विचार

विचारविहीनताको अभ्यासमा वर्तमान नेपाल

मानव सभ्यताको विकासक्रम बहुआयामिक छ। मनुष्यले आफ्नो चेतना विस्तार गर्दै आएसँगै आफ्नो जीवनशैलीमा पनि परिवर्तन एवम् परिमार्जन गर्दै आयो। त्यो परिवर्तन र परिमार्जनको क्रम अनन्तसम्म अविराम नै रहनेछ। चैतन्य विकासका दृष्टिले मनुष्यजाति सधैं अग्रगामी, ऊध्र्वगामी भएकै कारण विश्व सभ्यताको वर्तमान स्वरूप उपस्थित भएको हो। यस अर्थमा मानव जाति झनझन चैतन्यशील, चैतन्यमय बन्दै आइरहेको छ भन्ने विश्वास गर्न सकिन्छ।

मनुष्य स्वभावको क्रमिक उद्विकासकै परिणाम उसले आफ्नो सामाजिक, सांस्कृतिक गुणहरूको विकास पनि गर्दै आयो। सामाजिक प्राणी हुनुका नाताले उसले पालना गर्दै आएका साझा नियम, नीतिहरूलाई विशिष्टीकृत गर्दै तिनलाई साझा सामाजिक मार्गदर्शक एवम् आधारशीलाका रूपमा स्विकार्‍यो। यसक्रममा प्राचीन पौरस्त्य वाङ्मयका रूपमा अनेक नीतिहरू तात्कालिक सामाजिक, सांस्कृतिक जीवन पद्धतिलाई व्यवस्थित गर्न सिर्जना गरिएका हुन् भन्न सकिन्छ। प्राचीन मानव जगत्लाई विश्वभरि नै अस्तित्वमा रहेका राजाहरूले नेतृत्व प्रदान गरे।

राज्यको उत्पत्तिसम्बन्धी दैवी सिद्धान्तअनुसार राजालाई दैवीशक्ति प्राप्त हुन्छ। उनीहरूलाई ईश्वरले आफ्ना प्रतिनिधिका रूपमा राज्य गर्न पठाएका हुन् भन्ने विश्वासले सहस्राब्दीऔंसम्म विश्व मानव समाजमा घर बनायो। यस विश्वासअनुसार राज्यको उत्पत्तिको शताब्दीऔंपछि आएर राजाहरूले आफूद्वारा शासित देशका जनतालाई नियन्त्रणमा राखिरहन, राज्यलाई जोगाएर आफूलाई निष्कण्टक तवरमा शासनारुढ बनाइराख्न वा राज्यव्यवस्था सञ्चालन गर्न आवश्यक नीतिनियम बनाए। ती नीतिनियमको अवज्ञा गर्नेलाई दण्ड सजाय दिइने व्यवस्था पनि गरे। समयक्रममा कैयौं राजा निरंकुश पनि हुँदै गए। यसरी राजाहरूद्वारा आआफ्ना मुलुकको शासन व्यवस्था सञ्चालन गर्न उनीहरूद्वारा तय गरिएका नीतिनियमलाई जनमानसमा राजनीति भनेर बुझ्न थालिएको पनि बताइन्छ।

नेतृत्वमा विचारको राजनीति र व्यवहारमा परिमार्जन नआउने हो भने चाँडै नै प्रमुख दलहरूले पाइरहेको ‘राजनीति’को प्राधिकार समाप्त हुनेछ। त्यसो भएमा न दलहरूको, न वर्तमान संविधानको भविष्य सुरक्षित हुनेछ। राजनीतिक विचारविहीनताको अभ्यासले नै अधिनायकवादलाई आमन्त्रण गर्छ।

जुनसुकै मुलुकभित्र पनि अनेक प्रणालीहरू विद्यमान रहन्छन्। मानव शरीरको संरचना बहुआयामिक हुन्छ। त्यसका अनेक प्रणालीहरू हुन्छन्। अस्थि प्रणाली, स्नायु प्रणाली, रक्तसञ्चार प्रणाली, स्वासप्रस्वास प्रणाली, पाचन प्रणाली आदि प्रमुख शारीरिक प्रणाली हुन्। यी प्रणालीलाई अनवरत सञ्चालन गर्न मुटु, कलेजो, फोक्सो, मिर्गौला, मस्तिष्क आदि अंगहरू रहन्छन्। यस्तै ज्ञानेन्द्रिय र कर्मेन्द्रिय रहन्छन्। ती सबै प्रणाली र तिनलाई सञ्चालनमा ल्याउन अहम् भूमिका खेल्ने अङ्ग–प्रत्यङ्गहरूले निर्बाध काम गरिरहेको अवस्थामा मात्र सिङ्गो शरीरले ठिक ढंगले काम गर्छ र हाम्रो शारीरिक एवम् मानसिक स्थिति तन्दुरुस्त रहन जान्छ। ठिक त्यसैगरी, कुनै पनि देशले स्वाभाविक तवरले काम गर्न त्यसभित्रका अनेक प्रणालीलाई चुस्त राख्नुपर्ने हुन्छ। कुनै पनि देशमा अर्थनीति, वाणिज्यनीति, दण्डनीति, कर्मचारीनीति, परराष्ट्रनीति, सञ्चारनीति, सांस्कृतिकनीति, शिक्षानीति, उद्योग–व्यवसायनीति, सुरक्षानीतिलगायतका नीतिहरू अख्तियार गरिएको हुन्छ।

