विचार

प्रधामन्त्रीको कार्यभार

विपक्षीहरू बेलाबेला उठाइरहने एउटा चालु प्रश्न छ– यो मुलुक कसले चलाइरहेको छ?

सरकारको आलोचना गर्नुपर्‍यो कि विपक्षीले प्रश्न गरिहाल्छन्– कसले चलाइरहेको छ यो मुलुक? कहिलेकाहीँ अचम्म लाग्छ, मुलुक कसले चलाइरहेको छ विपक्षीलाई पनि थाहा छैन। मुलुक कसले चलाएको छ त्यही थाहा छैन भने विपक्षीले विरोधचाहिँ कसको गरिरहेको छ त? मुलुक कसले चलाएको हो थाहा छैन भने थाहा पाउनु विपक्षीको काम होइन? उसो भए विपक्षी बिनाथाहा नै विरोध गरिरहेको छ त?

प्रधानमन्त्रीको कार्यभार उहाँसँग भए पो दिएर जानु। उहाँ आफैसँग नभएको कार्यभार कसरी दिएर जानु?

बेला न कुबेला विपक्षीहरू यस्तो प्रश्न उठाइरहेका हुन्छन्। तर अस्ति साँच्चै उठाउनै पर्ने बेला भने पटक्कै उठाएको देखिएन। किनभने गएको पूरा एक हप्ता मुलुक कसले चलायो कसैलाई थाहा भएन। प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जानुभएको थियो। तर चीन जाँदा उहाँले आफ्नो कार्यभार कसैलाई छोडेर जानुभएन। कार्यभार पनि आफूसँगै लिएर जानुभयो। उहाँले कार्यभार नछाडेका कारणले देशमा कार्यबाहक प्रधानमन्त्रीसम्म पनि भएन। अब देशमा कार्यबाहक प्रधानमन्त्रीसम्म पनि छैन भनेपछि त्यो अवधिभर देश कसले चलायो त?

नेपाल साँच्चै अनौठो देश हो। देशमा कुनै कार्यबाहक व्यक्ति नराखीकनै प्रधानमन्त्री पूरा एक हप्ता विदेश बस्न सक्ने रहेछ। देश त पूरा एक हप्ता प्रधानमन्त्रीबिहिनै हुन पुग्यो। अझ त्योभन्दा पनि अनौठो कुरो त के हो भने यसरी प्रधानमन्त्री नै नभए पनि देश फेरि मजाले चल्दो पनि रहेछ। एक हप्तासम्म देशमा प्रधानमन्त्री नै छैन। तैपनि देश मजाले चलिरह्यो। कहीँ रोकिएन। प्रधानमन्त्री नभए पनि देश चलिरह्यो भनेपछि कसले चलायो त यो देश? यो गम्भीर प्रश्न हो। देशमा प्रधानमन्त्री नहुनु कुनै गम्भीर कुरा होइन। प्रधानमन्त्री नभए पनि देश चलिरहनु बरु गम्भीर कुरा हो। देश चलाउने त प्रधानमन्त्री हो। तर प्रधानमन्त्री नै नभए पनि देश चलिरह्यो भनेपछि कसले चलायो त यो देश? के यो गम्भीर कुरा होइन?

मैले यो गम्भीर प्रश्न मित्र भजगोविन्दलाई सोधेँ, 'भजगोविन्द, तिमी भन त। देशमा एक हप्तासम्म प्रधानमन्त्री छैन। न कार्यकारी छ, न कार्यबाहक छ। यस्तो अवस्थामा पनि देश चलिरह्यो। कसले चलायो होला?'

भजगोविन्दले आँखा चिम्म गरे। चिम्म आँखाले कुनै दिव्य उत्तर भेट्टाएझैँ उनले भने, 'देशमा तेत्तीस कोटी देवता छन्। चलाए होलान् तिनैमध्ये कुनै एकले। हामीलाई देवीदेवता चाहिने यस्तै बेला त हो नि। सबै प्रभुको कृपा हो। हरि ओम...'

