विचार

अमेरिकाको ग्रामीण समाज

अमेरिका जस्तो महाआधुनिक मुलुक पनि ग्रामीण समस्या ग्रसित रहेछ। यो कुरा दि न्युयोर्क टाइम्स इन्टरनेसनल एडिसनको जनवरी ६, २०१७ को अंकमा प्रकाशित रिपोर्टबाट थाहा हुन्छ। यो रिपोर्ट रोवर्ट लियोनार्डबाट लेखिएको छ। उनले यो रिपोर्टमा हालै राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प किन विजयी भए भन्ने प्रसंगलाई लिएर अमेरिकी ग्रामीण समाजको यसमा के भूमिका रह्योे भन्नेबारे छलफल गरेका छन्।

सामान्यतः हामी ग्रामीण भेगको स्थिति, भूमिका वा समस्याका कुरा गर्दा विश्वका आधा जनसंख्या ओगटेको एसियाली मुलुक सम्झन्छौं। यस्ता मुलुक अविकसित रहनुको एउटा कारण ती मुलुक अधिकांश ग्रामीण सामाजिक परिवेशमा बाँचेका तथा त्यसबाट उत्पन्न विविध समस्याले सिर्जना गरेको जटिलतामा पर्नु हो भन्ने गर्छांै। सो केही हदसम्म सत्य पनि हो। एसियाली सञ्चारविद्हरुले त यस्तो मुलुक विकसित गराउने हो भने विकास सञ्चारको सिध्दान्त तथा प्रयोग अघि सार्नुपर्छसमेत भने।

ग्रामीण अमेरिकी नागरिक आफू उपेक्षित भएको महसुस गर्छन्। कारण– शहरी क्षेत्रमा मात्र बढी आधारशीला निर्माण तथा सेवा प्रदानका लागि लगानी केन्द्रित भए।

तर अमेरिका जस्तो अति औद्योगिकीकृत मुलुक पनि ग्रामीण समस्याले समाजमा विकृति ल्याउने तथा राजनीतिक परिवर्तन गराउने कारक तत्वका रूपमा काम गरिरहेको हुँदोरहेछ भन्ने कुरा उपर्युक्त लेखबाट थाहा हुँदा हामी केही आश्चर्यमा पछर्ांै। अमेरिका पनि ग्रामीण समाजको समस्याबाट ग्रसित छ भन्ने सत्यतथ्य उजागर हँुदा हामी एसियाली मूलका बासिन्दा अलि केको भन्ने चासो राख्न थाल्छांै। तर लियोनार्डको उक्त लेख पढेपछि थाहा लाग्छ, हाम्रो शक्तिशाली आधुनिक विकसित भनिने मुलुक पनि शहरी र ग्रामीण समाजको द्वन्द्वमा फसेको हुने रहेछ।

यी दुई फरक अमेरिकी समाज आआफ्नै विश्वास र विचार तथा सिध्दान्तकै आधारमा बाँचेका छन्। अमेरिकी समाजलाई ग्रामीण र शहरी विभाजन दार्शनिक तथा ऐतिहासिक परिप्रेक्ष्यमा हेर्दा आधुनिक अमेरिकाको आर्थिक, राजनीतिक, भौगोलिक विभाजन तथा परम्परावादी शक्तिको जिम्मेवारीको कथा अझ प्रष्ट देखापर्छ भन्ने तर्क लियोनार्डले अघि सारेका छन्। उनको भनाइमा यो विभाजन राज्य स्तरमा भन्दा पनि काउन्टी वा समुदायको तहमा प्रष्ट देखापर्छ।

