नेपाली समाज यतिबेला तीव्ररूपमा विकल्पको खोजीमा छ। विकल्पमाथिका बहस दिनानुदिन घनिभूत बन्दै गइरहेका छन्। राजनीतिक परिवर्तनको नेतृत्व गरेका दल र नेतामाथिको विकर्षण बाक्लिँदो छ। नयाँ राजनीतिक शक्तिको अभ्यास गरिरहेका केही शक्तिले पुरानोप्रतिको तीव्र विकर्षणलाई तीव्र आकर्षणमा रूपान्तरित गर्न सक्लान्? राजनीतिक परिवर्तनका लागि बनेका दल र त्यसमा आबद्ध नेताहरु भौतिक सभ्यता निर्माण अथवा समृद्धिको नेतृत्व गर्न सफल होलान्? अथवा पुराना राजनीतिक शक्तिहरूलाई नयाँ शक्तिद्वारा उक्त ऐतिहासिक आवश्यकता पूरा गर्न विस्थापित होलान्? व्यक्त/अव्यक्त जुनरूपमा भए पनि यो प्रश्न आजको नेपाली समाजमा उठिरहेको सार्वभौम प्रश्न हो। लोकतन्त्रको विकल्प राजतन्त्र कि अझ उन्नत लोकतन्त्र बन्ने बहसमा पनि समाज विभाजित भइरहेको छ। विकल्पको खोजीमा बाक्लिँदो बहस र यसको उत्कर्षले नेपाली समाजलाई कता लैजाला? २०६२/०६३ भन्दा पछाडितिर कि अझ उन्नत लोकतन्त्रतिर?
अब हामीले हाम्रो जीवनको सबै ऊर्जा पुरानोका विरुद्ध लड्न खर्चिने कि नयाँ बनाउन? यहीँनेर वैकल्पिक राजनीतिको दशा र दिशा अन्तरनिहित छ।
वास्तवमा विकल्प अपनाउने क्षमता देखाउन सक्ने हो भने संसारमा केही कुरा पनि पुराना हुँदैनन्। यसरी नै विकल्प अपनाउन नसक्ने हो भने नयाँ भन्नेहरु पनि पुरानाभन्दा पनि पुराना हुन्छन्। जस्तो आजका युवाका कुरा गरौं। दलका भातृसंगठनमा लागेका कैयौं युवा हप्तादेखि चन्दासम्म उठाउने काममा सक्रिय देखिन्छन्। उनीहरूको जीवनशैली कसैगरी पनि रचनात्मक र प्रगतिशील देखिँदैनन्। माउ पार्टीका आदेशपालक जस्ता लाग्ने उनीहरु आफ्नो मस्तिष्कको प्रयोग कहिल्यै गर्दैनन्। उनीहरू अनुशासित होइनन्, आदेशपालकको भूमिकामा देखिन्छन्। आफ्नै पार्टीका गलतका विरुद्ध विद्रोह बोल्न हिच्किचाउँछन्। यसरी हेर्दा लाग्छ, उनीहरु गद्धेपच्चीसकै उमेरमा चरित्रका हिसाबले चाउरिइसकेका छन्, कुप्रिसकेका छन्। त्यसो त, बुढेसकालमा पनि प्रगतिशील र क्रियाशील जीवन जिउने 'युवा'हरू हामीले दैनिक जीवनमा प्रशस्तै भेट्न सक्छौं। यी उदाहरण हेर्दा भन्न सकिन्छ, जसरी उमेरले युवा हुँदैमा मानिस युवा हुँदैन, त्यसैगरी नयाँ भनेरमात्रै नयाँ बन्न सकिँदैन। नयाँ त त्यसले ग्रहण र अनुकूलन गरेको चरित्रमा प्रतिविम्बित हुनुपर्छ।
केही समयअगाडि ऊर्जाशील युवाहरुको पहलुमा विवेकशील नेपाली पार्टी नामक नयाँ राजनीतिक शक्ति जन्मियो। पार्टीभित्रको जीवन्त लोकतन्त्रको अभ्यास, पारदर्शिता, सुशासन, गतिशीलताजस्ता पक्षमा विवेकशील असाध्यै अगाडि देखियो। राजनीतिक दल यति साह्रो व्यवस्थित र पारदर्शीरूपमा पाउनु वास्तवमै नयाँ नै कुरा हो। तर राजनीतिक आह्वान अथवा पोलिटिकल अपिलको कोणबाट यो पार्टी अगाडि आउन सकेन। केवल कुनै प्रभावकारी गैसस अथवा समूहले उठाउने सामान्य सामाजिक आन्दोलनको तहभित्रै उक्त दलले अहिलेसम्म संघर्ष गरिरहेको छ।