यी र यस्ता कैयौं नीतिहरूलाई दिशा–निर्देश गर्न सबैभन्दा माथिको नीति चाहिँ ‘राजनीति’ हो। त्यसैले नीतिहरूमध्येको सर्वप्रमुख नीति ‘राजनीति’ रहेको मानिन्छ। आधुनिक अर्थमा राजनीतिलाई मुलुकको मूल नीति मानिन्छ। मुलुकको संविधानको निर्माण पनि राजनीतिकै तहबाट हुन्छ। मुलुक सञ्चालक प्रमुख अंगहरू कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको व्यवस्थापन र तीभित्रका अनेक सहायक संयन्त्रहरूको निर्माण पनि राजनीतिद्वारा निर्देशित विधिद्वारा नै हुन्छ। राजनीतिलाई व्यवस्थित र मर्यादित ढंगमा कार्यान्वयन गर्न आवश्यक पर्ने नीतिहरूको समुच्च दस्तावेजका रूपमा संविधान रहन्छ। संविधानलाई तत्काल विद्यमान सबै नीतिहरूको मार्गदर्शक मानिन्छ। संविधानको पनि निर्माण र निर्देशन गर्ने सर्वोच्च तत्व भनेको राजनीति नै रहेको बुझ्न सकिन्छ।

लोकतान्त्रिक मुलुकमा राजनीतिलाई सुनिश्चित बाटो देखाउने राजनीतिभन्दा पनि सर्वशक्तिमान तत्व रहन्छ। त्यो तत्व भन्नु ‘जनता’ हो। जनताभन्दा माथि राजनीति पनि रहँदैन। जुनसुकै तन्त्र वा शासनलाई तय गर्ने माध्यम नै जनअनुमोदित वा जनस्वीकृत राजनीति रहेको कुरामा दुई मत नहोला। नीतिहरूमध्येको श्रेष्ठतम नीतिलाई ‘राजनीति’ भनिँदै आएको पाइन्छ।

बृहत् नेपाली शब्दकोश (२०४०) ले अर्थ दिएअनुसार राजनीति भनेको ‘प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने र यस्तै अन्य कार्य गर्ने नीति’ हो। यस्तै शब्दकोशले राजनीतिलाई ‘राज्यको शासन व्यवस्था सम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली’ भनेको छ। यसैगरी ‘राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक शास्त्र’ पनि राजनीति रहेको बताएको छ।

शब्दकोशका अनुसार पनि राजनीति भनेको मुलुकको शान्तिसुरक्षा जनताका मौलिक हक अधिकार, प्रशासनिक व्यवस्थापन, मुलुक अनुकूलको अन्तर्राष्ट्रिय सम्बन्ध तय गर्ने लगायतका राष्ट्रिय नियमनकारी कार्य गर्ने गराउने शासकीय प्रणाली हो भन्ने बुझिन्छ। राज्य सञ्चालनका लागि सर्वोच्च, सर्वमान्य वा जनस्वीकृति प्राप्त नीति नै राजनीति हो भनेर पनि बुझिन्छ।

प्राचीन वा वैदिक कालमा शासक वा राजाहरू जनइच्छाअनुसार राज्य सञ्चालन गर्थे। जनताले राजालाई आवश्यक पर्दा तन, मन र धनले सहयोग गर्थे। राजा जनताका संरक्षकका रूपमा रहन्थे। त्यस समयको राजनीति राजा र प्रजा दुवैलाई परस्परमा मेलमिलाप, सहयोग र सद्भाव बढाउने माध्यमका रूपमा थियो। राष्ट्रको अभ्युदय वा आरम्भ त्यसबेलासम्म भइसकेको थियो। नत्र ‘राष्ट्र’ शब्दको प्रयोग वेदमा हुने थिएन।

राष्ट्र भएपछि राजनीतिले पनि संस्थागत आधार प्राप्त गर्दै आयो। त्यस प्राग्ऐतिहासिक वैदिक कालको राजनीतिबारे वेदाध्येयता डा. स्वामी प्रपन्नाचार्यले लेखेका छन्, ‘वैदिक कालमा राजा र प्रजा दुवै मिलेर राष्ट्रको कार्यभार चलाउँथे।

