विचार

के हामी संवेदनहीन होइनौँ?

मर्ने कोही मधेसी हुन्छ, कोही कञ्चनपुरे हुन्छ, किन मर्ने सबै नेपाली हुन् भनिँदैन? कहाँ चुक्यौँ हामी? हामी के सोच्दैछौँ? सप्तरीमा मर्नेहरू पनि नेपाली हुन् र कञ्चनपुरमा मर्ने पनि नेपाली नै हुन्? मेची महाकाली किन दुख्दैन हामीलाई? के हुँदै छ हामीलाई? त्यति मात्रै होइन, दिनहुँ सडक दुर्घटनामा मर्नेहरू पनि नेपाली हुन्। दशवर्षे हिंसात्मक द्वन्द्वमा मर्नेहरू पनि नेपाली नै हुन्। ती चाहे विद्रोही पक्षका होऊन् वा राज्य पक्षका, १७ हजार मानिस नेपाली नै हुन्। हाम्रो मानवीय संवेदनशीलता, मानवता, सद्भाव, प्रेम खै कहाँ छ? पीडामाथि मलम लगाउनु साटो किन नुनचुक छर्दै छौँ हामी? हामी कता जान खोज्दै छौँ? राष्ट्रका समस्यामा एकमुष्ठ एकता किन खोजिँदैन? हाम्रो मन, मस्तिष्क किन रोगी र कमजोर बन्दै छ? के हामीले आफूलाई संवेदनहीनतातर्फ लैजाँदै छैनौँ? के सन्देश दिन लागिरहका छौँ भावी पिँढीलाई? के भन्ला हामीलाई आउँदो पुस्ताले? कहिल्यै सोच्यौँ हामीले, आखिर हामी सबै नेपाली हौँ भनेर? किन हठ गर्दै छौँ हामी? किन द्वन्द्व बढाउँदै छौँ? किन निषेधको संस्कृतिलाई बढावा दिँदै छौँ? यसबारे अब हामी सबै घोत्लनुपर्छ कि पर्दैन?

भारतीय सुरक्षा अधिकारी नेपालको सीमा क्षेत्रमा प्रवेश गरी गोली हानी गोविन्द गौतमको हत्या गरेको घटना दुःखद र निन्दनीय छ। एउटा नेपाली नागरिक आफ्नै मातृभूमिमा विदेशी सुरक्षा अधिकारीको गोलीबाट सहिद बनेका छन्। यो घटना एउटा देशको सार्वभौमिकतामाथि आक्रमण हो भन्ने ठानी देश जुरुक्कै उठ्नुपर्ने होइन?

सप्तरीमा मर्ने नेपाली र कञ्चनपुरमा मर्ने नेपाली नेपाल आमाकै सपुत हुन्। ती अमर सहिद हुन्। दिनहुँजसो मारिएका नेपालीका विषयलाई राष्ट्रिय राजनीतिमा उचित चासो किन दिइँदैन? नेपालीको मृत्यु हुनु सबैको छलफलको गम्भीर विषय किन बन्दैन? एउटा नेपालीको मृत्युप्रति हामी नेपाली हौँ भन्नेहरू किन संवेदनहीन हुँदै छौँ? सबभन्दा पहिला हामी मानव त्यसपछि हामी 'नेपाली' हौँ भन्ने भावना किन आउँदैन हामीमा? यो विभेद, हठ, निषेधले हामीलाई कता डोर्‍याउँदै छ? अगाडि खाडल र पछाडि भीर भएको टाकुरामा किन पुग्दै छौँ हामी? हाम्रो आफ्नै सोच र व्यवहारले हामी आत्मघाततर्फ किन लाग्दै छौँ। 'अति सर्वत्र वज्रयेत' को मन्त्रलाई किन ख्याल गर्र्दैनौँ हामी? पश्चातापको आगोमा जल्ने क्रियाकलापमा किन उद्यत् हुँदै छौँ हामी? कुनै पनि प्रकारको अतिवादले अन्ततः हिंसा र हिंसाले प्रतिहिंसा जन्माउँछ भन्ने सार्वभौम सत्य किन बुझ्न सकिरहेका छैनौँ हामी?

सर्वप्रथम हामी नेपाली हौँ भन्ने भान, भावना, चेत कहिले र कसरी जागृत हुन्छ? यो कसले गर्ने हो? यो हाम्रो छलफलको विषय किन बन्न सकेको छैन? केले र कसले रोकेको छ हामी नेपाली हौँ, हाम्रो रगत नेपाली रगत हो भन्ने भावनाको विकास गर्न? के कहिल्यै सोच्यौँ हामीले यसलाई? यो विषय प्राथमिकता क्रमको एक नम्बरमा पर्छ कि पर्दैन? हाम्रा प्राथमिकता क्रम एक, दुई, तीन नम्बरका विषय व्यक्तिवादी, हठवादी, उग्रवादी, निषेधवादी, पैसावादी, हैकमवादी, गुन्डावादी, नातावादी र पक्षवादी हुँदै दलीयवादीसम्म मात्र किन सीमित बने? किन अझ सीमित बन्दै छन्? के यस्तो सोच र प्रवृत्तिले हामीले हाम्रो समाजलाई सुन्दर, शान्त र समृद्ध बनाउन सक्छौँ? सदासय र सद्भावयुक्त समाज निर्माण गर्न सक्छौँ? संक्रमणकालको अन्त गर्न सक्छौँ? राष्ट्रिय एकता अझ सुदृढ बनाउँदै मुलुकको सुन्दर भविष्यको रेखा कोर्न सक्छौँ? यो हाम्रो आवश्यकता हो कि होइन?

