विचार

खुला समाजको संकट

संयुक्त राज्य अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिका रुपमा निर्वाचित भएपछि म  वार्षिक बिदा मनाउन निस्कँदा साथीहरुलाई एउटा पत्र लेखी पठाएँ, जसमा लेखिएको थियो– ‘अबको समयमा व्यवसाय अन्य बेलाको जस्तो हुने छैन। संकटपूर्ण संसारमा तपाईंहरूसबैलाई शुभकामना।’ मलाई यतिबेला मेरो भावना तपाईंहरुलाई बाँड्नु पर्छ भन्ने लागिरहेको छ तर त्योभन्दा अघि म तपाईंहरुलाई मेराबारेमा बताऊँ! आखिरमा म को हुँ र म केका लागि उभिएको छु भन्ने तपाईंहरूले बल्ल बु‰नु हुनेछ।

८६ वर्षको म हंगेरीको यहुदी हुँ। दोस्रो विश्वयुद्ध सकिएपछि म अमेरिकी नागरिक बनेँ। सानो उमेरमै मैले कुन किसिमको राजनीतिक प्रणालीले जित्नुपर्छ भन्ने जानेँ। मेरो जीवनको सुरुवाती अनुभवले मलाई यो सिकायो। हिटलरले सन् १९४४ मा हंगेरी कब्जा गरेपछि मेरा बाले घटनाको गम्भीरता नबुझेका भए सायद म त्यो बेला नै मारिन्थेँ। बाले झूटा परिचय बनाएर अन्य कैयौँ यहुदीलाई हिटलरको कोपभाजन हुनबाट जोगाए।

खुला समाज यतिबेला संकटमा छ र यो कैयौँ किसिमका बन्द समाजको कोपभाजनमा परेको छ। निर्वाचित नेता मतदाताको बैध आशा र आकांक्षामा खरो उत्रन नसकेका कारण खुला समाज फाँसीवादी तानाशाहदेखि माफिया मुलुकको चपेटासम्ममा परेको छ।

सन् १९४७ मा हामी त्यो बेलाका कम्युनिस्ट शासित मुलुक हंगेरीबाट बेलायत छिर्‍यौँ। बेलायतको लन्डन स्कुल अफ इकोनमिक्स पढ्दाताका म दार्शनिक कार्ल पोपरको प्रभावमा परेँ र मैले आफ्नै दर्शन बनाएँ। त्यो दर्शनको दुई खम्बा फलिबिलिटी (भ्रमशीलता) र रिफ्लेक्सिभिटी (कार्य–कारणले उत्पन्न हुने प्रभाव) थियो। मैले दुई भिन्न किसिमका राजनीतिक शासन देखेँ :  जसमा नेतालाई जनताले चुन्छन् र ती चुनिएका नेताले मतदाताको चाहनाको ख्याल राख्नुपर्छ भन्ने सोचाइ थियो। अर्कोतर्फ भने शासक हुन्थे, जसले आफूले चाहेजस्तो विषयलाई उछालेर शासन गरिरहन्थे। यस्तो अवस्थामा मैले पहिलो किसिमको समाजलाई खुला र अर्कोलाई बन्द समाज भनी नामकरण गरे।

यो वर्गीकरण अति सामान्य छ। सुव्यवस्थितदेखि असफल राज्यसम्मका कैयौँ तह र विविध किसिमका मुलुक छन् इतिहासमा। तिनले निश्चित समयावधिमा विभिन्न तहका काम गरेका छन् वा गरेका छैनन्। तापनि मैले सजिलोका लागि दुई तहका शासन प्रणाली भनी छुट्याएको छु। र, मैले जानेदेखि खुला समाजलाई सक्रिय रुपमा समर्थन र बन्द समाजको घोर विरोध गर्दै आइरहेको छु।

इतिहासको अहिलेको अवस्थाले मलाई दुःखी बनाएको छ। खुला समाज यतिबेला संकट झेलिरहेको छ। बन्द समाजमा भने यतिबेला फाँसीवादी तानाशाहीदेखि माफिया शासन बढेको देखिएको छ। यो कसरी भयो? यसको एउटै मात्र उत्तर मैले फेला पारेको के हो भने, निर्वाचित नेताहरूले मतदाताको वैध आशा र आकांक्षामा खरो उत्रन सकेनन्। जसका कारण प्रजातन्त्र र पुँजीवादको वास्तविक र प्रचलित संस्करणप्रति मतदाताको मोहभंग हुन पुग्यो।

सोभियत संघको पतनपछि अमेरिका एक्लो अतिशक्तिशाली मुलुकका रुपमा उदायो। उसले प्रजातन्त्र र खुला बजारको सिद्धान्तलाई बरोबर उठाइरह्यो र प्रचार गरिरह्यो। यसपछिको अर्को ठूलो विकास भनेको भूमण्डलीकृत वित्तीय बजार थियो। यसका पैरवीकर्ताले भूमण्डलीकरणले कुल सम्पत्तिलाई बढाउँछ भनिरहे। आखिरमा विजेताले हरुवाहरूलाई केही छाडे मात्र त त्यसबाट केही भाग हरुवाहरूले पाउने हो!