 प्रजाले सम्राटलाई सर्वस्व, वर्चस्व वा अधिकार दिन्थे। अनि सम्राटले पनि त्यसको दुरूपयोग गर्दैनथे। त्यतिखेरको राजनीति साँचो देश–सेवा थियो। त्यतिखेरको नीति कुनै प्रकारले भए पनि प्रजाको हित गर्नु मात्र थियो। त्यसो हुँदा शासकले पनि राष्ट्रका लागि सर्वस्व अर्पण गर्थे।’ (वेदमा के छ) वैदिक कालमा राजनीति समाज वा देश सेवाको भावनाद्वारा निर्देशित र अभिप्रेरित रहेको कुरा डा. प्रपन्नाचार्यले उल्लेख गरेका छन्।

मानव जीवनमा सुख, शान्ति, समृद्धि, यश आदि प्राप्त गर्न अपनाउनु पर्ने सत्कर्म, सनातन संस्कृति, आचरण वा संस्कारयुक्त व्यवहार सम्बन्धी नीतिगत निर्देशनहरूको समष्टि नै राजनीति भएको कुरा नीतिशास्त्रहरूमा उल्लेख गरिएको बुझिन्छ। अनेकौं नीति एवम् शास्त्रहरूको मूल स्रोत वेदलाई नै मानिएको छ।

तत्कालीन परिस्थिति र समयानुसार रचिएका नीतिशास्त्रहरू मूलतः औपदेशिक हिसाबले लेखिएका पाइन्छन्। प्राचीन नीतिहरूमा सूत्रबद्ध गरिएका कतिपय औपदेशिक सन्दर्भहरू वर्तमानको सापेक्षतामा बेमेल हुने जस्ता लागे पनि अधिक सूत्रहरू समग्र मानव जीवनको अभ्युदय वा उन्नतिका लागि उपयुक्त नै मानिँदै आएका छन्।

राजनीति मानिस र समाजको उत्थान हेतु लिपिबद्ध बौद्धिक एवम् व्यावहारिक दर्शन वा सूत्रका रूपमा रहेको बुझ्न सकिन्छ। धर्म, अर्थ, काम, मोक्ष आदि मानव जीवनको मूल उद्देश्य प्राप्ति हेतु राजनीतिलाई माध्यमका रूपमा अपनाउनुपर्ने कुरा शास्त्रहरूले उल्लेख गरेका देखिन्छन्।

रामायण, महाभारत आदि पौरस्त्य ग्रन्थहरूमा राजनीतिको अवलम्बनीय पक्षहरूको सविस्तार वर्णन पाइन्छ। राम तथा युधिष्ठिर आदि राजाहरू राजनीतिका आदर्श मानिन्छन्। राजनीतिको सर्वश्रेष्ठ दर्शनका रूपमा गीता महात्म्यलाई स्विकारिएको पाइन्छ। उल्लिखित ग्रन्थहरू मूलतः धार्मिक वृत्ति (चिन्तन) द्वारा रचित मानिन्छन्। तिनमा उल्लिखित राजकाज सम्बन्धी विषयहरू राजधर्मका रूपमा रहेका देखिन्छन्। तत्कालीन समाजमा स्वीकृत राजधर्म नै राजनीति भएको बुझ्न सकिन्छ। राजाका काम कर्तव्यलाई केन्द्रित गरेर विदुर नीति, शुक्रनीति आदि लेखिएको विवरण पाइन्छ।

मनुस्मृतिलाई पनि राजनीति, अर्थनीति आदि विषयमा सर्वाधिक पुरानो मध्येकै एक नीति वा ग्रन्थ मानिन्छ। यसमा पनि राजाका कर्तव्य र अधिकारबारे चर्चा गरिएको पाइन्छ। मनुस्मृतिमा राजालाई ईश्वरको अवतारका रूपमा मानिएको पाइन्छ। मनुले राजकर्तव्यका बारेमा विस्तृत तवरले नीति निर्माण गरेका छन्। राजनीतिलाई धर्मकै अंगका रूपमा उल्लेख गर्दै राजा नीतिवान्, धार्मिक, संयमित, सामान्य जनभन्दा उच्च कोटीका विद्वान् र क्षमतावान्, जनउत्तरदायी, दयालु, प्रजापालक हुनुपर्ने कुरा मनुस्मृतिमा उल्लेख भएको विद्वान्हरूको मत छ।

यस्तै, कौटिल्यको अर्थशास्त्रमा पनि राजनीतिलाई धर्मनीतिकै अविभाज्य अंगका रूपमा उल्लेख गरिएको बताइन्छ। यसरी प्राचीन शास्त्रहरूमा ‘राजनीति’ धर्म अन्तर्गत नै रहने नीतिका रूपमा रहेको देखिन्छ।

