विचार

प्रधानमन्त्रीको अतिरिक्त मूल्य

विषय प्रवेशका लागि एउटा प्रसंग उल्लेख गरौँ। किशोरावस्थामा मैले हेरेको एक चलचित्रको सम्वादमा तस्कर समूहका नाइकेलाई उसको अधीनस्थले रिपोर्ट गर्छ कि अहिले आएको प्रहरीको प्रमुख एकदम सख्त छ। उसलाई किन्न वा प्रभावमा पार्न सकिँदैन। काम गर्न गाह«ो भयो। यो सुनेपछि नाइके भन्छ– सबै मानिसको मूल्य हुन्छ। तिमीले त्यसको मूल्य लगाउन जानेनौँ। यसको उपाय म सोचौँला। हालसालै केही समयदेखिको अन्तरमनको विमर्शबाट म यो निचोडमा पुगेको छु कि हरेक मानिसको मूल्य हुन्छ। यसमा अपवाद ती व्यक्ति हुन सक्छन् जो सांसारिक व्यवहार, लोभ, मोहदेखि टाढा छन्। यो भनेर मैले अहिलेका कथित धर्मगुरू वा मठाधीशहरूलाई भनिरहेको छैन। ती त हामी सामान्य मानिस भन्दा पनि सस्ता छन्। 

सामान्य मूल्य  

भूमण्डलमा सूर्य र वायुबाहेक सबैको मूल्य छ। मानिसले उसको बुताले भ्याएसम्म सबैको मूल्य लगाउन खोज्छ। मूल्य मानिसद्वारा मानिसको प्रयोगका लागि लगाइएको विनिमय र सञ्चयमा प्रयोग हुने दर हो। तसर्थ हरेक वस्तुको मूल्य हुनु अनौठो कुरा होइन। यहाँ यो सामान्य मूल्यको कुरा गर्न खोजिएको होइन। तस्करबीचको सम्बाद पनि सामान्य मूल्यको होइन। सामान्य मूल्य त प्रहरीले राज्यबाट पाएर नै सेवामा आएका हुन्छन्। यहाँ कुरा गर्न खोजिएको अतिरिक्त मूल्यको हो।

अतिरिक्त मूल्य

अर्थ राजनीतिमा अतिरिक्त मूल्यको बिचार माक्र्सको देन हो। आदम स्मिथको मूल्यको श्रम सिद्धान्तबाट उनले अतिरिक्त मूल्य निकाले। अतिरिक्त मूल्य पुँजीपतिहरूको लाभमा जाने हुनाले त्यसलाई उनले श्रमको शोषण माने। मानिस उत्पादित वस्तु होइन। यसको अतिरिक्त मूल्य नहुनुपर्ने हो तर हामीले निरन्तर देखेका छौँ, मानिसले अतिरिक्त मूल्य असुलिरहेका छन्। विडम्बना यो छ कि सम्बन्धित व्यक्तिले आफ्नो अतिरिक्त मूल्य आफैँ तोक्छन्। वस्तुको मूल्यमा जस्तो यसमा माग र आपूर्तिको सम्बन्ध हँुदैन। वस्तुको सामान्य तथा अतिरिक्त मूल्यमा माग र आपूर्तिले प्रभाव पार्छ तर केही विशेष मानिस जसको अतिरिक्त मूल्यको श्रमसँग कुनै साइनो छैन उनीहरूको अतिरिक्त मूल्य उनीहरूकै स्वेच्छामा निर्धारण हुन्छ। यसलाई हामी विशेष प्रकारको अतिरिक्त मूल्य भन्न सक्छौँ जुन सम्भवतः नेपाली लोकतन्त्रमा मात्र उपलब्ध छ।  

नेपालबाहेकका देशमा सार्वजनिक संस्थामा काम गर्ने मानिसले लिने अतिरिक्त मूल्यलाई घूस, भ्रष्टाचार भनिन्छ र ती दण्डनीय अपराध हुन्छन्। नेपालमा चलनचल्तीमा आएको भाषामा साना माछाले खाने अतिरिक्त मूल्यलाई यदा कदा घूस, भ्रष्टाचार मानिएको छ। ठूला नदी तथा सागरमा साना माछा ठूला माछाका आहार बन्छन्। हामीकहाँ देवी देवतालाई प्रसन्न गराउन कमजोर प्राणीको बली दिने परम्परा छ। हाम्रा उच्चस्तरीय नेताहरू पनि देवी देवता बनेका छन्। 

