विचार

देश बनाउने दायित्व कसको?

१. नेपाल बन्छ। समस्या हाम्रा हुन् भने समाधान हामीले नै खोज्नुपर्छ।

२. नेपाल बन्दैन, यहाँ यस्तै हो। यो सतीले सरापेको थलो हो।

३. नेपाल बने नि के नबने नि के ? छाड्दिउँ।

यी तीनखाले विचार हामीमाझ सर्वत्र छ।

विश्वका कुन देश बिग्रिएनन्? बेलायत, जर्मनी र जापान युद्धले धराशायी भए, तिनका साम्राज्य भत्कियो, चीन सांस्कृतिक क्रान्तिमा तहसनहस भो, भारतमा इन्दिराले अधिनायकत्व स्थापित गरिन्, अमेरिकामा आतंककारी हमला भयो। फेरि पनि यी देश बने र बन्दैछन्। आज यस लेखमा यी देश किन बने र हामी किन बनेनौं, किन उठेनौं, हामी बन्न केले रोक्यो र हामी कसरी बन्न सक्छौं भन्ने विषयमा केन्›ित हुनेछ। इमान्दार, सक्षम र पौरखीहरू राजनीतिबाट विमुख रहँदा राष्ट्र बन्न सकेन। ब्याक बेन्चर होइन, क्लास बंकरहरूले देश हाँकेपछि दुर्घटना त् हुन्थ्यो नै, भयो।

देशका ७०–८० जना विविध क्षेत्रका इमान्दार, योग्य र पौरखी व्यक्ति राष्ट्रिय राजनीतिमा प्रवेश गरे भने तिनले देशमा एक हदको कायापलटको आरम्भ गर्न सक्छन्।

अब जो जागेका छन्  तिनले नै देशलाई जगाउने हुन्। तर नेपाली राजनीतिमा वास्तविक जागेका मान्छे लागेका छैनन? जागेका मानिसलाई राजनीतिमा लाग्न केले प्रेरित गर्छ जसरी बेलायतमा एक ब्यांकर तेरेजा मेलाई राजनीतिमा लाग्न प्रेरित गर्‍यो, वकिल लि क्वान युलाई सिंगापुरको राजनीतिमा लाग्न प्रेरित गर्‍यो वा इन्जिनियर सि जिन पिनलाई चीनलाई अझ आर्थिक उदार राष्ट्र बनाउन झक्झकायो। तिनले आफ्नो व्यक्तिगत जीवनमा धेरै सुरक्षा र धन आर्जन गर्न सक्थे होला तर तिनले व्यक्तिगत सुरक्षा र व्यक्तिगत धनमा होइन, राष्ट्रलाई सुरक्षित र धनी बनाउनु आफ्नो मूल कर्तव्य सम्भि्कए।

व्यक्तिगत लाभ र हानिबाट उठेकाहरूले नै देश उठाउन सक्छन् तर जब सक्षम र इमान्दार राजनीतिलाई बहिष्कार गर्छन् तब बेइमान र अक्षमले राजनीति स्वीकार गर्छन् र जथाभावी गर्छन्। त्यसैले राजनीति फोहोर बेइमानको अखडा हो भनेर त्यसबाट तर्किने सुविधा सक्षम र इमान्दार नेपालीलाई छैन। समकालीन राजनीतिमा हेर्ने हो भने जुन देशमा प्रगति भएको छ त्यहाँ विषयगत ज्ञान भएका इमान्दारहरूले नै राष्ट्रलाई योगदान गरेका छन्। लि क्वानले संरचना स्थापित गरे र त्यसमा सक्षम, इमान्दार र पौरखी समाहित गरेर राष्ट्र उठाए। बेलायत, जर्मनी, जापान र चीनका शीर्ष राजनीतिमा रसायनशास्त्री, इन्जिनियर, अर्थशास्त्री र व्यवस्थापक, पुर्व प्रशासकले नै अधिकांश स्थान पाएका छन्। जब राजनीतिक दलले उत्कृस्ट व्यक्तिलाई स्थान दिने मन्यता र व्यवहार स्थापित गर्छन् तबमात्र राष्ट्रिय समस्या समाधान हुनेछन्। यो वातावरण तय गर्न राष्ट्रका ३ आयाम व्यक्ति, समाज र राजनीतिक दलको चिन्तन र व्यवहारमा दायित्वबोध र एकरूपता आउनु जरुरी छ।

व्यक्ति

नित्तान्त व्यक्तिगत संकुचनबाट बाहिर निस्किएर योग्य र पौरखीहरूले आफ्ना लागि एउटा घर एउटा गाडीको साँघुरो घेराबाट उठेर राष्ट्रलाई सुरक्षित, सम्मानयुक्त र समृद्ध बनाउन लाग्नुपर्छ। राष्ट्र सफल भयो भने आफ्नोमात्र होइन, हरेक नेपालीको घर र गाडी त स्वतः हुन्छ नै। त्यसैले देशका ७०–८० जना विविध क्षेत्रका इमान्दार, योग्य र पौरखी व्यक्ति राष्ट्रिय राजनीतिमा प्रवेश गरे भने तिनले देशमा एक हदको कायापलटको आरम्भ गर्न सक्छन्। केवल राष्ट्रिय आवश्यकतालाई आगामी एक दशक तिनले आफ्नो प्राथमिकता सम्झून्, एक दशकपछिको राजनीति अझै काविल पुस्तामा हस्तान्तरण हुन्छ।