बिसौं शताब्दीमा आएर नेता गान्धीले राजनीतिभित्र नैतिकता र अहिंसा सँगसँगै अपनाउन सकिने बताएका छन्। सत्य र अहिंसा गान्धीका राजनीतिका मूल अस्त्र हुन्। उनले व्यक्तिलाई साध्य र राज्यलाई माध्यम मानेका छन्। गान्धीको राजनीति व्यक्तिको सर्वोदय हुनुमा केन्द्रित छ। गान्धीको राजनीतिमा राज्य एउटा आवश्यकीय खराबी हो। उनले वैयक्तिक स्वतन्त्रतामा जोड दिँदै अहिंसा, प्रेम, सत्य एवम् आध्यात्मिक निष्ठाको बलद्वारा नै रामराज्यको लक्ष्यमा पुग्न सकिने परिकल्पना गरे।

अहिंसात्मक शक्तिका माध्यमबाट औपनिवेशमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने विश्वास उनले गरे। त्यसमा उनी सफल पनि भए। गान्धीका लागि राजनीति मानिसको सर्वकल्याणकारी एवम् अनुशासित जीवनको नीतिगत आधारशिला हो। त्यसको प्राप्तिका माध्यम सत्य र अहिंसा हुन्। उनले भनेका छन्, ‘सत्यभन्दा भिन्न अर्को कुनै परमेश्वर हुन्छ भन्ने अनुभव मलाई भएन। सत्यमय हुनका लागि अहिंसा नै एक मात्र बाटो हो।’ (आत्मकथा, भाग ५) सत्यप्रतिको निष्ठाले नै आफूलाई राजनीतिमा लाग्न प्रेरित गरेको गान्धीले बताएका छन्।

नेल्सन मन्डेला रंगभेदवाद विरोधी राजनेता हुन्। उनले स्वेतवर्णका शासक र सोही वर्णका मानिसको पाखण्डीपन एवम् अमानवीयताका विरुद्ध संघर्ष गरे। उनीहरूद्वारा श्यामवर्णका मानिसप्रतिको राजनीतिक, सामाजिक, आर्थिक आदि सबै क्षेत्रमा हुँदै आएको चरम तिरस्कारपूर्ण र असमानतापूर्ण व्यवहारका विरुद्ध आवाज उठाए।

जीवनको पूर्वाद्र्धमा वकालती कर्ममा पनि सम्बद्ध मन्डेला लोकतन्त्रका कट्टर हिमायती र उच्च मानवतावादी राजनेता हुनुको कारण रंगभेदको विस्थापनपछि उनले गोरा शासकप्रति बदलाको भावना लिएनन्। लोकतन्त्रको जननी मानिएको बेलायतको उपनिवेशवादी–रंगभेदी नीतिको सिकार भइरहेको दक्षिण अफ्रिकाका गोरा शासकद्वारा अपनाइएको विभेदकारी कानुनका कारण शताब्दीऔंदेखि उत्पीडित बहुसंख्यक श्यामवर्गीय जनतालाई मुक्ति दिलाउनु मूल लक्ष्य बनाएका मन्डेलाले अन्ततोगत्वा गोरा शासकलाई घुँडा टेकाए। गोरा शासकद्वारा बनाइएका निषेध र रंगभेद नीतिका काला कानुनहरू मन्डेलासामु पराजित भए।

स्वतन्त्रता र समानतामा आधारित समाजको निर्माण मन्डेलाको राजनीतिक अभिष्ट रह्यो। मन्डेलाले भनेका छन्, ‘स्वतन्त्रताले मानिसको स्वत्व र अस्मिताको कवच गर्छ। जसका कारण हीनताबोधको राग निर्मूल भएर मानिस स्वतःस्र्फूत रूपमा रचनात्मक कार्यमा तल्लीन भएर सतत लागिरहन्छ।’ (स्वतन्त्रताको दीर्घयात्रा, अनुः रेवतीरमण पौडेल) ‘राजनीति’ मानव सभ्यता निर्माण हेतु निर्मित दर्शन हो। यसको सम्बन्ध समाजका हरेक पक्षसँग रहन्छ। समाजको वाहक र निर्माता मानव स्वयम् हो। पाश्चात्य दार्शनिकहरूले ईशापूर्वदेखि नै ‘राजनीति’का विभिन्न आयाम र पक्षबारे चिन्तन गर्दै आए। सामाजिक सम्झौताको उपजका रूपमा राज्यको उत्पत्ति भएको भन्ने पाश्चात्य दार्शनिकहरूको मत रहेको पाइन्छ। पाश्चात्य राजनीतिक चिन्तकहरूले अनेक कालखण्डमा राजनीतिका अनेकानेक आयाम र दर्शनहरूलाई प्रकाशमा ल्याएका छन्।

