मातृ मुहार दर्शन महोत्सव ! चारै शब्द फरक छन् । चारैसित नेपाली सबै परिचित हामी । आमाको मुख हेर्ने चाड दिवस, उत्सव । मातृ कोखको महिमा दिवस । कुनै संस्था वा उपलब्धि दिवसभन्दा कहाँ कताको उच्चतम् अवसर । आमाको अनुहार दर्शन आनन्दी दिवस । यस दिवसको महिमा महान् छ । महान् यस निमित्त कि प्रत्येक बालबालिका मातृगर्भबाट प्रजननपछिका केही निमेषमै काखीमा पर्छन् कोखबाट बाहिरिएर । तत्काल मातृ वक्षस्थल बालकको ओठभरि, मुखभरि पर्छन् । बालक जीवन दान पाउँछन् दुधौली धारा चुसेर । मातृ धारा जीवन चारा बन्छ । तिनकै आधारमा बाललीला चल्छन् । निरन्तर आधा वर्ष । छ महिनापछि बल्ल अन्नप्राशन हुन्छ । बालकका आहार भरणपोषणमा अरु थप पौष्टिक आहार । तर पनि मातृ अमृत धारा टुट्दैन ! दुई वर्ष लगातार अगाडि बढी नै रहन्छ– मातृ ममताका सहस्र छातीबाट अजस्र झरनासरह । यहीँनेर म मातृ महिमाका महत्ता गुनगुनाउन थाल्छु– मातातीर्थ गाथा ।
मातातीर्थ औंसी । आज आमालाई तीर्थ सम्झने मुहूर्त । सम्झनेमात्र होइन मान्ने, मनाउने पावन अनि सार्थक दिवस । आमा तीर्थ नै हुन् । हामी सम्पूर्ण जीवनधारी जन्तुका आगम तीर्थ मातृ कोख नै बनेको छ ।
लोक समाजका ब्रह्मा–विष्णु–महेश्वर गाथा गायन सुनें मैले नि । जब आफ्नै छोराछोरी र नातिहरूले मातृधारा चुसेको देख्न थालेँ, ब्रह्मा–विष्णु–महेश्वर लीला चरित्र मातृ जीवन सरिता पो रहेको चेतनाले चस्काए यो चेतलाई । ब्रह्माको अवतार आमाको अनुहारमा झल्झली देख्न थालेँ । आमा त साँच्चैकी ब्रह्मा रहिछन् । मातृकोखमा गर्भाधान गरी जीवन सर्जक बन्नु आमाको ब्रह्मश्व मानेँ । ब्रह्मश्वका दुई परिप्रेक्ष्य पाएँ, पढँे, सिकेँ, जानेँ । ब्रह्मश्वको एक परिप्रेक्ष्य विवेक–ब्रह्मको प्रयोग अनि परिपालन । विवेक–ब्रह्म जहाँ प्रयोग र परिपालन हुन्छ, त्यहीँमात्र जीवन रक्षात्मक संचेतना अनि संवेदनाका धारा प्रवाह हुन्छ । विवेक–ब्रह्म जीवन रक्षात्मक संचेतना र संवेदना स्रोत पुञ्ज हो, मुहान हो । आमा तिनै ब्रह्मस्वरुपिनी अवतारका आकृति हुन्, अनुहार बनेकी छिन् । आफँैसित गुन्गुनाएँ मनैभरि–मनग्य ! ब्रह्म–विवेक परिपालन भएमात्र यसको प्रयोग शुभ बन्छ । शुभ लक्षणकै निमित्त परिपालन हुनुपर्छ, गरिन्छ पनि ।
मातृ कोखबाट महाभिनिष्क्रमण भनुँ जन्मजात भएर उर–छातीका सहश्रधारा–दूधका प्रत्येक चुस्स चुस्कीका रसास्वादन मातृ–मोहका प्रगाढ श्रद्धाका पहिलो विन्दु बन्छ । तेल लेपन, नुहाइधुवाइ, सफाइ–सुघराइ, नाना लगाइ आमाकै काखमा आमाकै हातबाट हुन्छ । सारा लालनपालन आमाबाटै हुन्छ । आमा ममतामयी नेहका नसुक्ने स्रोत बन्छिन् । आमा जतिका ममता यो सृष्टि संरचनामा कोही नि छैनन्, हुन्नन् । आफ्नै भोगाइका अनुभूति बटुलिरहेछु मातातीर्थ औंसीका अवसरभरि ।
मातातीर्थ औंसी । आज आमालाई तीर्थ सम्झने मुहूर्त । सम्झनेमात्र होइन मान्ने, मनाउने पावन अनि सार्थक दिवस । आमा तीर्थ नै हुन् । हामी सम्पूर्ण जीवनधारी जन्तुका आगम तीर्थ मातृ कोख नै बनेको छ । आमाको गर्भ कुण्डमा भ्रुण कोषिकाका सूक्ष्म आकृति बनेर पूरापूर नौ महिना तैरिएर रह्यौं हामी कदेखि क्ष, त्र, ज्ञसम्मै । मातातीर्थका पहिलो जिज्ञासा यसबाट पूरा हुन थाल्छ । जिज्ञासुका जिज्ञासा अटुट रहन्छ । जतिजति जिज्ञासु बनिन्छ, उति उति नै जिज्ञासाका तरङ्ग तरङ्गिदै जान्छ । जिज्ञासाका तरङ्ग तरङ्गिनु प्रसङ्गवस यहाँ आमामाथिको अनुपम आस्था, ममता अनि श्रद्धाभाव उर्लनु हो, तरङ्गिनु हो । हामी सबै सपुत हौं । यस मातातीर्थका पावन, पवित्र अवसरमा को मात्रै मातृ श्रद्धा–सम्मान भाव, कर्म र कार्यमा प्रतिबद्ध नहोऔंला ?
