विचार

चुनावबारे केही कुरा

तेस्रो चरणमा प्रदेश नम्बर २ (पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी) मा जम्मा ६ हजार ६२७ पदका लागि शान्तिपूर्ण वातावरणमा तेस्रो चरणको मतदान सम्पन्न भयो । कुल मतदाता संंख्या २६ लाख ६४ हजार ५ सय ९० भएको यस क्षेत्रमा सरदरमा ७३ प्रतिशत मत खसेको थियो । यसमा ३७ हजार २२६ उम्मेदवारमध्ये पुरुष २२,८६१ (६१ प्रतिशत) र महिला १४,३७५ (३९ प्रतिशत) मैदानमा उत्रिएका थिए । प्रमुख पदहरूमा सबै पार्टीहरूले अधिकांश पुरुषलाई उम्मेदवारी दिएका थिए (नगर प्रमुख तथा गाउँपालिका अध्यक्ष पुरुष १ हजार ७ सय ९ र महिला ६१ मात्र) भने उपप्रमुखको पदमा भने महिला र दलित नै बढी थिए ।
यस क्षेत्रमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेका छन् । कानुनमा उल्लेख भएअनुसार महिला र दलितमध्येबाट नै गाउँपालिका र नगरपालिका सदस्य अनिवार्य गरेकाले पनि महिलाको उपस्थिति राम्रो देखिएको हुन सक्छ । चुनाव सम्पन्न गर्न ७० हजार सुरक्षाकर्मी र ३१ हजार ५ सय कर्मचारी खटिएका थिए । निर्वाचन गराउन २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका थिए ।
उम्मेदवारहरूले वैधानिक रूपमा खर्च गर्न सक्ने सरकारले तोकेको रकम लगभग आठ अर्ब जति हुन्छ । तर उम्मेदवारहरूले यसको कति गुणा बढी खर्च गरेका छन्, त्यसको लेखाजोखा गर्न असम्भव नै छ भन्दा अत्युक्ति नहोला । समान्यतया लगानी गर्नुको अर्थ हुन्छ, त्यसको सकेसम्म बढीभन्दा बढी असुली गर्नु । यसमा जनता सचेत हुनुपर्ने हुन्छ, अनि प्रतिनिधिहरूको निगरानी गरिरहनुपर्ने हुन्छ । नभए विकासले गति लिन सक्नेछैन । फेरि पनि हामीमा विकासको स्वाद चाख्न अर्को चुनाव पर्खनुपर्ने हुन सक्छ ।
मतदानको पूर्वसन्ध्यामा मैले केही उम्मेदवारहरू र मतदाताहरू, ग्रामीण महिला तथा पुरुषहरूसित भेटघाट गर्ने मौका पाएको थिए“ । सबैजना उत्साहपूर्वक चुनावको दिनको पर्खाइमा बसेको पाएको थिए“ । जति ग्रामीण क्षेत्रका मतदाताहरू कसलाई मत खसाल्ने भन्ने कुराम प्रस्ट थिए भने सहरी क्षेत्रमा द्विविधा थियो, कसलाई मत खसाल्ने भन्नेमा । मैले भेटेका अधिकांश मतदाताहरू पुरानै पार्टीमा मत खसाल्ने र यसका कारण पनि भन्न हिच्किचाएका थिएनन् । यसले के देखाइरहेको थियो भने नयाँ पार्टीहरूले अझ धेरै गर्न बाँकी रहेको र जनताको मन जित्नुपर्नेमा कसरत गर्नुपर्ने देखिन्छ ।
सबभन्दा बढी उत्साहपूर्वक मत खसाल्न आतुर रहेकामा महिला नै अघि देखिएको र महिलाको लाइन पनि पुरुषको अनुपातमा लामो रहेको मैले पनि अनुभव गरेँ । यसो हुनुको कारणमा वैदेशिक रोजगारमा युवाहरू गएका हुनाले पनि यसो हुन गएको होला । अर्को पक्ष, आफूले चाहेको पार्टीलाई आफ्ना घरका महिला सदस्य आमा, श्रीमती र छोराछोरीहरूमार्फत दिन लगाएर चित्त बुझाउने विकल्प पनि हो जस्तो लाग्यो । एक जना इ–रिक्सा चालकले कुरैकुरामा भनेका थिए, मेरो घरमा दशजना छन्, उनीहरूलाई मैले जेमा भन्छु त्यसैमा सबैले दिन्छन् । घरमा जोसुकै आए पनि कुरा सुन्ने मात्र हो भनी अभिव्यक्ति दिएका थिए । तर उनलाई चिन्ता भनेको मतपत्र लामो छ, कसैले राम्ररी सिकाइदिए मत बदर हुँदैन थियो । संजोगले मेरो झोलामा पनि एउटा नमुना मतपत्र थियो, एकछिन समय लिएर तरिका बताउने अवसर पाएँ ।
पैसा खर्च गरेर जित्ने होडबाजी देखिएको छ । भोजभतेर, खानपान तथा पैसा र शक्तिले जित्न सकिने विश्वास उस्तै छ । निरक्षर, आर्थिक विपन्न र दलित समुदायमा अझ नाजायज प्रभाव पारेको देखियो । खानपान र केही रकम हातमा राखिदिएपछि मत पक्का । सक्षमता, सही योजना पस्कनेभन्दा शक्तिको प्रदर्शन गरेको देख्दा मेरो मन कुटुक्क खायो । आफ्नो नाममा सम्पत्ति नहुने महिलाले कहिले मौका पाउँछन् ? घर र सरकारमा पनि दोस्रो दर्जाको भएर कति समयसम्म चल्ने हो, भन्न गाह्रो छ । विभिन्न पार्टीहरूले पनि उम्मेदवारका लागि सम्बन्धित व्यक्तिहरूले उम्मेदवारी पैसामा साटेका छन्, अपवादबाहेक ।
हो, अहिलेको अभ्यासले एउटा पक्ष भने प्रस्ट भएको छ, विभिन्न स्थानीय तहहरूमा महिलाको उपस्थितिले गर्दा घरबाहिरको अभ्यासहरूले गर्दा आफ्नो स्थान, क्षमता अनि भूमिका पहिचान गर्न भने सहज भएको छ । महिला र दलितहरूको समग्र विकासमा गर्नुपर्ने र गर्न सक्ने क्षेत्रहरूको पहिचान गर्दै क्षमता वृद्धिमा भने कोसेढुंगा साबित हुन सक्नेछ । यो सबैको मुख्य श्रेय दश वर्षे जनआन्दोलन, मधेस आन्दोलन र यसमा सहादत प्राप्त गर्नुहुने वीर वीरंगनाहरूलाई नै जान्छ ।  झन्डैे ४० प्रतिशत जनसंख्या ओगटेको यस क्षेत्रको विकासको सूचकले देशको समग्र विकासमा अहं भूमिका निर्वाह गर्छ भन्ने कुरा सम्बन्धित व्यक्तिहरूले बिर्सन वा बेवास्ता गर्न पटक्कै मिल्दैन । त्यसैले सबै मिली यस क्षेत्रको न्यूनतम आधारभूत कुरा शिक्षा, स्वास्थ्य, आर्थिक, बाटोघाटो, समावेशी अनि समानुपातिक स्रोतको पहँुच र बाँडफाँड गम्भीर रूपमा हुनुपर्छ ।

प्रकाशित: ५ आश्विन २०७४ ०५:५० बिहीबार

चुनावबारे केही कुरा