रो लगानीको सदुपयोग भएको छैन ?’
कविराजहरूले भन्नुभएको थियो— के गर्नु, हामी ठूलो स्वरले बोल्न सक्दैनौँ । सरकारले पनि स्वास्थ्यको बारेमा कुरा गर्दा केवल आधुनिक औषधिको बारेमा मात्र छलफल गर्छ । हामी त हेपिएका छौँ ।
उहाँहरूको कुराले मलाई मन दुखेको थियो । नेपालबाट कति अमूल्य जडिबुटी–औषधिहरू विदेश जान्छन् र विदेशीहरूले प्रयोग गर्छन् । नेपालमा पतञ्जलीको कति ठूलो उद्योग खोलिएको छ । रामदेव आउँदा नेपालका सरकारी कर्मचारी र मन्त्रीहरू पाउमा नै परेर ढोग्छन् र ठूलो स्वरले ‘आयुर्वेद नेपालका लागि महत्वपूर्ण छ’ भनेर भट्टयाउँछन् । तर सिहंदरबारको वैद्यखाना, कीर्तिपुर र जिल्ला–जिल्लाका आयुर्वेदिक अस्पताल चाहिँ बेवास्तामा पर्छन् । स्वास्थ्य मन्त्रालयले कहिले पनि जनस्वास्थ्यको बारेमा छलफल गर्दा आयुर्वेदको उन्नति गर्नुपर्छ र त्यसको प्रयोग गर्नुपर्छ भन्दैन । कुनै पनि स्वास्थ्य मन्त्री कुर्सीमा बस्नेबित्तिकै नेपालीको स्वास्थ्य अवस्था सुधार्न हामी जिल्ला जिल्लामा, गाउँगाउँमा डाक्टर र औषधि पठाउँछौँ भनेर राग अलापिहाल्छन् । मानौँ, डाक्टर र अस्पताल हुनेबित्तिकै जनताको स्वास्थ्य राम्रो भइहाल्छ ।
स्वास्थ्य मन्त्रालयका सचिव–सहसचिवसँग जनस्वास्थ्य र कुपोषणबारे कुरा गर्ने हो भने बालबालिकाको कुपोषण हटाउन बालभिटा र प्लम्पीनटजस्ता काम नलाग्ने वस्तु बाँड्नुपर्छ भन्ने उटपट्याङ कुरा गर्छन् तर स्वास्थ्य मन्त्रालयका पदाधिकारीले कहिले पनि बालबालिकालाई कुपोषण हटाउन हाम्रा पारम्परिक ज्ञानका आधारित पोषिलो खाना जस्तो जाउलो, लिटो, हलुवा, मुङको खिचडी, उसिनेको आलु, अमला, टुसा उमारेको चना र केराउ आदिको बारेमा कुरा नै गर्दैनन् । गर्भवती महिलालाई फोलिक एसिड, क्याल्सियम र आइरन चक्की दिनुपर्छ भनेर भन्ने स्वास्थ्य मन्त्रालयले आयुर्वेद विज्ञानमा लेखेको र आधुनिक विज्ञानले पनि सिद्ध गरिसकेको तिल, आलास, भट्ट, ज्वानो आदिमा क्याल्सियम र आइरन पाइन्छ भन्ने कुरा चाहिँ बेवास्ता गर्छन् । त्यसैले कुनै पनि गर्भवती महिलालाई प्रसूती गृह, अस्पताल र स्वास्थ्यचौकीमा घरेलु पोषणको बारेमा भनिँदैन । गर्भवती महिलालाई रगत बढाउन केके घरेलु खाना खानुपर्छ भनेर परामर्श गरिन्न, केवल भिटामिन ठूला र महँगा सिसी मात्र थमाइन्छ ।
जनस्वास्थ्य भनेको आधुनिक औषधि चिकित्सा विज्ञान मात्र हो भन्ने र जनताको स्वास्थ्यका लागि ख्याल गर्नुपर्ने अन्य विषय पनि छन् भन्ने विचार नगरेकाले होला आमसञ्चारले पनि स्वास्थ्यका अन्य पक्षमा चासो राखेको छैन ।
मेडिकल कलेजमा माफियाबारे डा. गोविन्द केसी, डा. जीवन क्षत्री र डा. राजेन्द्र वाग्लेहरूले बारम्बार आवाज उठाए । नयाँ मेडिकल खोलेर खडेबाबा देखाएर विद्यार्थी भर्ना गर्नेहरूले, सांसद, मन्त्री र आमसञ्चारले आयुर्वेदिक चिकित्सा विज्ञान पढाउने कलेजहरूबारे पनि चासो राखिदिए हुन्थ्यो ।
नेपालमा प्रायः मन्त्री र नेताहरू गलत जीवनशैली र तनावको कारणले गर्दा मुटु–पेट–टाउको दुखेर विदेशमा ठूलो अस्पताल र काठमाडौँमा महँगो अस्पताल धाउँछन् । यो कुरा आमसञ्चारमा आएपछि ती अस्पतालको विज्ञापन सित्तैमा हुन्छ । तर भुँडी बढेका, मधुमेह र तनावले गर्दा समस्या भएका नेतालाई आयुर्वेदिक विज्ञानको सहायताले पनि यस्ता समस्या कम गर्न सघाउ पु¥याउँछ भन्ने कहिले पनि हेक्का नै रहँदैन । उनीहरूलाई त केवल रामदेव नेपाल आएको बेला भाषण छाँट्न पाए भयो ।
आयुर्वेद जीवनको विज्ञान हो र कसरी स्वस्थ रहने भनेर सिकाउँछ, यसले । जडीबुटी, बेसार, निम एक राम्रो औषधि हो भने सिद्ध गरेको छ, यसले । कागतीको महत्व आयुर्वेद विज्ञानमा धेरै छ । आधुनिक विज्ञानले पनि कागतीमा रहेको भिटामिन सी–ले रोगमा लड्ने शक्ति छ भनेर सिद्ध गरेको छ । यस्ता धेरै उदाहरण दिन सकिन्छ। हामी आफूसँग भएको ज्ञानलाई किन बेवास्ता गरिरहेका छौँ ? आयुर्वेद विज्ञानले शतप्रतिशत रोग ठीक पार्छ भन्ने कुरा ठीक होइन । यसरी नै, आधुनिक चिकित्सा विज्ञानले मात्रै सबै रोग ठीक पार्छ भन्ने कुरा पनि शतप्रतिशत सही होइन । आयुर्वेद र आधुनिक विज्ञानको प्रयोग सुझबुझपूर्वक तरिकाले गरियो भने सायद जनस्वास्थ्यमा महत्वपूर्र्ण फड्को मार्न सकिन्छ । तर आधुनिकताको जमानामा आधुनिक चिकित्सा विज्ञानको मात्र बोलबाला हुनु बडो विडम्बना हो ।
प्रकाशित: ६ मंसिर २०७४ ०४:३५ बुधबार