प्रहरी अर्थात् सुरक्षाकर्मीपीडित हुँदा किन खुसी हुन्छौँ? के यो सुरक्षा निकाय हाम्रो होइन? के ती नेपाली होइनन्? के ती नेपाली आमाका सन्तान होइनन्? ती कसका लागि अहोरात्र खटिरहेका छन्? कसको सेवा गरिरहेका छन् ती सुरक्षाकर्मीले? उनीहरूको पीडामा हामी किन रमाउँछौँ? के भएको छ हामीलाई? यो रोगको निदान हामीले खोज्नुपर्छ कि पर्दैन? सुरक्षाकर्मीले जनताको अपनत्व कसरी पाउने? यो प्रविधि र सोचको विकास गर्नुपर्छ कि पर्दैन? भीड व्यवस्थापनमा प्रहरीको व्यवस्थापनलाई कसरी नागरिकमैत्री बनाउने? यो विषय किन राष्ट्रिय एजेन्डामा पर्दैन? यसबारे गम्भीर छलफल, निष्कर्ष निकाली व्यवहारमा लागू गर्ने सोच किन बनाइँदैन?

भारतीय सुरक्षा अधिकारी नेपालको सीमा क्षेत्रमा प्रवेश गरी गोली हानी गोविन्द गौतमको हत्या गरेको घटना दुःखद र निन्दनीय छ। एउटा नेपाली नागरिक आफ्नै मातृभूमिमा विदेशी सुरक्षा अधिकारीको गोलीबाट सहिद बनेका छन्। यो घटना एउटा देशको सार्वभौमिकतामाथि आक्रमण हो भन्ने ठानी देश जुरुक्कै उठ्नुपर्ने होइन? सहिद गोविन्द गौतमलाई सलाम! कञ्चनपुरको त्यो घटना सम्झँदा यतिखेर स्वर्गीय जननायक विश्वेश्वरप्रसाद कोइरालाले सुन्दरीजल जेलमा लेख्नुभएको कृति जेल जर्नल र आत्मवृत्तान्तमा पढेका कुरा सम्भि्करहेको छु र सबैलाई त्यो कृति एकपटक पुनः दोहोर्‍याएर पढ्न पनि अपिल गर्छु। साथै, राष्ट्रियताको चुरो तराई मधेसका जनतामा छ भन्ने बिपी कोइरालाकै महावाणीलाई सम्झँदै सप्तरी घटनामा सहिद भएका पाँच सहिद सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्द साह, वीरेन्द्र महतो र इन्द्रदेव यादवलाई पनि सलाम गर्न चाहन्छु। उहाँहरूको सहादतले यसपालिको तराई मधेसको होली फिक्का भएको छ।

नेपाल र भारत सीमाका कतिपय स्थानमा पटकपटक विवाद भइरहेकै छ। नेपाली भूमि भारततर्फ हडप्ने भारतीय प्रयास भएका समाचार बेलाबेला आउँछन् र नेपालतर्फ पानी जमी बसोबासमा प्रतिकूल असर गर्ने योजना पनि विवादमा आइरहन्छन्। सीमा विवाद र एक देशले अर्को देशको भूमि र जनतालाई प्रभाव नपार्ने गरी कसरी स्थायी समाधान गर्ने भन्नेतर्फ किन सोच्न सकेका छैनौँ हामीले? दुवै देशका प्रतिनिधि बसी सहमतिमा राम्रोसँग सीमा छुट्याएर सीमास्तम्भ किन बनाउन सकिएको छैन? यो कमजोरी कसको हो? बेलाबेला बल्भि्करहने विवाद समाधानतर्फ हाम्रो ध्यान किन जाँदैन?

