विचार

स्वस्थ मस्तिष्क स्वस्थ जीवन

मस्तिष्क मानव शरीरको सबै भन्दा महत्वपुर्ण अंग हो। मस्तिष्कद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा संचालन हुने गर्छ। मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही मस्तिष्क नै हो। मस्तिष्क मानिसको मेमोरी बैंक पनि हो। मेमोरी लगायत सम्पर्ण कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य संचालक पनि यही मस्तिष्क हो। त्यसैले मानव जीवनमा बे्रनको ठूलो महत्व छ।

तर मानिसले यत्ति महत्वपुर्ण अंगलाई कत्ति पनि ध्यान दिएको देखिदैन। अधिकांश मानिसले शरीरका लागि अति आवश्यक व्यायाम नै गरेको पाइदैन, शारीरिक व्यायाम गर्नेले पनि मानसिक व्यायाम गर्दैनन। त्यसैले पनि मानिसको स्वास्थ्य र दैनिक क्रियाकलापमा व्यबधान देखा पर्छ।

जीवनको आधार

स्वास्थ्य जीवनको आधार हो। स्वस्थ मनमस्तिष्क र निरोगी शरीरबिना मानिस दीर्घायु हुन सक्दैन। अतः स्वस्थ र दीर्घायू जीवनकालागि मानिसले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यको ख्याल राख्न अनिवार्य छ। तर अधिकांश मानिसले शरीरको सबै भन्दा महत्वूर्ण अंग, मस्तिष्कको उचित पालनपोषण र स्याहारसुसार गरेको देखिदैन। परिणामस्वरुप मानिसले अनेकौं स्वास्थ्य समस्याहरु बेर्होनुपर्छ।

मानिसको जीवनमा बे्रनको यही महत्वका कारण नै हिजोआज मस्तिष्क स्वास्थ्यको क्षेत्रमा थुप्रै न्युरोवैज्ञानिकहरु कार्यरत छन्। उनीहरु शरीरको सबै भन्दा महत्वपूर्ण अंग बे्रनलाई कसरी स्वस्थ, सुदृढ र क्रियाशिल बनाउन सकिन्छ भन्ने विषयमा जोडतोडका साथ अध्ययनअनुसंधानमा लागेका छन्।

सकारात्मक जीवनशैली

मानिसको जीवनमा स्वस्थ र सकारात्मक जीवनशैलीको ठूलो महत्व छ। त्यसैले स्वस्थ र दीर्घायु ब्रेनकालागि निम्नलिखित कुराहरूको महत्वपूर्ण भूमिका रहन्छः (१.) पौष्टिक आहार,  (२.) शारीरिक क्रियाकलाप, (३.) ब्रेनको उपयोग (४.) सक्रिय सामाजिक सहभागिता तथा (५.) आद्यात्मिकता।

पौष्टिक आहार

मस्तिष्कलाई फाइदा पुर्‍याउने आहार नै मस्तिष्क आहार हो। ग्लुकोज तथा अक्सिजन मस्तिष्क आहार हो। अन्न, फलफूल तथा हरियो सागपात मस्तिष्क आहार हो। मानिसको हरेक दिनको भोजन जति बढी रंगिन (थरिथरिका रंगयुक्त) हुन्छ, त्यत्ति नै मस्तिष्कलाई फाइदा गर्छ। जस्तो कि सेतो भात, पहेलो रोटी, हरियो तरकारी, रातो गाजार, सेतो मूला, हरियो कांक्रो, कलेजी प्याजको सलाद, विभिन्न रंगका फलफूलहरु आदि।

ओमेगा थ्री फ्याट्टि एसिड

ओमेगा थ्री फ्याट्टि एसिड मस्तिष्क तथा मुटुका लागि निकै उपयोगी हुन्छ। त्यसैले उनले हरेक हप्ता कम्तिमा पनि दुई पटक माछा, खासगरी,म्याकेरल, हेरिङ, सार्डिनेज, टुना तथा सालमन सेवन गर्नु उपयुक्त हुन्छ। त्यसो त बदाम(आलमन्ड), जैतूनको तेल तथा आलसको तेलमा पनि प्रशस्त मात्रामा ओमेगा थ्री फ्याट्टि एसिड पाइन्छ। यहाँ अर्को उल्लेखनीय कुरा के भने जुन आहार मुटुका लागि उपयुक्त हुन्छ, त्यो आहार मस्तिष्कका लागि पनि उपयुक्त हुन्छ। स्वस्थ र दीर्घायु मस्तिष्कका लागि रक्तसंचार प्रणाली स्वस्थ हुनु अनिवार्य छ। त्यो किनभने लगभग १४ सय ग्रामको मस्तिष्कलाई शरीरका लागि चाहने २५ प्रतिशत रगत, ग्लुकोज तथा अक्सिजन आवश्यक पर्छ।

