विचार

अपहेलित राष्ट्रियता र देशभक्ति

पृथ्वीनारायणको सालिक भत्काएर त्यसै जगमा अर्को कुनै व्यक्तिको सालिक ठाडै राखेको तमाशा हेर्ने र एक चौथाई शताब्दीसम्म देश र जनताका निम्ति झिंगो मार्न पनि नसक्ने असफल राजनीति बोकेको राष्ट्रिय इतिहासको घनघोर उपहास गरिएको देश भएको छ आज पृथ्वीनारायणको भविष्यदृष्टिमा निर्मित मेरो देश!  यही देशले त्यस जटिल परिस्थितिमा पनि जनताको आँगनबाट उठाएर एउटा जनताको छोरोलाई सर्वसाधारणले पाउने उच्चतम पद, कप्तानसम्म पुर्‍याएपछि राष्ट्र र जनतालाई नै धोका दिंँदै धार्मिक आस्थाकी देवीसमेतको भावनात्मक आस्थाको स्रोतको शक्तिको दुरुपयोग गर्दै आफैंलाई पद र सम्मानको उचाईमा पुर्‍याउने अधिकारीलाई नै सिध्याइ शासक बन्न दुष्प्रयास गर्नेलाई चाहिँ महान् राष्ट्रवादी, देशभक्त र जनप्रिय मान्ने भयङ्कर दुष्प्रयास भइरहेको छ यस देशमा! पृथ्वीनारायणको सालिकको जगमाथि त्यस्ता व्यक्तिको सालिक ठड्याउन लाएर हामी सबै मुकदर्शक भएर हेरिरहेका छौं! यस्तो देशको राष्ट्रियता र देशभक्तिको वर्तमान अवस्था कसरी व्याख्या गर्ने? के यस्तो विजोगको अवस्थालाई एउटा सम्मानित राष्ट्रिय उपलब्धिमूलक अवस्था मान्न सकिएला त? यथार्थमा यो एउटा अत्यन्त घृणित र लज्जास्पद अवस्था हो नेपाली राष्ट्रियता र देशभक्तिको इतिहासमा।

हे भगवान! हे वज्र देवता! हे समग्र मस्ट र वोन देवता! यो देशको अस्तित्वसंँगै बचेको हाम्रो साझा धर्म, सभ्यता, संस्कृति र नेपालको राष्ट्रियता बचाउन हामी सारा नेपालीलाई थप सुबुद्धि र वर्गत देऊ!  हामीमा राष्ट्रभक्तीय राष्ट्रवादको अवशान कहिल्यै नहोस्!

अहिले आफ्ना स्थानीय सांस्कृतिक परम्परा र धरोहरको संवाहक र मानवीय संस्कृति र सभ्यताको फाँटमा हामी नेपालीलाई नै ज्येष्ठतम र विशिष्ठ स्थानमा राख्ने विक्रम संवत्समेत हामी आफैँ हटाउन चाहन्छौं। स्थानीय र प्राचीनतम धार्मिक/सांस्कृतिक आस्था र परम्पराको क्षेत्रमा सबैभन्दा उच्चतम स्थान ओगटेर बसेको पशुपतिनाथका परम्परा पनि सिध्याउन उद्यत हुन्छौं। यस देशका देवतासमेतले बडो गर्वसाथ हातैले उठाउने गरेको मानवीय संस्कृति र परम्पराको उत्कृष्टताको बाहक बनेर रहेको राष्ट्रिय र धार्मिक/सांस्कृतिक ध्वजासमेत फेर्न खोजिन्छ यस देशमा अहिले परिवर्तनका नाममा। यस देशमा यहाँका प्राचीनतम निवासी तथा शासकसमेतको परिचय बोकेर ३ हजारभन्दा धेरै वर्षदेखि निरन्तररूपमा चलेको विश्व प्रसिद्ध ऐतिहासिक र सामाजिक/सांस्कृतिक दृष्टिले प्रतिष्ठित देशको नामसमेत फेर्न खोजिन्छ इतिहास नै राम्रोसँग नकेलाइकन।