समाजमा, मुलुकहरूमा तिनको प्रभाव पर्दै आयो। उनीहरूद्वारा प्रतिपादित ‘राजनीति’ मा पनि ‘जनता’ तŒव केन्द्रीय बिन्दुमा रहेको देखिन्छ। त्यसैले राजनीतिको मियो भनेकै जनता रहेको छ। यस्तै, राष्ट्र वा राज्य, स्वतन्त्रता, सार्वभौमिकता, राजकीय सत्ता, अखण्डता, स्वतन्त्र परराष्ट्र नीति, निर्वाचन, राजनीतिक दल, विधिको शासन, शासन व्यवस्था अन्तर्गतका प्रमुख निकायहरू राजनीतिका महत्वपूर्ण आयाम हुन्।

राष्ट्रियता, राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा आदि पक्षहरू उत्तिकै महत्वपूर्ण हुन्। यी विभिन्न राजनीतिक अवधारणा र आयामलाई देशहरूले आआफ्नै हित र अनुकूलको राजनीतिक पद्धति अपनाई कार्यान्वयनमा ल्याएका देखिन्छन्। विश्वमा राजनीतिक प्रणालीहरू पनि अनेक छन्। विश्वका प्रायः सबै मुलुकहरूमा कुनै न कुनै राजनीतिक प्रणाली अपनाइएको हुन्छ। राजनीतिक प्रणालीहरू कतै जनइच्छाअनुसार त कतै शासन सत्तामा बस्नेहरूले आफ्नै इच्छामुताविक पनि सञ्चालन गरिएको पाइन्छ। लोकतान्त्रिक प्रणाली, पुँजीवादी प्रणाली, साम्यवादी, समाजवादी आदि राजनीतिक विचारमा आधारित प्रणालीहरू मूलतः विश्वमा प्रचलित छन्। ती प्रणालीहरू भिन्नाभिन्नै राजनीतिक दर्शनमा आधारित छन्।

प्रजातान्त्रिक वा लोकतान्त्रिक राजनीतिक प्रणालीका विचारकहरू असङ्ख्य छन्। पाश्चात्य राजनीतिमा ग्रिसेली दार्शनिकहरूद्वारा यस प्रणालीको वैचारिक बीजारोपण गरिएको स्विकारिएको छ।

अखण्डित स्वतन्त्रतासहित शासन वा सत्तामा जनताको सहभागिता नै लोकतान्त्रिक प्रणालीको मूल सर्त मानिन्छ। माध्यमिक काल वा पुनर्जागरणकालीन असङ्ख्य चिन्तकहरूले लोकतान्त्रिक प्रणालीका आधारभूत सिद्धान्त र त्यसका अनेक आयाममाथि यथेष्ट सैद्धान्तिक अवधारणाहरूको स्थापना गरे।

शासकहरूद्वारा लोकतन्त्रको अवज्ञा गर्नुको परिणाम विभिन्न मुलुकहरूमा ठुलाठुला जनक्रान्तिहरू भए। गौरवमय क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सेली राज्य क्रान्ति आदि राजनीतिक घटनाहरूले लोकतान्त्रिक व्यवस्थालाई जन्माए र तिनले विश्व राजनीतिमै ठुलो प्रभाव पारे। रुसी अक्टोवर क्रान्ति, भारतीय स्वतन्त्रता आन्दोलन, चिनियाँ क्रान्ति आदिले पनि विश्व राजनीतिक परिदृश्यलाई परिवर्तन गरे। कतिपय क्रान्तिले त ‘राजनीति’ को चिन्तनधारालाई नै बदल्न भूमिका खेले।

विश्व राजनीतिक चिन्तनधारालाई परिवर्तन गर्न भूमिका खेल्ने राजनीति शास्त्रीहरूमध्येका अग्रणी जर्मन दार्शनिक कार्ल माक्र्स हुन्। यिनीद्वारा प्रतिपादित समाजवादी विचारले उनी अघिको समग्र राजनीतिक चिन्तनलाई नै पुनर्मूल्याङ्कन गर्नुपर्ने अवस्थामा पुर्‍यायो।

माक्र्सले राजनीतिक चिन्तनमा नयाँ आयाम थपे। यसको कारण थियो– युरोपको औद्योगिक क्रान्ति। औद्योगिक क्रान्तिले समग्र मानव जीवनमा नै र विशेष गरी तत्कालीन युरोपियन समाजलाई आर्थिक, सामाजिक रूपमा कायापलट गरिदियो।