नयाँ शक्ति पार्टी, नेपाल विवेकशीलमा खड्किएको राजनीति आह्वान (पोलिटिकल अपिल) को सवालमा बलियो देखियो। तर उक्त पार्टी पनि आन्तरिक लोकतन्त्र, पार्टी सञ्चालन प्रक्रिया, पारदर्शिता, नेतृत्व विकासलगायतका सवालमा पुरानाभन्दा खासै नयाँ देखिन सकिरहेको छैन। भनिन्छ, पुरानै गतिमा हिँडेर नयाँ गन्तव्यमा पुग्न सकिन्न। नयाँ गन्तव्यका लागि कि नयाँ दिशा चाहिन्छ कि नयाँ गति। अर्थशास्त्री जेएम किन्सको विचार सापटी लिने हो नयाँ विचारको विकास गर्नु जति सजिलो छ त्यो भन्दा पुरानो विचारबाट मुक्त हुन कठिन हुन्छ। नयाँ शक्तिका लागि यही निर्दीक्षा (अनलर्निङ) सबैभन्दा चुनौतीपूर्ण कुरा बनिरहेको छ। विभिन्न पृष्ठभूमिबाट जम्मा भएका पात्र र प्रवृत्तिहरूले आफ्नो राजनीतिक, सामाजिक र सांस्कृतिक अभियानका क्रममा सिकेका शिक्षा, संस्कार, शैली मस्तिष्कबाटै हटाउने कुरा कठिन हुन्छ भन्ने कुरा उनीहरूको जीवनमा लागु भइरहेको छ। आफ्नै विगतलाई अस्वीकार गर्ने आँट नयाँ शक्तिभित्रका केही नेतृत्वमा आजको दिनसम्म देखिएको छैन।
अब हामीले हाम्रो जीवनको सबै ऊर्जा पुरानोका विरुद्ध लड्न खर्चिने कि नयाँ बनाउन? यहीँनेर वैकल्पिक राजनीतिको दशा र दिशा अन्तरनिहित छ। यही क्रममा केही साताअगाडि चर्चित पत्रकार रवीन्द्र मिश्र पनि दुई दशक लामो जागिर छाडेर राजनीतिमा होमिएका छन्। उनले विवेकशील र नयाँ शक्तिले पूरा गर्न नसकेका भूमिका पूरा गर्ने गरी राजनीतिक दल निर्माणका लागि भूमिका खेल्न सक्लान्? अथवा त्योभन्दा पनि फितलो भूमिकामा राजनीतिक रंगमञ्चमा बिलाएर जालान्? त्यो पनि भविष्यकै जिम्मामा छोड्नुपर्ला। यद्यपि यी र यस्ता गतिविधिले नेपाली राजनीतिमा विकल्प खोजीको घनत्व बुझ्न सघाउँछन्।
नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भएको भनिए पनि देशको खास राजनीतिक, आर्थिक र सामाजिक स्वभाव फेरिएनन्। आर्थिक र सामाजिक सत्ताले नै राजनीतिक सत्ता चलाइरहने अवस्थामा भोको पेटले हालेको मतको खासै अर्थ देखिएन। राजनीतिक परिवर्तन भनेको अमूक नेताहरूको मात्रै सवाल नभएर कार्यकर्ता र नागरिक तहसम्मको राजनीतिक चरित्र र स्वभाव परिवर्तनको प्रश्न हो। यो समृद्धि सपनाको व्यावहारिक रूपान्तरणसँग जोडिएको प्रश्न हो।