वास्तवमा विजेताले विरलै हरुवालाई हारेबापत केही दिँदो हो! बरु उल्टै सम्भावित विजेताले किन जितेँ भनेर प्रचार गर्न बढी नै पैसा खर्च गर्ने गर्छ। बेरोकतोक स्वतन्त्र व्यपारका हिमायतीको अथवा मैले भन्ने गरेको ‘बजार कट्टरपन्थी’हरूको यो विजय हो। आर्थिक विकासका लागि पुँजी एउटा अत्यावश्यक तŒव हो र निकै कम विकासशील विश्वले आफैँ पुँजी निर्माण गर्न सक्छन् र जंगलको आगोसरी भूमण्डलीकृत विश्वमा फैलिन सक्छन्। पुँजी सहजै र स्वतन्त्र रूपमा ठाउँठाउँमा हिँड्न सक्छ र यसले सहजै अनुगमन र कर छल्न सक्छ।

भूमण्डलीकरणका दुरगामी आर्थिक र राजनीतिक परिणाम देखिएका छन्। धनी र गरिब मुलुकबीच भूमण्डलीकरणले केही आर्थिक सम्मिलन त ल्याएको छ सँगैमा असमानता पनि बढाएको छ। विकसित मुलुकमा फाइदा मुख्यतः ठूला आर्थिक राजधानीका एक प्रतिशत जनसंख्याले पाएका छन्। त्यो एक प्रतिशतको बदला अन्यले यसको फाइदा दिलाउन सक्ने नीतिको अभावका कारण नै प्रजातन्त्रका विरोधी तŒवहरुले पुँजीवाद र लोकतन्त्रविरुद्ध उपयोग गरिरहेका छन्। सँगैमा लोकतन्त्रको अलोकप्रियताका अन्य तŒव र कारणहरूपनि छन्, खासगरी युरोपमा।

म युरोपेली संघको सुरुदेखिकै हिमायती हुँ। म यसलाई खुला समाजको सोचको उपजका रुपमा लिन्छु। वृहद् भलाइका लागि आफ्नो मुलुकको सार्वभौमिकतालाई थोरबहुत बलि चढाउनु ठूलो कुरा हो। त्यो बेला निश्चित समयावधिभित्र राजनीतिक इच्छा जाहेर गर्दै संघ निर्माणका लागि भूमिका खेलिएको थियो। सुरुमा युरोपेली कोइला तथा स्टिल निर्माण गर्ने समुदाय युरोपेली संघ निर्माणका लागि अघि सरेका थिए।

तर केही निकै गलत भयो। सन् २००८ को सेयरबजार क्र्यासपछि ऋणदाता र ऋणीबीचको सम्बन्ध बद्लियो। ऋणदाताले दिएको ऋण पनि नपाउने अवस्था आयो। उनीहरूबीच बराबरीको अवस्था रहेन। ऋणीभन्दा ऋणदाता तल्लो तहका देखिए।

जर्मनी युरोपमा अधिपतिका रुपमा उदाएको छ तर एउटा सफल अधिपतिका रुपमा पूरा गर्नुपर्ने जिम्मेवारीहरू भने आशातित रुपमा पूरा गर्न सकेन। खासगरी आफ्नो साँघुरो स्वःस्वार्थका कारण आधारभूत सहयोग माग्नेहरूको माग पूरा हुन सकेन। दोस्रो विश्वयुद्धपछि जर्मनीको विकासका लागि अमेरिकाले मार्सल प्लान जारी गरी जस्तो खुला र उदार भावना देखाएको थियो र त्यसले वृहद् युरोपेली संघ निर्माणको बाटो खोलेको थियो त्यसको ठीकविपरीत सन् २००८ मा विश्वमै आर्थिक सङ्कट चुलिएपछि जर्मनीले आफ्नो साँघुरो स्वार्थ पूरा गर्नतर्फ लाग्यो, ‘तपस्यानीति’मार्फत् आफूमै खुम्चिन थाल्यो।

