विचार

आर्थिक राष्ट्रघातको बिगबिगी

हाम्रो एउटा सानो समुह छ– लेखेपढेका हरुको! यो समूहमा हप्तैपिच्छे कुनै न कुनै विषयमा छलफल गर्छौं। गत हप्ता आर्थिक राष्ट्रघातबारे चर्चा भयो। मैले प्रस्ताव गरेको यो विषय सुन्नासाथ एकजनाले आश्चर्यवाचक मुद्रा प्रदर्शन गर्दै भनेका थिए– राष्ट्रघात भन्ने कुरा त बुझेकै हो तर यो आर्थिक राष्ट्रघात भनेको के नि? अनायासै भनिदिए– जनतामा लोडसेडिङ थोपर्नु आर्थिक राष्ट्रघात हो। सोधे कसरी? कसरी सम्झाउँ? अन्यमनष्कमा थिएँ। तथापि आफूले उठाएको प्रश्नको समाधान दिनु मेरो दायित्व नै हुन्थ्यो, त्यसैले बोल्न प्रारम्भ गरेँ।

हामी आफ्नै क्षमतामा सय मेगावाटको आयोजना पनि सम्पन्न गर्न सक्ने अवस्थामा छैनौं। नेपालीलाई यो अवस्थासम्म पुर्‍याइदिनेलाई राष्ट्रघाती नभने के भन्ने?

के हो आर्थिक राष्ट्रघात?

 कोही व्यक्ति, समुह, संस्था वा पार्टी जसलेसुकै किन नहोस् यदि राष्ट्रिय स्वार्थ र हितविपरीत काम गर्छ भने ऊ राष्ट्रघाती हो। देश भनेको कुनै अमुक भूगोलमात्र कदापि होइन। त्यो निश्चित भूगोलभित्र निवास गर्ने नागरिक पनि राष्ट्र नै हो। त्यसैगरी ती नागरिकका रीति–थिति, भाषा एवं संस्कृति पनि राष्ट्रकै धरोहर हुन्। राष्ट्रका ती धरोहरमाथिको आक्रमण आफैंमा राष्ट्रघात हो। नागरिकको जीवनस्तर उठाउन बाधक बन्ने व्यक्ति वा व्यवस्था आर्थिकरूपले राष्ट्रघाती नै हो। पञ्चायती व्यवस्थाले शिक्षा, स्वास्थ्य, रोजगारलगायत जनताको समग्र जीवनको स्तरोन्नति गर्न नसकेकै हुनाले त्यसबेलाका शासकलाई राष्ट्रघाती भनियो। त्यस अर्थमा प्रजातन्त्रको आगमनपछिका शासक पनि प्रायः पञ्चभन्दा उम्दा देखिएनन्।

भ्रष्टाचारको बिगबिगी नै राष्ट्रघातको निम्ति ऊर्वर भूमि हो। त्यसैलेे नेपालको लोडसेडिङलाई राष्ट्रघातको उदाहरणका रूपमा प्रस्तुत गरिएको हो। दुई दशकदेखि नेपालमा लोडसेडिङ हुँदै आएको थियो। त्यो पनि २–४ घण्टाको मात्रै हो र? दैनिक १९ घण्टासम्म। यो क्रममा अनेकौं पार्टीका नेता ऊर्जा मन्त्रालयमा आएर आकाश–पातालका डिङ हाँकेर गए। तर, यस पटकका मन्त्री जनार्जन शर्माले कुलमान नामधारी एउटा जनजाति पुत्रलाई विद्युत् प्राधिकरणमा प्रमुख बनाएर के ल्याएका थिए, उनले 'छुमन्तर' गरेर लोडसेडिङ नेपालबाट बिदा गरिदिए। त्यतिमात्र हो र? यो घटनाले यहाँका पदाधिकारीले कति तारतम्य मिलाएर मिटर रिडरदेखि बडेबडे हाकिम, मन्त्री हुँदै पार्टी नेतासम्मले कसरी 'मिलिजुली जय नेपाल' गर्दा रहेछन् भन्ने छर्लङ्ग पारिदिएका छन्। अनि यस्तो कर्ममा संलग्न हुनेलाई राष्ट्रघाती नभन्ने?

