विचार

चाडबाडमा पुँजीवाद

तीजमा हिन्दू नारीहरू कोही पतिदेवको सुस्वाथ्य र दीर्घायुको कामना गर्दै व्रत बस्छन् भने कोही सुयोग्य वर पाउनका निम्ति व्रत बस्छन्। यो सुविश्वास हो कि अन्धविश्वास, बहसकै विषय हो। तीज हिजोआज लगभग एक महिना अघिदेखि सुरु हुन्छ। सहरका पैसावालका घरघरमा, पार्टी प्यालेसमा तीजको डिस्को र डान्स चल्छ महिनौँसम्म। चौरासी व्यञ्जन र महँगा साडी र गरगहना आजको तीजको विशेषता हो। सहरका पार्टी प्यालेसहरू मुख्य तीज आउनु अगावै महिनौदेखि बुकिङ हुन्छ। रिमिक्स गीत र डिस्को आजको तीजका भाका बनेका छन्। छोरीचेलीका दुःख र पीडा आजका तीजका भाकामा कमै सुनिन्छ। सेल्फी खिच्ने फेसबुकमा अपलोड गर्नु आजका तीजका नित्य कर्म बनिसकेका छन्। सहरमा केही पैसावालका घरमा यसरी प्रवेश गरेको तीजले अहिले साँच्चै नै नेपाली नारीहरूको संस्कार जस्तो बनाइदिएको छ।

जीवन गुजाराको कार्यक्षेत्र अफिसमा पनि अहिले तीजको रौनकले छाइसकेको छ। सहकर्मी साथीहरू पर्व विशेषमा आपसमा सँगै बसेर खानु–नाच्नु केही अनौठो भएन तर गरगहना र साडी प्रदर्शनी जस्तै मेला देखिनु आफैँमा कत्तिको सहज छ तपाईं हामी सबैले अनुमान लगाउन सक्छौँ। अचेल छिमेकमा, पार्टी प्यालेसमा तीज मनाउने नारीहरूको महिनौँदेखि निम्तो र भिडभाड देखेर आफूले सके पनि नसके पनि मन लागे पनि नलागे पनि त्यसैगरी अरुले पनि मनाउनुपर्ने अवस्था नेपाली समाजमा भित्रिएको छ। समाजले यसै त नारीहरूलाई अघि बढ्नका लागि त्यति सहज नबनाएको परिस्थितिमा नेपाली नारीहरू अरूको देखासिखी गरेर आफ्नो बहुमूल्य समय महिनौँ अघिदेखि नाचगान, पार्टी प्यालेस भोजभतेरमा लागेर खेर फालिरहेका छन्।

समाजमा  केही  फुर्सदिला र पैसाको तुजुक देखाउनेहरुले के गरे भन्दै अरूले पनि त्यस्तै गर्नुपर्ने हो र? समाजमा यस्तो खालको अनावश्यक संस्कार बसाउँदा के साँच्चै यसले जीवन्तता लिन्छ होला त? आफूलाई पैसावाल छु भनेर तडकभडक देखाएर गरिबलाई कतिन्जेल होच्याउने? सबै नारीहरूलाई आफ्नो माइतीको हैसियत राम्ररी थाहा हुन्छ। यस्तो दिनुपर्छ भनेर कुनै पनि छोरीले माइतीसँग कहिल्यै भन्दिनन् तर समाजमा आफूलाई पैसावाल देखाउन सबैलाई अनावश्यक उपहार र तडकभडक गर्दैमा सबै जना त्यसको पछि लाग्नुपर्छ जस्तो मलाई लाग्दैन। दिदीबहिनी आपसमा दुःखसुख साटेर नाचगान गरेर हामीले हाम्रो संस्कृतिको जगेर्ना गर्नुपर्छ। धेरै भीडभाड र तडकभडकले मात्रै आत्मीयता जगाउँदैन बरू समाजमा विकृति फस्टाइरहेको छ।  समयको महत्वलाई स्वीकारेर, अनावश्यक देखासिकी र तडकभडकमा नलागीकन हामीले हाम्रो रीतिरिवाज र परम्परा मनाउनुपर्छ। नारीहरू सबै मिलेर आवश्यक रीतिरिवाजलाई अवलम्बन गरी अनावश्यक र देखावटी संस्कारलाई बहिष्कार गर्नु आजका बौद्विक नारीहरूको कर्तव्य हो।

प्रकाशित: ८ भाद्र २०७४ ०४:५८ बिहीबार

चाडबाडमा पुँजीवाद