पूर्व/पश्चिम, उत्तर/दक्षिण चारैतिरबाट सिंगो देशैसमेत बाह्य र वेधर्मीको आक्रमणका कारण तहसनहस वा ध्वस्त पारिएका बखत यस भेगमा उपत्यका र पहाडतर्फ प्रवेश गरेका अनेकथरी जातीय समुदायका मानवको मिश्रणले वर्णशंकर  र  धर्मशंकरले जटिल बनाएको अवस्थामा समाज र राष्ट्र व्यवस्थित बनाउन देशभित्रका र विदेशबाट समेत अनेक प्रतिष्ठित विद्वान्, पण्डित, शास्त्रज्ञलाई समेत आमन्त्रण गरी समयानुकूल सामाजिक तथा धार्मिक/सांस्कृतिक सुव्यवस्था गर्ने स्थिति मल्ल जस्ता नेपाली राष्ट्रिय इतिहासका एक सुयोग्य र विशिष्ठ तारा जस्तालाई समेत अपमान गर्दै उनका महत्वपूर्ण कामको कोरा आलोचना र अवहेलना गर्ने प्रवृत्ति बढेको दुःखद् अवस्था छ नेपालमा। मुसलमानी आक्रमणले राष्ट्रिय धरोहरमाथि आक्रमण र थिचोमिचो भएको अत्यन्त कठिनतम युग थियो त्यो।  पशुपतिनाथसमेत लुटिएको समय हो त्यो। त्यस्ता दुर्दिनबाट यो देश र यहाँका मात्र नभई प्राचीन कर्नाट, मिथिला र तिरहुतमा हुर्किएका धार्मिक, सांस्कृतिक र सामाजिक परम्परासमेत बचाउने अभिभारा थियो स्थिराज मल्ल र उनका भारादारसहित यो देशका नागरिकको। 

यस देशलाई एक स्वतन्त्र र सार्वभौमरूपमा बिनाकुनै संकोच संसारले मान्यता दिने बनाउने क्रममा पहिलोपल्ट देशलाई समयोचित ऐन/कानुनयुक्त बनाउने काम मुलुकी ऐनको व्यवस्थाका साथ जंगबहादुरले गरेका हुन्। त्यस्तो समयोचित र राष्ट्रिय आवश्यकताको सुकर्मको समेत खोइलो उतार्दै विरोध गर्ने परम्परा चलाउँदा राम्रो काम गरेको वा राम्रो विश्लेषण गरेको मानिन्छ यहाँ।  हामीलाई थाहा छ, आफ्नो छुट्टै लिखित ऐन भएको स्वतन्त्र मुलुक त्यसबेला दक्षिण एसियामा कहीँ थिएन र त्यसको निर्माणमा पनि उपलब्ध भएसम्मका विशेषज्ञ र स्थानीय विविध समुदायका प्रतिनिधि राखेर एउटा राष्ट्रिय समिति नै बनाइएको थियो। नेपाल तराईका निकै गतिला मानिएका लोकपति र लेषपति नामक झा थरका पण्डितहरूलाई यो मुलुकी ऐन निर्माणको महान् राष्ट्रिय परियोजनाको कार्यकारी नेतृत्व दिइएको इतिहास यस परिप्रेक्ष्यमा धेरै उल्लेखनीय लाग्छ।  यस्तो देश निर्माणको प्रक्रियामा भएको प्रारम्भिक राष्ट्रिय कामका निम्ति जंगबहादुरप्रति सकारात्मक टिप्पणी एउटा पनि निकाल्दैनौँ, हम्मे बरु एकोहोरो राष्ट्र›ोही काम गरेको आरोपमात्र उनलाई लगाएको लगायै गर्छौं। कति कृतघ्न बनेका छौं हगी हामी? कमी/कमजोरीका विषयमा टीकाटिप्पणी हुनसक्छ तर मुलुकी ऐनको पूरै अभियान र कृतिलाई नकारात्मक देख्ने र सराप्ने कामलाई चाहिँ कसरी राष्ट्रिय मान्ने?

हामी न मानदेव न अंशुवर्मा न अरिमल्ल, न जयस्थिति, न क्राचाल्ल, अशोकचल्ल, न मुकुन्द सेन, न रामशाह, न पृथ्वीनारायण, न पर्वते मल्ल, न लम्जुङे न कास्केली शाह, न पूर्वका हिन्दुपति सेन राजाहरू, न मुस्ताङ्गे लोपा राजा, न जंगबहादुर, न राजा महेन्› वा वीरेन्द् कसैका काम एउटालाई पनि मान्यता दिंदैनौं। आधुनिक नेपाल निर्माणको पूर्वाधारका रूपमा देखिएको तात्कालिक क्षेत्रीय साझा संस्कृति र सभ्यताका राज्य र तीनका शासक अनि तिनले चलाएका ऐतिहासिक परम्पराको पूरै विरोध गर्ने र आधारहीन भुइँफुट्टा परिवर्तनको कुरामात्र गर्छौं।

