विचार

सुनेको मधेस, देखेको मधेस

‘हामी कुन धारणा लिएर मधेस आएका थियौँ, मधेसमा यस्तो हुन्छ, उस्तो हुन्छ, कति झगडा पर्ने हो, के हुने हो ? हामीलाई के नजरले हेर्लान् ? तर, मधेस र मधेसीहरू यति अनुशासित, यति सौम्य देख्यौँ कि हाम्रो धारणा बदलिएको छ ।’ काडमाडौँबाट खटिएका ती प्रहरीले यसो भनेथे ।

    मधेसमा अहिलेसम्म जे–जे काण्ड र घटना भए, मधेसको नाकाबन्दीदेखि जे–जे मैले–हामीले सुनेका थियौँ, हेरेका थियौँ, त्यसभन्दा विपरीत माहोल देखियो । मधेसमा धेरै अनुशासित वातावरण देखियो । हामी बारा र पर्साका १६ वटा मतदान केन्द्रमा गयौँ, सम्यम् देख्यौँ । महिलाहरूमा अति उत्सुकता, अन्यमा पनि अति उत्सुकता पायौँ । मतदाता पनि महिलाकै बढ्ता थियो ।
त्यहाँ रहेका तिनै अंगका सुरक्षाकर्मीहरूले राम्रोसँग नियन्त्रण गरेका थिए । सुरक्षाकर्मीले दबाउँछन् कि भन्ने शंका थियो होला, फेरि अधिकांश सुरक्षाकर्मी पहाडी मूलकै थिए । स्थानीयहरूले उनीहरूको प्रशंसा गरे । त्यो देखेर हामी दंग छौँ । सबैतिर ७० प्रतिशतभन्दा बढी नै मतदान भएको छ । कहीँ त ८० प्रतिशत बढीसम्म मतदान भएको हामीले पायौँ ।
    उदयपुरको घुर्मी भन्ने ठाउँमा अलिकति गडबडी हुन खोज्या रहेछ । त्यो पनि स्थानीयकै झैँझगडा रहेछ । मतदान सुरु हुनुभन्दा अघि नै एउटा हुल भित्र पसेर मतपेटिका राखिएका ठाउँसम्म पुग्न पुग्न लागेको थियो । र, त्यहाँका सुरक्षाकर्मीले यति राम्रो गरे, मतदान अधिकृतले पनि सिडिओलाई फोन गरिसक्या रहेछन्, पाँच मिनेटभित्रै सशस्त्र प्रहरी बल त्यहाँ पुग्यो । र, त्यो हुललाई बिस्तारै बिस्तारै त्यहाँबाट बाहिर निकाल्ने काम सुरक्षाकर्मीले बडो सावधानीपूर्ण ढंगले गरे । हुललाई बाहिर पठाएर मतदातालाई भित्र पठाइयो । हुल त हटिहाल्यो, हामीले के देख्यौँ भने महिलाहरूको तँछाडमछाड सुरु भएछ । पुरुषहरूको लाइनपट्टि मतदान सहजै चलेको थियो । महिलाहरूतिर पाँच÷छ लाइनमा ठेलमठेल देख्यौँ । अचम्म के भने, उनीहरूमा कुनै झगडा थिए, हाँसीहाँसी ठेलाठेल गरिरहेका थिए, एउटा उत्सवजस्तै गरेर । कस्तो रमाइरहेका !
    एउटा खराब कुरा देखियो, त्यहाँ । एक जना महिलाले आफू भोट खसालेर निस्किसकेपछि अरू महिलालाई यसमा भोट हाल, त्यसमा हाल भनेर सिकाइरहेकी थिइन् । कसैले सुरक्षाकर्मीलाई भन्यो । महिला सुरक्षाकर्मी गएर बिस्तारै उनलाई गेटबाहिर पु¥याइदिए । मैले मानेँ, पहाडी सुरक्षाकर्मीले राम्रोसँग डिल गरे । त्यहाँ मधेसी सुरक्षाकर्मी पनि थोरै थिए नै ।
ध्यान तानेका दृश्य
एक जना मानिस निकै बिरामी भएर बसेका रहेछन्, मतदान भइरहेको ठाउँबाहिर । मैले डाक्टर भएको नाताले बुझिसकेको थिएँ, ती निकै बिरामी छन् । जब गेट खुल्यो, उनी उठे । दुई जना मान्छेले समाती समाती लगेर उनलाई भोट खसाल्न लगाए । ह्वीलचेयरमा लिएर आए, एक जना अपांगता भएकालाई । त्यो स्कुल रहेछ, ह्वीलचेयर जान नसक्ने । ती मान्छेलाई ह्वीलचेयरसहित उचालेर लगेर भोट खसाल्न लगाए ।