पुराना दलहरूको अभ्यासबाट वाक्कदिक्क नागरिकले राजनीति गर्ने तरिकाको परिवर्तन खोजिरहेका छन्। नयाँ फ्लेबर खोजिरहेका छन्। यो वैकल्पिक राजनीतिभन्दा बढी राजनीतिक विकल्प हो। यसको अर्थ विद्यमान राजनीतिक दलहरूमा सामान्य सुधारभन्दा पूरै राजनीतिक चरित्र र स्वभावमैं परिवर्तन गरी नयाँ दलबाट विकल्पको खोजी गरिनु हो। सिद्धान्त, विचार, नीति, विधि, प्रक्रिया, पद्धति, योजना, कार्यक्रम, पार्टी संरचना, ढाँचा, कार्यशैली, संस्कार, संस्कृति, सौन्दर्यजस्ता राजनीतिका समग्र आयाममा नयाँपन नदिइकन राजनीतिक विकल्प दिने कुरा त्यति सजिलो हुने छैन। यसमा यी नयाँ दलले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
पुराना दलले कम्तीमा ४ दशकभन्दा बढी समय लगाएर बनाएको वडादेखि टोलटोलसम्म फैलिएको संरचनात्मक सञ्जाल तोड्नु नयाँ शक्तिका लागि शक्तिशाली प्रतिकूलता हुन सक्छ। निर्वाचन जित्न पैसा खर्च गर्ने र निर्वाचन जितेपछि त्यही रकम उठाउन भ्रष्टाचार गर्ने दुश्चक्रबाट आफूलाई बचाउँदै नयाँ राजनीतिक शक्तिका रूपमा स्थापित हुनुपर्ने चुनौती त छँदैछ, यी अप्ठेराको कुरा गर्दैगर्दा नयाँ शक्तिका लागि प्रशस्तै अनुकूलता पनि उपलब्ध छन्। राष्ट्रियरूपमा भन्दा पुराना शक्तिहरूको अदूरदर्शिता, असफलता र अक्षमतासँगै बाक्लिँदो अविश्वास नयाँ शक्तिका लागि पहिलो प्रतिकूलता हो। सामाजिक विकासको नयाँ चरण र नयाँ आवश्यकतासँगै वस्तुगतरूपले छिप्पिँदो नयाँ सन्दर्भ र पुरानो नेतृत्वको अन्तरविरोध पनि नयाँ शक्तिका लागि सजिला सम्भावना हुन सक्लान्। किनकि नेता भनेका समाजका अग्रचेतना हुनुपर्छ तर राजनीतिक परिवर्तनको नेतृत्व गरेर आएका हाम्रा नेतृत्वमा इतिहासको ब्याज खाने गुण काफी देखिए पनि मुलुकलाई अगाडि बढाउने दूरदर्शिता देखिएन। यो पुस्तान्तरणको पनि समस्या हुनसक्छ। भिडले जे भन्दा ताली बज्छ, त्यहीअनुसार बोल्ने 'चेयर लिडर' हरूप्रति नयाँ पुस्ताको त्यति साह्रो रुचि देखिँदैन। एउटा निर्वाचन हारे पनि अजेन्डा नछाड्ने राजनेताको तीव्र खोजीमा पुराना दलबाट त्यति सम्भावना बोकेका पात्र अहिलेसम्म देखिन सकेका छैनन्।
नेपाली समाजभित्र वर्षौंदेखि जकडिएर रहेका उत्पीडनका रेखा मेट्दै नयाँ राष्ट्रिय एकताको गोरेटोमा डोहोर्याउन सक्ने पार्टी र नेतृत्वको खोजी पनि नयाँ पुस्ताले गरिरहेका छन्। बहुजाति, बहुधर्म, बहुभाष र बहुसंस्कृतिको इन्द्रधनुषी विविधता विद्यमान हाम्रो देशको मौलिक सन्दर्भमा यसको समुचित व्यवस्थापन गर्न सक्ने नेतृत्वको खोजी पनि भइरहेको छ। युरोपमा औद्योगिक क्रान्तिपछि मजदुर र मालिकको संघर्ष व्यवस्थापन गर्न कार्ल मार्क्सले कम्युनिस्ट पार्टीको घोषणापत्र लेखिरहँदा नेपालमा भानुभक्तले संस्कृतबाट नेपालीमा रामायण उल्था गरिरहेका थिए। हाम्रो राजनीति, सामाजिक, सांस्कृतिक र आर्थिक विकासको आफ्नै रफ्तार छ। यसैगरी भारत र चीनको बीचमा रहेको हाम्रो रणनीतिक अवस्थिति आफैंँमा अवसर र चुनौती दुवै हो।