पूर्वी र पश्चिम जर्मनीको एकीकरणले नै युरोपेली एकीकरणको मुख्य बाटो खुलेको थियो। जर्मनीकै बलका कारण यस एकीकरणलाई रोक्नेहरुका कैयौँ बाधाहरुलाई एक–एक गरी खुकुल्याएको थियो। यस सन्दर्भमा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले युरोपेली संघको बजेटबारे जुन माग गरेकी थिइन्, त्यसमा जर्मनीले खेलेको भूमिका बिर्सन मिल्दैन।

पछि सन् २००८ मा आर्थिक संकटको घडीमा आफू निर्वाचित हुन जर्मन चान्सलर एन्जेला मर्केलले मतदाताको धारणा बु‰दै प्रस्ताव ल्याइन्, ‘जुन देशको बैंक डुब्न लागेका छन्, तिनको रेखदेख तिनै देशले हेर्नुपर्छ।’ यो त्यही क्षण थियो, जसले युरोपेली संघको विघटन सुरु गर्‍यो। आर्थिक सङ्कटपछि युरोपेली संघ र युरो क्षेत्र क्रमशः बेकार हुँदै जान थाल्यो, राम्रोसँग काम गर्न छाड्यो। मौजुदा स्थिति मास्ट्रिच सन्धिले सुझाएविपरीतको अवस्था सिर्जन हुन थाल्यो तर सन्धिलाई समयानुकूल बनाउनेभन्दा कार्यान्वयन गर्न असहज बनाइयो र पछि असम्भव तुल्याइयो किनभने पछि यसलाई ‘रेटिफाई’ (अनुमोदन) गर्न सकिँदैनथ्यो। यसपछि युरोक्षेत्र पुराना कानुनबाटै पीडित बन्न पुग्यो। पुराना कानुनको दुलो पत्ता लगाउँदै यसलाई कार्यान्वयन गर्नुपर्ने बाध्यता आउन थाल्यो। जसका कारण संस्थाहरूबढीभन्दा बढी क्लिष्ट बन्न पुगे र मतदाताहरूआफूलाई परित्यक्त महसुस गर्न थाले।

युरोविरोधी जनमत बढ्नुको अर्को कारण संस्थाहरुको कार्यान्वयनको तह गतिलो हुन नसक्नु पनि थियो। जसका कारण सन् २०१६ मा पहिलो झट्का युरोपेली संघबाट बेलायती बहिर्गमन (ब्रेग्जिट) देखापर्‍यो भने अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिका रुपमा निर्वाचित भए। पछि त इटालीका मतदाताहरुले ठूलो फरकमा डिसेम्बर ४ को मतदानमा संवैधानिक सुधारविरुद्ध गए। यस मतदानले भग्न युरोको अवस्थालाई पटाक्षेप गरिदिए।

यस्तो अवस्थामा प्रजातन्त्र संकटमा परेको छ। अमेरिकामै पनि, जो प्रजातन्त्रको संसारकै मसिहाका रुपमा छ, यस्ता धूर्त, फटाहालाई चुनियो, जो अमेरिकाको तानाशाह बन्न सक्छ। हुन त ट्रम्पले आफू निर्वाचित भइसकेपछि बोली केही नरम देखाएका छन् तर व्यवहार र उनका सल्लाहकार भने परिवर्तन भएका छैनन्। उनको मन्त्रिमण्डलमा अक्षम, अतिवादी र सेवानिवृत्त सेनाका जनरलहरूबढी छन्।

उसो भए अगाडि के छ त?

मलाई विश्वास छ, प्रजातन्त्रले आफूलाई अमेरिकामा लचिलो साबित गर्नेछ। यसको संविधान र संस्थाहरूतथा चौथो अङ्गले तानाशाही गतिविधि रोक्न भूमिका खेल्नेछन् र सम्भावित तानाशाहलाई वास्तवमै तानाशाह हुनबाट रोक्नेछन्। तर अमेरिका आफ्नै आन्तरिक संघर्षमा निकट भविष्यमा अल्भि्कनेछ र अल्पसंख्यक वर्ग प्रताडित हुनेछन्। यसरी अमेरिका देशभित्रै र संसारभरि नै प्रजातन्त्रको रक्षा र प्रवर्द्धन गर्न असफल हुनेछ। यसविपरीत, ट्रम्प संसारका तानाशाहहरुसँग आकर्षित हुनेछन्। यसले उनीहरूको अमेरिकासँगको पहुँच बढाउनेछ र अन्यलाई बिनाकुनै अवरोध र हस्तक्षेप बढाउनेछ। ट्रम्पले सिद्धान्तलाई प्रतिरोध गर्दै उनीहरुसँग सम्झौता गर्नेछन्। दुर्भाग्यवश, यही कुरा उनलाई रुचाउनेहरुमाझ लोकप्रिय हुनेछ।