अझ वैदिक सनातनी, बौद्ध, स्थानीय प्राकृतिक धर्म, चालचलन, परम्परा र संस्कृति अस्वीकार गर्ने र अरु आगन्तुक र बाहिरी परम्परा र चलनलाई मौका दिन आफ्ना धर्म/संस्कृति नमान्ने देश बनाउने कुप्रवृत्ति चलाइएको छ यहाँ। आधुनिक राष्ट्र निर्माणको सफल अभियानलाई नै नकार्नेमात्र होइन ती राष्ट्र निर्माण र देशभक्तिका सुकर्मलाई दुत्कार्नेमात्र चलन चलेको छ यहाँ अहिले। साम्राज्यवाद विरोधका राष्ट्रिय कामको बद्ख्वाईं गर्दै राष्ट्र निर्मातालाई नै आन्तरिक उपनिवेशवादीको संज्ञा थोपर्न पनि हामी हिच्किचाहट गर्दैनौं हिजोआज। आफ्ना स्थानीय परम्परा र त्यसका निर्मातालाई अवहेलना गर्ने, आफ्ना परम्पराको चासो, अध्ययन/अनुसन्धान र खोजी नगर्ने, भएकालाई पनि अपव्याख्या गर्दै अस्वीकार गर्ने वा नष्ट नै गर्नसमेत लाग्ने, स्वधर्म संस्कृति विरोधी बाटोमा तल्लीन भएर पराकाष्ठामै पुग्ने प्रवृत्ति छ अहिले।  

भानुभक्त नमान्ने, बुद्ध नमान्ने, लामा, ज्योमो, खाँडो, धामी, झाँक्री, विजुवा, पण्डित, वज्राचार्य, पुरोहित, पुजारी, सन्तमहन्त, जोगी, संन्यासी अर्थात् स्वसंस्कृतिका प्रतिपादक, पालक, संरक्षक, आराधक, व्याख्याता कुनै पनि नमान्ने काव्य, शास्त्र, धर्म, तीर्थ नमान्ने, फाग, कथा, भजन, वालन, संगिनी, पूजाप्रार्थना, छाम, मोन्लम, मोल्ला मोल्तम, कातेन, लोग्युइ, ग्यलरव, दुङ्रव, यलङ्पालङ्, धर्मदेशना, कथा, आख्यान, उखान आदि केही नमान्ने। देश निर्माणको अभियानमा साम्राज्यवादी सत्रुहरूसँग महानताका साथ लड्ने र वीर गति प्राप्त गर्नेलाई पनि नमान्ने, राष्ट्र निर्माता पनि नमान्ने।  हुँदाहुँदा दशैं/तिहार, औंशी/पूर्णिमा जस्ता हिन्दु र बौद्ध, मष्ट, वोन आदि आफ्ना परम्पराका आस्थाका देवीदेवता र चाड पर्वको पनि विरोध गर्ने अनि पादरीसँग व्याप्टाइज्ड हुन थाप्लो थाप्न पुग्ने प्रवृत्तिसमेत देखिन थालेको छ हाम्रो कथित परिवर्तनको नाममा।  त्यसैले त राष्ट्र निर्माता र राष्ट्रिय एकीकरण दिवस नमानेर डिसेम्बर २५ लाई राष्ट्रिय चाडको पंक्तिमा राख्दै बिदासहित राष्ट्रिय दिवस घोषणा गर्ने धृष्टतासमेत भएको छ यहाँ। धन्य हो त्यस बुद्धिको जसले पृथ्वीनाराण मान्दैन, शिवरात्रि, बुद्ध पूर्णिमा, कृष्णाष्टमी र क्रिसमसलाई नेपाल जस्तो देशमा एकै पंक्तिमा राख्ने धृष्टता गर्छ! त्यसैगरी बालुवामा सुन भएका सपनाका कथाका काल्पनिक पात्र र हिमाल चढ्न नसकेर बाटैमा लडेर दिवंगत हुने महिला आदिलाई राष्ट्रिय विभूति मान्दै बुद्ध, सीता, जनक  र अमरसिं थापाकै पंक्तिमा राखेर माला र खादा चढाउन हिच्किचाहटसमेत हुँदैन, उल्टै इतिहास बनाएको गौरवको रूपमा लिइन्छ। के थाहा, ती जमातलाई एकदिन तिनकै सन्ततिले तिनका कर्मको खिल्ली उडाउनेछन् भनेर? राष्ट्र निर्माता र आदरणीय व्यक्तिका सालिक फोर्ने, हिन्दु र बौद्ध शास्त्रका पुस्तक डढाउने, मन्दिर, गोन्पा, धामी झाँक्रीका थान भत्काउने र तिनका पुजारी, प्रतिपालकलाई यातना दिने, मार्ने, दुःख दिने, हेप्ने आदि कुकर्ममा पनि हामी पूरै लागेका छौं।

