विचार

एनआरएनको बाटो

सन् २००३ देखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को अभियान सफलतापूर्वक अघि बढिरहेको छ। देशभन्दा बाहिर रहेर देशका लागि केही गर्ने सोचका साथ अभियानकै रुपमा थालिएको गैरआवासीय नेपाली संघले संस्थागत स्वरुप ग्रहण गरिरहँदा यसका चुनौतीहरु पनि बढ्दै गएका छन्। यसबीचमा एनआरएनएले हासिल गरेका उपलब्धि र निर्माण गरेको विशाल सञ्जालका बाबजुद यो संस्था कताकता हराइरहे जस्तो र नयाँ उद्देश्य निर्माणमा केन्›ित नभएजस्तो देखिएको छ। हेर्दाहेर्दै यस अभियान ७५ देशमा विस्तार भइसकेको छ। यसको विशाल फैलावटसँगै चुनौती पनि बढेका छन् र व्यवस्थित सञ्चालन कार्यविधिको अभाव महसुस हुन थालेको छ। यस चुनौतीलाई सामना गर्न आवश्यक योजना निर्माण गर्न ढिला भइसकेको छ।

आफ्नो विचार, कार्ययोजना र दूरदृष्टिलाई अगाडि सार्खै त्यसमा केन्द्रित बहस अगाडि बढाएको देखिँदैन। आफूले भनेको मान्ने, राजनीतिक विचारका आधारमा समूह निर्माण गररे, पैसा खर्च गरेर नेतृत्वमा पुग्ने बाटोमै देखिन्छन्।

गैरआवासीय नेपाली संघ सन् २०१२ मा नेपाल सरकारको नियमबमोजिम विधिवत् दर्ता भएको संस्था हो। अहिले संस्था विधिवत दर्ता मात्र भएको छैन, संघलाई आफ्नो महŒवपूर्ण साझेदारका रुपमा स्वीकार गरिसकेको छ। दर्ताका क्रममा नेपाल सरकारका तर्फबाट एनआरएनएको सदस्यताका लागि पूरा गर्नुपर्ने प्रावधानका कारण विदेशमा अध्ययन गरिरहेका र काम गरिरहेका महŒवपूर्ण युवा हिस्सा छुटेका छन्। सन् २०१२ पछि चार वर्षको समय व्यतित भइसक्दासमेत यो मुद्दालाई सम्बोधन गर्ने कुनै ठोस कार्यनीति आएको छैन। यस्तै देशबाहिर रहने नेपाली मूलका हामीहरुको निरन्तरको दोहोरो नागरिकता कायम रहनुपर्छ भन्ने मागलाई सम्बोधन गर्दै नयाँ बनेको संविधानमा नेपालका सबै राजनीतिक दलहरुले राजनीतिक अधिकार बाहेकको विशेष नागरिकताको प्रावधानलाई स्वीकृत गरेका छन्। 

गतवर्षको विनाशकारी भूकम्पका बेला देशबाहिरका नेपालीहरुको देश र देशबासीप्रतिको माया, सहयोग र तत्परताको जति नै प्रशंसा गर्दा पनि कम नै हुन्छ। तत्कालैको उद्धार, त्यसपछिको राहत मात्र होइन अहिले पुनर्निर्माणसम्म पनि निरन्तर खटिएर पीडितहरूको घाउमा मल्हम लगाउने प्रयासलाई राज्यका तर्फबाट र नागरिक तहमा पनि उच्च मूल्यांकन गरिएको छ। यसैलाई एनआरएनले सञ्चालन गर्न लागेको हजार घर निर्माणको योजनालाई सरकारी तवरमा दिइएको प्राथमिकताले स्पष्ट गर्छ। तथापि यो एनआरएनको मुख्य योजना नभई परोपकारी भावनाअनुसार स्वतस्फुर्त गरिएको सहयोग हो। तर अहिलेसम्मको अनुभवले यस किसिमका अप्ठेरो परिस्थितिमा एनआरएनएले गर्ने कार्यका लागि संस्थागत रुपमा नै क्षमता अभिमुखीकरणमा हामी लाग्नु पर्छ भन्ने सन्देश पनि दिएको छ। यस संस्थाले आफ्नो सञ्जालअनुसार, यसले पाएको प्रशंसा र गर्दै आएको गफअनुसार आफ्नो ‘फन्ड रेजिङ’लाई प्रभावकारी बनाउन नसकेको कुरालाई मनन् गदै आउँदा दिनमा यस्तो परिस्थितिमा कसरी प्रभावकारी तरिकाले काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न आवश्यक छ। उदाहरणका निम्ति भूकम्पको बेला एनआरएनए अस्ट्रेलियाले अर्थिक संकलन अभियान सञ्चालन गरेको थियो र झण्डै १० करोड रुपैयाँ संकलन गर्न सफल भयौं। करिब २८ प्रतिशत पुनर्निर्माणको योगदान अस्ट्रेलियाबाट मात्रै भएको छ। यसले बाँकी ७४ देशमा रहेको हाम्रो सञ्जालको प्रभावकारिता, विश्वसनीयतामा कतै प्रश्न त उठेको छैन? विचारणीय छ।  साथै सहयोग राशि संकलन भइसकेपछिको अवस्थामा अपनाउन नसकिएको पारदर्शिता र जवाफदेहीले यो मुद्दा अझ बढी पेचिलो बनेको छ।