मलाई युरोपेली संघको भविष्यप्रति बढी नै चिन्ता छ। यो चाँडै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रभावमा पर्ने सम्भावना बढेर गएको छ। उनको शासनप्रणाली खुला समाजसँग पटक्कै मेल खाँदैन। पुटिनले अवस्थाको फाइदा लिन कुरी बसेका थिएनन्। उनले अवस्थालाई फाइदामा बदल्नका लागि ठूलो कसरत गरेका थिए। उनले आफ्नो शासन प्रणालीका कमजोरी बुझेका थिए। जर्जिया, युक्रेन र अन्य ठाउँका ‘रङ्गीन क्रान्ति’ देखेका पुटिन डराइरहेका थिए। सुरुमा, उनले सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रयास गरे। त्यसपछि एउटा उम्दा चालका कारण उनले सामाजिक सञ्जाल कम्पनीको बिजनेस मोडललाई कुसूचना र झूटा समाचार फैलाउन थाले, मतदातालाई बहकाउन थाले र प्रजातन्त्रलाई अस्थिर पार्न थाले। यसरी उनले डोनाल्ड ट्रम्पलाई निर्वाचित हुन सघाउ पुर्‍याए।

अब सन् २०१७ को नेदरल्यान्ड, जर्मनी र इटालीको निर्वाचनमा यस्तै हुनेछ। फ्रान्समा दुई जना चर्चामा आएका नेताहरू पुटिनसँग निकै नजिकको सम्बन्धमा छन् र पुटिनको तुष्टि पूरा गर्न आतुर छन्। यी दुईमध्ये जोसुकैले जिते पनि युरोपेली भूमिमा पुटिनको प्रभाव सर्वस्वीकार्य हुनेछ।

मेरो विचारमा युरोपेली नेता र जनताले जे सोचेर युरोपेली संघको स्थापना गरिएको थियो, त्यसको मूल्य र उनीहरू स्वयंको जीवनलाई गहिरो गरी महसुस गर्नेछन्। चिन्ता त के हो भने पुटिनले प्रजातन्त्रलाई अस्थिर बनाउन जे तरिका अपनाइरहेका छन्, त्यो तरिकाले तथ्यप्रतिको सम्मान र वास्तविकताप्रतिको सन्तुलित दृष्टिकोण पुनःस्थापित गर्न सकिने छैन।

सुस्त आर्थिक वृद्धि र शरणार्थी संकट नियन्त्रण बाहिर पुगिसकेको छ, जसका कारण युरोपेली संघ छिन्नभिन्न हुने अवस्थामा पुगेको छ। यो त सन् १९९० को ठीक त्यही अवस्था हो, जुनबेला सोभियत संघ टुक्राटुक्रा हुन पुगेको थियो र त्यही अनुभूत गर्ने अवस्था युरोपेली जनताको नियति बन्ने अवस्था आएको छ। त्यसैले जसले युरोपेली संघमा विश्वास गर्छ, संघको पुनर्आविष्कार गर्न र उत्तम परिणाम निकाल्न जे जति प्रयास गर्नुपर्ने हो, गर्ने बेला आइसकेको छ।

ओपन सोसाइटी फाउन्डेसनका अध्यक्ष। सेयर बजारमा लगानी गरेर अर्बौं कमाउनेमा उनी पर्छन्। उनी फोर्ब्ससूचीअनुसार संसारका २६ औँ धनी व्यक्ति पनि हुन्। उनले ‘द अल्केमी अफ फाइनान्स’, ‘द न्यु प्याराडाइम फर फाइनान्सियल मार्केट्सः द क्रेडिट क्राइसिस अफ २००८ एन्ड ह्वाइट इट मिन्स’ र ‘द ट्राजेडी अफ द युरोपियन युनियन’जस्ता पुस्तक लेखेका छन्। प्रोजेक्ट सिन्डिकेटबाट अच्युत कोइरालाको अनुवाद।

प्रकाशित: १८ पुस २०७३ ०४:३९ सोमबार

खुला समाजको संकट