यसो हुँदा पनि मानव सभ्यताको नाममा न स्थानीय परम्परा मान्नमा लाग्ने न अन्तर्राष्ट्रिय र संसारले मान्ने गरेका नागरिक सभ्यताका चालचलन नै सिक्न खोज्ने, एउटा मनपरी र अचम्मको अनिष्टकारी चलन नेपालमा हामीले थालेका छौं। ज्ञानविज्ञानको क्षेत्रमा, राज्य निर्माणको पवित्र क्षेत्रमा, सामाजिक मिलन र एकताको क्षेत्रमा गहन मानवीय साझा मार्ग छाडेर जात, वंश, क्षेत्र, भाषा जस्ता कुरालाई अधार बनाउने र भरसक आफ्ना धरोहर र परम्परा त्याग्ने तथा बेपर्वाह देखासिकी गर्ने र स्वसंस्कृति र राष्ट्रियताका मूल आधारशीला नै तोड्ने प्रवृत्ति हावी भएको अवस्था छ हाम्रो देशमा। त्यसैले अधिकतम विन्दुमा हामी हरिलठ्ठक सावित हुँदै छौं, हेपिँदैछौं। हामीले बिनाकसुर अबुझ मूर्खझैं हातमा आफ्नो देशको परिचयको प्रमाण, पासपोर्ट बोकेर घन्टौं कुर्नुपर्छ अरुले सरासर स्वागतसाथ यात्रा गरिरहेका बेला।  

सम्झौं, अब मानदेव, अंशुवर्मादेखि स्थिति मल्ल, महेन्› मल्ल हुँदै राम शाह, पृथ्वीनारायण आदि र तिनका काम र व्यक्तित्व आदि केही नमान्ने, जंगबहादुर जस्तालाई त बेलायती कार्ल मार्क्सकै नाति आफैं भएजस्तो गरी ‘वेलायती कुत्ता' नै भन्ने अनि भानुभक्त जस्ता निर्भिक र मेहनती कविलाई जातीय कवि भनेर किनारा लाउने, राजा महेन्›का नीति र कार्यलाई त झनै पूरै देश र जन›ोहीकै पंक्तिमा पुर्‍याउने भएपछि यो देशको इतिहासमा अरु कसैको विषयमा कुनै तर्कनै गर्नु किन पर्‍यो र? लाग्छ, हामीलाई हाम्रो राष्ट्रियता र देश निर्माणको इतिहास र देशभक्तिको छनक पनि चाहिएको छैन। लठ्ठक किसिमको स्वार्थी राजनीतिक शक्ति सञ्चय नै जीवनको दिग्विजयको भ्रमले छपक्क ढाकेको अवस्था छ। पठनपाठन धर्म/संस्कृतिका बाहक राष्ट्रले अघिअघि विद्यालय तथा शिक्षा केन्› नबनाएको अवस्थामा पनि आफ्ना भोटो दौराको तुनामा वा धोतीको फुर्का वा बख्खुले छोपेको खोकिलामा संस्कृत, स्थानीय र छोक्येमा लेखिएका श्लोक बाँधेरै आफ्नै बुताले भए पनि र मानवीय र शास्त्रीय ज्ञानको पठनपाठन परम्पराको बत्ती पहाड तराईका बाहुन र हिमालका लामाले निभ्न नदिन कटिबद्ध थिए।  तर अब त्यस सुकर्मलाई पनि स्वार्थी र जातीय भनेर दोषपूर्ण लाञ्छनामा मुछिएको अवस्था छ। 