एनआरएनएले अन्तर्राष्ट्रिय र राष्ट्रिय तहमा आफ्नै किसिमले विभिन्न परोपकारी पररयोजना सञ्चालन गरिरहेको छ। वृद्धाश्रम निर्माण, स्वास्थ्य शिविर, विद्यालय निर्माणसम्बन्धी परियोजनलगायत अन्य परोपकारी परियोजना पनि एनआरएनएले गर्दैआएको छ। साथै, आपतबिपतको समयमा पनि एनआरएनएले सहयोग गर्दैआएको छ तर समन्वयको अभाव, प्रोत्साहनको कमी र अन्तर्राष्ट्रिय समन्वय परिषद्को गम्भीरताको अभावका कारण यसले गर्नसक्ने जति परोपकारी कार्य हुन सकेको छैन।

एनआरएनएको विशाल सञ्जाल र यसमा संलग्नलाई नेपालमा दिइएको महŒव, चासो, यसले पाएको सद्भावअनुरुप हामीले संस्थागत विकास गर्न सकेका छैनौं। एनआरएनए आइसिसीको जग र बल भनेको नै एनआरएनए एनसिसीको नेटवर्क हो। तर, एनसीसीको यो नेटवर्कलाई काम गराउने निश्चित इकाईका रुपमा मात्र नहेरी नीति निर्माण तहमा समेत महŒवपूर्ण योगदान दिने अवसर आजको आवश्यकता हो। संस्थाको दूरगामी भविष्यलाई निर्धारण गर्ने योजना ल्याउँदा, नीतिगत निर्णय गर्दा राष्ट्रिय समन्वय परिषद्को संलग्नता नहुनु दुःखद् कुरा हो। यसमा देखिएका कमजोरीलाई हामीले समयमै समाधान गर्नतर्फ अग्रसर हुन ढिला भइसकेको छ।

यस संस्थाले पहिलो चरणको उपलब्धिहरु जस्तो संस्थागत दर्ता, विशेष किसिमको नागरिकता, सञ्जालको विस्तारपश्चात् समय, संस्थाको विस्तार, उपलब्धिअनुसारको यसका कार्यनीति र भविष्यका ठोस योजनाहरु ल्याउन सकिएको छैन। परोपकारी कार्य, आपतविपतमा सहयोग त विदेशमा रहेका अन्य संघसंस्थाले पनि गर्दै आएका छन्।

अर्कोतर्फ, स्थापनाकालदेखि नै एनआरएनएको नेतृत्व व्यक्तिकेन्द्रित देखिन्छ। सुरुका दिनमा यसका नेतृत्वकर्ता व्यक्तिगत रुपमा सफल र ठूलो हिस्सालाई प्रभावित गर्ने क्षमताका थिए। व्यापक सञ्जाल निर्माण हुनुको कारण पनि त्यही थियो। यसले त्यतिबेला सकारात्मक नतिजा ल्याए पनि पछिल्ला दिनमा भने संस्थालाई नकारात्मक असर गरेको देखिन्छ। संस्थाको आकार, परिचालन र सञ्जाल तथा गतिविधि बढेसँगै सामूहिक नेतृत्व र निर्णय प्रक्रियाको संस्कार विकास गर्न संस्था पछि परेको छ।