भजगोविन्दको बन्द भएको आँखा फेरि खुलेन। उनी एकाएक ध्यान मै लीन भएजस्तो लाग्यो।

ज्ञानीहरू भन्ने गर्छन्, यो संसार चलाउने पनि कोही छ। तर त्यो देख्न सकिँदैन। अर्थात अगोचर छ। अब संसारै चलाउने त कोही छ भने यो जाबो तीलजत्रो देश चलाउने किन कोही नहोला? होला नि। नभए एक हप्ता कसरी चल्यो त हाम्रो देश? यो एक हप्ता देश चलेको अवस्थाबाट एउटा कुराचाहिँ प्रमाणित भएको छ कि वास्तवमा देश चलाउन प्रधानमन्त्री भन्ने मान्छे नहुँदा नि फरक नपर्ने रहेछ। अथवा भनौँ, देश चलाउन प्रधानमन्त्री चाहिन्छ नै भन्ने रहेनछ। प्रधानमन्त्री नभए पनि देश चल्न सक्छ। (अब देश चलाउन प्रधानमन्त्रीको आवश्यकतै छैन भने फेरि त्यही प्रधानमन्त्री बन्न नेताहरू किन माराकाटमा उत्रने होला?)

प्रश्न जटिल जस्तै लाग्यो। मैले प्रधानमन्त्रीका नजिक रहेका एक वरिष्ठ कमरेडसमक्ष जिज्ञासा राखेँ, 'कामरेड, के नेपालमा देश चलाउन प्रधानमन्त्रीको कुनै भूमिका हुँदैन?'

मेरो प्रश्नले उहाँ चकित हुनुभयो। र, चकिताराम हुँदै सोध्नुभयो, 'कसले भन्यो प्रधानमन्त्रीको भूमिका हुँदैन? देश त प्रधानमन्त्रीले नै चलाउने हो।'

'अनि किन त अस्ति प्रधानमन्त्री विदेश जाँदा उहाँले आफ्नो कार्यभार कसैलाई नदिइकन जानुभएको? देश चलाउन प्रधानमन्त्री चाहिने भए उहाँ त्यसरी कार्यभार नदिई विदेश जान मिल्छ?' मेरो सारपूर्ण प्रश्न थियो।

वरिष्ठ कमरेड रहस्यमयी ढंगले मुस्कुराउनुभयो। मैले आश्चर्य मानेर सोधेँ, 'किन मुस्कुराउनुभएको कामरेड?'

उहाँले भन्नुभयो, 'कार्यभारको कुराले मलाई मुस्कुराइदियो। म आफैँ मुस्कुराएको होइन भाइ। विचरा प्रधानमन्त्रीले कार्यभार कसरी दिनु? प्रधानमन्त्रीको कार्यभार उहाँसँग भए पो दिएर जानु। उहाँ आफैसँग नभएको कार्यभार कसरी दिएर जानु? हुँदै नभएको कार्यभार दिएर जाऊ त भन्न मिलेन। मिल्छ?'

कमरेडको मुस्कानमात्र होइन, उत्तर पनि रहस्यमयी लाग्यो। प्रधानमन्त्रीको कार्यभार त प्रधानमन्त्रीसँगै रहने हो। अब उहाँसँग कार्यभार छैन भने कहाँ राख्नुभयो त उहाँले आफ्नो कार्यभार? चोरी होला, हराउला भनेर कतै लुकाएर पो राख्नुभयो कि? अब लुकाएर राखेको भए पनि स्वीस बैंकमै लुकाएको त पक्कै होइन होला। कार्यभार भनेको कुनै अवैधरूपले कमाएको सम्पत्ति त होइन नि जसलाई स्विस बैंकमै लुकाउनु परोस्! बढी लुकाए घरमै होला। घरमा श्रीमतीलाई पो दिनुभयो कि सुरक्षित राख् भनेर? अब कहाँ राख्नुभयो त्यो उहाँलाई नै थाहा होला।

जहाँ राखेको भए पनि चीन भ्रमण जाँदा त साथै लानुभएको थियो। नेपालमा त कसैलाई पनि दिएर जानुभएको थिएन। त्यो कन्फर्म नै हो। एक हप्ताको भ्रमण हो। एक हप्ते भ्रमण सकाएर उहाँ फर्की पनि सक्नुभयो। अब फर्कँदा त कार्यभार पनि सँगै लिएर आउनुभयो होला। कि त्यो पनि उतै छाड्नुभयो? 

प्रकाशित: १८ चैत्र २०७३ ०४:२१ शुक्रबार

प्रधामन्त्रीको कार्यभार