जीवन अविनाशी छैन । मरणशील जीवनले मृत्यु वरण गर्नैपर्छ । हामी अवसान पाउँछौं । मेरी श्रद्धेय जन्मदातृ आमा पनि अवसान भइसकेकी छिन् । पूर्ण होस् साथ अवसान पाएकी मेरी आमाको अन्तिम वाक्य अविस्मरणीय लाग्छ मलाई । बैठक कोठाका चहकिलो बत्तीप्रति आमाका उद्गार बन्यो ! ‘....राजा ! यो बत्ती त औधी उज्यालो छ ...। मुमाको मुहारमा चहक भरिरहेथ्यो त्यो बत्ती । आमाले अन्तिम सास फेर्नुहुने संकेत भएन त्यस क्षण मलाई । नियतिको अलिखित विधान बुझ्न सकेको थिइनँ । आमा अवसान हुनुभयो ।
कुण्ठित विहुल वेदना छताछुल्ल छचल्किए । घर आँगन वेदनाका आश्रयधाम बन्यो । लाग्यो... माताप्रतिको तीर्थाटनको आरम्भिक प्रारब्ध बन्यो त्यो । तीर्थाटन नगरी भएन माताका निधारमा अन्तिम दागबत्ती अर्पेर । त्यो उर्लंदो दागबत्तीको भक्कानिएर उर्लेको मातातीर्थको छालतरङ्ग थियो । मनभित्र अनेक तरङ्गका छल उठी नै रहे । ती मनका भावनात्मक तरङ्गका छाल मातातीर्थका अमूर्त प्रारूप हुन् । कि मशानका अग्नि संस्कारका दावानल ज्वारभाटा पनि मातातीर्थ नै हुन् । सोचैसोचभरि आगाका लप्का जवाला अग्निका नदीझैं बग्न थाल्यो ह्वारह्वार हुर्रिएर । मातातीर्थ ! आगाका पनि खहरे खोला हुँदोरहेछ– मातातीर्थ !
मातालाई तीर्थ मान्नु हाम्रो मान्यता विश्वव्यापी संस्कार । माता विश्वकै जननी– जन्मदातृ । प्रकृति जननी । जननी प्रकृति । प्रकृति शाश्वत शक्ति । शाश्वत शक्ति स्वनिर्मित सत्य । कृत्रिमता हुन्न त्यहाँ । उनी आफूभित्रकी स्वाभाविकता । अस्वाभाविक वस्तु तत्व त्यसमा अटाउन्न । सबै स्वाभाविक सत्य–वस्तुतत्व प्रकृतिका चेतना सत्य । चेतना सत्य नै तिनका वस्तुनिष्ठ आधार स्तम्भ, गर्भगृह । आमा प्रकृति । प्रकृति माता । मातृत्व सदाबहार सत्य । आदिदेखि इतिसम्मै । माता तीर्थ तुल्य प्रवाहमान शाश्वत सत्य । यी अक्षरका लामा लामा पंक्तिहरू मातातीर्थका प्रवाहमान प्रवाह । आमाकी सन्तति नबन्दो हुँ त कसरी सम्भव हुँदा हुन् र सिर्जनाका अक्षर स्तम्भका अभिव्यञ्जना यी... ! धन्य... मातातीर्थ कहिल्यै नथामिने आदिम प्रवाहका वात्सल्य स्वाद...। आमाका दुधालु अमृत रस । आमाका अमृत रसबाट प्लावित म, तपाईं, हजुर–हामी सबै सबै नै !
