विचार

असमानता र लोकतन्त्र

पछिल्ला वर्षहरूमा लोकतन्त्रको क्षयीकरण र अधिनायकवादको उदयका विषयमा धेरै लेखिएको छ र यो काम सही उद्देश्यका लागि भएको छ। हंगेरीका प्रधानमन्त्री जाइर बोल्सोनारोदेखि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मका अधिनायकवादीहरू र निरंकुशताउन्मुख नेताहरूले दक्षिणपन्थी लोकप्रियतावाद (राइटावङ पपुलिज्म) प्रतिपादन गरेका छन्। उनीहरूले सामान्य नागरिकको सुरक्षा र राष्ट्रिय मूल्यको संरक्षण गर्ने प्रतिज्ञा गरे तापनि पुराना मूल्य-मान्यतालाई छाडेर शक्तिशालीलाई पक्षपोषण गर्ने नीति अख्तियार गर्ने गरेका छन्।  

यसो हुनुमा विभिन्न हिसाबले व्याख्या र तर्क गर्न सकिन्छ तर नवउदारवादमा आधारित पुँजीवादका कारण सिर्जित असमानताले लोकतन्त्रलाई क्षयीकरण गरेको छ। राष्ट्रअनुसार फरक फरक स्तरमा भए तापनि आर्थिक असमानताले राजनीतिक असमानता निम्त्याएको छ।  

अमेरिका जस्तो धनी राष्ट्रमा राजनीतिक प्रचारप्रसार अभियानमा योगदान गर्न कुनै व्यवधान छैन। यही कारणले एक व्यक्ति एक भोट भन्ने नारा ‘एक डलर एक भोट’ मा रूपान्तरण भएको छ। राजनीतिक अस्थिरताले आर्थिक असमानतालाई प्रश्रय दिने नीतिहरू बनाउन अभिप्रेरित गर्छ। कर नीतिहरूले  

धनाढ्यको हित सुरक्षित गर्छन् र शिक्षा प्रणालीले यसअघि नै विशेषाधिकार पाएकाहरूलाई पक्षपोषण गर्दछ। यसैगरी अपर्याप्त हिसाबले डिजाइन गरिएका र निश्चित फर्मलाई फाइदा पु¥याउने ध्येयसहित निर्माण गरिएका नियामक व्यवस्थाले कर्पाेरेसनहरूलाई अझ बढी स्वच्छन्द बनाएर बजारको शक्तिको दुरूपयोग गर्न सक्ने बनाउँछ।  

यसबाहेक, सञ्चार माध्यममा रूपर्ट मर्डाेक जस्ता धनाढ्यहरूको वर्चस्व रहेकाले अधिकांश मूलधारको भाष्यनिर्माण पनि यही वर्गले गर्ने गर्दछ। धनीलाई अत्यधिक कर लगाउँदा आर्थिक वृद्धिलाई नोक्सान पुग्छ भन्ने कुरा समाचारका उपभोक्तालाई भनिन्छ। मृत्यु र यस्तै विषयमा समेत कर लगाइने प्रसंगलाई उनीहरू अगाडि सार्छन्। यसअघिको परम्परागत सञ्चार माध्यमको नियन्त्रण धनाढ्य वर्गले गर्दै आएकामा हालैका वर्षमा सोसल मिडिया कम्पनीहरू पनि यही वर्गले नियन्त्रण गर्न थालेको छ। गलत सूचना प्रवाहमा सोसियल मेडिया बेरोकतोक छ। अमेरिकाको कम्युनिकेसन डिसेन्सी एक्ट–१९९६ को २३० धारामा आफ्नो सामाजिक प्लेटफर्ममा तेस्रो पक्षले राखेको सामग्रीका लागि अमेरिकी कम्पनी जिम्मेवार नहुने व्यवस्थाका कारण यस्ता सामग्रीले गर्ने सामाजिक क्षतिप्रति उनीहरू जिम्मेवार हुनुपरेको छैन।  

उत्तरदायित्वबिनाको पुँजीवादको पृष्ठभूमिमा असीमित धन आर्जन गर्नेहरूप्रति आश्चर्य प्रकट गर्ने कि नगर्ने? अथवा समग्र प्रणाली नै धाँधलीपूर्ण छ भनेर यसलाई स्वीकार गर्ने भन्ने विषय महत्वपूर्ण बनेका छन्। लोकतन्त्रले असमान परिणाम निम्त्याउँछ भन्ने आमधारणाले लोकतन्त्रप्रतिको आमविश्वास कमजोर बनेको छ र यही कारणले कतिपयले यसको वैकल्पिक व्यवस्था हुनुपर्ने आवाज उठाउन थालेका छन्।  