एकजना भलाद्मीको जिज्ञासा थियो– यस्तो कर्मलाई भ्रष्टाचारको कोटीमा राखे हुन्न? मैले भनेँ– हुन्न। तपाईँलाई थाहा छ, यस्तो कर्मले नेपालीमात्रको आर्थिक, सामाजिक एवं वैयक्तिक कति नोक्सान भएको छ? हेनुहोस्, लोडसेडिङले गरेको आर्थिक अपराधको फेहरिस्तको शृङ्खला, ४ घण्टादेखि १९–२० घण्टा लोडसेडिङ जो यहाँ हुने गर्थ्याे त्यसले देशमा विद्यमान उद्योगधन्दाको उत्पादकत्व घट्यो। रोजगारी कटौती भयो। उत्पादित सामानको मूल्य बढ्यो। जनताको खरिद क्षमता घट्यो। जनताको खरिद क्षमता घट्नुकै कारण अत्यावश्यक उपभोग्य सामाग्री एंव औषधिमूलो गर्नबाट नेपाली वञ्चित भए। त्यसैंका कारण हामीमा विदेशीको मुख ताक्ने परम्परा थालनी भयो।

जुन दिनदेखि नेपालमा लोडसेडिङ प्रारम्भ भयो त्यही दिनदेखि हाम्रा विदेशी दाताले हामीलाई दपेट्न प्रारम्भ गरे। हाम्रो भाषा, संस्कृति र सनातनदेखि चल्दै आएको धर्ममाथि त्यही बेलादेखि पश्चिमा देशहरूले अन्धाधुन्ध आक्रमण गर्न थालेका हुन्। फलतः हाम्रो गरिबी नै हाम्रो अस्मितामाथिको आक्रमणका कारक हुन पुग्यो। त्यतिमात्र हो र? यो बीस वर्षमा हामीलाई नपुग विजुली भनेको मात्र सय मेगावट हो। बीस वर्षमा हामी नेपालीले लोडसेडिङकै कारण जेनेरेटर, इन्भर्टर र पेट्रोलियम पदार्थका निम्ति जति खर्च गर्‍र्यौं, त्यो रकमले कम्तीमा पनि ५ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्थ्यो। अब हामी विपन्नताको त्यो श्रेणीसम्म पुगिसक्यौं जसले आफ्नै क्षमतामा एक सय मेगावाटको आयोजना पनि सम्पन्न गर्न सक्ने अवस्थामा छैनौं। नेपालीलाई यो अवस्थासम्म पुर्‍याइदिनेलाई राष्ट्रघाती नभने के भन्ने?

 लोडसेडिङका कारण उत्पन्न वातावरणीय प्रदूषणले बिगारेको पृथ्वीको 'इको सिस्टम' अनि त्यसैगरी विनाश गरिरहेको वन जंगल, लोप हुँदै गएका चराचुरुङ्गी र जनावर अनि वनस्पती एवं औषधीय गुणका जडीबुटीको विनासको कारक लोडसेडिङ नै होइन र? हाम्रो यो लज्जाको इतिहास जब हाम्रा सन्ततीले भोलि पढ्लान् तिनले आफ्नै पूर्वजलाई धिक्कार्नेबाहेक के नै गर्लान् र?

 अमेरिकामा १२–१३ वर्षको नेपाली बच्चासँग भेट भयो। बडो जेहेनदार विद्यार्थी थिए उनी। 'भविष्यका तारा' भन्ने भनाइ सार्थक बनाउन सक्ने सम्भावना देखिन्थ्यो तिनमा। प्रसंगवस् मैले उनलाई भने– बाबु, नेपाल जान मन लाग्दैन? अंग्रेजी लवज आउने गरी नेपाली भाषामै भने– जान त मन थियो तर, बिजुली छैन रे, पानी छैन रे, बाटो छैन रे, किन जानु नेपाल? म  लज्जित भएँ र लोडसेडिङकर्तालाई  राष्ट्रघातीकै कोटीमा राख्न दृढसंकल्पित भएँ। 

अर्को एउटा उदाहरण

 नेपाल नाम गरेको यो नाजुक मुलुक एसिया महादेशको प्राचीनतम देशमध्येको एक हो। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका,  माल्दिभ्स, भूटान र अफगानिस्तान जन्मनु हजारौं वर्षअघि नै नेपाल स्वतन्त्र एवं सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकका रूपमा स्थापित देश हो। वर्तमान नेताहरूको कमजोर काँधले नेपालको त्यो गौरवशाली इतिहासको घरोहर थाम्न सकेको अवस्था आज छैन। नेपाल आफ्नो इतिहासका कारण जति विख्यात छ यहाँका शासकहरू त्यत्तिकै कुख्यात प्रमाणित भएका छन्। नेपाल आफ्नो इतिहासले मात्र गौरवान्वित भएको होइन। यसलाई भगवानले अपार साधन र स्रोतले सम्पन्न पारिदिएका छन्। उदाहरणका लागि जलस्रोत लिन सकिन्छ। तर यो मुलुक सञ्चालन गर्ने शासकहरूले यसको संवेदनशीलतासँग कहिल्यै आत्मसात गर्न सकेनन् वा गर्नै चाहेनन्। भूपरिबेष्ठितताका बाबजुद यो मुलुक यस्तो रणनीतिक भूगोलमा अवस्थित छ कि यसलाई यहाँका शासकले समयमै बुझ्ने प्रयास गरेका भए पूरै दक्षिण एसियामाथि नेपालले आफ्नो हैकम चलाउन सक्ने हैसियत राख्थ्यो।