त्यसले राजनीतिमा पुँजीवादको जन्म गरायो। त्यसले समाजमा वर्गीय विभाजनको खाडललाई फराकिलो पार्‍यो। माक्र्सको सर्वाधिक महत्वपूर्ण देन भनेकै पुँजीवादद्वारा निर्मित समाजको आर्थिक अध्ययन हो भन्न सकिन्छ। माक्र्सले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका साथ समाज एवम् विश्व परिवर्तनको ऐतिहासिक प्रवाहलाई मूल्याङ्कन गरे। उनले मानव इतिहास नै आर्थिक अवस्था र विद्यमान राजनीतिक व्यवस्थाबिचको संघर्षको इतिहास हो भने। ‘आधुनिक पुँजीवादी समाज सामन्ती समाजको ध्वंसबाट उत्पन्न भएको हो। यसले वर्ग संघर्षको अन्त्य गरेको छैन। यसले केवल वर्ग उत्पीडनको पुरानो शैलीका ठाउँमा नयाँ तरिकाहरू र वर्ग संघर्षको पुरानो रूपको सट्टा नयाँ रूप खडा गरेको छ।’ (कार्ल माक्र्स र द कम्युनिस्ट मेनिफेस्टो, सम्पाः ओमप्रकाश खरेल) यद्यपि कार्ल माक्र्स समूल तवरले पुँजीवादका विरोधी भने नरहेको देखिन्छ।

विश्व राजनीतिमा साम्यवादमाथि राजनीतिक तवरले पर्याप्त आलोचना हुँदै आएको पाइन्छ। श्रमिक वा सर्वहारा वर्गको अधिनायकत्व स्थापना भई पुँजीवादी तŒवको समाप्ती भएपछि राज्यविहीन वर्ग एवम् शोषणरहित समाजको निर्माण हुनु नै साम्यवादी समाजको निर्माण हुनु हो भन्ने माक्र्सको चिन्तन रहेको पाइन्छ।

माक्र्सवादको सापेक्षिक व्याख्याका साथ कम्युनिस्ट राजनीतिक चिन्तनलाई जीवित राख्नुपर्ने चर्चा कम्युनिस्ट पार्टीहरूमा चलिरहेको पाइन्छ। माक्र्सवादको सैद्धान्तिक आधारशिलामा उभिएर कतिपय मुलुकमा अपनाइएका साम्यवादी शासन प्रणालीको प्रयोग इतिहासमा सीमित रहेको पनि देखिन्छ।

नेपालका बिपी कोइराला अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित एवम् प्रसिद्ध रहने प्रमुख कारण उनले सामन्तवादको आजीवन विरोध गरिरहे। नेपालमा सामन्तवादी राज्यव्यवस्थालाई प्राथमिकता र प्रश्रय दिएकै कारण २०१७ सालमा जननिर्वाचित लोकतन्त्रवादी राज्यव्यवस्थालाई राजाले भंग गरे। राजाले एकदलीय व्यवस्था षड्यन्त्रबाटै आरम्भ गरे।

राजा सामन्तवादी राज्य सत्ताका पृष्ठपोषक थिए। जननिर्वाचित प्रधानमन्त्री बिपीलाई बिना राजनीतिक अभियोग आठ वर्षसम्म बन्दी जीवन बिताउन बाध्य पार्ने राजा सामन्तवादका कठोर दृष्टान्त थिए, जसका विरुद्ध बिपी जेलमुक्त भएपछि पनि लडिरहे। बिपीको राजनीति प्रथमतः सामन्तवादका विरुद्ध केन्द्रित रह्यो। बिपीलाई अन्तर्राष्ट्रिय जगत्मा सम्झिनुपर्ने कारण उनले लिएको सामन्तवाद विरुद्धको अडान नै प्रमुख रहेको कुरा प्रसिद्ध भारतीय समाजवादी चिन्तक आनन्दकुमारले हालै आयोजित बिपी साहित्य महोत्सवका क्रममा पनि स्मरण गरेका छन्।

बिपीले नेपालमा प्रजातान्त्रिक समाजवादको वैचारिक आधारशिला निर्माण गरे। प्रजातान्त्रिक समाजवाद नै नेपाल र तेस्रो विश्वका मुलुकहरूका लागि राज्य व्यवस्थाको वैचारिक आधार हुनु आवश्यक रहेको विचार बिपीले राखे। प्रजातन्त्रले राजनीतिक समानता र समाजवादले आर्थिक समानतायुक्त समाजको निर्माण गर्न मार्ग प्रशस्त गर्ने बिपीको दृष्टिकोण रह्यो। प्रजातन्त्रबिनाको समाजवाद र समाजवादबिनाको प्रजातन्त्र दुवै जनाकांक्षा विपरीत अतिवादतर्फ जाने बिपीको विश्लेषण रह्यो। उनले भनेका छन्, ‘साम्यवादमा प्रजातन्त्र थप्यो भने समाजवाद बन्छ र समाजवादबाट प्रजातन्त्र झिक्यो भने साम्यवाद बन्छ।’ नेपालको राष्ट्रिय राजनीतिमा बिपीको राष्ट्रियता सम्बन्धी चिन्तनले पनि नवीन भाष्यको सूत्रपात गरेको छ।