यो पुरानो विवाद हो। ७५ वर्षअघि अधिनायकवादी शासनहरू जस्तै गरेर के लोकतन्त्र पनि तीव्र गतिमा फस्टाउला त भन्नेमा कतिपयको शंका थियो। अहिले, कतिपयले कुन प्रणालीले अधिक निष्पक्षता सुनिश्चित गर्छ भन्ने प्रश्न उठाएका छन्। यो विवाद यस्तो विश्वमा उठेको छ जहाँ धनीहरूले राष्ट्रिय र वैश्विक चिन्तनलाई नियन्त्रण गर्न सक्छन् र यसो गर्दा उनीहरूले सरासर झुटको सहारा लिने गरेका छन्। झुटको उदाहरणका लागि अमेरिकाको टेलिभिजन च्यानल फक्सलाई लिन सकिन्छ। यो च्यानलले ‘चुनाव कसैले चोरेको छ अर्थात ‘इलेक्सन वाज स्टोलन’ र ‘मतदान गर्ने मेसिनमै धाँधली’ भन्ने समाचार प्रशारण गरेको थियो। त्यसो त, यो झुटका लागि च्यानलले ७८ करोड ७० लाख अमेरिकी डलर बराबरको जरिवाना पनि तिर्नुपर्यो।  

अमेरिका जस्तो देशमा चुनावी परिणामले धुव्रीकरण निम्त्याएको छ र लोकतन्त्रलाई सहीरूपमा काम गर्न नदिने देखिएको छ। सन् २०१६ पपुलर भोटका आधारमा थोरै मतलले डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपश्चात सहमतिका आधारमा समस्याको समाधान निकाल्ने भन्दा पक्षपातपूर्ण शक्ति संघर्षलाई प्रश्रय पाएको थियो र यो पक्षले कुनै पनि खाले नियमहरू हुनुहुँदैन भन्ने धारणा आत्मसात गरेको थियो।  

अधिक धुव्रीकरणले ठूलो जोखिम निम्त्याउँछ। शक्तिमा रहेकाले साझा धरातलको खोजीको साटो आफ्ना स्थिति मजबुत पार्न कुनै कसर बाँकी राख्दैनन्। यही ध्येयअन्तर्गत सन् २०१६ मा मतदान प्रतिशत न्यून गर्न रिपब्लिकनहरूले अनेक तिकडम गरेका थिए। आमसर्वसाधारणले संकटको जोखिम अति धेरै र अति कम नरहेको ठान्दा लोकतन्त्रले राम्रोसँग काम गर्न सक्छ। संकटको जोखिम अधिक कम भएको ठानेमा उनीहरू प्रजातान्त्रिक प्रक्रियामा सहभागी हुन अनिच्छुक हुन सक्छन्।  

यस्तो अवस्थामा लोकतन्त्रलाई सही काम गर्न यसको डिजाइनमै सुधार गर्नुपर्ने हुन्छ। उदाहरणका लागि संसदीय प्रणालीले गठबन्धन निर्माणमा जोड दिन्छ र अधिकांशरूपमा अतिवादी भन्दा मध्यमार्गीलाई सत्ता दिन्छ। यो उद्देश्य प्राप्त गर्न अनिवार्य मतदानको व्यवस्था तथा प्रतिबद्ध र सुरक्षित कर्मचारीतन्त्रले सहयोग गर्दछ। अमेरिकाले सधँै आफूलाई लोकतन्त्रको हिमायती भने पनि अमेरिकी व्यवहार असमान छ। पूर्वराष्ट्रपति रोनाल्ड रेगनले अगस्तो पिनोचेटसँग गरेको साँठगाँठ, वर्तमान राष्ट्रपति जो बाइडेनले साउदी अरेवियाप्रति देखाएको सामीप्यता तथा मुस्लिम विरोधी रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नजिकको सम्बन्ध यसका उदाहरण हुन। अमेरिकाले साझा राजनीतिक मूल्यमा विश्वास गर्ने भए तापनि राजनीतिक तथा आर्थिक असमानताका कारण कतिपयले लोकतन्त्रलाई अस्वीकार गरेका छन्। यस्तो अवस्थामा ट्रम्प, बोल्सोनारो तथा अन्यले प्रतिनिधित्व गर्ने दक्षिणवादी लोकप्रियतावादले हुर्कने वातावरण पाउँछ।  

असन्तुष्ट मतदाताले खोजेको उत्तर यी नेतासँग छैन। अर्कोतर्फ, अत्यधिक शक्ति हासिल गर्न सक्ने नीतिगत व्यवस्थाले यो विषय झन् जटिल बन्ने देखिन्छ। यो सन्दर्भमा अन्य विकल्पको खोजी गर्नु भन्दा हामीले आफ्नै प्रणालीभित्र यसको समाधान निकाल्नुपछ। सही राजनीतिक सुधार हुँदा लोकतन्त्र अधिक समावेशी, नागरिकप्रति उत्तरदायी, शक्तिमा रहेका कर्पाेरेसन र धनाढ्य वर्गप्रति कम उत्तरदायी बन्छ तर प्रजातान्त्रिक राजनीतिका लागि दूरगामी आर्थिक सुधार आवश्यक हुन्छ। हामीले सबै नागरिकका हितलाई सुरक्षित र सुनिश्चित गर्न सकेको खण्डमा लोकप्रियतावादको डुंगालाई सही दिशातर्फ मोड्न सकिन्छ। त्यसका लगि नवउदारवादमा आधारित पुँजीवादलाई पछाडि राखेर साझा समृद्धिको यात्रामा अगाडि बढ्न जरुरी छ।  

–प्रोजेक्ट सिन्डिकेटबाट

प्रकाशित: १९ भाद्र २०८० ००:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App