निर्बल र साधारण मनुवालाई बली बनाउँछन् र तिनैलाई आफू प्रसादका रूपमा ग्रहण गर्छन्। भर्खरैको भुटानी शरणार्थी काण्डमा पनि दुईजना पूर्वमन्त्री उपल्लोस्तरका नेताहरूको प्रसाद बनेका छन्। चार वर्षअघिदेखि चलिरहेको नक्कली शरणार्थी बनाउने योजना, राष्ट्रिय अनुसन्धान विभाग, सतर्कता केन्द्र आफ्नो अधीनस्थ राखेका पूर्वप्रधानमन्त्रीहरू र तत्समयका गृहमन्त्री र सचिवलाई यसको जानकारी थिएन भनी कसैले विश्वास गर्न सक्दैन। 

बिचौलियाले पोलेकामध्ये दुई पूर्वमन्त्रीलाई अभियोजन गर्नु तर अन्य उच्चपदस्थ वा उच्चपदस्थका निकटस्थ तथा भित्रियाहरूले उन्मुक्ति पाउनुलाई उनीहरूको अतिरिक्त मूल्य नमानेर के नामाकरण गर्नु ? अहिले चलिरहेको सुन काण्डमा तथ्य र पर्याप्त साक्षीले अभियुक्त देखाउँदा पनि आरोपितमध्ये सत्ता निकट प्रभावशाली राजनीतिक व्यक्तिलाई संरक्षण गरिनुले सत्ताधारीहरू तथा सत्ता निकटका मानिसले गरेको दण्डनीय कृत्य पनि अतिरिक्त मूल्यमा परिणत भएको छ।

अहिले चलिरहेको सुन काण्डमा तथ्य र पर्याप्त साक्षीले अभियुक्त देखाउँदा पनि आरोपितमध्ये सत्ता निकट प्रभावशाली राजनीतिक व्यक्तिलाई संरक्षण गरिनुले सत्ताधारीहरू तथा सत्ता निकटका मानिसले गरेको दण्डनीय कृत्य पनि अतिरिक्त मूल्यमा परिणत भएको छ।

प्रधानमन्त्रीको मूल्य

प्रधानमन्त्री वा कार्यकारी प्रमुखको पद अमुल्य छ। यो नेपालीको नासो हो। लोकतान्त्रिक मुलुकमा कार्यकारी प्रमुख त्यो देशका जनताको साझा सम्पत्ति, इज्जत, प्रतिष्ठाको पद हुन्छ। यो बेग्लै सत्य छ कि कतिपय देशका प्रमुखहरूले त्यो पदप्रति न्याय गर्न सकेका छैनन्। भारतमा अटलबिहारी वाजपेयीले राजधर्म भन्नुहुन्थ्यो। दुर्भाग्य अटलजीकै पार्टीको प्रतिनिधित्व गर्ने अहिलेका प्रधानमन्त्रीले हिन्दुत्वको सारतत्व राजधर्मलाई समाप्त गरिसकेका छन्। सुविख्यात अर्थशास्त्री तथा पत्रकार प्रेमशंकर झाले अहिलेका सत्ताधारीले २०२४ मा बहुमत प्राप्त गरेमा त्यो नै भारतको अन्तिम निर्वाचन बन्न सक्नेतर्फ औल्याएका छन्।

प्रधानमन्त्रीज्यू, तपाईँको नेतृत्वमा अहिले ३ वटा आशा लाग्दा काम भएका छन्। नक्क्ली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र भर्खरको ताजा एक क्विन्टल भनिएको ६१ केजी हात लागेको सुन काण्ड। यी काण्डको अनुसन्धान गर्नु र अभियुक्तलाई कानुनी दायरामा ल्याउनु सरकारको कर्तव्य हो। तर २०६४ पछि र यसअघि यस्ता अनेकौँ राज्य विरोधी अपराधले उन्मुक्ति पाउँदै आएको हुँदा तपाईँको कार्यकालमा यी अनुसन्धान सुरु हुनुको कारण तपाईँलाई धन्यवाद दिनैपर्छ। तर शंका अनेक छन्। 