गणेशमान सिंहको नाम नेपालको प्रजातान्त्रिक संघर्षको इतिहासमा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डरका हैसियतमा चिरस्मरणीय रहेको छ। जनआन्दोलनपछि राजाद्वारा मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बन्न गरिएको आग्रहलाई अस्वीकार गरेर उनले विश्वसामु लोकतान्त्रिक निष्ठाको अतुलनीय पर्यायका रूपमा स्वयम्लाई प्रस्तुत गरे।

गणेशमान सिंहको राजनीति सत्तामोहको छायाबाट पर रह्यो। जनआन्दोलनको सर्वमान्य नेतृत्वले आफूलाई प्रधानमन्त्री बन्नुभन्दा जनताकै साथमा रहने प्रण गर्नुलाई विश्व राजनीतिकै सन्दर्भमा पनि एक अपवादका रूपमा लिन सकिन्छ।

 उनले मुलुकलाई नै आफ्नो घर सम्झे–‘मैले जुन दिन आफ्नो व्यक्तिगत सुख–दुःखको, आराम–सुविधाको अनि भोक–निन्द्राको पर्वाह नगरेर सम्पूर्ण नेपालीको उद्धारमा आफूलाई होम्ने निर्णय गरें, त्यसै दिनदेखि नेपाल मेरो घर र नेपाली दाजुभाइ, दिदीबहिनीलाई मैले आफ्नो परिवार ठान्न थालेको छु।’

गणेशमान सिंहले निरंकुशतन्त्रका विरुद्ध नेपालका कम्युनिस्ट पार्टीहरूलाई पनि गोलबद्ध हुन आह्वान गरी बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाका निम्ति जनआन्दोलनमा आबद्ध हुन प्रेरित गरे र त्यसमा उनी सफल भए। उनको सामञ्जस्यपूर्ण नेतृत्वकै कारण जनआन्दोलन २०४६ ले सफलता प्राप्त गर्‍यो। यसका निम्ति पनि गणेशमान सिंह चिरस्मरणीय रहने छन्।

कृष्णप्रसाद भट्टराई नेपालको इतिहासमा सबैभन्दा निर्विवाद प्रधानमन्त्री भए। उनले जहानियाँ राणातन्त्र र पञ्चायती निरंकुशतन्त्रका विरुद्ध सहकर्मी राजनेताहरूका साथ जेलनेल र संघर्षका अनेक चरण पार गरी २०४६ को जनआन्दोलनपश्चात् अन्तरिम प्रधानमन्त्रीको हैसियतमा रही जनादेशअनुसारका जिम्मेवारी पूरा गरे। लोकतान्त्रिक निष्ठा र समर्पण अनि वैयक्तिक जीवनमा कामनारहित राजनेताको कीर्तित्व भट्टराईको राजनीतिक व्यक्तित्वका चिरस्मरणीय आयाम हुन्। भट्टराईको ‘राजनीति’ को गर्भमा ‘मुक्ति’ को अभिलाषा सन्निहित छ, ‘वास्तवमा मेरो जीवनको लक्ष्य नेपालको प्रधानमन्त्री हुनु होइन। मेरो जीवनको लक्ष्य मुक्ति हो। मुक्तिमा स्वतन्त्रता पनि आउँछ। त्यो स्वतन्त्रताको संघर्ष गर्दा यो कुरा आइपरेको मात्र हो।’

आधुनिक नेपालको राजनीतिक इतिहासमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक राजनेताहरूद्वारा अवलम्बन गरिँदै आएको परम्परागत सैद्धान्तिक भाष्यलाई परिवर्तन गरी युगसापेक्ष वैचारिक नेृतत्व गर्ने राजनेताका रूपमा का. मदन भण्डारीलाई स्मरण गरिन्छ।

मदन भण्डारीले विश्व कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक आधारशिलाका रूपमा १९ औं शताब्दीको मध्यान्तरदेखि रहँदै आएको माक्र्सवादलाई देश काल र विश्व परिस्थितिअनुसार व्याख्या र विश्लेषण गर्दै जानु अनिवार्य रहेको विचार प्रस्तुत गर्दै मार्क्सवाद कोरा सिद्धान्त मात्र नभएर रचनात्मक एवम् गतिशील विचारधारा भएको कुरा महसुस गरे। यसै सैद्धान्तिक निचोडका आधारमा नेकपा (माले) द्वारा ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ का रूपमा स्वीकार गरियो।

