विचार

किरात सभ्यतामा लोकतन्त्र

विश्वमा मानव चेतनाको विकाससँगै मानिस समूहमा बस्न थाल्यो। मानिसले जब आफूलाई आनुवांशिक रक्त सम्बन्धको चेतनामा ल्यायो तबदेखि त्यो ठाउँ वा समूहको जीवन सञ्चालन गर्ने नीतिनियम बनाउन थाल्यो। ती विभिन्न समूहका व्यवहार र जीवन निर्वाहका अनुभवहरू नै पछि लिपिको रूपमा विकास भयो। त्यसबेलाका वास्तुकला, मूर्र्तिकला, गृहनिर्माण कला र आफूले गरेका मानवहितका कार्यको शिलालेख राख्नेसमेत चेतना मानिसमा जाग्रृत भयो। यसरी राखिएका शिलालेख, मूर्तिकला, वास्तुकला, बनाएका औजार, त्यसबेलाको मानिसको प्रियवस्तु तथा जनावर, अन्नको पहिचान र त्यसलाई खाद्यवस्तुको रूपमा ग्रहण गरेर मलिलो र सिञ्चित क्षेत्रको अवलोकन र खेतीको थालनी, व्यवहार अनुभवका आधारमा कुन वनस्पति मानिसको स्वास्थ्यमा काम लाग्ने र कुन नलाग्ने समेत पहिचान गरेपछि खेतीको युग सुरू भयो। त्यो युगबाट जमिन आवाद गर्ने पहिले सामूहिक पद्धति बसाल्यो र पछि त्यो समूहको नाइकेले जमिन, जनावर र वनस्पति आफ्नोे व्यक्तिगत अधिकार क्षेत्रभित्र ल्यायो। पहिला भएको सामूहिकतालाई अन्त्य गरी मालिक र नोकरको स्थितिमा बदल्यो। चेतनाको विकाससँगै मानव मालिक र नोकर हुन नसक्ने र सबैको बराबरी सार्वभौमिकता हुने सिद्धान्त प्रतिपादन हुँदै आए।

शिवगीताले व्याख्या गरेको मानवको सार्वभौमिकता र प्रकृतिमाथि बराबरी हकको व्याख्या पनि समाजवादी आन्दोलनको प्राथमिक रूप हो। पुनः शोषण, अन्याय, अत्याचारविरूद्ध रामायण गीता, महाभारत गीता, बुद्ध दर्शन, कुरान र बाइबल क्रमशः युगअनुसार आएका हुन्। किरातकालीन सभ्यता पनि यस्तै युगअनुसार चेतनाको उद्भव थियो। भनिन्छ किरात गणप्रमुख यलम्बर त्यसबेलाका उत्कृष्ट चेतना भएका नायक थिए। उनले नेपाली सभ्यता र विश्वको मानव सभ्यताको विकासमा आजका आधुनिक राजनीतिक दर्शनका व्याख्याताभन्दा बढी नै योगदान गरेका थिए। उनले मानिसको जीवन दर्शन समाजको उत्थान र प्रकृतिको संरक्षणमा ध्यान दिनुपर्ने मान्यता राखे। प्रमाण नभए पनि महाभारत युद्धमा कौैरब र पाण्डवबीच सत्य र असत्य मूल्य र मान्यतामा बस्ने कि नबस्ने भन्ने कुरामा भएको थियो। त्यो युद्धमा साक्षीको रूपमा यलम्बर थिए। महाभारत गीतामा एकजना नेप्टो नाक भएको हालको मंगोल नश्लजस्तो लाग्ने व्यक्तिको चित्रण गरिएको छ। कृष्णले आफूभन्दा शक्तिशाली त्यो मानिसलाई बर माग भन्दा उसले उल्टो कृष्णलाई बर माग्न भन्छ र कृष्णले उसलाई शक्तिशाली ठानी टाउको बर माग्छन् र उसको टाउको रूखको टुप्पोमा झुण्ड्याएको हुन्छ। टाउको जीवित हुन्छ। त्यो व्यक्ति भीमसेन पुत्र भनेर भनिएको छ। जसको नाम बरबरिक हो भनेर महाभारत गीतामा उल्लेख गरिएको छ। यी बरबरिक शिवका उपासक थिए र उनको बुद्धि र शक्ति पनि शिवको जस्तै थियो। यिनैलाई कसैले महाभारत युद्धमा किरात गणप्रमुख यलम्बर थिए भनेर पनि चर्चा गरेका छन् भने कसैले नकुल र सहदेवका मामा सल्ले थिए पनि भनेका छन्।