विदेशी आक्रमणकारीलाई डटेरै परास्त गर्दै आफ्ना सभ्यता र धरोहर बचाउने खस ठकुरी, बाहुन/क्षत्री (आर्य होइन, यक्ष जाति) त पूरै राष्ट्र र जनविरोधी भन्ने मनपरी व्याख्यामा लतारिएको अत्यन्त दुःखद् अवस्थामा हामी पुगेका छौँ।  यसरी जसले यस राष्ट्र निर्माणका क्रममा र यस भेकको हिमालपारिदेखि तराईको सिमाना पार वोधगया, कुमाउँ–गढवालसम्म बौद्ध, हिन्दु, मस्टो, बोनका धामी झाँक्री आदि धर्म, संस्कृति, सभ्यताको वेधर्मी आक्रमणकारीसँग लडेर र विद्वत् मण्डली र जानकारहरूलाई टाढाटाढादेखि झिकाएर भए पनि संरक्षण/संबर्धन गरेको हो। त्यसको बदला अहिले उल्टै तिनको बदख्वाइँ र आलोचनाबाहेक समर्थनका टिप्पणी सुन्न नै नपाउने स्थिति सिर्जना भएको अवस्था छ। हामीलाई थाहा छ, हिमाल र पहाडदेखि सैन्य कार्बाही गर्दै तराई र सीमावर्ती जनसाधारण र शासक वर्गलाई धपाउँदै सीमापार पुर्‍याएको इतिहास पढ्न पाइएको छैन।  तर सीमापारिबाट भने बारबार आक्रमण तथा अतिक्रमण भएका र त्यस्तो अवस्थामा कि साहसिकताका साथ स्थानीय धर्म, संस्कृति, सभ्यताको संरक्षण र सम्वर्धनका निम्ति सफलतासाथ लडेका वा संघर्षमा कठिनाई भएको अवस्थामा त्यसतर्फका धर्म, संस्कृतिका बृहत्तर वैदिक र बौद्ध तथा अन्य धार्मिक/सांस्कृतिक साधकलाई सुरक्षा दिँदै फाद र उपत्यकामा छाती खोल्दै स्वागत गरेर बचाएर राखेका उदाहरणमात्र नेपाल फाद र हिमालको इतिहामा देखिएका छन्।

यो क्रम बुद्धकालदेखि पछि सोग्पो र मुसलमानी आक्रमण उत्तर पश्चिमतर्फबाट र दक्षिणतर्फबाट समेत हुँदा र भारतमा वेलायतको उपनिवेश फैलिएको अवस्थासम्म सबै अवस्थामा कायम देखिन्छ। कपिलवस्तुको पतनको बेला, लुम्विनी, कपिलवस्तु आदि बौद्ध सभ्याताका नेपाल तराईका इलाका जंगला मुलुकमा परिणत हुन लाग्दा, वोधगयादेखि हाम्रो तराईसम्म अतिक्रमण र लुटपाट हुँदा, तुग्लक र मुगलको आक्रमण हुँदा, अंग्रेजको  अतिक्रमण र आक्रमण हुँदा नेपाल पहाडतिरबाट खस नेतृत्वको सैन्यले सफलतासाथ प्रतिकार गरेका इतिहास कसैसामु छिप्न सक्दैन। यसरी कपिलवस्तु, मिथिला, तिरहुत आदि सबैमाथि दक्षिणबाट बेलाबेलामा आक्रमण हुँदा कि तराई र सीमापारका समेत सारा समधर्मी, चाहे हिन्दु होस् वा बौद्ध वा स्थानीय प्रकृतिवादी कि विधर्मीसंग लडेर कि थिचोमिचोमा परेकालाई राजनीतिक तथा सांस्कृतिक शरण दिँदै संरक्षण गरेका उदाहरणमात्र इतिहासमा भेटिने कुरा आजको अपव्याख्याको परम्परा हावी भएको घडीमा सबैले सम्झनुपर्ने भएको छ। 

हे भगवान! हे वज्र देवता! हे समग्र मस्ट र वोन देवता! यो देशको अस्तित्वसंँगै बचेको हाम्रो साझा धर्म, सभ्यता, संस्कृति र नेपालको राष्ट्रियता बचाउन हामी सारा नेपालीलाई थप सुबुद्धि र वर्गत देऊ!  हामीमा राष्ट्रभक्तीय राष्ट्रवादको अवशान कहिल्यै नहोस्!

प्रकाशित: ११ वैशाख २०७४ ०३:०७ सोमबार

अपहेलित राष्ट्रियता देशभक्ति