बहुदलीय जनवादको व्याख्या विश्लेषण गरी पार्टीलाई यस विचारप्रति संगठनात्मक र वैचारिक तवरले एकताबद्ध गर्ने काम महासचिवका हैसियतमा मदन भण्डारीले गरेका थिए। उनकै नेतृत्वमा पार्टीले बहुदलीय शासन प्रणालीलाई स्वीकार गरेको थियो। ‘आफ्नो विचार, राजनीति, कार्यक्रम र दृष्टिकोणका आधारमा आम निर्वाचनमार्फत प्रतिस्पर्धा गरी बहुमत जनताको समर्थन प्राप्त राजनीतिक पार्टीले सरकार गठन गर्न र शासन चलाउन पाउने छ। अल्पमतमा रहेको पार्टीले विपक्षको भूमिका निर्वाह गर्ने छ।

यसरी बहुदलीयता शासन प्रणालीको कुरा र जनवाद राज्यसत्ताको कुरा हो। यिनै विषयहरूलाई समावेश गरेर हाम्रो बहुदलीय जनवादी कार्यक्रम निर्धारित भएको छ।’ (एक व्यक्ति, अनेक व्यक्तित्व, मदन भण्डारी) अनि नेकपा माले र एमाले बन्यो।

नेपालको राजनीतिक इतिहासमा मदन भण्डारीको देन बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्थाभित्र कम्युनिस्ट व्यवस्थालाई सफलतापूर्वक अवतरण गराउनु रहेको बुझ्न सकिन्छ।

नेपालमा भएका परिवर्तनकारी राजनीतिक घटनाक्रमहरूमा नेतृत्व प्रदान गरी तिनलाई निष्कर्षमा पुर्‍याउन कैयौं नेताहरूको उल्लेखनीय भूमिका रहेको कुरालाई बिर्सन सकिँदैन। घटनाले नेता जन्माउँछ, राजनेता जन्माउँदैन। राजनेताले विचार जन्माउँछ र मुलुकवासीलाई नवीन विचारपथमा डोर्‍याउँछ। गणेशमान सिंहले भनेका छन्, ‘राजनीतिको सारतत्व विचार हो र विचारतत्व नभएको राजनीतिको लक्ष्य हुँदैन।’ (मेरो कथाका पानाहरू–२) विचारविहीन राजनीति खोक्रो र दिशाहीन हुने आशय गणेशमान सिंहको रहेको बुझ्न सकिन्छ।

आधुनिक नेपालको राजनीति जनताद्वारा स्वीकृत विचारबाट नै निर्मित हो तर यसको नेतृत्व भने विचारविहीन झैं बनेको छ। यिनीहरूले विचारको कुनै नयाँ आयामलाई जन्म दिन सकेनन्, न त्यसतर्फ कुनै चिन्तन गरेको पाइयो। विचार जन्माउने एक वा दुई जना हुन्छन्, अरूले त्यसलाई निरन्तरता दिँदै, सुगठित पार्दै अनि विकास गर्दै लाने हो।

 विचार दिन नसकेका भन्दा पनि प्राप्त विचारको नासोलाई यिनीहरूले तिलाञ्जली दिइसके भन्ने आम जनताको बुझाइ छ। आन्दोलनलाई टुंगोमा पुर्‍याउन नेतृत्वले गरेको योगदानको छुट्टै मूल्याङ्कन गर्न सकिएला। शक्ति र सत्ताबाहेक चिरकालसम्म स्मरण योग्य काम गर्ने ह्याउ यिनीहरूमा पुगेन। दुवै जनआन्दोलन लोकतान्त्रिक राजनीतिक विचारको सर्वाेच्चताका लागि भएका थिए। तर यस कर्मलाई नेतृत्वले विशेष ध्यान दिएको पाइँदैन।

संविधान जारी भएपछि यिनीहरूको ध्यान मूलतः सत्ताप्राप्ति मात्र बन्दै आएको देखिन्छ। नेतृत्वको विचारविहीनता र राजनीतिक विसंगतिकै परिणाम देशमा अनेक ठुला तस्करी र भ्रष्टाचारका काण्डहरूमा राजनीतिक वृत्तकै मानिसहरूको संलग्नता बढ्दै गइरहेको छ। नेतृत्वमा विचारको राजनीति र व्यवहारमा परिमार्जन नआउने हो भने चाँडै नै प्रमुख दलहरूले पाइरहेको ‘राजनीति’को प्राधिकार समाप्त हुनेछ। त्यसो भएमा न दलहरूको, न वर्तमान संविधानको भविष्य सुरक्षित हुनेछ। राजनीतिक विचारविहीनताको अभ्यासले नै अधिनायकवादलाई आमन्त्रण गर्छ।  

प्रकाशित: १३ आश्विन २०८० ०१:१४ शनिबार

विचारविहीनताको अभ्यासमा वर्तमान नेपाल मानव सभ्यताको विकासक्रम बहुआयामिक