जे होस् यलम्बर जनप्रिय थिए र गरिबका पक्षपाती थिए। जात, भाषा र धर्मका आधारमा मानिसमा विभेद गर्न हुँदैन भन्ने यिनको मूलमन्त्र थियो। यिनी शिवभक्त थिए भन्ने कुराको पहिचान यिनले पशुपतिनाथको मन्दिर आफूले काठमाडौँको गणप्रमुख भएपछि पहिलो कामको रूपमा स्थापना गरेबाट स्पष्ट हुन्छ। यिनी बरबरिक थिए कि सल्ले भनेर इतिहास र संस्कृतिविद्लाई पुनः अनुसन्धान गर्न छोडौँ। तर, यिनी कतिसम्म जनप्रिय थिए भन्ने कुरा जनतामाथि परेको अन्याय प्रत्यक्ष हेर्थे र न्याय विभाग पनि गठन गरेका थिए। गाउँमा जनताले चुनेको मानिसले प्रशासन (आधुनिक भाषामा) चलाउन यिनले आफ्ना अवयवलाई अह्राएका थिए। गरिब तथा निरीह जनताले न्याय पाउनुपर्छ भन्ने यिनको मान्यता थियो। त्यसैले आधुनिक चुनावको नाममा पैसा र उद्दण्ड व्यवहारले अचेतन जनतालाई कब्जामा लिएर जबरजस्ती चुनाव जित–हारको राजनीति भएको उपयोगितावादी भद्दा लोकतन्त्रभन्दा कैयौँ गुना उत्कृष्ट लोकतन्त्रको अभ्यास किरात सभ्यतामा गणप्रमुख यलम्बरले गरेका थिए। हाल विश्वमा दुन्दुभी बजाएका मार्क्सले पनि अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरेर पुँजीपतिले श्रमको शोषण गर्छ भन्ने कुरा अघिसारेका थिए। 

मार्क्सका सवै शास्त्र पढ्दा एकल निचोड सामन्तवाद र पुँजीपतिको विरोध गरेको देखिन्छ। यो कुरा त किरात सभ्यताका प्रवर्त्तक यलम्बरले शिवगीता अध्ययन गरेर त्यसअनुसारको शासन व्यवस्था स्थापना गर्ने प्रयास मार्क्सभन्दा सयौँ वर्षअगाडि गरिसकेका थिए। यलम्बर स्वयं शिवको दर्शनबाट प्रभावित भए पनि गौतम बुद्धले नयाँ विद्रोह चलाएकोमा उनको समर्थन गरेका थिए। तत्कालीन गणप्रमुख (राजतन्त्रको विकास भइसकेको थिएन) ले आजीवन जनताप्रति उत्तरदायी हुने कसम खानुपर्थ्यो। यस्तो असल शासन व्यवस्थाको सुरूवात नेपालबाट भएको थियो। आज मानिस बेलायतको म्याग्नाकार्टालाई लोकतन्त्रको आधारशीला मान्छन्। औद्योगिक विकास र त्यसले कमाएको पैसामा बिकेर नेपाली बुद्धिजीवी अलमलिएका छन्। यलम्बरले स्थापित गरेको मान्यता सामन्ती पद्धतिमा आधारित शोषणकारी समाजको निर्माण थिएन। उनले सबैको हित, सत्यको हित चाहने शिवदर्शनमा आधारित भएर सामाजिक मूल्य–मान्यता कायम राख्न चाहेका थिए। आज हामी नेपालीले किरात गणप्रमुख यलम्बरलाई नेपाली सभ्यताको प्रथम पुरूष भनेर सबै जात, भाषा, धर्म र संस्कृतिका नेपालीले मान्दा र उनको कृतिको प्रचार गर्दा हाम्रो सभ्यताको अहित हुँदैन। ऋग्वेदले एकपटक होइन पचास पटक गणतन्त्रको शब्द उल्लेख गरेको छ। महाभारत शान्तिपर्वमा पनि गणतन्त्र र समतामूलक समाजका बारेमा व्याख्या गरिएको छ। त्यसबेला गणप्रमुखलाई राजन भनेर पुकारिन्थ्यो। समूहको नेतृत्व यलम्बरले गर्दथे र उनले दक्षिण एसियाकै उब्जाउभूमि काठमाडौँ उपत्यका कब्जा गरेर एउटा गणतन्त्रान्त्रिक–लोकतान्त्रिक पद्धति स्थापना गर्ने प्रयास गरेका थिए। त्यसबेलाको समयको मूल्यांकन गर्दै डा. अल्टेकर भन्छन्– 'त्यसबेला पनि शक्तिको स्रोत समाजका अनुभव वा विद्वत्जनको एक परिषद् हुन्थ्यो। त्यो परिषद् आमजनतासँग उत्तरदायी हुन्थ्यो र परिषद्को सल्लाह र सहमतिमा गणप्रमुख वा राजाले शासन सञ्चालन गर्थे।' यस्तो अनुपम लोकतन्त्रको उदाहरण विश्वको आजको अवस्थामा पनि पाइँदैन। आज दलहरू र यिनका नेता आधुनिक युगमा आएर पैसामा बिकेका छन्। गरिब तथा असहाय जनता प्रताडित बनेका छन्।