यही र यस्तै सन्दर्भका बीचमा हामी नेपाली समाजको रूपान्तरणलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्ने अर्जुनदृष्टिका साथ अगाडि बढिरहेका छौं। यो यस्तो भयंकर अप्ठेरो अवस्था हो कि एकताको परम्परागत सन्दर्भ र भाष्य जुन तीव्रतामा भत्किँदै गएको छ, त्यही रफ्तारमा नयाँ सन्दर्भ र भाष्यको विकास र सर्वस्वीकार्यतामा अपेक्षित सफलता हासिल भइरहेको छैन। यो संक्रमणलाई सही दिशामा डोहोर्याउन समाजले नयाँ राजनेता जन्माउनै पर्छ। यी सबै नयाँ वैकल्पिक राजनीतिक अनुयायीका लागि उपलब्ध अनुकूलता हुन्।
अन्तर्राष्ट्रिय सन्दर्भ कोट्याउँदा पुरानो राजनीतिक व्यवस्था तीव्र संकटमा परिरहेको देख्न सकिन्छ। ब्रेक्जिटपछि अमेरिकामा डोनाल्ड ट्रम्पको विजय हुँदै फ्रान्समा दक्षिणपन्थीहरूको सम्भावित विजयलाई मध्यनजर गर्दा हामीले विश्व राजनीतिमा विकास हुँदै गइरहेको नयाँ दृश्य देख्न सक्छौं। आज भूमण्डलीकरणका जन्मदाता नै यसबाट सबैभन्दा बढी आतंकित देखिन्छन्। विश्वव्यापीरूपमा वातावरणीय संकट, प्रणालीको संकट र समानुभूति संकटले चरम रूप लिइरहेको छ। पुँजीवादले बिगारेको वितरण र समाजवादीले बिगारेका प्रक्रियाको विकल्पमा 'न दक्षिणपन्थ, न वामपन्थ, बरु अग्रपन्थ' बहसले आकार लिइरहेको छ।
यसैसाता बेलायतका पूर्वप्रधानमन्त्री तथा लेबर पार्टीका पूर्वनेता टोनी ब्लेयरले न्युयोर्क टाइम्समार्फत 'प्रोग्रेसिभ सेन्टर' अथवा प्रगतिशील केन्द्रको बहस अगाडि सारेका छन्। यसको अर्थ अहिले विश्वमै राजनीतिले नयाँ आकार ग्रहण गरिरहेको छ।
यिनै अनुकूलता र प्रतिकूलताको बीचमा नेपालमा पनि वैकल्पिक राजनीतिको बहस अगाडि बढिरहेको छ। जोहान वोल्फग्याङ वन गोथे भन्छन्, 'नयाँ सत्य उद्घाटनका लागि पुराना गल्तीहरूको पुनरावृत्तिभन्दा खतरनाक केही हुँदैन।' यहाँनेर भन्न सकिन्छ, नयाँ दललाई नयाँ गल्ती गर्ने छुट छ तर पुराना गल्ती दोहोर्याउने छुट छैन। दलका नेता र कार्यकर्ताको भीडमा फरक कार्यशैली र भूमिकासाथ नागरिकले सजिलै चिन्न सक्ने, भेट्न सक्ने, भलाकुसारी गर्न सक्ने र सपना देखाउँदै नेतृत्व गर्न सक्ने नेता र कार्यकर्ता जसले जन्माउन, हुर्काउन र काममा लगाउन सक्छ, त्यही पार्टीको भविष्य उज्यालो छ। प्रतिस्पर्धाको नियम हरेक खेलाडीले पछ्याउनुपर्छ।
प्रकाशित: ३ चैत्र २०७३ ०४:५० बिहीबार