एक राज्य अर्काे राज्यसँग भन्दा पनि  एक ग्रामीण क्षेत्र तथा बासिन्दा अर्काे ग्रामीण क्षेत्र तथा बासिन्दासँग बढी सहृदयता, समानता तथा सुझबुझको भावमा रहेको पाइन्छ। यसरी अमेरिका पनि ग्रामीण भावको एकात्मकरूपमा बाँचेको हुन्छ भन्ने बर्क लियेानार्डले प्रस्तुत गरेका छन्। उनको विश्लेषणमा ग्रामीण अमेरिकी नागरिक आफू उपेक्षित भएको महसुस गर्छन्। कारण– शहरी क्षेत्रमा मात्र बढी आधारशीला निर्माण तथा सेवा प्रदानका लागि लगानी केन्द्रित भएका हुन्छन्। सांसदहरुले शहरी क्षेत्रमा सञ्चार तथा यातायात सुविधाका लागि अरबौँ डलर खर्च गराउन कानुन बनाउँछन् तर ग्रामीण भेगका बाटाघाटा नदीनाला मर्मत सम्भार नभएर बजारमा कृषि उत्पादन पुर्‍याउन कठिन भइरहेका हुन्छन्। अझ, केही पुस्ता पहिलेदेखि त ग्रामीण भेगमा छरिएर रहेका सेवा केन्द्रहरु शहरी क्षेत्रमा गाभिएर ग्रामीण समाजको संरचना नै विलुप्त हुने अवस्था पनि देखा परिरहेको छ।

शहरी क्षेत्रमा वारुण यन्त्र सेवा तथा अन्य आकस्मिक सेवाका लागि पेशेवार प्राविधिक तथा कामदार पाइन्छन् जबकि ती स्थानीय, राज्य वा केन्द्रीय कर प्रणालीबाट उठेका रकमबाट सञ्चालित हुन्छन् भने ग्रामीण क्षेत्रका लागि यस्ता सेवा स्वयंसेवकको सेवामा भर परेको हुन्छ। फेरि त्यस्ता सेवाका लागि ग्रामीण जनताले बीसौँ माइल टाढाबाट आउने एम्बुलेन्स वा वारुण यन्त्रको सहयोग लिनुपर्ने हुन्छ। शहरका प्रहरीका लागि कम्प्युटर यन्त्र तथा सवारी साधन उपलब्ध हुन्छन् भने ग्रामीण क्षेत्रका प्रहरीले यस्ता सुविधा कहाँ पाइन्छ भनेर खोजिहिँड्नुपर्ने हुन्छ। ग्रामीणबासीको गुनासो पाइन्छ कि उनीहरुबाट उठाइएको कर रकम शहरबासीको उन्नत जीविकाका लागि खर्च गरिन्छ। ग्रामीण प्रशासनले तथा साना चेम्बर अफ कमर्सले स्थानीय विकासका लागि लगानी आकर्षित गर्ने सपना देखिरहन्छन् जबकि कतिपय गाउँमा स्थानीय जनशक्ति शहरतिर बसाइँ सरिरहेको पाइन्छ। कति गाउँ त मृतप्रायः भइसके। ती गाउँ जसले आफ्नो इतिहासप्रति गौरव गर्थे वा सम्पन्न सामुदायिक समाजप्रति गर्व गर्थे ती सब हराउँदै छन्।

हाल अमेरिकी समाजमा वृद्धवृद्धामात्र होइन, युवा वर्ग पनि अमेरिकीको यस्तो स्थितिबाट समाज समस्याग्रस्त भएको महसुस गर्छन्। समाधान के हो? लियोनार्ड सोध्छन्। नयाँ शासनले यो मिलाउनु टाढैको कुरा भएको निष्कर्ष पनि छ उनको। हामी नेपालीले पनि सोधौँ आफैँलाई, छिमेकीलाई, समुदायलाई, राज्यलाई, हितैषीलाई, के हो समाधान गाउँ र शहरबीचको विभेद हटाउने?  ऐतिहासिक आर्थिक, राजनीतिक, सामाजिक खाडल पुर्ने उपाय के हो?

लेखक राई पत्रकारिता तथा आमसञ्चार प्राध्यापन गर्छन्।

प्रकाशित: १३ माघ २०७३ ०६:१६ बिहीबार

अमेरिकाको ग्रामीण समाज