किरात सभ्यताले स्थापना गरेको बहुजन हिताय, बहुजन सुखायः भन्ने शिवसंस्कृतिको अक्षरसः पालना आज आफूलाई लिम्बुवान र खुम्बुआन बनाउनुपर्छ भन्ने मानिसले गर्न सकेका छन् कि छैनन्? यो विचारणीय पक्ष छ। भारत (हिजोका भारत मगध, झाँसी, मेवाड र तक्षशीला)जस्ता राज्यमा विभाजित थियो र अंग्रेजले उपनिवेश बनाएपछि उसलाई एकीकरण गरिदियो र आजका भारतीय ठूलो राष्ट्र भनेर हामी नेपाली र विश्वको पहिलो सभ्यता र राष्ट्रलाई हेप्दैछन्। भारतमा तिरूपति बालाजीको मन्दिर स्थापनाअघि नै नेपालमा यलम्बरले शिवको दर्शन र त्यो दर्शनमा आधारित शिवको मूर्ति पशुपतिनाथ काठमाडौँमा स्थापना गरिसकेका थिए। बुझ पचाएर भारतीय बुद्धिजीवीहरू आज हामीलाई हेप्दैछन्, तर यिनको सभ्यता र संस्कृतिको मुहान नेपाल नै हो भन्ने कुरामा शंका छैन। किरातकालमा आधुनिक लोकतन्त्र वा मार्क्सले कल्पना गरेको समाजवादी आचरणको समाज सृजना गर्न खोजिएको थियो। यसबारे नेपालको संक्षिप्त वृत्तान्तमा बाबुराम आचार्यले लेखेका छन्– 'तत्कालीन अवस्थामा हालको भारतमा १६ जनपद राज्य थिए, तिनमा दासप्रथा र जातको छुवाछुत प्रथा पनि थियो। तर, हाम्रो नेपालमा भने त्यस्तो भेदभाव थिएन अर्थात् जातिभेद, वर्गभेद, वर्णभेद र लिंगभेद पनि नभएकाले किरातकालीन राज्य व्यवस्थामा पूर्ण लोकतन्त्र थियो। शासक जनताको नोकरको रूपमा थिए। राज्यका सबै जात, धर्म, वर्ण र लिंगका मानिसलाई नागरिक अधिकार थियो।' स्वयं किरात सभ्यताका प्रतीक यलम्बरले पशुपति र गुह्यश्वरीको मन्दिर स्थापना गरेर समतामूलक समावेशी समाज सृजना गर्ने उद्देश्य अघिसारेका थिए। नेपालको किरात सभ्यताले सारा भारतीय उपमहाद्विपलाई एउटा पाठ पढाएको थियो मानवधर्मको रक्षाका खातिर। 

नेपाल र हाल भारतको बिहार, उत्तरप्रदेश र उत्तरान्चलका खस क्षेत्री, राजपुत, थारू, किरात, मगर र गुरूङ एउटै रक्त सम्बन्धका हुन्। खाली समुन्द्र गुप्तको शासनका बेला यिनलाई ट्राइबल भनेर छुट्याइएको हो। डा. जीपी. सिंहका अनुसार– 'किराँत, मगर, गुरूङ र थारू आर्यजाति हुन् र यिनलाई पछिका सामन्तहरू तथा यिनका पण्डितले मंगोल उत्पत्तिका भनेर झुटो विवरण दिएका हुन्।' नेपालका तामाङ र शेर्पा जाति पनि मंगोल होइनन् भन्ने कुरा उनले आफ्नो 'भारतीय उपमहाद्विपमा पौराणिक कालका किरात' भन्ने ग्रन्थमा उल्लेख गरेका छन्। नेपालको किरातकालीन सभ्यता र लोकतन्त्रले सारा भारत वर्षलाई विचार प्रदान गरिरहेको थियो। सनातन संस्कृतिको संस्थापकजस्तै रहेका किरात सभ्यताका प्रतीक यलम्बरले उचनिच, जातपात, छुवाछुतमाथि प्रतिबन्ध लगाउँदै मानवले मानवको सेवा गर्नुपर्ने र आर्थिक शोषण गर्न नहुने स्थिति बसालेका थिए।