एक ठाउँमा के देखियो भने अधिकृत जो थिए, उनले त्यहाँ छाप हानेको हेरिरहेका थिए । गोपनीयता भएन त्यहाँ । एक ठाउँमा देखेँ, एक जना बूढी आमा मतपत्र लिएपछि लामो समय अलमतमा पर्नुभयो, अलपत्र पर्नुभयो । एक जना महिलाले म हालिदिन्छु भनिन्, सुरक्षाकर्मीले मानेनन् । मतदाता शिक्षा पुगेको रहेनछ । राजनीतिक दलहरूले आफ्ना आफ्ना मानिसहरूलाई सिकाएका हुनुपर्छ, तर निर्वाचन आयोगले राम्ररी सिकाएनछ ।
राति अचानक बेसगरी पनि परिदियो । एक ठाउँमा हामी पुग्यौँ, ‘अलौँ’ । ढोकाबाट भित्र छि¥यौँ, तर अगाडि जानै सकेनौँ । जलमग्न थियो । त्यहाँ निर्वाचन अधिकृतले बिहानै आएर मान्छेलाई हिँड्ने व्यवस्था केही त गरिदिनुपथ्र्यो । केही नभए त्यहाँ इँटा–काठ राखिदिनुपथ्र्यो । जिल्लामा खबर गरेर केही व्यवस्था गर्न सकिन्थ्यो पनि होला ।
अन्य एक–दुई ठाउँमा के देखियो भने ज्यादै साँघुरो ठाउँमा दुई–तीनवटा मतदान केन्द्र थिए । त्यहाँ चाहिँ ठेलमठेल थियो । यति ठाउँ भएमा यतिवटा मतदान केन्द्र राख्ने भन्ने कुराको क्राइटेरिया बनाएर ग¥या भए पनि हुन्थ्यो । मधेसमा घाम चर्काे थियो, त्यहाँ कमसेकम छहारीको व्यवस्था गरिदिया भए हुन्थ्यो । एक ठाउँमा हामीले देख्यौँ, त्यहाँको मतदान अधिकृत शिक्षक हुनुहँुदो रहेछ । त्यो ठाउँमा कति राम्रो बन्दोबस्त गरिदिया रहेछ भने विवाह–व्रतबन्धमा हाल्छन् नि, ‘सामेयाना’, त्यो हालेर घामबाट बचाइदिएका थिए ।
राष्ट्रियता सबल
    गाह्रो पहाडमा पनि थियो, तर मौसमले अलि साथ दिएको थियो । समग्रमा भन्दा पहाडको पनि उत्साहजनक नै थियो । मधेसप्रतिको धारणा चाहिँ फरक पाइयो, सोचेभन्दा राम्रो । एक जना सुरक्षाकर्मी अधिकृतले कस्तोसम्म भन्नुभयो, म भन्छु । ‘हामी कुन धारणा लिएर मधेस आएका थियौँ, मधेसमा यस्तो हुन्छ, उस्तो हुन्छ, कति झगडा पर्ने हो, के हुने हो ? हामीलाई के नजरले हेर्लान् ? तर, मधेस र मधेसीहरू यति अनुशासित, यति सौम्य देख्यौँ कि हाम्रो धारणा बदलिएको छ ।’ काडमाडौँबाट खटिएका थिए ती, प्रहरी ।
    बिखण्डनको कुरा भइरहेको भनिएको बेलामा यस्तो केही छैन । जनता जनताबीच सम्बन्ध राम्रो रहेछ । एकअर्कालाई कदर गर्दा रहेछन् । मधेस आन्दोलन भयो । अब निकास निस्किन्छ । प्रादेशिक र संघीय चुनावमा यही सौम्य र भाइचारा रह्यो भने मधेस र पहाडका लागि राम्रो हुन्छ । हाम्रो राष्ट्रियता र एकता बलियो हुन्छ । राष्ट्रियताका लागि हामी नेपाली एक हौँ भन्ने सन्देश गएको छ, यो निर्वाचनले । अलग्गिएर चुनाव गर्नु गल्ती भएजस्तो लागेको थियो मलाई, तर बेठीक भएको छैन । दुई वर्ष अगाडि २०७२ असोज ३ मा संविधान जारी हुने बेला मधेसमा आन्दोलन चलिरहेको थियो, अहिले भने यस्तो छैन ।
म नेताहरूलाई भन्छु, एकता नखलबल्याउनुस् । तपाईंहरू कोही हार्नुहोला, कोही जित्नुहोला । जितहारका बाबजुद लोकतन्त्र र राष्ट्रियतालाई बलियो पार्ने प्रक्रिया जो अगाडि बढेको छ, त्यसलाई भाँड्ने काम नगर्नुहोला । हामीबीच फाटो नल्याइदिनुस् प्लिज ।
(रितेश त्रिपाठीसँगको कुराकानीमा आधारित)

 

प्रकाशित: ८ आश्विन २०७४ ०४:०५ आइतबार

सुनेको मधेस देखेको मधेस