 अपार जलसम्पदातको धनी हुँदा पनि नेपाल आजका दिनमा बिजुलीका निम्ति भारतको निगाहमा बाँच्नुपरेको छ। यस्तो किन भएको भन्ने खोतल्दै जाँदा फेरि त्यही ठाउँमा पुगिन्छ जहाँ राष्ट्रघातीहरू सल्बलाइरहेका हुन्छन्। आफ्नो स्वार्थ सिध्द नहुन्जेल भारतसमक्ष लम्पसार पर्ने र राष्ट्रिय स्वार्थलाई तिलाञ्जली दिन किञ्चित पनि संकोच नगर्ने प्रवृत्तिकै कारण नेपाल यो अवस्थामा पुगेको हो।

नेपालले गुमाएको अवसर

 भारतको कुल जनसंख्याको एक चौथाई अर्थात ३० करोड जनता नेपालको दक्षिण सरहदसँग जोडिएर बसेका छन्। तिनलाई बिजुली र पिउने पानी अभाव छ। यता नेपालमा चाहिँ हजारौँ मेगावाट विजुली उत्पादन गर्न सकिने प्रचुर सम्भावना छ। त्यस्तै हिमालबाट उत्पन्न जलप्रपातद्वारा प्रवाहित स्वच्छ जल दक्षिणतर्फको समथर भागमा गई प्रदूषणयुक्त भई अनाहकमा मिल्किएको अवस्थामा छ। कस्तो गजवको अवस्था! एउटासँग अर्थाह साधन छ र अर्काेसँग पर्याप्त उपभोक्ता! तर पनि दुवैतर्फका जनता भोक, रोग, अभाव र अशिक्षाले पिल्सन बाध्य छन्। दुवै देश एकापसमा मिलेर भगवानले दिएको स्रोत र साधनको समुचित उपयोग गरे दुवैतर्फका जनताले सुख पाउने थिए। यति कुरा यहाँका शासकले नबुझेका होइनन्। तर दुवैथरी आ–आफ्नो अहंकारका कारण अघि बढ्न सकेनन्।

नेपालका शासकहरूको हृदयमै गडेर रहेको फोस्रो राष्ट्रवादले यो कार्यान्वयन हुन दिइरहेको छैन। अर्कोतर्फ भारतचाहिँ सामन्तको जस्तो व्यवहार गरिरहेछ। गर्जो नेपालको छ, त्यसकारण नेपाली पक्षले लेनदेनमा केही नरमकरम मिलाएर भारतसँग सम्झौता गर्न सक्यो भने हाम्रो विकासको द्वार अनायासै खुल्नेछ। यति कुरा नबुझेर नेपाल चार दशकदेखि निरन्तर ठगिँदै आएको छ। जति सक्यो चाँडो ठूलाभन्दा ठूला विद्युत् परियोजना निर्माण गरी तिनको स्विच नेपालमा राख्ने रणनीति सफलपूर्वक लागु गर्न सकियो भने तीस करोडभन्दा बढी भारतीयहरू नै नेपालका निम्ति रक्षाकवच सावित हुने थिए। यसले नेपालको आर्थिक उन्नति त गर्थ्यो गर्थ्यो, साथै नेपाल रणनीतिक हिसावले सधँै मजवुत अवस्थामा रहने थियो। यस्तो अवस्था सिर्जना गर्न सकियो भने नेपाललाई नाका बन्द गरेर घँुडा टेकाउने भारतको सपना 'लेनेको देना पड्गया' भनेझैं हुने थियो। यति कुरा पनि नबुझ्ने नेताहरूलाई प्रकारान्तले उनकै सन्तानले राष्ट्रघातीको कोटीमा राख्नेछन् भन्ने कुरा समयमै बुझे उत्तम हुने थियो।

ऊबेला हिमालबाट निस्किएको पानीमाथि नेपालको एकलौटी स्वामित्व हुन्थ्यो। तर आजकल अन्तर्राष्ट्रिय कानुनले तल्लो तटीय मुलुकको अधिकार पनि स्थापित गरिसकेको छ। जस्तो नेपालबाट बगेर भारत पसेको पानीको व्यवस्थापन भिन्नै तरिकाले भारतले गर्‍यो भने अब नेपालले बोल्ने ठाउँ बाँकी रहँदैन। रात रहे अग्राख पलाउँछ भनेको सायद यही हो। भगवानले उपलब्ध गराइदिएको साधनको समुचित व्यवस्थापन नगरेर हामीले आर्थिक राष्ट्रघात गरिरह्यौं। आइन्दा त्यसो नगरौं भन्ने चिन्तायुक्त आग्रह हो यो।

प्रकाशित: ८ असार २०७४ ०४:०४ बिहीबार