आज नेपालमा मार्क्स, लेनिन, गान्धी र माओको नाम लिएर चरम उपयोगितावादी भ्रष्टाचारी समाजको निर्माण हुँदैछ। कसैले पनि यलम्बरको नाम लिँदैन। जितेदस्तीको पनि नाम लिइँदैन। यहाँसम्म कि बेलायत, फ्रान्स र जर्मनका मानिसको दर्शन बोकेर आफ्नो सभ्यता, संस्कृति, लोकतन्त्र र समाजवादको व्याख्या गरिँदैछ। जुन सर्वथा गलत छ। नेपाली सभ्यताले विश्वसभ्यतालाई अगाडि बढाएको कुरामा अनुसन्धान हुँदैन, खाली युरोपको रिनासा र १७ औँ शताब्दिको औद्योगिक क्रान्ति, फ्रेन्चक्रान्ति, जर्मन खोज, मोर्गानको समाज, विकासको आधारलाई आधारभूत संस्थापना मानेर मार्क्स र एंगेल्सको व्याख्या बढी गरिन लागेको छ– जो गलत छ। नेपाली साम्यवाद मार्क्स–एंगेल्सभन्दा सयौँ वर्षअघि शिव र बुद्धले सुरूवात गरेका थिए। त्यसलाई अगाडि बढाउने सिलसिलामा किरात गणतन्त्र अगाडि बढ्यो। आफ्नो पुर्खाले विश्वसभ्यतामा यति ठूलो योगदान गरेका छन्, त्यसको खोज–अनुसन्धान गरी सारा नेपाल र विश्वको कुनै पनि कुनामा रहेका सभ्य नागरिकमाझ प्रचार गर्नु जरूरी छ। किरातकालीन सभ्यता, लोकतन्त्र र मानव सभ्यताको विकासमा अनुपम छ। यसलाई आजका विश्वका कुनै पनि कुनामा बसेका नेपालीले गौरव गर्दै मानव सभ्यताको विकासको मूलभूमि नेपाल हो र यहाँबाट संसारका जुनसुकै कुनामा मानववस्ती र त्यसको सभ्यताको विकासको फड्को हान्दै गएको हो भनेर प्रचार–प्रसार गर्नु अति जरूरी छ।

अशोकको नेपाल आगमन र विभिन्न चैत्य निर्माणले पनि ज्ञानज्योति र दिव्यज्योतिमा नेपाल अगाडि थियो भन्ने स्वतः पुष्टि हुन्छ। कर्कप्याटि्रकका अनुसार किरात सभ्यता र किरात शासनमा जम्मा २७ वटा गणप्रमुखले शासन गरे। राइटका अनुसार २९ वटा गणप्रमुखले शासन गरे। यसरी किरात कालबाट नै नेपाल मौलिक आर्थिक, सामाजिक, धार्मिक जीवनमा पद्धतिसंगत हिसाबले अगाडि बढिसकेको थियो भन्न सकिन्छ। चौथो शताब्दीमा आचार्य कौटिल्यले नेपाल उन्नत सभ्यताशील राष्ट्र र उनको व्यापारिक कारोबार भएको त्यसबेलाको उन्नतशील राष्ट्र भनी लेखेबाट नै थाहा हुन्छ कि त्यसबेला दक्षिण एसिया, पूर्वी एसिया र बाँकी विश्वको तुलना गर्दा सभ्यताको विकास र निर्माण नेपालबाट नै सुरू भई विश्वभर फैलिएको हो।

भट्टराईको प्रकाशोन्मुख पुस्तक 'नेपाली सभ्यताः विगत र आगत'को अंश

प्रकाशित: १० मंसिर २०७३ ०३:४० शुक्रबार

किरात सभ्यतामा लोकतन्त्र