एकाधिकारवादी मुलुकमा हुने जस्तै कतै यो निर्देशित अनुसन्धान त होइन ? वा प्रियतावादका लागी गरिएको पाखण्डी अभ्यास त होइन ? होइन भने भुटानी शरणार्थी प्रकरणमा अन्य आरोपित व्यक्तिलाई उन्मुक्ति किन ? सुन काण्डमा तपाईँकै पार्टीका नेतालाई अभियोजनबाट उन्मुक्ति किन ? प्रमाणपत्र किर्तेमा प्रचलित परम्परा विपरित अत्यधिक शक्ति प्रयोग किन ? भ्रष्टाचारका अनेक फाइल खोल्छु भन्ने तर वाइड बडी, ३३ किलो सुन, यती ओमिनी, गिरीबन्धु टि स्टेटलगायत घोटालाको छानबिन नगरी किस्ता किस्ता किन ?

हाम्रा उच्चस्तरीय नेताहरू पनि देवी देवता बनेका छन्। निर्बल र साधारण मनुवालाई बली बनाउँछन् र तिनैलाई आफू प्रसादका रूपमा ग्रहण गर्छन्।

तपाईँलाई माथि उल्लिखित सबै घोटालाको छानविन गर्न सजिलो छैन। यी सबै घोटालाको अनुसन्धान सुरु गर्दा तपाईँले नेतृत्व गर्नुभएको सरकारको मुख्य घटक र प्रमुख प्रतिपक्षको नेतृत्वले पक्कै मीठो मान्दैनन्। तपाईँकै पार्टीका कैयौँ नेताले तपाईँको साथ छाड्न सक्छन्। तपाईँको प्रधानमन्त्री पद खुस्कन सक्छ। त्यसैले मैले तपाईँको अतिरिक्त मूल्य पत्ता लगाउन खोजेको हुँ।

पृथ्वीनारायण शाहको अतिरिक्त मूल्य उनले नेपाल एकीकरणको सुरुवाती नायकत्व गर्नु हो। नेपाली जनतालाई प्रजातान्त्रिक युगमा प्रवेश गराउनु र आर्थिक सामाजिक प्रगतिशीलतातर्फ उन्मुख गराउनु बिपी कोइरालाको अतिरिक्त मूल्य हो। एक वर्षभित्रमा संविधान जारी गरी निर्वाचन गराउन सफलता कृष्णप्रसाद भट्टराईको अतिरिक्त मूल्य हो। जुन लामो कालसम्म नेपालीको हृदयाकासमा रहने छन्।

अहिले तपाईँ आफैँलाई परिभाषित गर्न सक्ने अवस्था र स्थानमा हुनुहुन्छ। यस्तो अवसर बिरलै प्राप्त हुन्छ। तपाईँले यसलाई चुनौती मान्न सक्नुहुन्छ। चुनौतीलाई अवसरमा परिणत गर्न सक्ने व्यक्ति नै योग्य नेता हो। तसर्थ प्रधानमन्त्रीज्यू, तपाईको अतिरिक्त मूल्य के हो ? सत्ता सहयात्री, प्रतिपक्ष सबैलाई डर र आश देखाउँदै प्रधानमन्त्री पदको आयु सकेसम्म लम्बाउने वा नेपालमा सुशासनको सुरुवात गर्ने भ्रष्टाचार र अनियमिततामा निर्मम प्रहार गर्ने महान् व्यक्तिमा गनिने ? रोजाइ तपाईँको निजी हो। अहिले जीवित पूर्वप्रधानमन्त्रीलाई इतिहासले कसरी सम्झेला ? तपाईँ आफू कुन वर्गमा पर्न रुचाउनुहुन्छ ? उपनिषद् भन्छ– मृत्योर्मामृतं गमय। मृत्यु रोज्नुहुन्छ कि अमरता ? हामी प्रतीक्षारत छौँ।

प्रकाशित: ६ भाद्र २०८० ००:४२ बुधबार

प्रधानमन्त्रीको अतिरिक्त मूल्य