 यसैगरी एनआरएनएको नेतृत्व सर्वसम्मतिका आधारमा छानिन्थ्यो। त्यसो हुँदा संस्थामार्फत् नेपालमा साँच्चै योगदान गर्न चाहने मानिसको सहभागिता हुन्थ्यो। पछिल्ला केही विश्व सम्मेलनको चुनावी माहोल देखेर नै होला त्यतिखेर अघि बुद्धिजीवीहरु पछि हटेका छन्। पैसामुखी निर्वाचनको वातावरणका कारण एनआरएनएमा प्रबुद्ध वर्गको पहुँचबाट टाढा राख्ने काम हुँदैछ। पछिल्ला चुनावले पनि समूहमा चुनाव जित्नुछ भने पैसा र राजनीतिक प्रभाव भए हुन्छ, अनुभव, क्षमता र कार्ययोजनाको आवश्यकता पर्दैन भन्ने कुरालाई नै प्रमाणित गर्ने काम भइरहेको छ। सम्मेलनमा विश्वभरिका सदस्यको समेत सहभागिता सुनिश्चित गर्दै तिनैले प्रत्यक्ष विचार र भविष्यको योजना र अघि सारेका एजेन्डाका आधारमा नेतृत्वको चयन गर्ने अवसर सिर्जना गर्नु पर्छ। प्रविधि र पद्धतिको विकासबाट यो सम्भव पनि छ।

एनआरएनएको चुनावका बेलामा नेपालका राजनीतिक पार्टीहरूको समेत संलग्नता हुन थालेपछि डायस्पोरा नै पार्टीगत गुट र संगठनमा अझ बढी विभाजित हुने अवस्था सिर्जना भएको छ। यो ज्यादै दुःखको कुरा हो। यस्तो अवस्था किन भित्रियो र भिœयाइयो र यसलाई रोक्न के गर्न सकिन्छ भन्ने विषयमा कुनै सुधारका एजेन्डा देखिदैन।

यस्तै एनआरएनए आइसिसी र एनसिसीसँग उचित समन्वय गर्ने संस्कार र पद्धतिको विकास गर्न सकिएको छैन। आइसिसीले एनसिसीलाई उपयुक्त योजना, कार्यक्षेत्र, अभिभावकत्व प्रदान गर्न नसकेका कारण एनसीसीले स्थानीय सामुदायिक गतिविधिमा मात्रै सक्रिय छन्। यसले गर्दा अरु संघसंस्थाले एनसिसीलाई प्रतिस्पर्धी देख्न थालेको छ। जुन उचित होइन।

यहाँ उल्लेख गरिएका बुँदाहरु र चुनौतीबाहेक पनि अन्य धेरै कुरा छन्, जसलाई हामीले छलफलमा ल्याउनु छ। अब आउने विश्व सम्मेलनमा हुने चुनावका लागि नेतृत्वमा बसेर काम गर्न चाहनेले आफ्नो चुनावी अभियान सुरु गरिसकेको देखिन्छ। आफ्नो विचार, कार्ययोजना र दूरदृष्टिलाई अगाडि सारेको र त्यसमा केन्द्रित बहस अगाडि बढाएको देखिँदैन। धेरैजसो साथीहरु फेरि पनि आफूले भनेको मान्ने समूह बनाउँदै, राजनीतिक विचारका आधारमा समूह निर्माण गररे, पैसा खर्च गरेर नेतृत्वमा पुग्ने बाटोमै देखिन्छन्। एनआरएनएका चुनौती र यसका दीर्घकालीन नीतिबारे छलफल अघि बढाउँदै आउँदा दिनमा संस्थालाई अझ बढी मजबुत बनाउन चाहिने नीतिनिर्माण, कार्ययोजनाको तयारीसहित चुनावी अभियानलाई अघि बढाउने संस्कारको सुरुवात गरे आगामी दिनमा संस्थागत सुधार हुँदै जाने पक्का छ। अन्यथा संस्थाको निरन्तरको अधोगति रोकिने छैन।

पूर्व अध्यक्ष, गैरआवासीय नेपाली संघ अस्ट्रेलिया

प्रकाशित: ४ फाल्गुन २०७३ ०५:३३ बुधबार

एनआरएनको बाटो