मस्तिष्क र समाजिकता

स्वस्थ मस्तिष्क र समाजिक सक्रियताको गहिरो सम्बन्ध छ। स्वस्थ मस्तिष्कका लागि समाजिक सक्रियताको खा“चो हुन्छ। त्यो किनभने मानिसको मस्तिष्क समाजिक विशेषताको हुन्छ। वास्तवमा समाजिक सक्रियता तथा समाज सेवा जस्ता मानविय कुराहरु मस्तिष्कको खुराक हुन्। जुन मानिसले स्वास्थवर्द्धक दिनचर्याको पालना गर्दै समाजिक कार्यहरुमा तनमनधनले सक्रिय रहन्छ, त्यस्तो मानिस निश्चितरुपमा बुढेस्कालमा पनि स्वस्थ र सक्रिय जीवन जीउन सक्दछ। यो वैज्ञानिक कुरा हो। यदि कुनै मानिस समाजिकरुपमा निस्त्रि्कय र उदासिन छ भने या त उसको मस्तिष्कमा कुनै खोट छ या त ऊ कुनै न कुनै मनोवैज्ञानिक समस्याबाट ग्रस्त छ।

अवकाशपछिको जीवन

विदेशतिर त अवकाशपछि निठल्ल बस्ने मानिसहरु निकै न्यून हुन्छन्। तर नेपाल जस्तो देशहरुमा प्रायः मानिसहरू अवकाशपछि निठल्ल बस्ने गर्छन्। जीवनमा धेरै मेहनत गरियो, अब आरामका साथ जीवन काँट्ने हो भन्ने भावना राख्ने गर्दछन्। तर, बिना काम मानिसले जीवन काट्न थाल्यो भने मानिस छिट्टै रोगी हुन्छ, छिट्टै मर्छ। उखान नै छ, खाली मस्तिष्क, शैतानको घर। त्यसैले मानिसले आफ्नो जीवनभरि नै कुनै न कुनै काम गर्दै रहनुपर्छ। अन्तिम साससम्म क्रियाशिल रहनुपर्छ। हो, उमेर छिप्पिदै जाँदा मानिसले युवा कालमा जस्तो शारीरिक कार्यहरू त गर्न सक्दैन। तर बुढेस्कालमा पनि मानिसले गर्न सक्ने खालका थुप्रै कार्यहरू छन्।

बुढेसकालको काम

बुढेस्कालमा मानिसकालागि उपयुक्त काम समाजसेवा हो। यसको मतलव बुढेस्कालमा मात्र समाजसेवा गर्नु भनेको होइन, मानिस एक समाजिक प्राणी भएकाले सानैदेखि नै सामाजिक रूपमा सक्रिय रहनुपर्छ। मानिसले सामाजिक कार्यहरू गरेर एकातिर समाजको उत्थानमा टेवा पुर्‍याउन सक्दछ भने अर्कोतिर आफ्नो स्वास्थ्य ठीक राख्न सक्दछ। आफ्नो स्वास्थ्यको ख्याल राख्दै बुढेस्कालमा पनि सक्रिय सामाजिक जीवन जिउनेहरु नै धेरै बाँच्छन्, स्वस्थ जीवन जिउँछन्। सेवाका मेवा पाउँछन्।

मस्तिष्क पुनर्संरचना

मानिसको मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्यूरोप्ल्यास्टिसिटि भनिन्छ। मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ। मस्तिष्कको यस्तो पुनर्संरचनामा मनको सबै भन्दा ठूलो हात हुन्छ।

अर्को शब्दमा भन्ने हो भने मन नै मस्तिष्क पुनर्संरचनाको मुख्य औजार हो। त्यसैले बुढेस्कालमा पनि मानिसले आफ्नो मस्तिष्कलाई स्वस्थ र सुदृढ बनाउन सक्दछ। यसकारण बुढो कुकुरलाई नया टि्रक सिकाउन सकिदैन भन्ने उखान मानिसको मस्तिष्कको हकमा पूर्ण लागु हुदैन। बृद्धबृद्धाले यो कुरा बुझेर आफुलाई सधै समाजिकरुपमा सक्रिय पार्नुपर्छ। यसरी सधै सक्रिय जीवन जिउने हो भने मानिसको मस्तिष्क मात्र होइन कि सम्पूर्ण शरीर नै स्वस्थ र निरोगी हुन्छ। हरेक मानिसलाई चाहिएको पनि त यही हो।

(लेखक मनोविद् हुन्।)

प्रकाशित: १ वैशाख २०७४ ०३:०८ शुक्रबार

स्वस्थ मस्तिष्क स्वस्थ जीवन