विचार

महिला युरोपियन च्याम्पियनसिप नेदरल्यान्ड्सलाई

इन्सचेड- भिभियाने मिडेमाको दुई गोलप्रेरित नेदरल्यान्ड्सले आइतबार राति डेनमार्कलाई ४–२ ले हराउँदै महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ। पछिल्लो समय नेदरल्यान्ड्सको पुरुष टोली सफलताका लागि संघर्ष गरिरहेको बेला महिला टोलीले यो उपाधि जितेको हो। गत वर्ष फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा छनोट हुन नसकेको नेदरल्यान्ड्सको पुरुष टोली अर्को वर्ष रूसमा हुने विश्वकपमा छनोट हुन संघर्ष गरिरहेको छ।

नेदरल्यान्ड्सका प्रशिक्षक सारिना विगम्यानले घरेलु मैदानमा आफ्नो टोलीको सफलताबाट डच महिलाहरूमाझ खेल प्रवर्द्धन हुनुका साथै विश्वकप छनोट प्रतियोगिताको तयारीमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

क्वार्टरफाइनलमा ६ पटकको साबिक विजेता जर्मनीलाई हराएको डेनमार्कले सुखद अन्त्य गर्न सकेन। अघिल्ला पाँच प्रतियोगितामा सेमिफाइनलबाट घर फर्किएको डेनमार्कको यो पहिलो फाइनल यात्रा हो। सेमिफाइनलमा अस्ट्रियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको डेनमार्कका खेलाडी दोस्रो हाफमा थकित देखिएका थिए।

नेदरल्यान्ड्सकी प्रशिक्षक विगम्यानले युरोपियन च्याम्पियनसिपमा २ दशकदेखिको जर्मनीको राज समाप्त भएको प्रतिक्रिया दिइन्। ‘जर्मनी च्याम्पियन थियो र कुनै पनि टोली उसको नजिक पुग्न सक्दैनथ्यो,’ विगम्यानले भनिन्, ‘आज फरक स्थिति बनेको छ।  विशेष गरी डेनमार्कले त्यसलाई परिवर्तन गर्‍यो। आज हामीले जित्यौं।’

ट्वान्टे फुटबल क्लबको रंगशालमा डेनमार्कले राम्रो सुरुआत गरेको थियो। नादिया नदिम (उनी अफगानिस्तानी शरणार्थी हुन्। नादियाको बुबालाई तालिवानले हत्या गरिदिएको थियो) को पेनाल्टी गोलमा डेनमार्कले छैटौं मिनेटमै अग्रता लिएको थियो। किका भान इस क्लुमसिलेले साने ट्रोइल्सगार्डलाई फाउल गरेपछि डेनमार्कले पेनाल्टी अवसर पाएको थियो।

‘कहिलेकाहीँ आफूले सोचेजस्तो हुँदैन। जे हुनु थियो त्यो मात्र पाउन सकिन्छ,’ बाबुको हत्या भएपछि नेदरल्यान्ड्समा बस्न थालेकी नादिमले भनिन्। नादिम अहिले पोर्टल्यान्ड थर्नसबाट अमेरिको राष्ट्रिय महिला लिग खेल्छिन्। बराबरी गोलका घरेलु दर्शकले लामो समय प्रतीक्षा गर्नु परेन। नादिमले गोल गरेको चार मिनेट बित्न नपाउँदै नेदरल्यान्ड्सले बराबरी गोल गरेको थियो। मिडफिल्डर ज्यकी ग्रौइनेनले विंगर शानिस भान डे सनडेनलाई लामो पास दिइन्। त्यही बलमा शानिसले गरेको क्रसलाई मेडेमाले गोलमा परिणत गरेकी थिइन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित लिइके मार्टिन्सले २८औं मिनेटमा गरेको गोलमा नेदरल्यान्ड्सले अग्रता लियो। त्यसको पाँच मिनेट नबित्दै डेनमार्कले बराबरी गोल फर्कायो। डेनमार्कका लागि पर्निल हार्डरले गोल गरिन्।

कप्तान सेरिडा स्पिटसेले ५१औं मिनेटमा पुनः नेदरल्यान्ड्सलाई अग्रता दिलाइन्। समूह चरणमा गोल गर्न नसकेका कारण आलोचना खेपेकी मेडेमाले खेल सकिन एक मिनेट बाँकी रहँदा अर्को गोल थपेपछि नेदरल्यान्ड्सको जित पक्का भएको थियो।

‘सुरुको केही समय कठिन रह्यो। तर बिस्तारै स्थिति परिवर्तन भयो,’ फरवार्ड मेडेमाले भनिन्, ‘आज पनि सुरुमा सम्हालिन गाह्रो भयो। डेनमार्कले राम्रो खेल्यो। दोस्रो हाफमा हामीले राम्रो फुटबल खेल्न सक्छौं भनेर प्रमाणित गर्‍यौं।’

हारबाट निराश बनेकी नादिमले थपिन्, ‘एक सातासम्म हामीले जुन प्रदर्शन गर्‍यौं, त्यसमा मलाई गर्व छ। दोस्रो भएकोमा खुसी छौं। तर तत्कालको अवस्थामा उपाधि गुमायौं।’

प्रकाशित: २४ श्रावण २०७४ ०३:३५ मंगलबार

महिला युरोपियन च्याम्पियनसिप नेदरल्यान्ड्सलाई