मानिसले मानिसलाई राम्रो व्यवहार गर्ने, मानवीय व्यवहार गर्ने तथा मानिसको आदर्श, प्रतिष्ठा र प्रकृतिमा विश्वास गर्ने दर्शनलाई मानवतावादी दर्शन भनिन्छ । अर्काे शब्दमा भन्नुपर्दा संसारका सबै मानिसमा समानभावले व्यवहार गर्ने सिद्वान्तलाई मानवतावादी दर्शन भनेर पुकारिन्छ । मानवतावादी दर्शनमा मानवले मानवको दुःखमा दया गरी दुःखबाट छुटकारा गराउने प्रयत्नलाई मान्यता दिइन्छ । एउटा मानवले अर्काे मानवप्रति गर्ने धर्म, कर्तव्य र व्यवहारलाई नै मानवीय धर्म भनिन्छ । यही मानव धर्म, मानवीय दर्शन तथा मानव अधिकारसम्बन्धी स्वतन्त्रता, सामाजिक, आर्थिक एवं नागरिक हकका प्रणेता नेपालको कर्णाली प्रदेशका तत्कालीन बाइसे राज्यमध्ये बझाङ राज्यका राजा जयपृथ्वीबहादुर सिंह हुन
वि.सं. १९८५ (सन् १९२८) मा मानवतावादी दर्शनको प्रतिपादन गरी विश्वभरका मानवमा शान्ति, एकता र सहयोगमा आधारित मानवतावादी क्लब खोलेर विश्वमा मानवलाई मानव–मानवमा समानता, स्वतन्त्रता र भ्रातृत्व हुनुपर्छ भनेर नेपालका जयपृथ्वीबहादुर सिंहले शान्ति र भ्रातृत्वको पक्षमा बिगुल फुकेको २० वर्षपछि मात्र सन् १९४८ मा संयुक्त राष्ट्र संघअन्तर्गत मानवाधिकार आयोगको गठन भई यससम्बन्धी कानुन बनेको हो । यसकारण मानवतावादी दर्शन तथा मानवाधिकारसम्बन्धी नागरिक हकको संस्थापक दार्शनिक नेपालका जयपृथ्वीबहादुर सिंह हुन् । जब मानवले आफ्ना छिमेकीस“ग अर्थात् समाजस“ग मिलेर बस्न सक्दैन, तब उसको हृदयमा क्रान्तिको भावनाले जरा गाड्छ र यो क्रम बढ्दै गएमा मानवसमाज नाश हुन सक्छ । यसरी क्रन्तिकारी विचार बढ्दै गएपछि प्रत्येक व्यक्ति ज्यानको बाजी लगाएर आपूmलाई क्रान्तिमा होमिन पुग्छ । समाजमा परिवर्तन ल्याउने नाममा क्रान्ति गर्दै जा“दा सम्पूर्ण समाज नै हत्या हिंसामा परिणत हुने हुनाले मानव चेतनशील, विचारवान र तर्कद्वारा समस्या समाधान गर्न सक्ने सामाजिक प्राणी भएकाले छलफल, वार्ता र विचार विमर्शद्वारा समाजलाई चेतना दिन सकिन्छ, राष्ट्रमा परिवर्तन ल्याउन सकिन्छ, हत्या हिंसा होइन, शान्तिद्वारा राष्ट्रलाई रामराज्यमा परिवर्तन गर्न सकिन्छ । यही नै समाज परिवर्तनको उपाय हो र यही नै जयपृथ्वीबहादुर सिंहको मानवतावादी दर्शन हो । मानवीय धर्म, गुण र क्षमताको आधारमा विचार गर्ने हो भने गलत बाटोमा लागेका मानिस पनि सही बाटोमा आउन सक्छन् र यही नै मानवतावादको उदाहरण हो । यसरी वैचारिक र भावनात्मक सोचाइद्वारा समाजलाई परिवर्तन गर्न समाजमा रहेका धर्मसम्बन्धी झगडालाई बिर्सनु पर्छ । सबै मानिसमा कायम रहेको बिरानोपन हटाएर भ्रातृत्व कायम गर्नुपर्छ । विरोध र ईष्र्यालु स्वभावलाई आपसी सद्भावमा परिणत गर्नुपर्छ । जातभात र वर्गभेदको भावनालाई त्यागेर सबै मानव एक हुनुपर्छ भन्ने मान्यता कायम गर्नुपर्छ । यही नै जयपृथ्वीबहादुर सिंहको मानवतावादी दार्शनिक सिद्धान्त हो ।
अहिलेको नेपालको राजनैतिक र सामाजिक अवस्थाको मूल्यांकन गर्दा विश्वलाई नै हत्या हिंसा होइन, मानव–मानवको बीचमा शान्ति कायम गर्नुपर्छ भन्दै विश्वमा नै मानवतावादको प्रवचन गर्दै हिँडेका जयपृथ्वीबहादुर सिंह अहिले नेपालमा भइदिएको भए नेपालले हत्या हिंसाबाट होइन, आपसी सद्भाव र भ्रातृत्वले नेपालमा सामाजिक परिवर्तन ल्याउने थियो । सिंह सानै उमेरदेखि मानवतावादप्रति गहिरो रुचि राख्ने भएका तर नेपालको एकतन्त्रीय राणा शासनकालमा यसको सम्भावना नदेखेकाले गोर्खापत्रको संस्थापक सम्पादक, बझाङ्गी राजाको पदवी मात्र होइन, नेपाल मातालाई नै छोडेर मानवतावादको खोजीमा भारतको नैनीताल हु“दै दक्षिणी भारतको मैसुर र अन्त्यमा बैंगलोरमा गएर मानवतावादी क्लब खोलेर नेपाल र भारतमा मात्र होइन, विश्वभरमा नै मानवतावादको प्रचार, प्रसार र विस्तार गर्नमा लागिरहे । बैंगलोर पुगेपछि रवीन्द्रनाथ टैगोरजस्ता प्रतिष्ठित व्यक्तिलाई मानवतावाद क्लबको सदस्य बनाए । जयपृथ्वीबहादुर सिंहको शरीर मरेर गए पनि उनले प्रतिपादन गरेको मानवतावादी दर्शनका कारणले उनको नाम र कीर्ति पृथ्वीमा मानवको अस्तित्व रहेसम्म रहिरहनेछ ।
जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेर राष्ट्रिय सम्मान दिनुपर्छ र उनको मानवतावादी दर्शनलाई लागू गरेर हत्या हिंसा होइन, भ्रातृत्व भावना र शान्ति कायम गरेर मानवीय कल्याण गर्नुपर्छ । १९३४ भदौ ७ गते नेपालको बझाङ जिल्लाको चैनपुरमा जन्मेर १९९७ असोज १ गते आइतबारका दिन भारतको बैंगलोरको जयभवनमा ६४ वर्षको उमेरमा देहत्याग गरेका जयपृथ्वीबहादुर सिंहको हरेक वर्ष राष्ट्रिय महोत्वसकै रूपमा जन्मजयन्ती मनाएर उनको मानवतावादी दर्शनलाई पूर्णरूपमा आत्मसात् गर्नुपर्छ ।
(लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन्)
प्रकाशित: २३ आश्विन २०७४ ०४:०३ सोमबार