माता सदाबहार तीर्थ– मेरो, हाम्रो सार्वजनिक सम्पदा सार्थक । माताभन्दा सार्थक तीर्थ कुन सागर, महासागर छ ? म भन्छु सरासर नहिच्किचाइकन– छैन, छैन किमार्थ छैन..., छँदै छैन । अय्या...मा ! अय्या ! दुखद् वेदनाका आर्तनाद ! अनायास उच्छासिन्छ शाश्वतरूपमा । जस्तै– आमाबाट अलग्गिएका सैतान्त बनेका सन्तान होस्... अनायास आइहाल्छ नतमस्तक अकर्मण्य उत्कण्ठा– अय्यामा... ! उनको हरामी सैतानीपन अन्तरजलनमा जलेर खरानी बन्छ– भष्माभूत ! ती सबै आमाकै मातृत्व बलशाली प्रभुत्वको अनुकम्पा ठान्छु म । माता यथार्थमा अनुराग, अनुकम्पाकी अजश्र स्रोत बनेकी हुन्छन्– भौतिक या अभौतिक जुनै अवस्थामा निसंकोच, निसन्देह निरन्तर । यो मातातीर्थ औंसीका सांस्कृतिक संघारमा उभिएर म मेरी दिवंगत तर अन्तरीक्ष अभियान । विचरणरतः मातृहंस तत्वप्रति आस्थामय श्रद्धा सुमन अर्पेर...।
मेरी मुमाको जीवनकालमा आमाको मुख हेर्थे,ं आस्थामय आदरलाई भौतिक पदार्थमा प्रतिबिम्बित गरेर । अर्पण गरेका मेरा आदरभावका प्रतीक वस्तु स्थानीय साधन सामग्री हुन्थे ! फलफूल, नभचर चरा प्रदायका फूल, जलचर–माछा, थलचर–जीवजन्तुका मांसपेसी, अनि प्यालाभरिका घरका रक्सी । भक्तपुरको छोरो म । मेरी मुमा भक्तपुरकी छोरी । जुजुधौ बन्छ सदा सगुनको अभिन्न अङ्ग । मुमालाई जल आचमन सिँचन साथ चोख्याउँछु । जुुजुधौ सगुन अर्पणसाथ दही सगुन अर्पन्थें । ढोगाउँथें दही सगुन मुमाको आफ्नै दुवै हातले एकसाथ । क्रमशः दही सगुनका टीका अर्पन्थें मुमाको फराकिलो क्षितिजतुल्य निधारमा । पाउलागी साष्टाङ्ग दण्डवत् गर्थें दुवै पाउमा एकसाथ । आमा मुसुक्क मुस्कानसाथ मलाई आशीष प्रदान गर्नुहुन्थ्यो । मानौं, मुमाको मुस्कानमा अन्तरमनका मौन शुभेच्छा वरदान भरिभराउ थिए– मेरो दीर्घायु र उज्ज्वल भविष्य कामनाका । मेरी आमाका नाम शारदादेवी । धर्मसाथ भन्दैछु । शारदा पुत्र म दीप्त छु..., तृप्त छु म । नढाँटीकन वाचा हालिरहेछु म । छातीमा हात हालेर म...। आमाकै जीवन्त जीवन वरदान– म यो ।
मुमा मेरी– दिवंगत हुनुभएथ्यो २०१० माघ कृष्णका रात र मिर्मिरेका दोसाँध । रात बितिनसकेको भोर भइनसकेको त्यो क्षण विदीर्ण थियो । शोकग्रस्त, कोलाहलमय, व्याकुल वेदना त्यसबेलाको सन्तप्त अवस्था झन्डै किंकर्तव्यविमुढ बनेथें विवश म । मैभित्र म थिएँ, थिइनँ भन्नै धाउधाउ थियो । माताका पुत्र क्रियापुत्र बन्नुपर्दा । क्रियापुत्रको सांस्कृतिक संस्कार निर्वाह गरी नसकेका कुनै पनि छोरोले मातातीर्थ स्थान जानु त्यस अमुक अवसरको प्रतिबन्ध बनेको छ । आमा जीवित अवस्थाका छोरोले आफ्नै घरभित्र ससम्मान आमाको रूप दर्शन गरी आदर–सम्मान अर्पण गर्नुपर्ने यस संस्कारका अन्तर्य, गुह्य, मर्म, रहस्य जे भने पनि उही एउटै छ । यहाँ मात्र अधिकारै अधिकारको चर्चाभन्दा कर्तव्य परायणताको प्रसङ्ग सशक्त बनाइएको छ । यो सांस्कृतिक संस्कारयुक्त परम्परा संवैधानिक प्रावधानभन्दा नितान्त बलियो, सुदृढ, सशक्त सूत्र बनेको छ । यस परिप्रेक्ष्यमा केलाउँदा सांस्कृतिक संस्कारका संरचना राजनीतिक, आर्थिक सिद्धान्तवादी संरचनाभन्दा निकै सुदृढ बनेको अनुभूत हुन्छ । प्रसङ्ग माताका सजीवनभरि आमाकै अनुहार दिव्य दर्शन गर्ने संस्कार पालनकारी संस्कृति मनाऔं...! माताको देहावसानपछि मात्र आमाका स्मृति–सम्झना, सम्मान श्रद्धाका श्राद्ध अर्पण मातातीर्थमा तीर्थाटन गर्ने यो सामाजिक–सांस्कृतिक प्रावधान बनेको छ ।
प्रकाशित: १३ वैशाख २०७४ ०४:२३ बुधबार