समाज

उत्कृष्ट व्यक्तिलाई राजनीतिमा स्थापित गर्ने दायित्व समाजको हुन्छ किनकि उसले उत्कृष्ट व्यक्तिलाई राष्ट्रिय हितमा काम गर्न प्रेरित गर्नसक्छ अन्यथा व्यक्ति नित्तान्त एक्लो हुन्छ र प्रेरित हँुदैन। व्यक्तिले अग्लो घरमात्र होइन, अग्लो कद बनाउन जरुरी छ। त्यसैले समाजले नैतिक दायित्व बोध गराउन सके हरेक व्यक्तिबाट अधिकतम लाभ समाजमा स्थापित गराउन सकिन्छ। व्यक्तिलाई व्यक्तिगतभन्दा सामाजिक नैतिक व्यवहार देखाउन सक्ने वातावरणतर्फ समाजले नै प्रोत्साहित गर्न सक्छ।

दल

लोकतन्त्रमा दल सु„िए देश सु„िन्छ तर आज करिव ७० वर्षे इतिहासमा दलहरू बारम्बार ध्वस्त भएका छन्, त्यसैले देश ध्वस्त भएको छ। दर्जनांै प्रधानमन्त्री बने, देश बनेन। दल असफल हुँदा देश असफल भयो। गत दुई संविधान सभाका चुनावमा प्रत्याशीको चुनाव खर्चमात्र २००० करोड भो, अर्को त्यति नै खर्च राज्यले गर्‍यो तर  संविधान बनेकै साँझ च्यातियो।

अपारदर्शीरूपमा पैसा खर्च गरेर निकम्मा नेता खरिद बिक्री गर्ने वा छान्ने यो माहोल रोकेर दलहरूले अब सक्षम  र इमान्दारलाई लक्षित गरी खुला उम्मेदवार र नेतृत्व नीति अवलम्बन गरेर राजनीतिमा समाहित गरेमात्र दल र राष्ट्र डुब्नबाट बच्छ। जसले गर्दा स्वच्छ र कार्यगत क्षमताले पूर्ण मानिस राजनीतिमा खुला प्रतिस्पर्धाबाट स्थापित होस्, उसले दशौं वर्ष दल र नेताको तलुवा चाट्नु आफ्नो तलुवा घोट्न नपरोस्। दल राष्ट्र निर्माणको बाधक होइन, माध्यम बनोस् र नेता दलका व्यक्तिप्रति होइन, राष्ट्रिय हितका दलका मान्यता, नीति र योजनामा केन्›ित भई राष्ट्र र आमनागरिकप्रति बफादार होऊन्। 

यसो गर्न दलले आफ्नो मूल्य/मान्यता, कार्ययोजनामा काम गर्न इच्छुक स्वतन्त्र नागरिकलाई उम्मेदवारी आह्वान गर्न सक्छ, पार्टीका दीर्घकालीन उद्देश्य र राष्ट्रिय हितका उद्देश्यमा काम गरेका र स्वतन्त्र व्यक्तिसहितको निर्णायकले गरेको सिफारिशअनुरूप पार्टीले योग्य उम्मेदवारलाई जनमतका आधारमा विविध र तहगत कार्य क्षेत्रको नेतृत्वमा स्थापित गर्न सक्छ। यसो गरे कुलमान घिसिङ, सन्दुक रुइत, पुष्पा बस्नेत, महावीर पुन, भगवान कोइरालाजस्ता विलक्षण राष्ट्रिय प्रतिभालाई अझै बृहत् सामाजिक राष्ट्रिय लाभका लागि परिचालित गर्न सम्भव हुनेछ। उनीहरू नै हाम्रा लि क्वान, सि जिन पिन, तेरेजा मे वा अन्जेला मेर्केल हुन् जसलाई हाम्रै समाज र दलले  अवमूल्यन गरेको छ। अब यिनलाई या यिनको दर्शन र व्यवहारलाई समाज र दलहरूले स्वीकार गर्नुपर्छ।

अन्त्यमा,

हामी दशकौं हाम्रै नाभीमा कस्तूरी बोकेर कताकता कुदिरहेका रहेछौँ। अब आफैँमा खोजौँ। विश्वास गरौँ, अब व्यक्ति, समाज र राजनीतिक दलले आआफ्नो संकुचित दायराबाट माथि उठेर समाधान ठम्याउँछन्, अब योग्य, इमान्दार र पौरखीहरूले देशप्रतिको दायित्व सम्हाल्छन्, अब समग्र देश जाग्छ, राष्ट्र निर्माणको बाटोमा लाग्छ। हाम्रा आशा र विश्वास हाम्रा निरर्थक कुराले होइन, अब हाम्रा सार्थक कामले सिद्ध गर्नेछन्।

व्यवस्थापिका प्रमुख, विवेकशील नेपाली दल

प्रकाशित: १२ जेष्ठ २०७४ ०४:३७ शुक्रबार

देश बनाउने दायित्व कसको