कञ्चनपुरको घटनामा मधेसकेन्द्रित दलका तर्फबाट पनि गम्भीर आवाजको अपेक्षा गरिएको छ। सप्तरी घटनामा पनि अन्य सबै दलले समस्या समाधानको पक्षमा ऐक्यबद्धता जनाई सहमति गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो भन्ने विषयतर्फ केन्द्रित हुन जरुरी छ। आपसी कटुता, द्वैष र विवादको समाधान नै छलफल हो, विधि हो। विधिको प्राधान्यतालाई सबैले स्वीकार गर्नुपर्छ। हो, विधिलाई उपयुक्त र पारदर्शी रूपमा उपयोग गर्ने परिपाटीको विकास समेत गर्नुपर्छ। कञ्चनपुरको घटनामा भारतीय प्रधानमन्त्रीले दुःख व्यक्त गर्नुभएको छ। छानबिन अघि बढेको छ भनिएको छ। नेपाल सरकारले कूटनीतिक नोट भारतलाई दिएको विषय आइसकेको छ। यसबारे दुवैतर्फबाट उच्चस्तरीय छानबिन गरी उचित क्षतिपूर्ति र आगामी दिनमा यी र यस्ता घटना नदोहोरिने गरी समाधान गर्नुपर्छ।

समय छँदै यी परिस्थितिका सम्बन्धमा हामीले ध्यान पुर्‍याउन सकेनौँ भने पुनः मुलुक अस्थिरता, द्वन्द्व, असहमति र असमझदारीतर्फ उन्मुख हुन सक्छ। लामो समयदेखि मुलुकका राजनीतिक दल आ–आफ्नै दलभित्रका समस्या र डम्फुमा अलमलिइरहेका देखिन्छन्। सप्तरीको दुःखद घटनाले सबैलाई चिन्तित बनाएको छ। डिजाइन, रहस्य जे जे भनिए पनि त्यो घटना राजनीतिक दल, नेता तथा कार्यकर्ताको अदूरदर्शिता, आक्रोश, हठ, निषेध र मुढताकै कारण भएको हो। असन्तुष्टि र विमतिलाई त टेबुलमा पो ल्याउनुपर्थ्यो। धमिलिएको वातावरणमा सुझबुझ प्रकारको पार्टीको अभियान हुनुपर्थ्यो। आफूले विगतमा अपनाएको प्रवृत्तिलाई एमालेले स्मरण गर्नुपर्थ्यो। प्रतिक्रिया आएका छन्– विगतमा संयुक्त मधेसी मोर्चाको इटहरीको मञ्च युथफोर्सले भत्काएका थिए रे। हठ र निषेध लोकतन्त्रको मूल्य, मान्यता र आदर्शविपरीत हुन्। सबै दलको आफ्नो गल्तीलाई आत्मस्वीकृति साथ आ–आफ्ना अतिवाद र कमजोरी त्यागेर समस्याको निकास खोज्न जरुरी छ।

हाम्रा कमजोरीका कारण धेरै नेपालीको रगत बगेको छ मुलुकमा। सहिदको रगतको कसम खानुपर्ने बेला आएको छ अब। सामाजिक सञ्जालमा प्रकट गरिएका आक्रोश, रोषभन्दा रचनात्मक रूपमा एक नेपाली जहाँको र जोसुकै मरे पनि अर्को नेपाली दुःखी हुनुपर्छ। सप्तरी, कञ्चनपुर, सडक दुर्घटनामा मर्नेहरू मात्र होइन, अपितु वैदेशिक रोजगारमा गएका युवाको दिनहुँजसो भित्रिने शवका सम्बन्धमा राष्ट्रिय चासो राखेर निदान खोज्न जरुरी छ। यो संवेदनशीलता नीति निर्मातामा हुनैपर्छ। अनाहक ज्यान जाने अवस्था अन्त्य गर्ने दायित्व राज्यको हो। राज्य यसमा उदासीन, निष्त्रि्कय बस्नु भनेको गैरजिम्मेवारी नै हो।

आफ्ना नागरिकको अनाहकमा वा अकारण हत्या, मृत्यु हुन्छ र त्यसमा हामी संवेदनशील बन्न सकेनौँ भने राजनीतिक दलको नेता, कार्यकर्ता, सदस्य रहनुको के अर्थ? हामी शिक्षित हौँ भन्नुको के महŒव? हामी नागरिक समाजका अगुवा, अधिकारकर्मी आदि हौँ भनी गुड्डी हाँक्नुको के औचित्य? मानिसको बिनाकारण हत्या र मृत्युमा राष्ट्रका सम्पूर्ण अंग जुरुक्कै उठ्नुपर्छ। हामीबीच सदियौँदेखि रहेको सामुदायिक सद्भाव, प्रेम, मित्रतालाई अझ प्रगाढ बनाउँदै अघि बढ्नुपरेको छ। मानवतावादले ओतप्रोत हुनुपरेको छ। अहिले हामीलाई शान्ति, स्थिरता, स्वतन्त्रता, सम्मान, पहिचान र समृद्धि चाहिएको छ। यो स्वतः प्राप्त हुने वस्तु होइन। हाम्रो सामूहिक र इमानदार प्रयासले मात्र हामी समृद्धितर्फ उन्मुख हुन सक्छौँ। तसर्थ, विनम्रतापूर्वक आग्रह छ– हामी संवेदनहीन होइनौँ र छैनौँ भन्ने पुष्टि गरौँ।

प्रकाशित: १० चैत्र २०७३ ०४:०२ बिहीबार

हामी संवेदनहीन होइनौँ